१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

निमित्त नायक जस्तै !

‘अचेल म कलाकारलाई स्वतन्त्र छाडिदिन्छु । यस नाटकमा पनि चरित्रकरणदेखि संवाद सबै स्वयं कलाकारले नै गरेका हुन् । मैले केवल उनीहरूको कामको सम्पादन मात्र गरेको हुँ । यहाँसम्म आउनका लागि म केवल निमित्त पात्र मात्र हुँ ।’
सुशील पौडेल

काठमाडौँ — आफ्ना लागि प्रिय लागेका मान्छेका नामहरू साचेर राखेको खुत्रुके जयमायाको हातबाट खस्छ र अन्धकारतर्फको बाटो हुँदै जयमाया एक्लै लेखापानी आइपुग्छे । मञ्चको प्रकाश निभ्छ ।

निमित्त नायक जस्तै !

दर्शकदीर्घाबाट ताली बज्न थाल्छ । कलाकार सबै स्टेजमा आएपछि निर्देशकलाई स–सम्मान बोलाइन्छ । जयमायाको शीर्ष भूमिका निर्वाह गरिरहेकी कलाकार निशा शर्माले जानकारी गराउँछिन्, ‘उहाँ बिरामी हुनुभएकाले आउन सक्नुभएन ।’

२३ जनाको दलबल बोकेर नेपाल छोड्नुअघि नै निर्देशक सुनील पोखरेल उत्साहित देखिन्थे । काठमाडौंकै मण्डला थिएटर र विराटनगरको गुरुकुल थिएटरमा मञ्चन भइसकेर वाहवाही पाइसकेको नाटक हो ‘जयमाया आफू मात्र लेखापानी आइपुगी’ । यही सिर्जनालाई पोखरेलले यस पटक भारतमा सञ्चालित आठौं थिएटर ओलम्पिकमा सहभागी गराउँदै थिए ।

ग्रीसको डेल्फीमा सात देशका नौ नाटकसहित १९९५ मा सुरु भएको थिएटर ओलम्पिक यस पटक दिल्लीको नेसनल स्कुल अफ ड्रामा (एनएसडी) मा ३५ देशका चार सय ६५ नाटक सहभागी छन् । रंगकर्मीका लागि सपनाको मञ्च मानिने एनएसडीबाट ३१ वर्षअघि नै पोखरेलले स्नातक गरिसकेका थिए ।

कलाकर्मी सुनील घरीघरी किन अलिक थकित र क्लान्त देखिन्छन् ? किन बिरामी परिरहन्छन् उनी, स्टेजमा आउनै नसक्ने गरी ? हो, नेपाली रंगमञ्चले फेरि–फेरि सुनील पोखरेलजस्तो रंगकर्मी पाउन सक्दैन । तर, उनमा यतिखेर देखिएको चर्काे थकान भने ‘अनौठो’ छ, रहस्यमयी पनि ।

२० वर्षको केटौले उमेरमै उनी एनएसडी छिरिसकेका थिए । सन् २००४ मा पहिलो पटक निर्देशकका रूपमा नाटक ‘अग्निको कथा’ लिएर एनएसडी फर्किएका सुनीलले त्यसपछि लगातार नौ नाटक मञ्चनका लागि मौका पाए । हम्मेसी यस्तो मौका विरलै पाइन्छ । ‘म एनएसडीको प्यारो विद्यार्थी भएकाले’ पोखरेल पुलकित हुँदै रेलयात्रामा सुनाइरहेका थिए, ‘अरूलाई यसरी लगातार मञ्चनको अवसर दिइँदैन । कम्तीमा पनि २/३ वर्षको ग्याप खोजिन्छ ।’ त्यसो त ‘रसोमन’ पछि उनकै पनि यस पटक चार वर्षको ग्याप भएको थियो । सायद यसले पनि पोखरेलमा ऊर्जा दिएको हुनुपर्छ ।

इन्द्रबहादुर राईको कथा ‘जयमाया आफू मात्र लेखापानी आइपुगी’ लाई निर्देशक पोखरेलले नाट्य रूपान्तरण गर्दा कैयन ‘इम्प्रोभाइज’ गरेका छन् । ‘ज्ञ’ का आफ्ना नयाँ विद्यार्थी र गुरुकुलका पुराना कलाकारहरूको समायोजन गरी पोखरेलले जयमायाको टिम निर्माण गरेका थिए । निशा शर्मा, प्रवीण खतिवडा, विपिन कार्की, सरिता गिरीदेखि सुरज तमु, राजेश रेग्मीदेखि सब्बु गुरुङसम्म टिममा अटाएका थिए । अर्को इम्प्रभाइजेसन, निर्देशक पोखरेलले कम संवादको प्रयोग गरिएको नाटकमा पात्रलाई प्रत्यक्ष संगीतको तालमा डोर्‍याएका थिए । ‘यसरी नेपाली रंगमञ्चमा शास्त्रीय संगीतको प्रयोग गरिएको पहिलो पटक नै हो’ पोखरेलले मोलेको जोखिमलाई संगीतकर्मीद्वय उत्सवकुमार बुढाथोकी र विश्वराज काफ्लेले सही सावित गराइसकेका थिए ।

लेखक राईले बर्मादेखि लेखापानीसम्मको कठोर, कष्टपूर्ण र निर्मम पैदलयात्राको मात्र वर्णन गर्दा निर्देशक पोखरेलले त्यसमा जयमायाको प्रेम पनि यात्राकै दौरान घुसाइदिए, समस्याभित्र पनि आशाको दियो बलिरहेको हुन्छ र हुनुपर्छ भनेर । राईले कल्पना गरेको १३/१४ वर्षकी जयमायामा उनले झन्डै तेब्बर उमेरकी निशा शर्मालाई ‘कास्ट’ गरेर अर्को जोखिम मोलिदिए । त्यसो त निर्देशकहरू जोखिम मोल्न औधि रुचाउँछन् । अर्जुनदेव चारणले एनएसडीकै मिट द डिरेक्टर सेसनमा भनेका थिए, ‘रंगकर्मीले दर्शकलाई नाटक हो भन्ने थाहा हुँदाहुँदै पनि साँच्चै घटित भएझैं गरी अनुभूति गराउन सक्नुपर्छ ।’

उनले आफ्नै नाटकमा प्रयोग गरिएको खेलौना बच्चाको उदाहरण दिंदै भनेका थिए, ‘उक्त नाटकमा मैले दर्शकलाई खेलौना बच्चा नै हो भन्ने थाहा हुने गरी देखाइदिएको थिएँ । तर त्यसलाई मेरो कलाकारले यसरी प्राण भरिदिए कि पछि त्यो खेलौना बच्चालाई घाट थिचेर मार्ने दृश्यमा दर्शकहरू विह्वल भएका थिए ।’

सुनील पोखरेल रंगकर्मका सशक्त हस्ती हुन् । रंगमञ्चमा अनवरत ‘रजत अनुभव’ बटुल्ने पात्र हुन् उनी । दिल्लीमा मञ्चनको दुई दिनअघि नै भोपालमा सो थियो, नाटकको । केही भूमिकामा कलाकार परिवर्तन र लिखित पटकथा नभएकाले नाटकको रिहर्सल अनिवार्य थियो । काठमाडौंमा खासै हुन पाएको थिएन । एनएसडीअघि भोपालको सो रिहर्सलकै हिस्साजस्तै थियो । तर निर्देशक पोखरेल थकित र क्लान्त देखिन्थे । त्यसो त उनले यस्तै अवस्थामा पनि कैयनको भन्दा गतिलो काम गर्ने खुबी देखाएका छन् । सुनील सरले ‘नसक्ने’ भएपछि भोपालमा लाइट सेटअपमा सघाइरहेका प्रवीण खतिवडाको गल्ती समात्दै पोखरेल थर्काइरहेका थिए, ‘मेरो आँखालाई कसैले चिट गर्न सक्दैन । म एनएसडीमा लाइटको सबैभन्दा राम्रो विद्यार्थी हुँ ।’

अन्तत: नाटकले यता एनएसडीको कमानी अडिटोरियम पनि थर्कायो । भारतका नामूद कला समीक्षक संगम पाण्डेले त भने पनि, ‘मलाई यो नाटकले एक दिनभर बेचैन बनायो । मस्तिष्कमा घोचिरह्यो ।’ नाटक सकिएपछि निर्देशकलाई मञ्चमा बोलाइयो । तर सुनील पोखरेल ‘बिरामी’ भएर होटलमै आराम गरिरहेका थिए । निशाले सोही जानकारी गराइन् ।

भोलिपल्ट स्वस्थ भइसकेपछि मात्रै सुनील बोले, ‘अचेल म कलाकारलाई स्वतन्त्र छाडिदिन्छु । यस नाटकमा पनि चरित्रकरणदेखि संवाद सबै स्वयं कलाकारले नै गरेका हुन् । मैले केवल उनीहरूको कामको सम्पादन मात्र गरेको हुँ । यहाँसम्म आउनका लागि म केवल निमित्त पात्र मात्र हुँ ।’

१७ वर्षकै उमेरमा रंगमञ्चमा उत्रिएका सुनील पोखरेलले विराटनगरको दियालो समूहसँग आबद्ध भई अभिनय यात्रा थालेका थिए । पछि एनएसडीबाट फर्केपछि आरोहण गुरुकुलको स्थापना गरेर सुतेर बसेको नेपाली रंगमञ्चलाई ब्युँझाए । दर्शकमा नाटकको लत बसाल्ने श्रेय उनैलाई जान्छ । अग्निको कथा, पुतलीको घर, न्यायप्रेमी, रसोमन, घनचक्कर, याज्ञसेनी, जात सोध्नु जोगीको, इदमित्थम्जस्ता चर्चित नाटक उनकै कारण जन्मिए । पुरानो बानेश्वरस्थित गुरुकुलको थलो भत्काउनुपरेपछि विरक्तिएका पोखरेललाई सरकारले नै भृकुटीमण्डपमा जग्गा उपलब्ध गराउन तयार भएको वर्षौं भइसक्यो । प्रक्रिया पनि अन्तिम चरणमा रोकिएको छ । सुनील पोखरेलले इच्छा देखाएको खण्डमा गुरुकुल पुन: ब्युँतिन सक्ने धेरैको विश्वास छ । तर यसका लागि पोखरेल स्वयं ब्युँतिनु जरुरी छ ।

भनिन्छ, हरेक मान्छेमा दैत्य–रूप सुषुप्त अवस्थामा रहेको हुन्छ । अलिक कमजोर अवस्थामा त्यसले रौद्र रूप लिन्छ रे । जयमाया कथाकै लेखक आईबी राईले उनको उपन्यास ‘आज रमिता छ’ को एउटा सन्दर्भमा भनेका छन्, ‘छोरा मान्छेमा तीन दोष हुन्छ— जुवा खेल्नु, स्त्रैण हुनु, मद खानु । यी तीनमा एक न एक दोष हरेक पुरुषमा हुन्छ, हुनुपर्छ । नत्र त्यो लोग्नेमान्छे होइन, त्यो ईश्वर हो कि हिजडा ।’

यो ‘संयोग’ मात्रै पनि हुन सक्छ अथवा नितान्त स्वैरकल्पना । कलाकर्मी सुनील घरीघरी किन अलिक थकित र क्लान्त देखिन्छन् ? किन बिरामी परिरहन्छन्, स्टेजमा आउनै नसक्ने गरी ? हो, नेपाली रंगमञ्चले फेरि–फेरि सुनील पोखरेलजस्तो रंगकर्मी पाउन सक्दैन । तर, उनमा यतिखेर देखिएको चर्काे थकान भने ‘अनौठो’ छ, रहस्यमयी पनि ।

जीवनको यो मोडमै यसरी ‘निमित्त नायक’ झैं भएर अबको बाँकी बाटो कसरी हिंड्ने होला—प्रिय सुनील पोखरेल !

प्रकाशित : चैत्र १७, २०७४ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?