नेता–श्रीमतीको कथा

समीक्षा
गंगा बीसी

काठमाडौँ — मान्छेको जीवन सोचजस्तो सहज र सरल छैन । यसको आफ्नै गति छ । जीवनको गतिमा हिँड्न सक्नु नै मान्छेको कुशलता मान्न सकिन्छ । जीवनको गतिमा लय मिलाउन ठूलै संघर्ष आवश्यक पर्छ । यो जीवनका भोगाइहरू लिपिबद्ध भए अरूले पढ्न र जान्न पाउँछन् । त्यो नभए आफू र आफ्ना सन्तानलाई मात्रै थाहा हुन्छ ।

नेता–श्रीमतीको कथा

‘जीवन संघर्ष हो’ भन्ने मान्यताका साथ राजनीतिक यात्रामा निस्केकाहरूका लागि पनि त्यो संघर्ष कठिनतम हुन सक्छ । एक सुखका लागि सयौं दु:ख बेहोर्ने पेसा हो राजनीति । त्यही राजनीतिलाई मुख्य काम बनाएर जीवनका उकालीमा वर्षौं खर्चेका कथाहरू आजभोलि प्रशस्त पढ्न पाइन्छ । संघर्षको पछिल्लो सत्यकथा हो—‘लालटिनको उज्यालोमा’ ।

यो कुनै चर्चित लेखकले लेखेको पुस्तक होइन । सरस्वती ज्ञवाली हाल राजनीतिमा परिचित नाम होइन । तर उनको नाम राजनीतिका चर्चित व्यक्तिसँग जोडिएको छ । विगतको उनको भोगाइ जति पढ्न रोचक छ, त्यति नै त्यो पार गर्न जटिल छ भन्ने देखिन्छ । ‘लालटिनको उज्यालोमा’ भित्र सुरु भएको यात्रा कहाँसम्म पुगेर टुंगिने हो ? यो उज्यालोको यात्रा हाल झलमल्ल बिजुली बत्तीसम्म पुगेको छ । संघर्षमय जीवनमा भौतिक सुविधाहरू थपिएका छन् । तर, जति भौतिक सुविधा थपिएका छन्, त्यति नै संसार ‘विशाल’ हुन सकेको छैन लेखकका लागि ।

‘मैले बाध्य भएर सबैका आँखा खोल्न, समाजको आँखामा उज्यालो खोज्न दिउँसै लालटिन बालेँ । जानेर नजानेर मेरो भित्री आत्माले त्यो काम लगायो,’ लेखकले सुरुमै भनेकी छन् । गुल्मी चौताराको त्यो पहिलो विद्रोही घटना ज्ञवालीले आफ्नो पुस्तकमा सम्झेकी छन् । त्यसअघि उनले पढाइ, इच्छा नभएको विवाद रोक्न घरबाट विद्रोह गरेको थुप्रै उदाहरण यसमा छन् । मदनपोखरा–१, पाल्पाबाट सदरमुकाम तानेसन पढ्न र विवाह छल्न घरबाट हिँडेको प्रसंग त्यहाँ छ । त्यसबेलाको समाजलाई चुनौती दिंदै घरबाट हिँड्नु र बाआमाले तय गरेको विवाह नमान्नु ठूलै संघर्ष थियो । त्यो प्रसंगमा उनले सम्झेकी छन्—‘त्यहाँ म एक्लै परेँ, आफ्नो जीवनको सारथि थिएँ, कसरी हिँड्ने आफंै सोच्नु थियो ।’ उनले पढ्नकै लागि तानेसनमा ढाका कारखानामा काम गरेको स्मरण गरेकी छन् । यसरी एउटी छोरी बिस्तारै विद्रोही बन्दै थिइ ।

एमाले नेता एवं हाल परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली उर्फ कमरेड ‘शशि’ सँग पहिलो भेट हुँदा लेखकको प्रश्न थियो, ‘तपाईं के जागिर गर्नुहुन्छ ?’ संसार बदल्न हिँडेका कमरेड शशिका लागि यो प्रश्न सायद अनौठो थियो । ‘म केही जागिर गर्दिनँ, भूमिगत भएर हिँडेको छु,’ विवाहका लागि भएको पहिलो भेटको यस्तो संवादमा प्रेमको कुनै झल्को थिएन ।आफूसँग पहिलो भेट भएपछि नेता ज्ञवालीको भनेको कुरा लेखकले सम्झेकी छन्, ‘जिन्दगीको एउटा अवस्थामा पुगेपछि विवाहको आवश्यकता हुँदोरहेछ । मैले पार्टीमा कुरा राखेको थिएँ । कमरेडहरूले हाम्रो बीचमा विवाह गराउने प्रस्ताव राख्नुभएको छ । यसमा तपाईंको के विचार छ ?’ विवाह र प्रेम पनि पार्टीको सहमतिमा हुने जमाना थियो त्यो । दुवैबीच ‘कमरेडली सुरुआत’ पनि त्यही थियो ।

सरस्वतीको विवाहको तिथि २०४१ मंसिर १८ गते पार्टीले घोषणा गरेछ, कुनै ज्योतिषले होइन । त्यतिबेला प्रगतिशील विवाह चल्तीको शब्द थियो । माला–अबिर लगाएर जनता र क्रान्तिको नाममा शपथ लिएर विवाह सकियो । विवाह भएको दोस्रो दिन कमरेड शशि (प्रदीप ज्ञवाली) ले सरस्वतीसँग बिदा मागेछन्, ‘म जान्छु है ।’ उनले यसलाई यसरी सम्झेकी छन्, ‘उनी झोला टिपेर यसरी हिँडे, मानौं कुनै बैठकमा आएका थिए, बैठक सकियो र हामीसँग बिदा भए । मानौं विवाह भएकै छैन ।’

‘जीवनभर पीडा लिएकी छोरी’ उनको तीतो भोगाइ हो । पहिलो सन्तानका रूपमा जन्मिएकी छोरी क्षितिजको संसार साँघुरो भएपछि लेखिएको भोगाइ हो यो । प्रदीप र सरस्वतीको पहिलो सन्तान हाल २८ वर्षकी भइन् । छोरीको सम्पूर्ण स्याहार र उनलाई हुर्काउने ध्याउन्नमा रहिन् लेखक । सन्तानको माया कति कति । पहिलो पटक क्षितिजलाई मस्तिष्काघात भएको जानकारी पाएपछि उनको आफ्नो अनुभूति यस्तो छ— ‘अस्पतालबाट बाहिर निस्कँदा हाम्रा अगाडि संसारै अँध्यारोजस्तो भएको थियो । कहाँ हामीले जूनेलि रातमा देखेको सपना । कहाँ यतिबेलाको अन्धकार कालरात्रि । कहाँ हामीले परिकल्पना गरेर राखेको परेको उज्यालो क्षितिज ।’

पुस्तकको पृष्ठभागको टिपोटमा यसलाई सुन्दर ढंगले लेखिएको छ, ‘यो पुस्तक यस्ती आमाको कथा हो, जसले आफ्नो पहिलो सन्तानबाट अझैसम्म आमा भन्ने शब्द सुन्न पाएकी छैनन् ।’

नेता ज्ञवालीको राजनीतिक सरुवाका बेला नवलपरासी, अर्घाखाँची, बुटवलका तीतामीठा क्षण पुस्तकमा समेटिएका छन् । सासू, आमा, ठूली आमालाई सम्झँदै लेखकले श्रीमान् प्रदीपप्रति दर्जनौं गुनासा गरेकी छन् । लेखकको इमानदारी त्यो हो जसले निकटस्थबारे पनि मजैले गुनासा लेख्न सक्छ । राजनीति त्यति सहज र सरल हुँदैन, त्यसको मार घरका सबैले बेहोर्नुपर्छ भन्ने उदाहरणमा यसमा छ । खुसीका क्षणहरू पनि छन् । श्रीमान् सांसद हुँदा र मन्त्री हुँदाका खुशीका कुरा पनि छन् । महत्त्वपूर्ण पदमा श्रीमान् भएका बेला पाएका केही आरोप र गाली पनि पुस्तकमा समेटिएका छन् ।

पहिलो पटक २०५६ मा गुल्मी–२ बाट श्रीमान् (प्रदीप) सांसद भएर सरस्वती काठमाडौं बस्न थालेपछि कार्यकर्ताको पुँजीवादी राजनीतिक चरित्र जान्ने मौका मिलेको उनले खुलाएकी छन् । २०६२/०६३ को आन्दोलनपछि पर्यटनमन्त्री भएका बेला उनले कर्मचारीतन्त्रदेखि चाकरीवादसँगै कार्यकर्ताको पाइन छाम्ने मौका पाएको खुलेरै लेखेकी छन् । बुटवलमा जग्गा, भक्तपुर र काठमाडौंमा घर कसरी बन्यो (?), उनले आफ्नो पुस्तकमा स्पष्ट लेखेकी छन् । पुस्तकमा सुखभन्दा दु:खका कथा बढी छन् । श्रीमान् प्रदीप बौद्धिक नेताका रूपमा चिनिने भएकाले यो पुस्तक तयार गर्दा श्रीमान्को लेखन मिसिएको आशंका हुन सक्छ । तर सरस्वतीले सरल भाषामा आफ्ना धेरै कुरा लेखेकी छन् । पुस्तक खासगरी संघर्षरत जो कोही राजनीतिक कार्यकर्ताका लागि प्रेरणा हुन सक्छ । राजनीतिक नेताका श्रीमतीका लागि यो अझ रोचक हुन सक्छ । भाषामा अझै सुधार गर्नुपर्ने प्रशस्त ठाउँ छ । लेखन सिलसिलाबद्ध मिलेको भए अझ राम्रो हुन सक्थ्यो । कृतिका लागि एक गृहणी लेखक बधाईको पात्र छिन् ।

लालटिनको उज्यालोमा
लेखक : सरस्वती ज्ञवाली
प्रकाशक : अक्षर क्रियसन नेपाल
मूल्य : रू. ३२०/–

प्रकाशित : वैशाख १, २०७५ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?