कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तस्बिरजस्तो शोध–उपन्यास

समीक्षा
किशोर नेपाल

काठमाडौँ — मूलत: कविका रूपमा चिनिएकी सरस्वती प्रतीक्षाको भावात्मक गद्यको नाम हो नथिया । उनको सिर्जनालाई उपन्यास होइन भन्न मुस्किल पर्छ, नयाँ जमानाको महाकाव्य भन्न नसकिने होइन । कविता होइन भन्न कठिन, कथा होइन भन्न झन् कठिन । सरस्वतीका लयबद्ध गद्य र पद्यको आनन्द लिनेहरू धेरै छन् ।

तस्बिरजस्तो शोध–उपन्यास

यो पटक उनी उपन्यासका साथ बजारमा उभिएकी थिइन् । बजारको इज्जत नथियासँग जोडिएका कथा र उपकथाहरू र यसको लयबद्ध शैलीले जोगाइसकेको छ । यो उपन्यासले नथियाको लयलाई नपछ्याएको भए मानवीय आस्थालाई तिलाञ्जली दिएको हो कि जस्तो लाग्ने थियो । सरस्वतीको यो उपन्यास एक हिसाबले धर्मविच्छेद हो र अर्को हिसाबले धर्मको पालना । फूलमाया बादी र फूलमाया बुढाथोकी कुवाको पानीका निम्ति झगडा गर्छन् । कहिलेदेखि सुरु भएको हो यो झगडा ? यसको त इतिहास नै छैन ।

उत्तेजनाको आगो र प्रेमका स्पर्शहरू एकैसाथ सुरु हुने र सकिने यो कस्तो पेसामा छन् बादीहरू ? सरस्वतीले उपन्यास अनुसन्धानको क्रममा भोगाइको यो असहजतालाई बुझेर पनि अवस्थालाई सम्हाल्न सकेकी छैनन् । उनले भावनाको बाढीबाट जे जे बचाउन सकिन् बचाउन । बेलाबेलामा उनको अनुहार तीक्ष्ण भावनाले निथ्रुक्क देखिन्छ । उपन्यासकारको अनुहारमा यस्तो दृश्य हेर्नु रमाइलो हुँदैन । उहिले ‘द कलगर्ल’ यस्तै यस्तै अनुसन्धानको एउटा कृति थियो जसमा कथाको चमक थिएन । त्यसमा कथाको भन्दा अनुसन्धानको लोभले लेखकलाई तानेको थियो । सरस्वतीले कथाकारको अस्मिता जोगाएकी छन् ।

अब यो नथिया एउटा तस्बिर हो । यो तस्बिरमा सरस्वतीले अलिकति राजनीति गरेकी छन् भनौं कि राजनीतिमा हात हालेकी छन् भनौं । तर, यतिभन्दा हुन्छ, सरस्वतीको यो हस्तक्षेप जायज हो । स–साना परिच्छेदहरूमा बाँडिएका कथा र उपकथाहरू सामलीको अनुहार हुन् । यसलाई नै उपन्यासकार सरस्वतीको राजनीति भनेको हो । यस्ता कथाहरूमा कथाकार र कथावस्तुलाई विभाजित गर्न सकिँदैन । सामली आफ्नो भोको बच्चालाई जुठो दूध खुवाउन चाहँदिन । तर, पैसा ऊ त्यही जुठ्यानबाट कमाउँछे । आठौं रंगमा सामलीको नथिया खुल्छ । के नथिया खोलिनु मुक्ति हो ? काखे बच्चा र लयमा त्यो बच्चाभन्दा फरक नदेखिने मोहम्मद नाम गरेको लोग्ने । यो त सामलीको पुरुषार्थको कथा पनि हो ।

नेपालमा पुस्तकको स्वतन्त्र अस्तित्व स्थापित भएको छैन । किताब पढ्ने लोभ पाठकमा पनि उत्तिकै हुनुपर्छ । यो तत्त्व लेखकमा भन्दा बढी नै हुनुपर्दछ पाठकमा । नेपाली जनता देशको परिधिभित्र छिर्न सकेका छैनन् अहिलेसम्म । उनीहरूको कथाले पीडितको रूपमा होइन, नायक र कलाकारका रूपमा जीवन्त हुन पाउनुपर्छ । देशका सामान्य मानिसहरू जसरी संघर्षहरूबाट पन्छाइन्छन्, त्यो दुर्भाग्य हो । जनताले परिवर्तनको आफन्तपन भोग्न नपाएको होइन तर त्यसका लागि कसैले जनताको साथ नै दिएन । आखिर सभ्यता नै मूलभूत कुरा हो । भनौं, आजको लेखन भविष्यमुखी समाजको निर्माणतिर अग्रसर देखिन्छ । साँच्चै हो र ? हो भने, यो नै हामीले खोजेको सृष्टिको आकार हो । त्यहींबाट नियति द्विविधामा पर्छ ।

सरस्वतीले नथिया ठीक समयमा लेखेकी छन् । नेपाली समाज पछिल्लो तीन दशकदेखि हुँडलिएको छ । त्यसभन्दा अघि पाँच दशकसम्म हुँडलियो । कुलीन र नवकुलीन वर्गका प्रतिनिधिहरू यो हुँडलिएको नेपाली समाजलाई मानिसको मौलिक बासस्थान बन्न नदिन लागेका छन् । तर, परिवर्तन रोकिँदैन । सरस्वतीको नथियाले भोलि कसरी परिवर्तनको बाटो देखाउनेछ ? यो सोचिरहनुपर्ने कुरा रहेन । आफ्नो भाग्यको निर्माण आफैं गर्ने खोजमा रन्थनिएको नेपाली समाज कहाँनिर शान्त होला ? भन्न सकिने अवस्था अहिले पनि आएको छैन । समाज अशान्त छ । तर, साहसबाट चुकेको छैन । साहसबाट चुक्नु भनेको शोक व्यक्त गर्नु होइन । नथियाले नेपाली उपन्यासले अहिले के खोजिरहेको छ ? त्यसको उदाहरण प्रस्तुत गरेको छ । यो अहिलेको आवश्यकता मात्रै होइन ।

नथियाका बारेमा सरस्वती भन्छिन्, ‘काव्यिक यथार्थको नजिक नजिक ।’ उनलाई यस्तो पनि लाग्छ नथिया लेखेर उनले राम्ररी नै खतरासँग खेलिन् । अनि, आफू स्वास्नीमान्छे भएको सेन्स पनि उनमा आइरहन्छ । बादीको जीवनलाई मानिसहरूले फोहोरको थुप्रो मानेको जस्तो आडम्बरको आँखाले हेरेका छन् । तर, बादी मानिस हो । नेपाल र भारत सिमानाका शहर बस्तीबाट बग्दैबग्दै अझ ठूला र अझ ठूला शहर आइपुगेका गन्दगीहरू होइनन् । नदी र मानिसका बीचमा व्यतिक्रम भैसकेको छ । बादी कन्या जसरी उमेरको छोटो हदपछि रजस्वला नै नभएर पनि कन्या रहँदिन गंगाको गति र गन्तव्य पनि त्यही हो ।

सरस्वतीले खुद्राखुद्रामा आउने अवसरहरूलाई सँगालेर त्यसलाई थोकमा बदल्ने कला सिकेको स्वीकार गरेकी छन् । त्यो कला उनले कीर्तिपुर पढ्दा सिकेकी हुन् । दौडिन पनि कीर्तिपुरमा नै सिकेकी हुन् उनले । सामलीमा सरस्वती आत्मसात् जस्तै छिन् । सरस्वतीको नथिया ‘शोध उपन्यास’ हो । मैले कतै सुनें मात्र, केही बोलिनँ । कथा त कथा मात्रै हो । यो शोध र कल्पनाको भारी एकै पटक उठाउँछ । तर, त्यसो नहुन पनि सक्छ । मैले अघि उल्लेख गरेको ‘द कल गर्ल’ बढी शोध थियो कि नथिया छ ? मसँग ठ्याक्कै यसको उत्तर छ : नथिया । नथियामा शोध छ । समाजशास्त्रका धूलौटे सूत्रहरू छैनन् । नथियामा मानिसको उन्मुक्तिको कथा छ । कोठीबाट कोठीबाहिर सडक नियाल्नेको भीड छैन ।

नथिया पढ्दै थिएँ । मैले अचानक मुढा, गगनगन्ज र राजापुर सम्झिएँ । यहाँ शहरको छेउमा पोखरी थियो । पोखरीको मध्यभागमा उभिएका महादेवका जुंगा थिए । अचम्म लागेकै हो । पछि पो देखियो । कुनै भक्तले आफनो आँखाको सुविधाजनक उपचारका लागि महादेवलाई गगल्स चढाएछ । नथिया त्यसैगरी विभाजित छ । २७८ पृष्ठहरू अनेकन परिच्छेदहरूमा बाँडिएपछि यस्तै हुन्छ, महादेवलाई गगल्स चढाएजस्तो । सरस्वतीले आफ्ना पाठकलाई त्यसरी नै सम्मान गरेकी छन् । सम्मानको उनको सूत्र पनि सम्मान नै हो । सम्मानको त्यो कडीले नथियाबाट अनावश्यक शब्दका हूलहरू बाहिरिएका छन् ।

‘नथिया’ मा सरस्वती प्रतीक्षा अलि बढी नै प्रयोगशील देखिएकी छन् । बादीहरूले बोल्ने भाषामा उनले पूरै उपन्यास सकेकी छन् । यो एक समयको फेसन थियो । अहिले यो सामान्य भैसकेको छ र यसमा आकर्षण पनि रहेन । सरस्वतीले आफ्नो उपन्यास मार्फत बादीहरूका लागि एक सेट जीवन खोजेकी छन् । यो त्यति धेरै ठूलो माग होइन । तर, ठूला–बडा वा हुने–खाने वर्गका मानिसहरूमा हिच्किचाहट देखिन्छ । समय ज्यादै कुटिल छ । ल, विचार गरौं : नेपालगन्जका जुंगे महादेवलाई गगल्स लगाइदिएर कोहलपुरदेखि प्रदेश नम्बर ३ को खुलामञ्चसम्म जुलुस निकाल्ने हो भने के हुने होला ?

नथिया
लेखक : सरस्वती प्रतीक्षा
प्रकाशक : बुक हिल
पृष्ठ : २७८
मूल्य : ४२५/–

प्रकाशित : वैशाख १, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?