२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

अपराजिता पारिजात

सम्झना
कुमारी लामा

काठमाडौँ — प्रश्निल गुनासो पोख्छे युवती पुरुषसँग (सामीप्य बढिसकेपछि) किन परिचय गर्नबाट तर्किनुभएको थियो ? जवाफमा पुरुषले कुरो खोल्छ, म तिमीलाई बजारु केटी ठान्थें । म रन्न हुन्छु । र, आफैंतिर प्रश्न तेर्साउँछु ।

अपराजिता पारिजात

कस्तो थियो होला त्यस युवतीको लवाइ या बोलाइ जसले उसलाई बजारु देखायो ? कि त्यो एलिट पुरुष दम्भ त थिएन ? (ती युवती थिइन् पारिजात र पुरुष त्यसबेलाका चर्चित कवि भूपि शेरचन)

पूर्व चैनपुरबाट गएका तामाङ बूढाका सन्तानहरू जो दार्जिलिङ लिङ्गिया चिया बगानको त्यस घरमा हुर्कंदै थिए । एउटी थिई असाध्यै चञ्चल र अर्की साह्रै आफैंमा मात्रै हराउने केटी ।

मिथ र रियालिटीको पर्दा
कति अचम्म लाग्छ जब कसैप्रति एकाएक अनेकन कथाहरू बुनिन थाल्छन् । र ती पात्र बजारमा अर्कै भएर छाइसकेकी हुन्छे । जहाँ पहिल्यै रियालिटी र मिथबीच
पर्दा खसिसक्छ ।

पारिजात त्यस्तै पात्र भइन् जसबारे अनेकन अनेकन कथाहरू बुनिए । अनेकले अनेक तरिकाले बुझे र अफ्वाह फैलाए । सबभन्दा घृणित कुरा त उनको चरित्रलाई लिएर कुरा भए । लेखक आहूतिले उनको एक अन्तर्वार्तामा खुलाएका छन् पारिजात सबैसँग सुत्दै हिँड्ने आइमाई हो भनी परिचय गराइदिएका थिए रे एक अग्रजले उनलाई । त्यसपछि धेरै समय लागेको थियो उनलाई पारिजातबारे त्यस बनिबनाऊ दृष्टिकोणको घेरा तोडेर निस्कन ।

किन थियो होला त्यस समय त्यो साहित्यिक घगडानहरू एक रोगी युवतीसँग त्यत्ति त्रस्त ? र, अनेकन किस्सा जोडिदिइहाल्थे उनको चरित्रमा ? कि पाएका थिए संकेत कि यी नपत्याउँदी दार्जिलिङे युवतीले साहित्यमा उथलपुथल नै ल्याउनेवाला छे ?

पारिजात बाहिरियाको नजरमा मात्र हैन आफ्नै घरपरिवार छरछिमेकमा पनि अर्कै थिई । उनका बाबु डाक्टर के.एस. वाइबा उनलाई सेन्टिमेन्टल फुलदेखि बिग्रेको दार्शनिकसम्म भन्न बेर लाउँदैन थिए । उनका दिदीहरूले उसलाई लाटी भन्थे । चर्चित कवि तथा चित्रकार वीरेन्द्र सुब्बाले त उनलाई हाफब्रेन नै भन्थे । यी सम्बोधनहरू मुख्यत: एक किशोरी पारिजातका लागि थिए । ऊ सानै बेलादेखि अरूभन्दा भिन्न अन्तर्मुखी, कुरा बोल्न भन्न केही नसक्ने, तर भयङ्कर नै कल्पनाशील थिई ।

बहिनी सुकन्याका लागि भने ऊ बेग्लै थिई । अरूले सोच्ने र बुझेको भन्दा भिन्नै । चौध–पन्ध्र वर्षको कलिलो उमेरबाट सुरु भएको जोर्नीको दुखाइले जब पच्चीस छब्बीस पुग्दा पूरै हलचल गर्नै नसक्ने गरी निरीह पारिदियो तब त्यस घोर निराशाका क्षण उसले भनीसुकन्या म पराजित जन्मेकी रहेछु ।

तब सुकन्याले दिदीलाई थप्थपाउँदै भनेकी थिई :तिमी पराजित हुनै सक्दैनौ, तिमी अपराजिता हौ । (एउटा चित्रमय सुरुवात) मिथ र रियालिटीबीचकी पारिजात यसरी सुकन्याका निम्ति भने सधैँ अपराजिता पारिजात नै रही ।

बतासजस्तो जीवन
पूर्व चैनपुरबाट गएका तामाङ बूढाका सन्तानहरू जो दार्जिलिङ लिङ्गिया चिया बगानको त्यस घरमा हुर्कंदै थिए । एउटी थिई असाध्यै चञ्चल र अर्की साह्रै आफैंमा मात्रै हराउने केटी । तर अब त्यो घर, त्यस घरकी मुली (आमा) सबै सम्झनाबाट पनि धमिलिइसकेको छ । कान्छी छोरी जन्माएपछि आमा बितिन् । मन बिग्रिएका बाबुले टाढाको लिम्बू बस्तीको तीनकोठे घरमा सारे ।

अब त्यस घरमा इष्ट देउता छैन, परम्परा, संस्कार केही छैन । सबैभन्दा ठूलो कुरा आमा छैनन् । कडा र घमण्डी मेडिकल प्राक्टिसिनर बाबु छन् । घरमा शोषण छैन तर कडा छ उनको अनुशासन । युद्धका कथा हाल्छन् बाबु । माक्स, एंगेल्स पढ्छन् । सुँगुरको मासु नचल्ने तामाङको चुलोमा त्यसैको भोज लाउँछन् । देउतालाई पानी चढाउने कचौरामा दाल हाल्न थालिन्छ । आफूभन्दा तल्लो स्तरका साथीहरूसँग खेल्न बोलन दिँदैनन् बाबु । घरमा बेस्सरी हाँस्नु, नाच्न गाउन मनाही छ । अर्कैअर्कै छ घरको माहोल । वन जंगल डुल्नु, काँडा बिज्नु, जुका लाग्नु, गट्टा, पुतली खेल्नु, बिरामीको बहाना बनाएर स्कुल छुटाउनु सबैसबै भ्याइदिन्छे ऊ । तर बिस्तारै बहाना गर्नै पर्दैन अब त कहिले कान दुख्छ कहिले आउँ पर्छ । बिरामी भै बस्छे ।

हस्तलिखित पत्रिका चलाउने दाजुहरूले लेख्न भन्छन् । कविता लेख्छे, कथा लेख्छे तर पढेर साथीहरू हाँसिदिन्छन् । झन् संकोच बढ्छ । कोर्सको किताब पढ्न मन गर्दिन तर अरू किताब पढ्ने लत बढ्दै जान्छ । धरणीधर, लेखनाथ, किट्स, सेलीका कविता पढ्छे । लेख्छे अनि हस्तलिखित पत्रका लागि पठाउँछे । प्यारेलाल आबाराहरूबाट सुरु भएको उसको पढाइ यात्रा अब प्रेमचन्द, वृन्दावनलालतिर पुगिसकेको छ । साथीहरूका लागि प्रेमपत्र लेखिदिन थालिसकेकी छ । चुरोट पिउन पनि थालिसकेकी छ । बहुत कल्पनाशील भएकी छ । बतासजस्तो जीवन बितिरहेको जस्तो लाग्छ उसलाई ।

सात कक्षामा फेल हुन्छे । तेह्र वर्ष पुग्दा त आफू तरुनी भएको जस्तो मान्छे । स्वतन्त्रता चाहन्छे । गमलामा साँघुरिएको फूलजस्तो देख्छे आफूलाई । अस्तित्वबोध जस्तो, आफ्नो शरीरप्रतिको मोहजस्तो केही फैलिन्छ ऊभित्र । तेह्र–चौध वर्षमै । कसैले छोएर माया गर्नै पर्दैन यो मेरो शरीर हो, यस शरीरको म मालिक हुँ भन्ने किसिमको एउटा घमण्डी अनुभव मनमा पसिसक्छ ऊभित्र । (धुपी सल्ला र गुराँसको फेदमा, निर्माण, पृष्ठ १८) किशोरी संसार, कल्पनाको उडान, स्वतन्त्रताको तीव्र चाहना, प्रेम जस्तो केही अनुभूति तर एकै पटक नभेटी, केही पत्राचारमा यसै टुङ्गिएको प्रेमील समय । बिस्तारै महसुस हुदै जान्छ बाबुको आर्थिक समस्या तर मन न हो उड्न दौडन छोड्दैन । भात भान्सा, सिलाइ–बुनाइ सबैमा पोख्त भइसकेकी छ अब त । उमेरसँगै संकोच र घेराहरू बढ्दै छन् । पहिलेजस्तो रनवन दौडिन छाडेकी छ । र, रमाइलोरमाइलै समयमा एक रात सुटुक्कै पसिदिन्छ त्यो घातक दुखाइ देब्रे कुहिनोबाट । के थाहा र उनलाई त्यही दुखाइ नै हुनेछ जीवनलाई नै जाम पारिदिने नशालु दुखाइ ।

नशालु दु:ख
त्यस परिवारको एक मात्र छोरोको मृत्युपछि डाक्टर बाबु नराम्ररी टुक्रिएका छन् । अब आफ्नो दुखाइको कुरा गर्ने समय छैन । बिरक्तिएका बाबु नेपाल छिर्छन् । रुमानी समयमा रमाउनुपर्ने किशोरी सुकन्या र पारिजात भकुन्डो जत्तिकै यता र उता भौंतारिन्छन् आफन्तहरूकोमा । दिदीको घरमा बस्दा परपीडक भिनाजुको शासन र अत्याचार देख्छन् आफ्नी दिदीको दुर्दशा अनि झन्झन् बढी पीडाबोध साथै रातभर निद्रा नलाग्ने समय सुरु हुन्छ उसको । मन बिग्रिनु, पढ्न नसक्नु, म्याट्रिक फेल हुनु, शरीरमा बिरामी रोपिनु । धेरै कुराहरू भइसक्छ कलिलै उमेरमा । त्यसपछि २०११ साल मंसिरमा ऊ आइपुग्छे अर्को बिरानो ठाउँ, काठमाडाैं।

बिस्तारै बिरानोबाट आत्मीय हुन थाल्छ पुतलीसडक । बोलीचाली फेरिएको छ । मटरमार चुरोट उडाउन थालेकी छ ऊ । तर एक खाले निराशाले गाँजिबस्छ । एक्लोजस्तो । जब सुकन्या २०१२ सालमा नेपाल आउँछिन् तब सबै पहिलेजस्तै सहज लाग्न थाल्छ । तर डाक्टर बाबुको अभिमान उस्तै छ । क्लास मेनटेन गर्नुपर्छ उनलाई । उनको अनेकन मेडिकल रिसर्च चलिबस्छ । तर आम्दानीको स्रोत छैन । काकाका छोरा दाजुले आश्रय दिएका छन् तीनतीन जनालाई । गाह्रो छ समय । आईए भर्ना भएका छन् दुई बहिनी । तर एउटै साडी दुवै जनाले समय मिलाएर लाउनुपर्ने बाध्यता छ ।

दाल–भातसम्म त पाइन्छ दाजुबाट तर भातपानीबाहेकका जिउँदै छन् अनेकन रहर जो उसै रहन्छन् । पैसा नहुनु र चुरोटको तलतलले गाँज्नु । धन्न घरमा काम सघाउने केटीले पनि चुरोट पिउँछे र उसलाई भर हुन्छ । साथी बनेकी छ पर्दाभित्रकी दया सिंह । बाहिर निस्कँदा पनि सुसारेसहित हिँड्नुपर्छ उसले । पद्मकन्यामा आईए पढ्दा रोपिएको मित्रता, बहुत सप्रन्छ । सँगै चुरोट पिउनु, गफ्फिनु, कविता लेख्नु र जिप रिजर्भ गरेर वनकाली घुम्न जानु, वर्षामा भिज्दै पुतलीसडक भद्रकाली वारपार गर्नुजस्ता मीठा पलहरू छन् उनीहरूका । बिस्तारै सुकन्या जागिरतिर लाग्छिन् तर पारिजात घरमै । शरीरको दुखाइ बढ्दो छ अनि बढ्दो छ निराशा । त्यसै बखत भ्याइसकेकी छ पढेर गोर्की, तोल्सतोय, कन्फुसियस, सांकृत्यायन, बुद्ध दर्शनहरू, उपनिषद्, ताओइज्म, र पढ्ने गरेकी छ फ्रान्सेली र रसियन साहित्य पनि । नेपाली लेखकहरूप्रतिको रुझान उस्तै छ । उसलाई मन पर्छ भीमदर्शन रोक्का, वासु शशि र भूपि
शेरचनका कविताहरू ।

नेपाली पढाउने गुरु चित्तरञ्जन नेपालीले उसको कविता धरतीमा छापिदिन्छन् । पढ्ने लेख्ने जोस झनै बढेर जान्छ । सुकन्या र दयाले लेख्न कर गर्छन् । र, लेखिदिन्छे पहिलो उपन्यास, संघर्ष । छपाउनका लागि दौडधुप चल्छ तर जताततैबाट अस्वीकार । हिउँदको एक दिन त्यसैलाई जलाएर न्यानो ताप्छे । त्यसपछि पनि तीनवटा उपन्यासका पाण्डुलिपिहरू त्यसै गरी जलाई उसले । लेख्न नसक्ने रैछु भन्ने पीडा, शरीरमा बढ्दै गरेको दुखाइको पीडा, आर्थिक संकटको पीडा । थपिँदै छन् पीडाहरू । बाबुको जिद्दीपन र अभिमानले दिएको पीडाले पनि ऊ पिल्सिरहन्छे । बाहिर अरू डाक्टरसँग सरसल्लाह गर्न जँचाउन दिँदैनन् डाक्टर बाबु । जँचाउन जान पैसा पनि त छैन खासमा । उनैले अनुसन्धान गरेको औषधि ख्वाइरहन्थे तर ती औषधिले पटक्कै छुँदैनथ्यो ।

उनले अनुसन्धान गरेका औषधिहरू सबै मैले आफ्नो शरीरभरि थापिदिएकी छु । अनुसन्धानको नातामा । उनको मर्यादाको नातामा । (अध्ययन र संघर्ष, पृष्ठ १४४, निर्माण प्रकाशन)

त्यसपछि सुरु भएथ्यो उसको कोडोपाइरिन यात्रा । तकियामुनि औषधि नभएको दिन ऊ स्वाट्ट पारिदिन्थी एक गिलास रक्सी र गुडुल्किदिन्थी । ब्युँभँmदा अलि कम भएको जस्तो हुन्थ्यो दुखाइ । दुखाइ र अभावैमा बीए पास गरिन् पारिजातले । काम गर्ने जोस थियो । केही समय विजय स्मारकमा पढाइन् पनि तर बिस्तारै बिग्रिँदै गयो स्वास्थ्य । २०१७ सालतिरबाट त उनी लगभग ओछ्यानमै थन्किइन् । हावा फेर्नका लागि केही समय दार्जिलिङ पनि आउने जाने चल्यो तर फेरि पनि ज्यान उस्तै, बिमार उस्तै । सबैभन्दा बढी शारीरिक र मानसिक कष्टकर समय थियो २०१९ देखि २०२१ सालसम्म ।

त्यसै समय घोर पीडाले घेरिइँदा निराशा, छट्पटी, एक्लोपन, मृत्यु र अनेकन विसंगतिले भरिएका कविताहरू लेखिन् । ‘लाहुरेलाई रोगी प्रेमिकाको पत्र’, ‘मृत्युका अँगालामा’, ‘नसोध यो घाउ’ हरू त्यसै समय लखिएका कविताहरू हुन् । मृत्युको लालसा बोकेका यी हरफहरू चिमोटी जान्छ मन—

मलाई त मर्नु छ

आफैंले हेरिरहनु छ सिद्धिएको, गलिरहेको आफूलाई

ए । कसो विलिन नहुँला त एक दिन ।
के छ र मेरो मानिस हुँ भन्ने दाबी

एक मुट्ठी गलेको मासु

र एक सानु बन्डल थाकेको हाड

त्यत्ति नै, त्यत्ति पनि कुन्नि । (मृत्युका अँगालामा) थलिएको बखत, उपायहीन भएको बेला, शरीरको पीडाले पराकाष्ठा चुमेको बखत जन्मिन्छ एउटा ऐतिहासिक कृति, ‘शिरीषको फूल’ । चर्चा, चासो, खासखुस, कुरा कटाइ, नाम, बदनाम सबैसबै हुन्छ ओछ्यान परेकी पारिजातको । ऊ आफैंले स्विकारेकी छ कि घोर निराशाको कथा थियो शिरीषको फूल । तर पीडा र निराशा पनि उनले स्विकारेरै अगाडि बढेकी हुन् । शरीर र मन दुवैको पीडाले थिलथिलो भएको बखत पनि उनी सहजै भनिदिन्छिन्—

‘कहिलेकाहीं सोच्छु आह । कति नशालु छ मेरो यो दु:ख, केही नहोस् जीवनमा सहनुको रमाइलोपन छ ।’ (अध्ययन र संघर्ष, पृष्ठ १४२)

मन दुखेको बखत सम्झन्छु पारिजातका यही हरफहरू अनि नशालु महसुस हुन्छ आफ्नै पीडा पनि ।

प्रिय राइटर
मलाई तिम्रो स्वाभिमान बेहद प्रिय लाग्छ । उपचार खर्चका लागि प्रज्ञालाई बिन्तीपत्र लेख भन्ने सिद्धिचरण श्रेष्ठ र दान खालिङको अनुरोधमा तिमीले भनेकी रहेछौ—

मजस्तै उपचार नपाएर थन्को लाग्ने थुप्रै छन् नि दाइ, किन मैले मात्रै त्यो अधिकार पाउनुपर्छ र ? (पृष्ठ ८७ एउटा चित्रमय सुरुआत) यी हरफहरू पढेपछि त तिमीप्रतिको सम्मान आकाशियो । फलफूल खान भनी सरकारबाट आएको पैसा पनि तिमीले नछोई नै फर्काइदिएकी रहेछौ । क्षणक्षणको पैसाको आवश्यकता अनि पैसाकै संकट तर त्यस अवस्थामा पनि तिमीले कसरी त्यो स्वाभिमान कायम गर्न सक्यौ ? डाक्टर बाबुबाट सरेको क्लास एट्टिट्युड हो ?

पामिस्ट्रीको ढड्डु पुस्तक पढेर साथीहरूको हात हेरिदिएको प्रसंग पढ्दा अजिब लाग्छ । जे पनि पढ्न सक्ने पेसेन्स भएकी तिमी, सिबाय कोर्सको पुस्तक । अचम्म ती तिम्रा अनौठा स्वभावहरू । अनि तिम्रो फूलप्रेम । वाह ! अझ पनि सुकन्या दिदीले जोगाएर राखिदिनुभएको छ तिम्रो कोठामा भएको त्यो बिरुवा । एक भलाकुसारीमा सुकन्या दिदीले कुरो उप्काउनुभएथ्यो ।

प्रत्येक साँझ तिमी पकौडासँग लोकल पिउँथ्यौ रे । कुरा सुन्दासुन्दै मलाई पनि रहर लाग्यो र त्यसै साँझ मैले पकौडासँग दुई पेग रम पिएँ । एक बौलट्ठीपनासहितको साँझ बिताए । दिमग रङमरिँदै गर्दा तिम्रो नाममा केही लाइन कोरे डायरीमा । अलिकति रन्थनाई भर्खरै पढिभ्याएको तिम्रो आत्मसंस्मरण अध्ययन र संघर्षको बाँकी नै थियो मभित्र । तिम्रा ती भव्य संकटको समय, मनको पीडा, औषधि गर्न पैसाको समस्या र बढ्दै गरेको शरीरको दुखाइ । त्यसै समय तिमीले साथ लिएको पेनकिलर र रक्सीको साथ, पढेकी थिएँ ।

आर्थिक अवस्थाले पनि साथ दिँदैन, अनि म कोडोपाइरिनमा अवलम्बित हुन्छु । तकियामुनि कोडोपाइरिन सिद्धिए म रक्सी पिइदिन्छु । (अध्ययन र संघर्ष, पृष्ठ १४४, निर्माण प्रकाशन )

तिम्रा किताब र लेखाइका कुरा त सबैले गरेकै छन् प्रिय पारिजात । मलाई त केवल गर्नु थियो केही क्षण भलाकुसारी तिम्रा ती बिलकुल अन्तरंग समयसँग, बस् । लाखौं सम्झना ।

प्रकाशित : वैशाख १, २०७५ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?