‘केन्द्रको आँखाबाट ओझेल परेजस्तो !’

यो साता
कान्तिपुर संवाददाता

काठमाडौँ — डा.सञ्जीव शर्मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा इन्टर्नल मेडिसिनमा विभागीय प्रमुख हुन् । आसाम, भारतबाट एमबीबीएस र एमडी, काठमाडौं युनिभर्सिटीबाट डीएम हुँदै इटली, बेलायत, जापानबाट पनि विषयगत विशेषज्ञता हासिल गरेका डा. शर्मालाई हालै विश्व स्वास्थ्य संगठनले सर्पदंशसम्बन्धी विज्ञ टोली सदस्यमा नियुक्त गरेको छ ।

झन्डै दुई दशकयता प्रतिष्ठानमा कार्यरत ४८ वर्षीय शर्मा मुटुरोग तथा मृगौला रोग विशेषज्ञ हुन्। प्रतिष्ठानका गतिविधि, स्वास्थ्य क्षेत्रको सम्भावना र विडम्बना तथा मोफसल कार्यअनुभवका बारेको कुराकानी :


म कार्यरत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एक स्वायत्त निकाय हो जसको मुख्य मिसन सार्वजनिक स्वास्थ्य सेवाको सुलभ पहुँचसँगै सेवा, अध्ययन–अध्यापन र प्राज्ञिक अनुसन्धानको काम एकसाथ अघि बढाउनु हो । यो ‘नन प्राक्टिसिङ इन्स्टिच्युट’ हो । पैसाभन्दा पनि बिरामी सेवा, एकेडेमिक करियर र रिसर्चमा विश्वास गर्नेहरू चिकित्सक तथा फ्याकल्टीहरू प्रतिष्ठान सम्बद्ध छन् । यो संस्थाले विश्वव्यापी समन्वय र संयोजनमा अनुसन्धान कामलाई अघि बढाएको छ । जस्तो, अहिले अमेरिका बस्ने क्यान्सर विशेषज्ञ डा.विनय शाह (प्रतिष्ठानका भूतपूर्व विद्यार्थी) सहितको सहयोगमा धरानमा क्यान्सर सेन्टर खोल्ने क्रम अघि बढेको छ । डा. शाहको विनयतारा फाउन्डेसन र प्रतिष्ठानबीच यसबारेमा समझदारीपत्र आदानप्रदान गर्ने प्रक्रिया अघि बढेको छ । यस्तै, भारतको सीएमसी भेल्लोर र जेनेभा युनिभर्सिटी हस्पिटलसँग पनि सहकार्यको पहल भैरहेको छ ।

.............

हामीकहाँ कतिपय रोगहरू नेपालमै पहिलो पटक पत्ता लागेर उपचार भएका छन् । उदाहरणका लागि मलेसिया, थाइल्यान्डजस्ता देशमा हुने प्रकारको निमोनिया (जसलाई मेलिडोसिस भनिन्छ) हाम्रो देशमा पनि पाइएको छ, यसलाई नेपालमा क्षयरोग (टीबी) भनेर उपचार गरिने सम्भावना रहन्छ । हाम्रो प्रतिष्ठानसहित काठमाडौंमा अहिले प्राध्यापक डा.बुद्ध बस्नेतको विज्ञ समूहले यो रोगका बारेमा चासो राखेर निदान पद्धति पहिल्याउने काम हुँदै छ । मेडिसिन डिपार्टमेन्टमा कतिपय यस्ता रिसर्चहरू भैराखेका छन् जसको महत्त्व विश्वव्यापी हुन सक्छ । उदाहरणका लागि, अर्को ‘जिरो बाई ट्वाइन्टी फाइभ’ नामको अनुसन्धानमा सन् २०२५ सम्ममा कोही पनि नेपालीको ‘एक्कासि हुने मृगौला विफल हुने रोग’ (एकेआई) बाट मृत्यु नहोस् भनेर विश्वव्यापी अनुसन्धान सुरु भएको छ । यसमा प्रतिष्ठानको पनि सहभागिता छ । यस्तै, बाथ मुटुरोगसम्बन्धी अनुसन्धानको कुरा गर्दा यो गरिब मुलुकमा हुने ‘असाध्य रोग’ हो जसले मुटुको ढोका (भल्भ) लाई बिगार्न सक्छ । यो रोगको एउटा जटिलता भनेको मुटुमा रगत जम्ने र त्यसको ढिक्का चोइटिएर त्यसले मस्तिष्कमा रक्तप्रवाह रोक्ने काम गर्छ । यही कारण मस्तिष्कघात हुन सक्छ । यो घातबाट बिरामीलाई जोगाउन कुनचाहिँ औषधि प्रभावशाली हुन्छ भनी ३३ वटा देशमा अनुसन्धान भइरहेको छ । नेपालमा हाम्रो प्रतिष्ठानले संयोजन गरेको यो अनुसन्धानमा गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, मनमोहन कार्डियो थोरासिक सेन्टरसहित ९ वटा मुटु उपचार केन्द्र तथा मेडिकल कलेजको सहभागिता छ । यो अनुसन्धानमा नेपाल विश्वकै अग्रणी अवस्थामा छ । र, यसले के पनि देखाउँछ भने नेपाली चिकित्सक पनि अनुसन्धानहरूमा विश्वका अरू ठाउँमा भन्दा कम हुँदैनन् ।
यसमा अर्को उदाहरण पनि सामुमा छ । कालाजार रोगमा गरिएको अनुसन्धानले नेपालकै स्वास्थ्य नीतिमा ठूलो योगदान पुर्‍याएको छ । यसमा हाम्रै विभागका चिकित्सकद्वय प्राध्यापक डा. सुमन रिजाल र प्रह्लाद कार्कीको अग्रणी भूमिका रहेको छ ।
........

हामी यहाँ मृगौला, मुटु, चिनी रोगसम्बन्धी विशेष अभियान (केएचडीसी) चलाउँदै आएका छौं । इन्टरनेसनल सोसाइटी अफ नेफ्रोलोजी (आईएनएस) संस्थासँगको सहकार्यमा घरदैलो कार्यक्रम गर्दै हामीले ६० हजार व्यक्तिमा मुटु, मृगौला, मधुमेह, उच्च रक्तचाप रोगका लागि ‘टेस्ट’ गरेका छौं र बिरामी पहिचानपछि उपचारसमेत सम्भव भएको छ । रोगलाई रूख मान्ने हो भने जरा मुख्य कारण हुन् र हाँगाबिँगाहरू यसका जटिलता । केएचडीसी मार्फत रूखको जरासम्मै पुगेर चेतना फैलाउन सकेका कारण यो अनुसन्धानलाई ‘इन्नोभेटिभ अप्रोच’ सम्मान पनि मिलेको छ । केएचडीसी अवधारणा सन् २००३ देखि सुरु भएको हो । यदि स्वस्थ समाजको परिकल्पना गरिन्छ भने सबैभन्दा पहिले समाजमैं पुग्नुपर्छ । रोगका मुख्य जराहरू एकै खालका हुन् र यी समाजमा नै व्याप्त छन् । मुटु र मृगौलालाई असर गर्ने कारक तत्त्व पनि एकैखाले हुन्छन् । एकको असरले अर्कोमा पार्ने प्रभाव ज्यादै धेरै छन् । यही कुरालाई ध्यान दिएर नै केएचडीसी कार्यक्रम बनाएका हौं । नारासमेत बनाएका छौं, ‘मुटु–मृगौला दाजुभाइ, एकको चोट अर्कालाई/जरुरी छ प्राणलाई, बँचाइराखौं दुवैलाई’ । यही अभियानअन्तर्गत हरेक शनिबार विद्यार्थी र स्थानीय साथीहरू मिलेर धरानका घरहरूमा घरदैलो गर्दै छौं । पिसाब, रक्तचाप, हाइपरटेन्सन, ग्लुकोज जाँच गर्दै स्वास्थ्य परामर्श र उपचारमा मद्दत गर्छौं ।

अर्कातिर, तराई भेगमा सर्पदंशको प्रभाव एकदमै बढ्दो रहेका बेला यसमा पनि हामीले पहुँच राख्ने काम गरेका छौं । सर्पले डसेको बेलामा समयमै उपचार गरेन भने बिरामीको मृत्यु हुन सक्छ भन्ने धेरैलाई थाहा छ । तर उपचारमा कहाँ, के, कसरी सहज पहुँच मिल्छ भन्ने धेरैलाई थाहा छैन । सर्पदंशबाट ग्रामीण भेगका झन्डै ८० प्रतिशत बिरामीको अस्पताल पहुँचमा नपुगी मृत्यु हुने स्थिति छ । यही कारण पूर्वी तराईमा ‘मोटरसाइकल एम्बुलेन्स’ को अवधारणा ल्याएर बिरामीलाई उपचारको चाँडो पहुँच दिलाउने प्रबन्ध थालिएको छ । यो अनुसन्धानको एउटा उपलब्धिसमेत हो ।
...............

अरब, मलेसिया, दुबईजस्ता गर्मी ठाउँमा नेपालीहरूले बढीमा १८ घण्टासम्म काम गर्ने गर्छन्। त्यही गर्मीले गर्दा शरीरबाट पानी, इलेक्ट्रोलाइट (सोडियम) पसिनाको रूपमा बाहिर निस्कने गर्छ । यसले गर्दा शरीरमा पानीको मात्रा कम हुने गर्छ । त्यही मात्रामा ती कामदारहरूले प्रशस्त पानी पिउँदैनन् । दिनभरिको काम, थकान अनि थकान कम गर्न पेनकिलर आदि औषधि सेवन गर्छन् जसले पहिलेदेखि नै असर पुगिरहेको मृगौलालाई झन् असर गर्छ । र, अन्तत: मृगौला खराब हुन पुग्छ । यसै कारणले गर्दा बर्सेनि नेपाली दाजुभाइ वैदेशिक रोजगारबाट मृगौला बिग्रिएर फर्कने गर्छन् ।
......................

विशेषत: नेपालमा सर्पदंशको अध्ययन–अनुसन्धान गर्ने, डस्ने सर्पको पहिचान गर्ने, मृत्युको कारण पत्ता लगाउन थालिएको ‘प्रयत्न’ सफल भएको छ । उपचार विधि र ‘एन्टी–भेनम’ को उचित प्रयोगका कारण मृत्यु भैहाल्ने खतरा घट्दै गएको छ । सर्प डसाइमा परेको एक थोपा रगतको परीक्षणबाटै कुन विषालु सर्पले डसेको हो भन्नेसम्म पत्ता लगाउने पद्धति विकास भैरहेको छ । मलाई भर्खरै विश्व स्वास्थ्य संगठनले सर्पदंशको विज्ञ टोलीमा नियुक्त गरेको छ । यसको मुख्य उद्देश्य भनेको एउटा ‘रोडम्याप’ बनाउने हो जसले सर्पदंशबाट मध्यम तथा गरिब राष्ट्रहरूमा कति मानिसको मृत्यु भएको छ भनी पत्ता लाउने हो र योसँग जुध्ने नयाँ कार्यक्रम अथवा उपचार पद्घति निक्र्योल गर्दै गरिब देशका बासिन्दालाई सर्प डसाइबाट मृत्यु अथवा अंगभंग नहुने वातावरण सिर्जना गर्नु हो ।

त्योसँगसँगै म ग्लोबल स्नेक–बाइट इनिसिएटिभ (जीएसआई) को बोर्डमा पनि छु जसले सर्पदंशलाई ‘नेग्लेक्टेड ट्रपिकल डिजिज’ का रूपमा विश्व स्वास्थ्य संगठनको प्राथमिकता सूचीमा राख्न पहल गरेको छ । यसले संगठनको सर्पदंश प्रतिरोधमा अनुदान रकम आउने र ‘एन्टी–भेनम’ उत्पादनलाई पनि सहयोग पुग्ने देखिन्छ । नेपाल सरकारले चाहेको खण्डमा हामी नेपालमै ‘एन्टी–भेनम’ बनाउन विश्वका अरू राष्ट्रसँगको सहकार्यलाई अघि बढाउन सक्छौं र यसमा श्रीलंकन मोडेल आधारमा देशका लागि ‘एन्टी–भेनम’ बनाउन पनि सकिन्छ । केही वर्षअघिसम्म, श्रीलंकामा सर्पको टोकाइमा पर्ने बिरामीको रगत कोस्टारिका र ब्राजिलका ल्याबमा लगेर त्यही आधारमा ‘एन्टी–भेनम’ बनाइन्थ्यो । सर्पको प्रकार र विष पहिचान गरेरै दिइने प्रतिरोधी–औषधि एकदमै प्रभावकारी हुन्थ्यो । फेरि त्यो परीक्षण र प्रविधिसमेत सिकाएर श्रीलंकामा ‘एन्टी–भेनम’ उत्पादन गर्न थालिएको प्रयोग एकदमै व्यावहारिक बनेको छ । हामीकहाँ भने भारतबाट खरिद गरिएको ४ प्रकारका विषालु सर्पको विरुद्धको एन्टी–भेनम प्रयोग हुन्छ ।
.........

मलाई सधैंजसो, सबैजसोले सोध्ने गर्छन्— यो स्वास्थ्य क्षेत्रको बेथितिको बारेमा । मलाई यसका विभिन्न कारणहरू भएजस्तो लाग्छ । स्वास्थ्य क्षेत्र, चिकित्सा र चिकित्सक जगत् सर्वथा ठीक छ भनेर दाबी गर्न सकिने अवस्था पनि छैन । हामीबीच अनेक प्राविधिक कमजोरी, समाजमा गुज्रिएको संक्रमण, छिट्टै पैसा कमाइहाल्ने होड आदि पनि स्वास्थ्य क्षेत्रमा समस्याका उपज हुन सक्छन् । अर्कातिर डाक्टर नै सबैथोक हो, डाक्टरले गर्‍यो भने जे पनि सम्भव छ भन्ने मानसिकता पनि हामीमाझ विद्यमान छ । त्यसमाथि सस्तो लोकप्रियताका लागि गरिने मिडियाबाजीले अविश्वासको वातावरण बढेको हो कि जस्तो लाग्छ । नाफा–नोक्सानको हिसाब नगरी ‘नोबल कज’ मा सुचारु हुनुपर्ने सेवामा अलिक व्यापारीकरण भएजस्तो लाग्छ । यहाँ नाफानोक्सानको हिसाब नै नहुनुपर्ने हो । मेरो विचारमा मेडिकल शिक्षा र स्वास्थ्यको जिम्मेवारी सरकारको हो । अझ भन्नुपर्दा यो नि:शुल्क हुनुपर्छ । यहाँ डक्टर पढ्दा लाग्ने शुल्क र डाक्टर बनेपछि काम गर्दा पाउने पारिश्रमिकमा आकाश–पातालकै फरक छ ।

कहिलेकाहीं भने काठमाडौं केन्द्रबाट बाहिर बसेर काम गरिरहँदा र सबैले भन्ने मोफसलमै अडिरहँदा ‘केन्द्रको आँखाबाट ओझेल परेजस्तो’ लाग्छ । एकातिर बिरामीलाई पनि लाग्दो हो देशको राजधानी काठमाडौं, त्यहाँ सबैथोक सधैं राम्रो हुन्छ । अनि अर्कोतिर नीतिनिर्माताहरू धाउने पनि त्यही काठमाडौं हो । तर, फेरि मलाई लाग्छ— आखिर आफू बिरामी भएर जुन ठाउँ गयो, त्यही ठाउँ न आफ्नो आँखामा बस्ने हो । समय बित्दै जाँदा धरान र यही प्रतिष्ठानलाई मैले आफ्नो केन्द्रविन्दु ठानेको छु । यत्ति हो कुनै बेलाचाहिँ यो अनुभूत हुन्छ, यो प्रतिष्ठान काठमाडौंमा हुँदो हो त सबैको आँखामा पर्ने थियो होला । यसमा गरिमा अझ बढ्थ्यो होला । तैपनि आफ्नो धर्मकर्म धरानमैं छ भन्ने सम्झिएर म यतै बसेको छु।

प्रकाशित : वैशाख १, २०७५ ११:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

संस्कृते, गोर्खे र नेपाली भाषा

प्रतिक्रिया
कान्तिपुर संवाददाता

काठमाडौँ — ‘कोसेली’ (२०७४ फागुन २६) मा प्रकाशित पिटर जे कार्थकको ‘आईबी राई दार्जिलिङका मदनमणि’ शीर्षकको लेख पढेपछि मेरो सोझो पाठक मन प्रश्नहरूको कारखाना बन्न पुग्यो । कार्थकको त्यस्तो तर्कमा कति विद्वता छ र, कति मूर्खता छ— मैले त्यसको निर्णय गर्न खोजेको होइन ।

मैले उनको लेखमा रहेका कमीकमजोरी खुट्याउन खोजेको पनि होइन । मेरो बुझाइले उनको विचारलाई पटक्कै समर्थन नगरेपछि त्यसको सट्टा प्रतिक्रिया लेखेको हुँ । मैले लेख्नुको औचित्य मेरो विचार र तर्क नै अन्तिम सत्य हो भन्न खोजेको होइन ।

यो प्रतिक्रिया लेखिनुको पहिलो कारण कार्थकले आईबीलाई दार्जिलिङका मदनमणिको उपमा दिने कार्यबाट जन्मेको छ । इन्दबहादुर राई अनि मदनमणि दीक्षित एकअर्काको ‘उपमान र उपमेय’ होइन । यी दुई स्रष्टा एकआपसमा अनुपमा हुन् किनभने यी दुवै स्रष्टाको नेपाली साहित्य जगत्मा आआफ्नो विशिष्ट स्थान छ । यो जगत्मा उनीहरूलाई दार्जिलिङ र नेपालको भनी भागबन्डा गर्न उचित हुँदैन । साहित्यको कुनै भौगोलिक सीमा हुँदैन, त्यसैले पनि ‘मदनमणि नेपालको इन्द्रबहादुर र इबरा दार्जिलिङको मदनमणि’ भन्नु भनेको यी दुवै स्रष्टाले नेपाली साहित्यको विकासमा पुर्‍याएका साहित्यिक योगदानको उपेक्षा गर्नु हो । नेपाल र दार्जिलिङको मात्र होइन, यी दुवै स्रष्टा सम्पूर्ण नेपाली साहित्यकै स्थापित साधक हुन् । राईलाई दार्जिलिङको मदनमणि मान्नुअघि यो विषयमा फेरि एक पटक गहिरो चिन्तन गर्नुपर्नेजस्तो पनि देखिन्छ ।

दोस्रो कारण फेरि ‘आज रमिता छ’ उपन्यास ‘दार्जिलिङे कथा हुँदै होइन, मञ्जुश्री थापाले किन रोमाञ्चित भएर अंग्रेजी अनुवाद गरिन् ?’ भन्ने कार्थकको यो वाक्य पढेपछि म थप असमञ्जसमा परें । एक क्षण त, साँच्चि नै त मञ्जुश्रीले किन यो उपन्यास अनुवाद गरिन् भनेर । ‘कोसेली’ को त्यही अंकमा मञ्जुश्रीले लेखेको ‘भाग्यमानी म’ टिपोट पढेपछि म भ्रमको जालोबाट मुक्त भएको थिएँ । अनुवादक मञ्जुश्रीले ‘आज रमिता छ’ दार्जिलिङे कथा भएर होइन, नेपाली साहित्य जगत्को एक उत्कृष्ट औपन्यासिक कृति भएको आधारमा अनुवाद गरिएको बताएकी छन् ।

‘आज रमिता छ’ उपन्यासलाई दार्जिलिङको अनुकरण नभएर ‘पुनर्सिर्जन’ मान्न सकिन्छ । पुनर्सिर्जन भएको कारण नै त्यसमा उपन्यासकार राईले उपन्यासअनुकूल समाजशास्त्रको प्रयोग गरेका छन् जो दार्जिलिङजस्तो देखिन्छ । त्यो लेखकीय स्वतन्त्रताको कुरो हो । कुनै पनि पाठक या आलोचकले त्यसमा हस्तक्षेप गर्न पाउँदैन, गर्नु पनि हुँदैन ।

तेस्रो कारण, संस्कृते भाषा भनेर उनले राईका ‘आज रमिता छ’ उपन्यासको भाषाशैलीलाई नामकरण गरेका छन् । कार्थकले ‘आज रमिता छ’ यतिबिघ्न संस्कृते छ कि यसलाई पहिला नेपालीमा अनुवाद गर्नु जरुरी भनेर भनेका छन् । उनले पादरी गंगाप्रसाद प्रधानको सन् १९२३ को भनाइलाई आधार मानेर यो विचार व्यक्त गरेका रहेछन् । कार्थकले संस्कृत शब्द मिश्रण भएको लेखनलाई काशीभाषे बोली भन्नुपूर्व नेपाली भाषाको उत्पत्ति–स्रोत के हो (?), त्यसबारे विचार गर्नु उत्तम हुने थियो । पिटरको टिप्पणीमा वैचारिक पक्ष नभएर भावनात्मक पक्ष आएजस्तो देखिन्छ ।

कार्थकले ‘आज रमिता छ’ को भाषाशैली दार्जिलिङको जस्तो छैन भनेका छन् । म दार्जिलिङवासी भएको नाताले यो बहकाउको खण्डन गर्छु, ‘सब चोरैचोर भेला भाको (पृ.४३), तिहुन, शञ्चबार, काँ आदि जस्ता संवाद र शब्दहरू दार्जिलिङे हुन् । यथार्थमा उपन्यासमा हुबहु दार्जिलिङे भाषा प्रयोग गरेको भए यो साहित्यिक कृति नभएर एउटा वृत्तचित्र
बन्ने थियो । ‘आज रमिता छ’ नेपाली साहित्यको उत्कृष्ट औपन्यासिक कृति हो, दार्जिलिङको वृत्तचित्र होइन ।

यथार्थत: दार्जिलिङे बोलचालको भाषा एउटा पूर्ण भाषा नभएर नेपाली भाषाअन्तर्गत पर्ने भाषिका मात्रै हो । त्यसमा कहींकतै संस्कृत शब्द आउनु आपत्तिजनक होइन, नेपाली भाषा संस्कृतबाट अपभ्रंश हँुदै आएको हो । दार्जिलिङे जनमानसले गोर्खाल्यान्ड आन्दोलन गर्दैमा त्यहाँको भाषालाई ‘नेपाली नभएर गोर्खे’ भन्नु भनेको भाषा–साहित्यमा व्यापकताको उपेक्षा गर्नु हो । हाम्रा दार्जिलिङे नेपालीभाषीले पनि यो सन्दर्भमा सचेत हुनुपर्छ । जब दार्जिलिङ क्षेत्रको भाषा ‘गोर्खे’ भनेर चिनिन्छ, त्यसबेला हाम्रो भेगका साहित्यकारमाथि अन्याय हुन हुन्छ । बंगलादेशको राष्ट्रभाषा बंगला हो, त्यही भाषा हाम्रा राज्य पश्चिम बंगालका बंगाली समुदायले बोल्दा त्यसमा आपत्ति रहन्न । तर, हामी दार्जिलिङका नेपाली र गोर्खे समुदायले बोलिने भाषालाई नेपाली भन्दा किन आपत्ति व्यक्त गर्नु ?

कार्थकले ‘आज रमिता छ’ लाई ‘माधवी’ जस्तै भनेका छन् तर यी दुइटा उपन्यासमाझ विचारधारा, भाषाशैली र संरचनागत प्रवृत्ति सबै पक्षले पनि अन्तर देखिन्छ । ‘माधवी’ ले जीवनदर्शन र प्रगतिवादको गोरेटोलाई मूलमार्ग चयन गरेको छ भने ‘आज रमिता छ’ ले एकसाथ सामाजिक यथार्थवाद, अस्तित्ववाद, विसङ्गतिवाद र मनोविश्लेषणलाई समाएको छ । मैले यी दुवै उपन्यासको गद्यांशलाई उदाहरणमा लिएको छु ।

—‘निस्पृह यायावरहरूले मोहरमित भएर उशीनरहरूलाई छोडेर गए, यद्यपि तिनीहरूले उशीनरहरूबाटै सबभन्दा बढी ध्यान र सम्मान पाउने गर्थे । तिनको बन्दनारहित प्रस्थानलाई भरिएको मुटु लिएर हेरी रही माधवी’ (माधवी ४५०) । —‘संसार सुन्दर छ, जीवन दु:खमय छ । मानिसले जीवनको रंग फेर्ने प्रयासमा सामूहिक हर्षदिवसहरू रचे । नगरा र झ्याम्टाका गम्भीर र थर्कने आवाज दुई अथक पुरुष र स्त्रीजस्ता समान परिमित कदममा नाचिरहेका थिए (आज रमिता छ १०९) ।

प्रस्तुत गद्यांश उपन्यासकारको वर्णन गर्ने आफ्नै शिल्प हो । यत्तिको भाषा शैलीलाई पनि कार्थक संस्कृते भनेर नेपालीमा अनुवाद गर्न जरुरी छ भनिरहेका छन् । साहित्य बुझ्नलाई पाठक उठ्नुपर्छ, बुझिने बन्नलाई साहित्य झुक्नु हुँदैन । यसर्थ मदनमणि नेपालको इन्द्रबहादुर र इन्द्रबहादुर दार्जिलिङका मदनमणि होइन । यी दुवै स्रष्टा नेपाली साहित्यको विशिष्ट प्रतिभा हुन् ।

—अमर निराकार राई
दार्जिलिङ
amarniraakar@yahoo.com

प्रकाशित : वैशाख १, २०७५ ११:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT