कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिजुक्छे जुगको बयान

व्यक्ति
“आँप खाने भए रोपेको १२–१५ वर्ष कुर्नुपर्छ, मकै खाने भए ६ महिनामै पाइन्छ । हामीले खोजेको आँप हो, त्यो फल्न समय लाग्छ ।”
घनश्याम खड्का

काठमाडौँ — नेपाली राजनीतिमा नारायणमान बिजुक्छे एक प्रतीक–पात्र हुन् । सक्रिय राजनीतिबाट बिस्तारै बिदा लिएजस्तै देखिए पनि बिजुक्छे भक्तपुरसँग जोडिएका हरेक मामलामा अझै प्रत्यक्ष/परोक्ष ‘निर्णायक’ नाम हुन् । केन्द्रीय राजनीति र सत्ताको सेरोफेरोमा सधैंजसो विपक्षमा देखिने बिजुक्छे यस पटक ३ नम्बर प्रदेशको राजधानी भक्तपुर बनाउने प्रस्तावको पनि ठाडो विपक्षमा उभिए ।

बिजुक्छे जुगको बयान

सधैंको विपक्षी, सधैंको विरोधी भएर पनि नारायणमान सत्ता–केन्द्रमा बस्नेहरू जत्तिकै शक्तिशाली छन् । उमेर, राजनीति र परिस्थितिमा अवकाशप्राप्त देखिए पनि नारायणमानसँग अझै पनि ‘कमरेड रोहित’ को ऊर्जा छँदैछ । रोहित अर्थात् साहित्यिक उपनामका हरिबहादुर श्रेष्ठको कथा–कहानी अहिले थाल्ने हो भने निकै लम्बिन सक्छ । अहिलेलाई नारायणमान नामै काफी छ ।



धैं संसद्मा देखिने नारायणमान बिजुक्छेको सौम्य अनुहार अचेल उनकै घरवरपर मात्र देखिन्छ ।
बुढ्यौलीले होला, ७९ वर्ष पुगेका उनका जोर–घुँडा दुख्न थालेका छन् । ज्यादा हिँडडुल उनी सायद त्यसैले गर्दैनन् । सांसद छँदा संसद्मा नियमितजसो जाने र कुराहरू भाँती पुर्‍याएर राख्नेमा उनी पर्थे । यस पटक भने उनी त्यो झन्झटबाट मुक्त छन् ।


पहिले–पहिले जिरो आवरमा समस्याहरू उठाउँदाको राम्रो पक्ष के थियो भने उठाएका कुराहरूको ध्यानाकर्षण हुन्थ्यो । ‘दिउँसो संसद्मा फलानो ठाउँमा पुल भत्क्यो सभामुख महोदय, ध्यानाकर्षण होस् भनेपछि घर पुग्दावर्दा पुल बनाउनका लागि सम्बन्धित विभागले ठेक्का आह्वान गर्ने भएको छ भनेर फोन आउँथ्यो,’ उनको संसदीय अनुभव छ, ‘खानेपानी, टेलिकम र ट्रलीबस अड्डामा भएका अनियमिततामा प्रश्न मात्रै उठाउँदा पनि त्यहाँका जीएमहरूको जागिर गएको थियो ।’


शून्य समयबाहेक लिखित प्रश्न गर्ने चलन पनि संसद्मा हुन्थ्यो जसका केही रमाइला प्रसंग उनको मगजमा गुँडुल्किएर बसेका रहेछन् । जस्तो कि, काठमाडौंको खानेपानी समस्याको समाधान कहिले हुन्छ मन्त्रीज्यू भनेर उनले सोधेका थिए एक पटक । तिनताक खानेपानीमन्त्री थिए— बलबहादुर राई ।


सधैं सोधिने उही प्रश्नले उनलाई झोंक चलेको होला, जवाफ दिएछन्, ‘कर्कट नाग स्वर्गमा गइसक्यो, अब खानेपानीको अवस्था सुध्रिन्न !’


विज्ञान तथा प्रविधिमन्त्री थिए— उपाध्याय थरका एक जना । संस्कृतमा मध्यमा पास गरेको मान्छे विज्ञान र प्रविधिको कमान सम्हाल्ने भएपछि बिजुक्छेलाई मन पर्ने कुरै थिएन, सोधेछन्, ‘मन्त्रीज्यू, यो विज्ञान र प्रविधि भनेको हो ?’


मन्त्रीज्यूले उत्तर दिएछन्, ‘दही र दूधजस्तै हो !’


जलस्रोतमन्त्री वासु रिसाल थिए । अबको हिउँदमा बत्ती निभ्छ कि निभ्दैन भनेर प्रकाशचन्द्र लोहनीले उनलाई सोधे । उनले चाहिँ ‘नेपालमा नदीनाला यति छन् र तिनको सम्भावना यस्तो छ’ भनेर उत्तर दिए ।


प्रश्नोत्तरको कुनै तालमेलै थिएन । बिजुक्छेले भने, ‘मन्त्रीज्यूले सात–आठ कक्षाको भूगोलबाट हो कि आएको पुस्तकबाट सारेर ल्याउनुभएको हो यो उत्तर ?’
मन्त्रीले भेउ पुर्‍याएर उत्तर दिन नसकेकामा होहल्लै भयो संसद्मा । त्यसपछि उनले राजीनामै दिए ।


‘यी सब भन्नुको तात्पर्य के हो भने’ बिजुक्छे भन्छन्, ‘तिनताक संसद्मा बोलेका कुराले केही न केही अर्थ राख्थ्यो, त्यसको धेरथोर सुनुवाइ हुन्थ्यो ।’


उनको अनुभवमा अन्तरिम संविधान जारी भएपछि संसद्को यति भएको ‘तागत’ पनि गुम्यो । सानो कुलोमा ठूलो बाढी पस्दा कुलोकै नापनक्सा हराएझैं अन्तरिम संविधानपछि ६०१ सभासदको हूलले संसद्को प्रचलित मर्यादा पनि कायम हुन सकेन, माछाबजारजस्तो गञ्जागोल भयो ।


त्यसपछि न प्रश्नोत्तर भयो, न ध्यानाकर्षण नै । सोधिएका प्रश्नको पनि कसैले उत्तर दिने यत्न गरेन ।


‘संसद् संसद्जस्तो रहेन त्यसपछि त’ उनको अनुभवले भन्छन्, ‘त्यहाँ बोल्नु र नबोल्नुको कुनै तुक पनि रहेन । यतिसम्म कि, मलाई त संसद् जानै पनि मन लाग्न छाड्यो ।’ ‘हुन्न’ भन्नेले हात उठाउने, ‘हुन्छ’ भन्नेले टेबल ठोक्नेबाहेकको कुनै क्रियाकलाप उनले त्यहाँ देखेनन् । यही झोंकले हो त उनले यसपाला चुनाव नलडेका ?


‘मेरो अब उमेर पनि भयो, काम सम्हाल्न नयाँ पुस्ता तयार पनि भयो,’ हालैको एक दिन भक्तपुरको कमलपोखरीस्थित आफ्नो निवासमा बिजुक्छे आफ्नो राजनीतिक जीवन र स्मृतिका बारेमा भन्दै थिए, ‘२५ वर्ष भइसक्यो म संसद् गएको, अब कति मात्रै जाने ? नयाँ पुस्ताले केही नसिक्ने भो, यो चालले त । फेरि, नेतृत्व भनेको हस्तान्तरण हुँदै जानुपर्ने कुरा हो ।’
यही लागेर होला, आफूले कहिल्यै नहारेको भक्तपुरका क्षेत्र नं १ बाट आफ्ना चेला प्रेम सुवाललाई उनले जिताएर संसद् पठाएका छन् । उनको अनुभवमा संसद्मा सांसद हुनलायक मानिस नेपालको राजनीतिले ज्यादै कम मात्रामा दिएको छ । प्रजातन्त्र पुनस्थापनापछिको पहिलो चुनावमा ‘गाविसको अध्यक्ष हुनलायक’ पात्र संसदीय चुनावमा विजयी भएका छन् ।
‘तिनले संसद्मा कस्ता माग उठाउँथे, जान्नुहुन्छ ?’ उनले स्मृतिमा थपक्क बसेका सम्झनालाई केलाए, ‘फलानो ठाउँमा गोरेटो छैन, तिलानो ठाउँको घोडेटो बिग्रियो इत्यादि । सांसदले उठाउनलायक मुद्दा त संसद्मा कहिल्यै उठेन ।’


त्यसपछि भएको मध्यावधिले चाहिँ जिल्लास्तरका नेता चुनेको उनी ठान्छन् । किनभने तिनले कम्तीमा राजमार्ग र कलेजका कुरा गर्थे ।


‘तर विधायिकाले उठाउनुपर्ने नीति नियमको जुन कुरा हो, त्योचाहिँ त्यसबेला पनि उठेन,’ भन्छन्, ‘२०५६ को चुनावपछि चाहिँ पहिलेको तुलनामा अलिक खारिएको संसद् गठन भएको हो तर त्यसले कामै गर्न पाएन, दरबारले त्यो खाइदिहाल्यो ।’


...
राणाहरू ढलेपछि नेपालको राजनीतिमा गहिरो गरी जोडिँदै आएका बिजुक्छेको जीवन बुझ्न उनको बालापन नफर्की धर छैन । उनका बुबा गणेशमान बिजुक्छे तिनताक बजार अड्डा भनिने भन्सारका कर्मचारी थिए । उनको सरुवा गौरमा भयो र नारायणमान उनीसँगै गौर गए । यो थियो— २०१० सालको कुरो ।


गौरमा एक कम्युनिस्ट विचारका सुधारवादी पात्रको घरमा नारायणमानको डेरा जम्न पुगेछ, उनी थिए— लीलाराज उपाध्याय । यही एक संयोग नै भविष्यमा आफू कम्युनिस्ट नेता बन्ने सूत्रपात हुन पुग्यो ।


गौरमा जुद्धशमशेरले खोलेका थिए— जुद्ध पब्लिक हाइस्कुल । भक्तपुरमा प्राथमिक शिक्षा सकेर आएका नारायणमानको पढाइ त्यहीँ जारी भयो । एक जना चिन्ताहरण भन्ने भारतीय मास्टर थिए जो उनलाई अग्घोरै माया गर्थे । ‘कतिसम्म भने उनले मलाई पढाउनैका लागि भनेर नेपालीसमेत सिके किनभने मलाई त्योबेलासम्म नेपाली आउँदैनथ्यो,’ भक्तपुरमा नेवारी र गौरमा हिन्दी सिकिरहेका दिन नारायणमान सम्झन्छन्, ‘उनका छ जना छोरी नै छोरी थिए, छोरा पाउन नसकेर विरक्तिएका उनी मलाई छोरा मान्न थाले ।’


शिक्षक पेसा अपनाएका चिन्ताहरण सुगठित शरीरका कुस्तीबाज थिए, गान्धी र विनोवा भावेका पुस्तकहरू पढ्थे अनि शाकाहार भोजन लिन्थे र, तुलसी जल पिउँथे । शनिबार–शनिबार नारायणमानलाई उनी कुस्तीका अखडा–अखडामा लैजान्थे र कुस्ती खेलाउँथे ।


सरकहाँ आर्यावर्त, इन्डियन नेसनल, प्रतीक र सर्च लाइट भन्ने दुई हिन्दी र दुई अंग्रेजी अखबार नियमित आउँथ्यो । चिन्ताहरणको संगतले नारायणमान अखबारका अम्मली बने ।
उनी बसेको घरमा अर्का एक मुसलमान शिक्षक पनि डेरा गरी बस्थे । एक दिन भोजन गर्दैगर्दा उनले नारायणमानलाई अलिकति प्याज काटेर थालमा राखिदिन भने । नारायणमानले छोइएला भनेर माथिबाटै थालमा प्याज खसालिदिए ।
घरभेटीका छोरीहरूले त्यो देखे र, नारायणमानलाई भने, ‘पख्, बुबालाई भनिदिन्छु !’


उनीहरूले भनेछन् पनि । तुरुन्तै उनी आए र सोधे, ‘यो के गरेको नारायणमान ?’
‘मुसलमानलाई छुन हुँदैन नि ! ’ उनको बालहृदयमा अनायासै जमेर बसेको हिन्दु कट्टरता बोल्यो, ‘जात जान्छ ।’


घरभेटी रिसाएनन्, बरु उनले सम्झाए, ‘संसारमा जातको कुरा गर्ने हिन्दुस्थान मात्रै एक देश हो । आइन्दा यसो नगर्नू ।’


लीलाराज उपाध्यायको घरमा ठूलो एक कोठा थियो जसमा लस्करै मानिसहरू राति बैठक बस्थे । ‘सायद त्यो नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय बैठक थियो, पछि बुझ्दा पुष्पलाल पनि त्यहाँ आएका रहेछन्,’ उनका आँखा विगतको सम्झनामा बन्द थिए, ‘हामी केटाहरूलाई कोही आए खोक्नु भनेर बाहिर पहरेदारी गर्न लगाएका थिए ।’


यसरी उनी जानीनजानी कम्युनिस्ट आन्दोलनमा बाह्र/चौधकै उमेरमा लागिसकेका थिए । एघार सालमा गौरमा ठूलो बाढी आयो । मानिससहितका झुपडी र गाईबस्तुसहितका गोठ मात्रै होइन, जंगलका हात्ती–घोडासमेत बगाएको भयावह दृश्य उनकै आँखाले देख्यो ।


एक हप्तापछि बाढीको ताण्डव बिस्तारै घट्दै गयो । हिलो सुक्यो । किसानका सारा कुरा गुमेकाले ती भोकभोकै थिए ।


‘गाँस, बास, कपास देऊ नत्र गद्दी छोड्देऊ’ भनेर ती आन्दोलनमा उत्रिए । रौतहटमा ठूलै आन्दोलन भयो । जुद्ध स्कुलका विद्यार्थीले समेत हडताल गरे जसमा नारायणमान समेत थिए । दशगजापारि बैरगनियामा गान्धी प्रेस थियो । नारायणमान त्यहाँ पुग्थे र पर्चाहरू छापेर आन्दोलनकारीका हातमा खुसुक्क दिन्थे ।


गौरमा शारदा पुस्तकालय खुलेको थियो जहाँ उनी दोस्रो विश्वयुद्धमा लडेका मानिसका जीवनीहरू पढ्थे । त्यही पुस्तकालयमा एक दिन बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटाहरू आए । तिनले विश्व युवा सम्मेलनमा रुस र त्यसपछि चीन गएर आउँदाको आफ्नो अनुभव सुनाउँदा बालक नारायणमानले गौरवका साथ सुने । देवकोटाले त्यस क्षण ‘प्रभुजी मलाई भेडो बनाऊ’ भन्ने कविता पनि सुनाएका थिए ।


...
स्कुल, डेरा, बजार, पुस्तकालय सबैतिर नारायणमानले जागरण र आन्दोलन पढे, देखे र त्यो उनमा सर्लक्क सर्न गयो । केही वर्षपछि काठमाडौं फर्कंदा नारायणमानमा संसार हेर्ने बेग्लै दृष्टि पलाइसकेको थियो । राजाले सत्ता लिएको, कम्युनिस्ट पार्टीमा फुट आएको देखेपछि उनी आफ्नै एक दर्शनमा किसानहरू संगठित गर्न लागिरहे ।


भक्तपुरको चोछेमा बौद्धिक विकास मण्डल भन्ने पुस्तकालय थियो । उनी त्यहाँ भएजतिका कम्युनिस्ट ग्रन्थहरू पढ्न थाले । माओत्सेतुङको जीवनी, गोविन्दप्रसाद लोहनीको ‘नेतृत्वको भोक’, ‘कामरेड जाने होइन ?’ ‘आजको चीन’ र कुशवाह कान्तको ‘लाल रेखा’ जस्ता पुस्तक उनको सम्झनामा अझै छन् ।


शिक्षा संकायका डिन पृथ्वीचरण वैद्यको सुकुलढोकास्थित घरमा हरेक शनिबार साहित्यिक आवरणमा प्रगतिशील जमघट हुन्थ्यो । श्यामप्रसाद र आनन्ददेव भट्टहरू त्यहाँ आउँथे । उभिँदाखेरि टेबलको घाँटीघाँटी आइपुग्ने नारायणमान पनि त्यहाँ जान थाले र, आफ्ना कुराहरू हिन्दीमा राख्न थाले ।


तिनताक कम्युनिस्ट साहित्यहरू ज्यादाजसो काठमाडौंको विप्लव पुस्तकालयमा पाइन्थ्यो । नारायणमानलाई श्यामप्रसादहरूले पुस्तक भक्तपुरसम्म ल्याइदिन्थे । स्कुल कलेजहरू नबनाएको आलोचना गर्दै ‘भक्तपुरमा सरकारको पक्षपाती नीति’ भनेर पर्चा छापेबापत पञ्चायतले मुद्दा चलाउँदा वल्लभशमशेर भन्ने त्यस बेलाका मजिस्ट्रेटले केही मानिसलाई ६ महिना कैद सजाय गरिदिए । तिनका लागि काठमाडौंदेखि पुस्तक ल्याइन्थ्यो ।

अनि नारायणमान हरेक पुस्तक एक रात आफूसँग राखेर त्यसलाई खर्लप्पै पढेपछि भोलिपल्ट जेलमा लगिदिन्थे । पुस्तक पुर्‍याउन काठमाडौंसम्म तिनताक चल्तीको लरी चढेर जान्थे । बाटामा प्रहरीले केही बोकेको छ कि भनेर खानतलासी गर्न आउँथे । किताबको भित्री पानामा घुसाइएको दुर्गा वा राजाको तस्बिर फेला पारेपछि उनीहरू ढुक्क भएर फर्कन्थे ।
त्यसबेलासम्म एउटै मात्रै कम्युनिस्ट पार्टी थियो । तर, त्यसका नेताहरू पुष्पलाल, तुलसीलाल, मनमोहन अनि डा. रायमाझीहरू हुन् भन्नेचाहिँ किशोर नारायणमानलाई पत्तोसमेत थिएन । ‘जनअधिकार सुरक्षा समितिको नामबाट सबै गतिविधि हुन्थे । पार्टी पूरै भूमिगत थियो,’ उनी भन्छन्, ‘थाहा नपाइकनै म त्यसको कार्यकर्ता भइसकेको रहेछु ।’


भक्तपुरमा एक जना जंगबहादुर लाइनका राणा सूर्यप्रतापको ठूलो घर थियो । तुलसीलाल अमात्यहरू त्यहाँ लुकेर बसेका थिए । ट्युसन पढ्न भनेर नारायणमानहरू त्यहाँ जान्थे, महिनाको तीन मोहोर तिरेर । अंग्रेजी पढ्न गएका विद्यार्थीलाई तुलसीलाल बेलामौकामा, ‘मालसामानको भाउ किन बढ्छ, मानिस गरिब किन हुन्छ ?’ जस्ता अर्थशास्त्रका प्रश्न सोध्ने गर्थे र त्यसको उत्तर समेत चित्तबुझ्दो गरी बताइदिन्थे । त्यतिबेलासम्म नारायणमानलाई तुलसीलाल भूमिगत कम्युनिस्ट नेता हुन् र उनी ट्युसनको बहानामा कार्यकर्ता प्रशिक्षण गरिरहेका छन् भन्ने थाहा थिएन । तर, यसको पत्तोचाहिँ उनका बाबुले पाएछन् जो त्यतिबेला भरतशमशेरको राजावादी पार्टी खुकुरी दलका समर्थक थिए ।


‘आइन्दा तुलसीलालकोमा पढ्न जाने होइन, त्यो मान्छे कम्युनिस्ट हो,’ एक दिन उनले नारायणमानलाई आदेश गरे । नारायणमानले साथीहरूलाई सोधे, ‘तुलसीलाल कम्युनिस्ट हुन् र ?’


सबैले भने, ‘थाहा छैन ।’


प्रवेशिकाको परीक्षा दिएर बसेका बेला उनले बेलायती लेखक इमाइल बर्नस्को ‘ह्वाट इज माक्र्ससिजम्’ भन्ने पुस्तक पढ्न थाले जो उनले त्यसबेला उति बुझ्न सकेनन् । भूमिगत रूपमा चल्ने कम्युनिस्ट कक्षाहरूमा उनी जान थाले र समाज विकासका नियम पढ्न थाले । यसरी अब उनी औपचारिक रूपमै संगठनमा लागे । राहुल सांस्कृत्यानका मानव समाज, दर्शन दिग्दर्शन, विश्वकी रूपरेखा लगायतका पुस्तक उनी खुबै पढ्थे तिनताक ।


सन् १९५९ को अन्ततिर उनी उपचारका लागि चीन जाँदा योङ कम्युनिस्ट लिग, भक्तपुरको अध्यक्ष भइसकेका थिए । क्षयरोग लागेको संकेत देखिएपछि त्यो निवारण गर्न उनी एक वर्ष त्यहाँ बसे । त्यसै बखत चीन गएका बीपी कोइरालाई पनि उनले भेटे । चीन बसाइको एक वर्षमा चिनियाँ कम्युनिस्टको धेरै नै तरक्कीको अवलोकन गरे । कम्युनहरू घुमे । र, पछि त्यसबारे एक पुस्तक पनि लेखे ।


‘त्यतिबेला पनि उनीहरू तीन महिनामै एउटा सहर बनाइसक्थे, आठ–आठ घण्टाको सिफ्टमा चौबीसै घण्टा काम गर्थे,’ पेकिङ बस्दाको उनको अनुभव छ, ‘चीनले प्रविधि पश्चिमाको लियो र विकास आफ्नो ढंगले गर्‍यो ।’
...
राजा महेन्द्रले २०१९ मा निर्दलीय चुनाव गराउने भए । त्यतिबेला दलमाथि प्रतिबन्ध लागिसकेको थियो । धेरै नेता जेल परिसकेका थिए । यस्तो चुनावमा सहभागी हुने कि नुहने भन्नेमा कम्युनिस्टबीच मतान्तर हुन गयो । बिजुक्छेले लेनिनलाई सम्झिए जसले भनेका थिए, ‘प्रतिक्रियावादीहरूको प्रत्येक ठाउँमा पुगेर उनीहरू जस्तै बनेर जनताको सेवा गर्नू’ ।


तब उनले पञ्चायतले भनेझैं भक्तपुरमा स्वतन्त्र उम्मेदवार खडा गराएर आफ्ना मान्छे उठाए । किसानहरूको बहुमत पाएर प्रधानपञ्च भए— विष्णुप्रसाद नेपाली । तिनताक रुसी र चिनियाँ गरी दुईथरी कम्युनिस्ट नेपालमा थिए । रुस पक्षधर मनदमणि दीक्षितले निकाल्ने ‘समीक्षा’ साप्ताहिकमा नारायणमान भक्तपुरे किसानका बारेमा समाचार लेख्ने गर्थे । धेरैपछि नारायणमान ‘चिनियाँ कम्युनिस्ट हुन्’ भन्ने पत्तो पाएपछि मदनमणीले समाचारमा सेन्सर गर्न थाले ।


यता छोरो कम्युनिस्ट भएको पत्तो पाएपछि बाबुले घरबाटै निकालिदिए । डेराको जीवन र त्यसमाथि खानपिनमा नियमितता नभएपछि २०२२ तिर बिहा गर्ने निचोडमा पुगे उनी । एउटी युवतीसँग कुरा चलिसकेको पनि थियो । तर, उनी पक्राउ परे र कारागारमा थुनिए । केहीपछि उनी छुटे तर कुरो चलेकी केटीसँग बिहा भने हुन पाएन । ‘केटो कम्युनिस्ट रहेछ, छोरीले दु:ख पाउँछे भनेर उसका बाबुले अन्तै बिहा गरिदिए,’ हुन नपाएको घरजमबारे भन्छन्, ‘त्यसपछि बिहाको कुरा त्यसै टरेर गयो, अर्काे १८ वर्षसम्म ।’


पञ्चायतमा दल खोल्न नपाइने हुनाले उनले नेपाल मजदुर किसान संगठन खोले— २०२७ मा । पञ्चायती दबदबामा पनि उनले भूमिगत तवरमा संगठनलाई जीवन्त राखे र निष्ठाको राजनीतिमा उनी जहिल्यै सक्रिय रहे । पाँचपाँच पटक जितेर संसद् पुग्दा पनि उनले सत्तामा जाने इच्छा देखाएनन् । सत्तामै पुग्नका लागि राजनीति र आदर्श सबैलाई उपयोग गर्ने देशमा राजाले प्रधानमन्त्री नै बनाउने प्रस्ताव गर्दा पनि उनले नमानेको हल्ला निकै व्यापक पनि भएको थियो ।


भक्तपुरबाहेक अन्य जिल्लामा उनको संगठन खास फैलिएन । फैलिएको मध्ये चितवन, दैलेख र जुम्लामा पनि त्यो टिकेन । २०५१ को मध्यावधिमा भक्तपुरबाहेक दैलेख र जुम्लामा पनि नेमकिपाको जित भएको थियो । तर सत्तामै नजाने भएर होला, जितेका सांसदहरू एमाले र कंग्रेसमा प्रवेश गरे । भक्तपुरको १ मात्रै नारायणमानको पक्षमा सतिसाल झैं उभिइरह्यो ।


सत्तामै नजाने भएपछि आखिर राजनीति किन गर्छ कोही ? किन गर्छन् उनी ?


‘यही स्थितिमा सत्तामा गएर देश बदलिनेवाला छैन, जनताको पक्षमा कुनै परिवर्तन ल्याउन पनि सकिँदैन । सकिने भए त बाबुरामदेखि प्रचण्डसम्म सत्तामा पुगिसके, परिवर्तन भइसक्नुपर्ने हो, किन भएन त ?’ उनी भन्छन्, ‘मजदुर र किसानका हातमा पूर्ण सत्ता आएका दिन काम गर्न सकिनेछ, अहिलेलाई हामी खाली त्यसको तयारी मात्रै गर्दैछौं ।’ लेनिनले भनेझैं, सत्तालाई प्रतिक्रियावादीको हातमा पूराका पूरा छाड्न हुन्न भन्ने लागेर मात्रै पञ्चायत र त्यो ढलेपछि संसदीय राजनीतिमा सहभागी भएका बिजुक्छेलाई सोधियो, ‘यो पूरै सत्ताचाहिँ कहिले आउँछ त ?’


उनी थोरै मुस्कुराए, अनि भने, ‘जब जनता बुझ्ने हुन्छन् ।’


उनका विचारमा शिक्षाको अभावले नै ठूलो संख्यामा मानिसहरू उत्पीडन सहेर बसेका छन् । तिनलाई बिस्तारै जागरुक बनाउँदै लगेपछि शोषणविरुद्ध उनीहरू आफैं जुट्छन् र सत्ताको कमान सम्हाल्छन् । सायद त्यसैले हो, उनले भक्तपुरमा ‘एक घर एक स्नातक’ को अभियान सुरु गरेका हुन् जसको गतिलो प्रभाव देखिन पनि थालेको छ । तर, पूरै जनता बुझ्नेचाहिँ हुन्छन् कहिले ? प्रश्न त छँदै छ ।


फेरि पनि उनी मुस्कुराए । अनि भने, ‘कुनै न कुनै दिन होला, आँप खाने भए रोपेको १२–१५ वर्ष कुर्नुपर्छ, मकै खाने भए ६ महिनामै पाइन्छ । हामीले खोजेको आँप हो, त्यो फल्न समय लाग्छ ।’


समाजवाद कस्तो हुन्छ भन्ने सानो नमुना बिजुक्छेले भक्तपुर नगरपालिकामै देखाउन खोजेका छन् । उनले डेढ दुई लाख रुपैयाँमै नर्सिङ र इन्जिनियरिङका विद्यार्थी उत्पादन गरेर नमुना काम देखाइसकेका छन् । सरकारले स्वीकृति दियो भने मेडिकल कलेज खोलेर १० लाखमै डाक्टर उत्पाउन गर्ने उनको योजना छ ।


‘जे कुरामा पनि पैसापैसा भन्ने पुँजीवादको लक्षण हुन्छ र यो जताततै देखिएकै छ । सरकार नाफाखोरको पक्षमा उभिएकाले डाक्टर पढ्न ५० लाख रुपैयाँ लागेको हो,’ उनी भन्छन्, ‘यति तिरेर डाक्टर भएको मानिसले उपचार होइन, पैसा हेर्छ । लगानी नै कम भएर डाक्टर भएकाले कमाउन होइन, स्वत: उपचारमा ध्यान दिन्छ ।’


समाज बदल्ने यस्तै कुराहरूमा लाग्दालाग्दै बिजुक्छेले जीवनका ४४ हिउँद–बर्खा कटाइसकेपछि २०४० सालमा बिहा गरे रामेछापकी शोभासँग । नारायणमान–शोभाका दुई पुत्र छन् । उनको जेठा छोरा सुबेखमान जापानमा भूकम्पबारे विद्यावारिधि गर्दै छन् भने कान्छो सुबानमानचाहिँ नेपालमैं अर्थशास्त्रमा स्नातकोत्तर गर्दैछन् ।


‘यसपालि आमाचाहिँ बिरामी परेकाले उसले जाँच दिएन,’ उनले भने । उनका छोराहरूले ‘राजनीति बुझेका छन्, तर गरेका छैनन् ।’


‘पर्‍यो भने त्यो पनि गर्छन्’ विजुक्छे भन्छन्, ‘सबै कुरा परिस्थितिले तय गर्ने हो ।’


सक्रिय राजनीतिबाट बिस्तारै बिदा लिएजस्तो देखिएका विजुक्छे के छोराहरूको काँधमा पार्टीको भार विसाएर जान चाहन्छन् ? वा उनको कोही काविल शिष्य छ यसका लागि ? कहिले यसको उत्तर आउँछ, कहिले उनी पार्टी प्रमुखबाट पनि अलग हुन्छन् ?


‘त्यसको पनि बेला आउँछ,’ उनले यसबारे यति मात्रै भने, ‘नयाँ पुस्तालाई म तयार पार्दै छु ।’


सत्ताको सधैं विपक्षमा उभिने बिजुक्छे ३ नम्बर प्रदेशको राजधानी भक्तपुर बनाउने प्रस्तावको पनि विपक्षमा उभिए । भक्तपुर देशका अन्य भागभन्दा त्यसै पनि विकसित भइसकेकाले राजधानी बनेर काँचुली फेर्ने मौका अरू कुनै जिल्लाले पाउनुपर्ने उनी ठान्छन् ।


उनकी पत्नी यतिखेर पाठेघरको क्यान्सरको उपचार गराइहेकी छन् र, बिजुक्छे पारिवारिक जिम्मेवारीमा बढी तानिएका छन् । १९ वर्षअघि उनलाई स्तन क्यान्सर भएको थियो जसबाट शोभा तंग्रिन् । स्तन क्यान्सर भएकालाई पाठेघरको पनि क्यान्सर हुने खतरा रहिरहने कुरो डाक्टरहरूले गरेका थिए तिनताक । नभन्दै त्यो अहिले गएर पुष्टि भयो ।


‘त्यही हुनाले विदेशतिर स्तन क्यान्सर भएपछि पाठेघर पनि निकाल्दो रहेछ,’ बिजुक्छे भन्छन्, ‘तर हाम्रो देशमा त्यो चलन नहुनाले बिरामीलाई थप दु:ख भयो ।’


पत्नीलाई स्तन क्यान्सर हुँदा बिजुक्जेले भक्तपुर नगरका महिलाहरू सबैलाई यसबारे सचेत पार्न स्वास्थ्य शिविरहरू गराए । ‘लाजले यसबारे मानिसहरू नखुली बसेका रहेछन्,’ उनी भन्छन्, ‘मेरै टोलमा पनि केही महिलालाई ब्रेस्ट–क्यान्सर भएको पत्तो लाग्यो ।’


त्यही क्रममा उनले थाहा पाए, महिलालाई अर्काे खालको समस्या पनि हँुदो रहेछ— आङ खस्ने समस्या । ‘जसबारे हामी पुरुषहरूलाई कहिल्यै थाहा–पत्तो भएन, पाटन अस्पतालकी एक जना डा. साननानी मैयाँले यसबारे भनेपछि हामीले आङ खस्ने रोगबारे भक्तपुरमा शिविर चलाउन लगायौं । नेपालमै पहिलो पटक त्यस खालको शिविर चलाइएको रहेछ,’ उनी भन्छन्, ‘ठूलो संख्यामा यसबाट पीडित फेला परेपछि हामीले यसलाई देशका धेरै भागमा लैजानलाई मद्दत गर्‍यौं ।’


यसरी भइपरी आउने घटना र दु:खबाट पनि उनी समाज कल्याणका उपायहरू सोच्ने गर्छन् । ‘यो जीवन एक अवसर हो समाज बदल्न,’ उनी भन्छन्, ‘सबैको कल्याणका लागि खट्न मरेपछि फेरि पाइन्न ।’


कम्युनिस्टहरू पूर्वजन्ममा विश्वास गर्दैनन्, उनको पनि छैन । तर, उनलाई के लाग्छ भने, शरीर एक रूपबाट अर्काे रूपमा बदलिँदै जान्छ, पूर्णतया यसको नास कहिल्यै हुँदैन । ‘मरेपछि यो जिउ खरानी नै बनाए पनि माटोमा मिल्छ,’ उनी भन्छन्, ‘त्यही माटो पछि बिरुवा बन्छ, एक हिसाबले त्यो अर्काे जीवन हो यो शरीरको ।’


पुनर्जन्म हुन्छ भने यही तरिकाले मात्र हुन्छ भन्ने उनलाई लाग्छ । जीवन जसरी पनि नरहने भएपछि पूरै समाज बदल्न भनेर किन यति मरिहत्ते गर्नु जबकि यी सारा मानिस पनि मरेरै जाने हुन् जो फेरि मानिस भएर कहिल्यै जन्मने छैनन् । किन समाज र त्यसको सुख भनेर जीवन खेर फाल्नु जो कहिले बदलिन्छ भन्ने समेत पनि टुंगो छैन ? ‘एकै क्षण भए पनि किन दु:ख पाउनु त ?’ बिजुक्छे बोले, ‘एकबारको जुनी भएकैले कसैले कसैलाई दु:ख नदेओस् भन्नुपरेको हो ।’
Twitter: @bodhighanashyam

प्रकाशित : वैशाख ८, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?