गद्दार

कथा
सद्दे गयो, र चिया पसलमा अलिबरेमा गद्दार आयो । उसका पनि हातमा पत्रिका र तरकारीको प्लास्टिक थियो । ऊ आउनु के थियो, वातावरण स्तब्ध भयो । र, ओठहरू मौन । आपसमा मुखामुख, र ओठमा नजानिदो मुसुमुसु । मानौँ ‘गद्दार’ एउटा मनोरञ्जनकारी किस्सा हो ।
खगेन्द्र संग्रौला

काठमाडौँ — बिहान साबिकको समय । थलो पनि उही साबिकको जहाँ कुचुक्क परेको छिँडीमा खुब चलेको चिया पसल छ । चिया पसलमा ऊ मानौँ उत्ताल आवेगको वेगले हुर्रिँदै पस्यो । साबिकझैँ उसको एक हातमा तरकारीको प्लास्टिक थियो, अर्को हातमा पत्रिका । ऊ बेन्चीछेउको थोरै खाली ठाउँमा हाडे नितम्ब आधा टेकाएर घ्याच्च बस्यो ।

गद्दार

उसको धक्काले उताकाहरू झन् उता धकेलिए । चिया पसलका स्थायी ग्राहक उर्फ परम् ज्ञानीहरूको अविराम वार्तामा हठात् ब्रेक लाग्यो । पसलमा ग्राहक सात जना थिए । तिनका चौध थान विस्मित नजर तुफानी नवागन्तुकमाथि एकाग्र भए । ऊ जो त्यसरी आयो, ऊ प्राय: शान्त हुन्थ्यो, र ऊ प्राय: सुस्त लाग्थ्यो । आज यो के भयो ? उसको सास बढेको थियो, उसको निधारमा मुजा परेका थिए, र फस्फस् फुलिरहेका थिए उसका नाकका पोरा ।


‘हैन, के भो हेमकान्तजी ?’ उम्लिँदो चिया मगले बडा प्रेमले चलाउँदै पसलले सोध्यो ।
हेमकान्तको तरकारीको प्लास्टिक क्रोधको झोँक्का भएर दागमय टेबुलमा बज्य्रो । र, छेवैमा बसेको बाचाल मास्टरको चियाको भरी कप घोप्टियो ।
‘धत् !’ फुकिढल मास्टर कड्क्यो ।


अधीर हेमकान्तले ओठ टोक्यो, नाक मुसार्‍यो, दुई हत्केलाले आँखा मल्यो । र भन्यो, ‘साला ! आज मेरो दिनै बिग्रिने भो ।’
‘किन ? के भो र त्यस्तो ?’ अध्बैँसे वकिलकले वृद्ध स्वरमा सोध्यो ।
‘एकाबिहानै गद्दारको मुख देख्नुपरो ।’
‘को गद्दार ?’ प्रश्न चिया पसलेको थियो ।
‘याँ अरू को छ गद्दार ?’ चोरऔँलो दोबारेर टेबुल ठोक्दै हेमकान्तले घृणा ओकल्यो । ‘त्यै छ नि त्यो तिमेर्को कथित जान्ने सुन्ने । तिमेर्कोे त्यो इष्टदेव । कहीँ नभ’को तिमेर्कोे त्यो लेखनदास । त्यो गद्दार !’
‘ए गोविन्द सरलाई भन्या ?’ मुसुमुसु मस्किँदै र मानौँ गोविन्दको निन्दाबाट आनन्दित हुँदै मास्टरका ओठ चले ।
हेमकान्तका ओठमा हल्का कम्प छुट्यो, बोली फुटेन ।
चियापसलमा आज जे भयो, नील गगनबाट हठात् वृष्टि भयो । हेमकान्त साठीको खुट्किलो टेकेको छोटे व्यापारी थियो । उसलाई कन्नापछाडि प्राय: सबै लाटो भन्थे । मौन मूर्ति भन्थे । ग्वाँच भन्थे । शान्त मनोदशा र संयमित स्वरमा बोल्न ऊ जान्दैनथ्यो । जब बोल्थ्यो, ऊ झडङ्ग विस्फोटित भइहाल्थ्यो । ऊ सुमुसुमु आउँथ्यो । पत्रिकामा आँखा टेकाएर चुपचाप चिया घुट्क्याउँथ्यो । र, ऊ चुपचाप बाटो लाग्थ्यो ।


‘हँ ! गोविन्द सर गद्दार ?’ चिया पसलेले रमरम रोषमिश्रित स्वरमा प्रतिवाद गर्‍यो ।
‘धत्, कुरा पनि !’ रकमी वकिलले कारण माग्यो, ‘गोविन्द दाइ किन गद्दार ?’
हेमकान्तले रुद्रघण्टी मुसार्दै लामो सास फेर्‍यो । र, आफ्नो क्रोधको मुहानको कथा हाल्यो । कुरो यसो रहेछ । अघिल्लो साँझ उसले गोविन्दको एउटा अन्तर्वार्ता पढेछ । मित्रहरूका किसिमको अन्तर्वार्ता । उसको फराकिलो मित्रमहलमा नकुल पनि परेछ । र, कुरैकुरामा उसको भारी तारिफ भएछ । नकुलको तारिफ ! हेमकान्तलाई रातैभरि, सपनामा धरी रिस उठेछ । र, रिसको पर्वत बोकेर ऊ बिहान उठेछ । ‘नकुल ! को हो नकुल ?’ अहिले हेमकान्त जङ्गियो । ‘त्यो दख्खिनपन्थी हो, त्यो प्रतिक्रियावादी ! म त भन्छु— कालो काग हो त्यो ! त्यो पाजी वामपन्थीको मित्र ? मित्र पनि जस्तोतस्तो होइन, नङ–मासु सरहको ? वाहियात ! गद्दार !’
‘गोविन्द सर त्यत्ति कुराले गद्दार, हगि ?’ कलहकारी मास्टरले हेमकान्तलाई कुतकुत्यायो ।


‘त्यत्ति कुरा रे ?’ हेमकान्त मुर्मुरियो, ‘सिद्धान्तको कुरा हो यो, सिद्धान्तको ! सिद्धान्तमा चिप्लिने के हुन्छ, थाहा छ ? त्यो चिप्लेकीरो हुन्छ ! गद्दार हुन्छ त्यो !’ सन्नीपातको मधौरुझैँ ऊ बरबराइरह्यो, ‘अरूलाई खुट्टा टेक्न अर्ती दिने, आफूचाइने मुन्टो टेक्ने ! गद्दार ! जो अगुवा, उही बाटो... !’
जग्गाविद् ट्वाँ परेर सुनिरहेको थियो । बल्ल उसको बक् फुट्यो, ‘हेम दाइ, गद्दारको पनि त आफ्नै तर्क होला नि ।’
‘भुत्रोको तर्क ?’ हेमकान्तको मुक्का टेबुलमा पड्क्यो ।


‘हँ ? क्यै त अवश्यै होला तर्क,’ वकिलले जिरह गर्‍यो, ‘मान्छेहरू भन्छन्— नकुल न्याययोद्धा हो, निरङ्कुश हैकमको ज्यानी दुश्मन । लाठी, अश्रुग्यास र गोलीसामु ऊ लत्रिएन । ज्यान हत्केलामा राखेर लड्यो ऊ । गोविन्द सरले यस्तो क्यै नबुझी त्यस्सै मित्र भन्या हुनन् र हेमजी ?’
‘धइत् गद्दार !’ टेबुलमा फेरि मुक्का बज्रियो । र, चियाको पैसै नतिरी हेमकान्त बाहिर हुत्तियो ।


सद्दे गयो, र चिया पसलमा अलिबरेमा गद्दार आयो । उसका पनि हातमा पत्रिका र तरकारीको प्लास्टिक थियो । ऊ आउनु के थियो, वातावरण स्तब्ध भयो । र, ओठहरू मौन । आपसमा मुखामुख, र ओठमा नजानिदो मुसुमुसु । मानौँ ‘गद्दार’ एउटा मनोरञ्जनकारी किस्सा हो । वातावरणको गन्ध सुँघ्दै गोविन्दले लख काट्यो— यहाँ पक्कै
केही अनौठो भएछ ! तर भयो के ?
चिया पसलेले ‘के’को उत्तर दियो, ‘सर, हेमकान्त गद्दार भनेर गयो ।’
‘कसलाई ?’
उसले आँखआँखाले भन्यो— ज्यानलाई ।
‘यो त अचाक्ली भो सर !’ मास्टरले धुप हाल्यो । ‘सरजस्तो मान्छेलाई नाथे हेमकान्तले...’
‘हो, यो ज्यादती नै हो,’ वकिलले पैरवी गर्‍यो ।
‘मलाई त दाइ, मु..लाई मुक्याइदिऊँजस्तो लाग्या थ्यो,’ जग्गाविद्ले एक राउण्ड चाकरी बजायो ।
‘सर,’ चिया पसलेले खुल्दुली प्रकट गर्‍यो, ‘नकुल वामपन्थीको मित्रै हो त ? बुमबुम छ त हेमकान्त ।’
‘हेमकान्त मेरो पुरानो साथी हो, विसनबाबु ।’ चियाको चुस्की लिँदै गोविन्दले भन्यो । ‘ऊ मलाई जे भनोस्, ऊसँग मेरो कुनै द्वेष छैन ।’
‘हैट्, दुनियाँका अगाडि त्यस्तो दुर्वाच्य !’
‘विसनबाबु ! बरा, हेमकान्त साँगुरो कूपको कैदी हो । कूपबाट सेरोफरो जति देखिन्छ, ऊ ठान्छ— संसार त्यत्ति हो ।’
‘नकुल प्रतिक्रियावादी होइन्त, सर ?’
शान्त मनोभावमा गोविन्दले तर्क गर्‍यो, ‘नकुल जीवनको बहुरङ्गी बगैँचाको एक प्रकारको फूल हो, विसनबाबु । सबै बगैँचामा राम्रा फूल हुन्छन् । कहीँ धेरै होलान्, कहीँ थोरै । बस्, मेरो कुरो यो हो ।’
पलभर सन्नाटा छायो । चिया पसलका नन–स्टप वक्ता र विश्रान्त श्रोताहरूको अपेक्षा हुँदो हो— गद्दार विजयले वचनमा आगो वर्षाओस् र अलिकता दिल बहलाउ होस् । तर, त्यस्तो केही भएन, र ती
खिस्रिक्क परे ।


विजय उठेर बाटो लाग्यो । ऊ घरको बाटोमा पर्ने नजिकैको चारुमति चैत्यको प्राङ्गणमा भित्रियो । केही वृद्ध–वृद्धा, अध्बैँसे र एकाध पठ्ठा–पठ्ठी मियो वरिपरि घुम्ने वृद्ध बयलझैँ चैत्यको परिक्रमा गरिरहेका थिए । अगाडिको आत्महीन दृश्यले चकित विजयको ध्यान खिच्यो । असरल्ल कपाल तीलचामले, ढाड किञ्चित् कुप्रो, चाल सुस्त, दिशा मानौँ मृत्युतिर— अगाडि एउटा शुष्क जीव पत्थरपूजामा लिप्त छ । विशाल माउ चैत्यका वरिपरि अनेक पाठा चैत्यहरू छन् । एकएक पाठा चैत्यमा बुद्धको रूपाकृतिसहितको वा रूपाकृतिविहीन प्रतिमा छ । विजय हेर्दैछ, त्यो जीव एकपछि अर्को प्रतिमालाई ढोग्दैछ । दिगमिग मान्दै विजय गन्दै जान्छ— एक, दुई, तीन, चार, पाँच... ।


अहो ! अन्धभक्तिको पथमा यो कति ठूलो अम्मल ! कति गाढा नशा यो ! अनि यो कति निकृष्ट लम्पटपन ! ल हेर ! हेर्ने एकटकले हेर्दो छ, ढोग्ने एकसुरले ढोग्दो छ ।


पछाडिबाट नियाल्दा विजयलाई त्यो जीव चिनेचिनेजस्तो लाग्यो । फुत्त अगाडि गएर यसो घुरेर हेर्छ त मेरी बास्सै ! त्यो अजिब जीव उही हेमकान्त रहेछ— उसको उही पुरानो साथी, उही लाटो, उही बाहुबली, उही घृणावर्षी ! विजयको स्मृतिपटमा एउटा विश्रान्त सम्झना एकाएक जीवन्त भएर उठ्यो । कुरा धेरै अघिको हो । टोलछिमेकमा एउटा ज्ञानी तरुण थियो— भौतिकवादी, वागी र नित्य घर्षणकारी । ऊ पशुपतिका लट्टे फुस्राहरूसँग विज्ञानको ध्वजा बोकेर, घुँडा धसेर शास्त्रार्थ गथ्र्यो— परलोक मिथ्या हो, भगवान् झूट हो, कर्मकाण्डी धर्म धोतीगाँठेको ठग वृत्ति हो । यसो र उसोको बहसमा जब उत्तेजना र रोषका झिल्का निस्कन्थे, मुख थाकेर बहसकर्मीका हात चल्न थाल्थे । हेमकान्त, अहिलेको यो पत्थरभक्त हेमकान्त, ऊबेला बहसकर्मी ज्ञानीको अर्दलीजस्तो थियो । उसको जिब्रो प्राय: चल्दैनथ्यो, हातको चाल खतरा थियो । ज्ञानीले यसोक्क इसारा गर्‍यो कि हेमकान्त लट्टेलाई कुटिहाल्थ्यो । हेमकान्तका हातबाट अनेक लट्टे कुटिए, पुलिसका हातबाट हेमकान्त अनेक पटक कुटियो । त्यही हेमकान्त अहिले चारुमतिमा पत्थरपूजामा लिप्त छ । चकित र विस्मित भावले गद्दार हेर्दो छ, सद्दे अन्धभक्तिको नशामा लठ्ठ भई पत्थरपूजा गर्दो छ ।


‘ए, यो उही तिमी हौ !’
विजयको अन्तरबाट अनायासै विस्मययुक्त ध्वनि प्रस्फुटित भयो ।
‘अँ, म !’ के भनूँ न के भनूँ भएर हेमकान्त अकमकायो ।
‘ऊ पनि तिमी, यो पनि तिमी, कि कसो हेम ?’
‘अँ, म, म के भनूँ ? अँ, अब बूढो भइयो । पाटपुर्जा खिया लागेको जिउ रोगको संग्रहालयजस्तो भो । मन लुलो भो । तिमीलाई म के भनूँ, गोविन्द ? अचेल त लाग्न थाल्यो— यो असार संसार हो !’
‘कठै !’

प्रकाशित : वैशाख ८, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?