कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

कन्तबिजोग : रामेश्वर धर्मशाला

नियात्रा
नेपाली तीर्थयात्रुका निम्ति रानी जगदम्बाले भारतको रामेश्वरधाममा बनाइदिएको धर्मशाला प्रयोगहीन अनि उजाडिएको अवस्थामा छ ।
नेपालबाट निकै टाढा रहेको यो धार्मिकस्थलमा नेपाली तीर्थयात्रीको सुविधाका निम्ति भनेर रानी जगदम्बाले २०१६ सालको शिवरात्रिमा नेपाली धर्मशाला स्थापित गरेकी थिइन् । यसबाट रामेश्वर तीर्थ जाने नेपालीहरूले निकै ठूलो राहत पाएका थिए ।
रोचक घिमिरे

काठमाडौँ — हिन्दुहरूको प्रमुख चार धाममध्येको एउटा महत्त्वपूर्ण धाम हो— रामेश्वर । हरेक वर्ष हजारौं नेपाली तीर्थयात्रा निम्ति रामेश्वर जाने गर्छन् । भारतको तमिलनाडु राज्यस्थित रामेश्वरधाम हिन्द महासागर र बंगालको खाडीले चारैतर्फ घेरिएको शंख आकारको द्वीप हो । दुई किलोमिटर लामो समुद्रमा बनेको पुलबाट रेलयात्रा गरेर यो ठाउँमा पुगिन्छ । रामेश्वरको पारिपट्टि श्रीलंका पर्छ ।

कन्तबिजोग : रामेश्वर धर्मशाला

नेपालबाट निकै टाढा रहेको यो धार्मिकस्थलमा नेपाली तीर्थयात्रीको सुविधाका निम्ति भनेर रानी जगदम्बाले २०१६ सालको शिवरात्रिमा नेपाली धर्मशाला स्थापित गरेकी थिइन् । यसबाट रामेश्वर तीर्थ जाने नेपालीहरूले निकै ठूलो राहत पाएका थिए । प्रशस्त जग्गासहित रामेश्वर मन्दिर नजिकैको महत्त्वपूर्ण बजार मिडिल स्ट्रिटमा रहेको यो धर्मशाला प्रबन्धको जिम्मेदारी स्थानीय नेपाली पण्डालाई दिइएको थियो । धर्मशालामा बस्ने यात्रीबाट लिइने शुल्कबाट नै धर्मशाला चल्दै आएको थियो । तर मर्मत सम्भार नगरी अम्दानीको प्रयोग भने व्यक्तिगत प्रयोजनका निम्ति मात्रै गरिंदा धर्मशाला जीर्ण बन्दै गयो । अहिले नेपाली तीर्थयात्रीका निम्ति भने यो प्रयोगहीन अवस्थामा छ । उपयोग गर्नसम्म सकिने भुइँतलाका केही कोठाहरू डाक्टरको क्लिनिक, साइबर, रेडियो–टीभी मर्मत पसल आदिका निम्ति भाडामा दिइएको छ ।


रामेश्वरजस्तो प्रसिद्ध सुदूर तीर्थस्थलमा नेपाली तीर्थयात्रीका निम्ति भनेर दाताले बनाइदिएको करोडौं मूल्यको यो सम्पत्ति संरक्षण अभावमा अहिले प्रयोगहीन र ध्वस्त अवस्थामा छ । यसको संरचना मक्किएका, जताततै पीपलझार पलाएका, सबैजसो भाग धराप अवस्थाको भग्नावशेषमा परिणत भएका छन् । धर्मशालापछाडि पनि ठूलै भवन निर्माण गर्न सकिने आफ्नै प्रशस्त जमिन छ । आफ्नो धर्मशालामा भएको यस्तो दुर्गतिका कारण महँगा होटल र लजमा बस्नुपर्ने बाध्यतामा नेपाली तीर्थयात्री छन् ।


रानी जगदम्बाको निधनपछि धर्मशालाको मर्मत संरक्षणमा सम्बन्धितले ध्यान नदिएको नेपाली पण्डा बी गणेश सुब्रमणि जोशी बताउँछन् । धर्मशालाको मर्मत–सम्भारका लागि डा.सुन्दरमणि दीक्षितसँग सम्पर्क भए पनि बारम्बार आग्रह गर्दा आफू थाकिसकेको तिनले बताए । ‘सुन्दरमणिका दाजु कमलमणिले मर्मतसम्भारका लागि आश्वासन दिए पनि अहिले कमलमणिकै निधन भैसकेकाले अझ अलपत्र स्थिति थपिएको’ गुनासो पण्डाको थियो ।


सुदूर भारतको महत्त्वपूर्ण त्यस भूमिमा नेपाली दाताले नेपाली तीर्थयात्री निम्ति स्थापित गरीदिएको यो अमूल्य स्मारकको सुरक्षा र संरक्षणका बारे दिल्लीस्थित नेपाली दूतावासको ध्यान आकृष्ट हुन सकेकै छैन । नेपाल सरकारले ध्यान नदिने हो भने कराडौं मूल्य पर्ने रामेश्वरस्थित यो नेपाली सम्पत्ति आफ्नो हातबाट गुम्ने निश्चित छ ।

प्रकाशित : वैशाख ८, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?