१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

नियात्रा साहित्यको प्राप्ति

समीक्षा
ज्ञानु अधिकारी

काठमाडौँ — कृष्ण बजगार्इं बेलायतमा रहेर नेपाली साहित्यमा समर्पित स्रष्टा हुन् । आख्यान, कविता र नियात्रा विधामा उनका आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन् । ‘भाया साक्रा’ उनको दोस्रो नियात्रा कृति हो । ‘युरेसियाको स्पर्श’ शीर्षक कृतिपछि बजगाईंको यो नियात्राको नाम ‘भाया साक्रा’ नेपाली पाठकका लागि परिचित शब्दावली होइन । पवित्र बाटो अर्थात् तीर्थयात्रा जाने बाटो भन्ने अर्थ भएको यो शब्दावली नियात्रा पढिसकेपछि भने सार्थक बनेको छ ।

नियात्रा साहित्यको प्राप्ति

यात्राका अनुभूति र दृश्यलाई आफ्ना विचारमा घोलेर कलात्मक रूपमा प्रस्तुत गर्न नियात्राकार यस कृतिमा सफल देखिन्छन् । कृतिका २१ नियात्रामा स्थान, पात्र र अनुभूति गरी मुख्य तीन पक्षलाई केन्द्रमा राखिएको छ । नियात्राहरू कोरा भावना र सपाट वर्णनमा अल्झिएका छैनन्, बरु त्यसभन्दा पर पुगेर खोज र अनुसन्धानतर्फ अभिमुख छन् । यात्रा जुन स्थान, विषय र व्यक्तिका बारेमा केन्द्रित भएको छ, त्यसप्रतिको उत्सुकता, जिज्ञासा र पूर्वानुमानलाई गहन र रुचिपूर्ण बनाउने प्रयत्न नियात्राकारले गरेका छन् । लेखकको हिन्दु धर्मप्रतिको आस्था र पूर्वीय–पश्चिमी मिथकीय सन्दर्भहरू पनि यी नियात्रामा प्रभावकारी रूपमा प्रस्तुत भएका छन् ।


नियात्राकार आफ्नो अन्तर्यमा नेपाल बोकेर यात्रारत हुन्छन् । विश्वका महान् व्यक्तिका घरमा पुग्दा होस् या प्रविधिद्वारा खेती गरिने बेलायती गाउँमा घुम्दा, विभिन्न व्यक्तित्वको स्मृतिमा बनेका सङ्ग्रहालयमा पुग्दा अथवा स्रष्टाका तस्बिर छापिएका नोट देख्दा नियात्राकार नेपाल र नेपालीलाई सम्झन्छन् । चाल्र्स डार्विनको घरमा सिस्नोको वाइनलाई महँगो मूल्यमा किनेपछि लेखकले भनेका छन्, ‘वाइनको पैसा तिरेर बाहिरिएपछि हाम्रो देशमा पनि सिस्नोको वाइन उत्पादन गरेर युरोप–अमेरिका पठाउन सके राम्रो बजार पाउने सम्भावना देखेँ । अझ हिमाली/पहाडी सिस्नोको वाइन भनेर प्रचार गर्ने हो भने नेपालको हिमाल–पहाड भनेर हुरुक्क हुने विदेशीलाई अवश्य आकर्षित गर्दो हो ।’


हरेक नियात्रामा गन्तव्यका रूपमा रहेका स्थानको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा भौगोलिक पक्षका बारेमा जानकारी गराई त्यस ठाउँसम्म पाठकलाई पुर्‍याइएको छ । नियात्राकारले आइज्याक न्युटनको बगैंचामा पुगेर स्याउ टोक्दा होस् या डार्विनको घरमा पुगेर सिस्नोको वाइन किन्दै गर्दा, या त बर्नाड शाको घरमा गई उनको भौतिक र साहित्यिक वैभवलाई देख्दा होस् या सरलक होम्सको डेरामा पुग्दा— उनी हरेक पल नेपाल र नेपालीको सन्दर्भलाई जोड्न पुगिहाल्छन् । शाश्वत नगरका रूपमा चिनिने रोमको ऐतिहासिकताको वर्णनदेखि फ्लान्दर्सको मैदानमा पुगेर भावुक भएको अनुभूतिले पाठकलाई एकैसाथ रोमाञ्चित र भावुक बनाउँछ । नियात्रामा डायस्पोरिक साथै जातीय चेतना पनि प्रभावकारी रूपमा अभिव्यक्त भएको छ । बेल्जियमको इपर सहरमा अवस्थित मेनिनगेटमा प्रथम विश्वयुद्धमा वीरगति प्राप्त गरेका नेपाली जवानको नाम पढेपछि भावुक हुँदै नियात्राकार भन्छन्, ‘भाडाको सिपाही भएर अर्काको देशमा पुग्नु, कुनै शत्रुतापूर्ण सम्बन्धै नभएको कता हो कताको बिरानो मुलुकसँग युद्ध लड्नु, वीरगति प्राप्त गर्नु, आफ्नो धर्म, संस्कार र परम्पराअनुसार सद्गत हुन नपाउनु अनि त्यतिले मात्र नपुगेर अर्काको देशको नागरिक भएर नाम छापिनु...यस्तो पनि मरण हुन्छ ?’


विदेशको व्यस्त जीवनबाट अलिकति समय पाउनेबित्तिकै नयाँ ठाउँको भ्रमण गरी ज्ञान र अनुभवको दायरालाई फराकिलो र समृद्ध पार्न लेखकको यो कलाबाट हरेक पाठक प्रभावित नभइरहन सक्दैनन् । साहित्य र सिनेमा क्षेत्रको प्रसिद्ध नोबेल र ओस्कार पुरस्कार प्राप्त गर्ने जर्ज बर्नाड शाको घरमा पुग्दा उनी भन्छन्, ‘जीवनमा पहिलो पटक प्रत्यक्ष रूपमा नोबेल पुरस्कार र ओस्कार अवार्डको सक्कल देख्न पाउनु मेरा लागि गर्वको कुरा थियो । यस्ता महान् लेखकको संसारप्रसिद्ध पुरस्कार देखेर मैले ऊर्जा प्राप्त भएको महसुस गरें । नेपाली लेखकहरूले पनि कुनै दिन यस्ता पुरस्कार अवश्य पाऊन् भनेर कामना गरें ।’


नियात्राकारले स्पिकर्स कर्नरमा पुग्दा होस् या बाथ सहरमा कुमारी आस्टिनलाई खोज्दै हिँड्दा अथवा स्टोनहेन्जलाई तीन फन्का मार्दा पनि त्यसको रहस्यसँग परिचित हुन नसक्दाको अवस्थालाई होस्, आफ्ना सबै अनुभूतिलाई निर्धक्कसँग पोखिदिएका छन् । लाग्छ, लेखक आफूले हाँकिरहेको गाडीको देब्रे सिटमा बसाएर पाठकलाई पनि युरोप घुमाउन सफल भएका छन् । युरोपका वैज्ञानिक, कलाकार, साहित्यकारहरूको घर अर्थात् म्युजियमलगायत अन्य हत्त्वपूर्ण ठाउँ, जस्तै : स्पिकर्स कर्नर, स्टोनहेन्ज, पिसा टावर, भ्याटिकन सिटी, प्राचीन रोम, नेपल्स, डेथ ट्रयाम्प, समुद्रमुनिको रेलयात्रा आदिको अवलोकन भ्रमण गर्दाको रोमाञ्चक अनुभूतिलाई यस कृतिमा आकर्षक रूपमा उतारिएको छ । विचार, अनुभूति, कला, वर्णन, जानकारी, ज्ञान आदिको संयोजनबाट प्रस्तुत नियात्रासंग्रह संग्रहणीय बनेको छ ।

प्रकाशित : वैशाख ८, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?