१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

डायास्पोरा : गहिरो दृष्टि

काठमाडौँ — नेपाली साहित्यमा उत्तरआधुकिता र डायास्पोराको तथ्य–कथ्यमा बहस भित्र्याउने समालोचक हु्न्— प्राध्यापक गोविन्दराज भट्टराई । यी विषयमा थुप्रै शोध आलेख र अनुसन्धानमूलक कृति निकालेका भट्टराईको पछिल्लो कृति आएको छ— डायास्पोरा : सिद्धान्त र समालोचना । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको यो कृतिमा प्रत्यक्ष/अप्रत्यक्ष आप्रवासन (माइग्रेसन) सँग गाँसिएर के–कसरी डायास्पोराको अर्थ, व्याख्या र दर्शन फैलिएको छ भन्ने स्पष्ट हुन्छ । कला, साहित्य, संस्कृतिको घुलमिलसँगै समाजविज्ञानको एउटा पाटो बनिसकेको डायास्पोरा अहिले भौगोलिक सीमाहीनताको विषयसमेत बनेको छ ।

डायास्पोरा : गहिरो दृष्टि

कृतिमा लेखकले विश्वव्यापी डायास्पोरा, डायास्पोराको अवधारणा र पहिचान तथा डायास्पोराको समाशास्त्रमा समालोचकीय दृष्टिकोण राखेका छन् । उनले नेपाली डायास्पोराको प्राज्ञिक अध्ययन र नेपाली डायास्पोरा अध्ययनमा भएको नेपाली प्रयत्नमाथि पनि चर्चा गरेका छन् । लेखक भट्टराईले डायास्पोरा व्याख्या गर्ने क्रममा राखेको परिभाषा स्पष्ट छ, सजिलो भाषामा उनी लेख्छन्, ‘डायास्पोरामा दुईवटा विशेषताले काम गर्छन्— कि त यो नित्य निर्माणाधीन हुन्छ कि त्यो जाति उसको भाषासंस्कृति बिस्तारै विलयको प्रक्रियामा हुन्छ, लामो समयपश्चात् त्यो रोकिन्छ । तर निर्माणप्रक्रिया रोकिंदैन, ६ सय वर्षपछि पनि बेलायत/अमेरिकातिर काला जातिको आवागमन निरन्तर छ । अब नेपाली नागरिक भुटान पस्न सक्तैन, बर्मा अथवा आसाम पसेर बस्न सक्दैन, हङकङ पनि सिलबन्दी छ । तर बेलायत अथवा अमेरिका, क्यानडा सदा ओपन बोर्डरझैं रहेकाले नेपाली जाति त्यता खुला सीमातिर गैरहेका छन्, यता आइरहेछन् । त्यसैले भन्ने गरिन्छ, डायास्पोराको तथ्यांक निकाल्न असम्भव छ, जानेहरू छन्, आउनेहरू छन् । बस्ने, छाड्ने र ट्रान्जिटमा पनि छन् । एकपल्ट स्थापित भइसकेपछि डायास्पोरा समुदायचाहिं त्यो नउखेलिउन्जेल स्थायी तत्त्व हो, तर व्यक्ति स्थायी होइन । व्यक्तिहरूको आवागमन अथवा गतिशीलता गनिंदैन ।’


लडाइँको मैदानमा उहिले मलाया जाने नेपालीको कथा अब अर्कै स्वरूपमा विस्तारित भैसकेको छ । नेपाली जाति आज फिजी पुगेका छन्, फिजी टापुमा मात्रै ११ हजार गोर्खाली रहेको तथ्यांक छ । संसारका ७० भन्दा बढी देशमा नेपालीहरूको उपस्थिति औपचारिक रूपमै देखिएको छ । लाहुरेको डायास्पोरा आफ्नै छ, श्रमिकको डायास्पोरा पनि अलग छ । प्राज्ञिक अनुसन्धान तहको नेपाल प्रज्ञा प्रतिष्ठानले ‘डायास्पोरिक सेल’ स्थापना गर्नै लागेको सन्दर्भमा भट्टराईको कृति एउटा गहिरो र वस्तुपरक शोध सामग्री हुन सक्छ । नेपाली सन्दर्भमा डायास्पोरिक चेतना विस्तारमा यो कृति अर्थपूर्ण भए पनि एउटा जिज्ञासा भने उब्जिरहेकै हुन्छ । त्यो हो, लेखकले नेपाली स्रष्टा र लेखकले विदेश भूमिमा पुगेर गरेका साहित्यिक रचना (कृति) हरूको सकारात्मकतालाई खुलेरै औंल्याएका छन् । हार्वडको चौतारी, क्यापिटल हिल, अमेरिका ओ अमेरिका, रेगिस्तानी सपनाहरू, सीमाहीन विम्बहरू, बेलायतको आँगन र घरधनीहरू, एटलान्टिक स्ट्रिट, पातालकी प्रेयसीजस्ता नामहरू त डायास्पोरिक–प्रतीकमा उभिएका छन् । तर, यी कृतिभित्रको गुदी भने कति बाहिरी प्रभाव र प्रयोगमा आधारित छ, त्यसको मूल्यांकन भने ‘डायास्पोरा : सिद्धान्त र समालोचना’ कृतिमा छुट भएजस्तो देखिन्छ ।

प्रकाशित : वैशाख ८, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?