थ्रीस्टारको स्तर

ललितपुरे क्लब थ्रीस्टारले घरेलु फुटबलमा पुनरागमन गरेको १ सय दिनभित्र पाँच उपाधि जित्यो ।
राजु घिसिङ

काठमाडौँ — थ्रीस्टार क्लबले कोलकाताको चर्चित क्लब इस्ट बेंगाललाई हराएर असोज, २०७३ मा गुवहाटीमा बोर्डोलोई ट्रफी जितेको थियो । त्यसपछि दसैं लाग्यो । तिहार आयो । लगत्तै अखिल नेपाल फुटबल संघ (एन्फा) ले एसियाली फुटबल महासंघ (एएफसी) मा टिम दर्ता नगर्दा थ्रीस्टारलाई एएफसी कपको प्ले–अफ खेल्न नपाउने रहस्यमय खबर पनि आयो ।

थ्रीस्टारको स्तर

मंगोलियामा भएको प्रारम्भिक छनोटमा पहिलो स्थान हासिल गर्दै प्ले–अफमा पुगे पनि महादेशीय प्रतियोगिता खेल्ने अवसर गुमाएकोमा आक्रोशित त हुने नै भयो ।

थ्रीस्टारले एन्फासँग ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै कुनै पनि प्रतियोगिता नखेल्ने घोषणा नै गर्‍यो । एक वर्षपछि आएर एन्फासँग १ करोड ५० लाख रुपैयाँ क्षतिपूर्तिमा थ्रीस्टारले सहमति जनायो, जसले नेपाली फुटबलको लोकप्रिय क्लबलाई १५ महिनापछि मैदानमा फर्काउने बाटो तय गर्‍यो । मंसिर १० सम्म दिने सम्झौता भए पनि हालसम्म एन्फाले ५० लाख मात्र दिएको छ तर त्यसले थ्रीस्टारलाई मैदानमा फरक पारेको छैन । बोर्डोलोई ट्रफी जित्दासम्म थ्रीस्टारको टिम घरेलु फुटबलकै सबभन्दा बलियो थियो । तर प्रतियोगितामा सहभागी नहुँदा उसका खेलाडीहरू अरू थुप्रै टिमहरूबाट खेलिरहेका थिए । त्यसैले मैदानमा फर्कंदा फेरि टिम जुटाउने चुनौती थ्रीस्टारलाई भयो । तर उसलाई फेरि टिम बनाउन खासै गाह्रो भएन । फेरि उस्तै टिम तयार भयो । प्रशिक्षकमा पनि मेघराज केसी नै निरन्तर रहे ।


थ्रीस्टारको पुनरागमनको पहिलो प्रतियोगिता बन्यो— दोस्रो सुदूरपश्चिम खप्तड गोल्डकप । लामो अवधिपछि मैदानमा फर्किरहेकाले थ्रीस्टारलाई विगतजस्तो उपाधि जित्नैपर्ने दबाब भने थिएन । पुसमा धनगढीमा भएको खप्तड गोल्डकपको पहिलो चरणमै थ्रीस्टारलाई आर्मीले १–० हराइदियो । धनगढीबाटै पूर्वतिर लागेको थ्रीस्टारले मदन भण्डारी स्मृति इटहरी गोल्डकपमा भने आर्मीसँग बदला लियो र फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी मनाङ–मस्र्याङ्दीलाई हराएर उपाधि नै जित्यो । खासमा ललितपुरे क्लब यति चाँडै उपाधि यात्रामा फर्किने पनि सोचिएको थिएन तर उसले नोपली फुटबलमा सबै कुरा सम्भव भएको देखाइदियो ।


इटाहरी गोल्डकप त थ्रीस्टारको उपाधि यात्राको सुरुआत मात्र थियो । उसले मैदानमा फर्किएको १ सय दिनभित्रै पाँच उपाधि जितेको छ । इटहरीपछि थ्रीस्टारले बुढासुब्बा (धरान), तिलोत्तमा (बुटवल) र मदन भण्डारी स्मृति (बुटवल) हँुदै २६ चैतमा विराट गोल्डकपको ट्रफी पनि कब्जा गर्‍यो । तिलोत्तमा, मदन भण्डारी (बुटवल) र विराट गोल्डपकले त उसलाई ह्याट्रिक उपाधि नै दिलायो । त्यति मात्र कहाँ हो र ? मोफसलका प्रतियोगितामा सर्वाधिक पुरस्कारको होड चलिरहेको छ । जुन प्रतियोगितामा कीर्तिमान पुरस्कारको व्यवस्था गरिन्छ, त्यसैमा थ्रीस्टार च्याम्पियन भइरहेको छ । आयोजकले थ्रीस्टारकै लागि पुरस्कार बढाइरहेको त होइन, तर उसको सफलताले त्यस्तै देखाउँछ ।


यसबीच सिमरा (बारा), आहा–रारा (पोखरा) र विकास रनिङ सिल्ड (चितवन) को फाइनल पनि खेल्न भ्याएको थ्रीस्टारले तीन महिनाभित्र पुरस्कार मात्रै ६१ लाख ९९ हजार ७ सय ७७ रुपैयाँ हात पारेको छ । यो सिजन थ्रीस्टारले ११ प्रतियोगिता खेल्यो र त्यसमा हरेक खेलमा पाएको ‘म्याच–फी’ लाई पुरस्कारमा जोडिएको छैन । एउटै खेलाडीले व्यक्तिगत पुरस्कार पनि झन्डै पाँच लाखसम्म पाइसकेका छन् । झट्ट हेर्दा पुरस्कारले मात्रै पनि क्लबको खर्च धान्ने अवस्थामा पुगेको छ । तर उपाधि नजित्ने हो भने घाटामा जाने प्रस्टै छ किनभने यहाँका प्रतियोगितामा पुरस्कारको व्यवस्था सही तवरले गरिएको छैन ।


पछिल्ला नौ खेलमा अपराजित थ्रीस्टारले यो सिजन २३ खेल जित्यो, जसमा पेनाल्टी सुटआउटको सफलता पनि समावेश छ । र, उसले ६ खेल हार्‍यो । थ्रीस्टारले लोकप्रियता र सफलताकै आधारमा पनि मुख्य प्रतिद्वन्द्वी मानिएको मनाङसँगको पाँच भेटमा शतप्रतिशत जित हात पार्‍यो । तिलोत्तमा, मदन भण्डारी (बुटवल) र विराट गोल्डकपमा त पछाडि परेको अवस्था उल्टाएरै थ्रीस्टारले मनाङलाई हराएको थियो । थ्रीस्टारले विराट गोल्डकपको फाइनलमा आर्मीविरुद्ध निकालेको ३–० को जित अनुमान गरेभन्दा ठूलो अन्तरको सफलता थियो । यसले थ्रीस्टारलाई आर्मीविरुद्ध यो सिजन २–२ को अवस्थामा पनि पुर्‍यायो । थ्रीस्टारले पाँच उपाधि जिते पनि यो सिजनको सर्वाधिक सफल टिम भने आर्मी रह्यो । उसले सात उपाधि कब्जा गर्‍यो ।


बुढासुब्बा गोल्डकपको फाइनलमा कप्तान विक्रम लामाको खुट्टा नै भाँचिए पनि रूपेश केसीको आगमनले थ्रीस्टारलाई मिडफिल्डमा बलियै बनाइरहेको छ । अफ्रिकी मूलका फरवार्ड अजयी मार्टिन्स, डिफेन्डर पिटर सेगुन, राष्ट्रिय टिमका अनन्त तामाङ, विमल घर्तीमगर, रजिन धिमाल, सुनील बल र गोलकिपर एलन नेउपाने थ्रीस्टारका मुख्य खेलाडी हुन् । अनुभवी मिडफिल्डर निराजन खड्का, बुद्ध चेम्जोङ, विजय धिमाल, विष्णु सुनुवार र विष्णु गुरुङले पनि प्रभावशाली प्रदर्शन गरिरहेका छन् । उसका २३ खेलाडीमा यू १९ साफ च्याम्पियन अभिषेक बराल, सुसान श्रेष्ठ, अनिल महर्जन, निराजन महर्जन र असीम भुसाल तथा ए डिभिजन नखेलेका पूर्ण चेम्जोङ, जीवन गुरुङ, दीपेश घलेजस्ता जुनियर खेलाडीको सम्मीश्रण पनि रहेको छ ।


घरेलु फुटबलमा थ्रीस्टारलाई टक्कर दिने टिम आर्मी, मनाङ नै हुन् । त्यसपछि पर्छन् पुलिस, झापा, एपीएफ र संकटा । अरू टिम त प्रतियोगितापिच्छे फेरिने गर्छन् । थ्रीस्टारका प्रशिक्षक मेघराज केसी भने टिम अझै बलियो भइनसकेको बताउँछन् । ‘लिग हुन्छ र नेपालमा फुटबलको माहोल फर्किन्छ भनेर टिम बनाउने प्रयासमा छौं तर सोचेजस्तो टिम अझै बनेको छैन,’ उनले भने, ‘व्यवस्थापनले दिएको वचन पूरा गरिरहेको छ । खेलाडीले पनि जिम्मेवारी पूर्णत: निर्वाह गर्ने प्रयास गरिरहेका छन् । व्यवस्थापन, प्रशिक्षक र खेलाडीको संयोजनले नै पाँच उपाधि सम्भव भयो । अब थ्रीस्टारलाई थप स्तरीय बनाउन चाहन्छौं ।’

प्रकाशित : वैशाख ८, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?