च्याम्पियन उद्यान

खेल
क्षेत्रफल र जनसंख्याको हिसाबमा नेपाल हङकङभन्दा ठूलो छ । सोही अनुपातमा खेलप्रति लगाव राख्ने जनमानस पनि नेपालमै बढी छन् । तर, खेलकुदमा सफलताको हिसाब गर्ने हो भने नेपाल हङकङको वरपर पनि छैन ।
सुबास हुमागाईं

काठमाडौँ — हङकङले पछिल्लो २० वर्षमा आयोजित ५ एसियाली खेलकुदमा २९ स्वर्णसहित कुल १ सय ४९ पदक जितेको छ । त्यसक्रममा नेपालले भने सोही अवधिमा १ कास्यसहित ११ पदकमात्र हात पार्‍यो । हङकङले पछिल्लो २० वर्षमा खेलकुदमा गरेको प्रगतिको श्रेय देशमा भएको खेल पूर्वाधारको विकासलाई जान्छ । त्यसभन्दा बढी खेलाडीको प्रशिक्षणका निम्ति खडा गरिएको हङकङ स्पोर्ट्स इन्स्टिच्युट (एचकेएसआई) लाई जान्छ ।

च्याम्पियन उद्यान

खेलाडीले आफ्नो खेलजीवनमा सबैभन्दा बढी समय बिताउने स्थान प्रशिक्षण स्थल हो । खेलाडीको स्तर उकास्न सुविधासम्पन्न प्रशिक्षण केन्द्र अपरिहार्य हुन्छ । नेपालको वर्तमान स्थितिमा अधिकांश खेलको सुविधासम्पन्न खेल मैदान त छैन । प्रशिक्षण गर्ने ठाउँ पनि बिरलै भेटिन्छ । यस्तो अवस्थामा खेलकुदबाट सफलता मात्र आस गर्नु बेकार छ ।


एचकेएसआईले हङकङको खेल विकासमा आमूल परिवर्तन ल्याएको नतिजाले प्रस्ट पार्छ । पदकको सम्भावना रहेको १९ खेलका खेलाडीलाई सम्पूर्ण सुविधासहित प्रशिक्षण दिने योजनाले हङकङको खेल जगत्मा कायापलट ल्यायो । खेलाडीलाई उत्कृष्ट प्रशिक्षण मात्र नभएर उचित खानपिन, बसोबास, स्वास्थ्य, शिक्षालगायत सम्पूर्ण व्यवस्था एचकेएसआईले प्रदान गर्दै आएको छ ।


परिसरमा एउटा सुविधासम्पन्न रंगशालासहित अन्य १९ खेलको सुविधासम्पन्न पूर्वाधार रहेको छ । अन्तर्राष्ट्रिय स्तरको ५० मिटर पौडी पोखरी, १ सय ४० बोट क्षमताको रोइङ सेन्टर, १३ पिस्ट सहितको फेन्सिङ हल, बलिङ सेन्टर, उसु हल, १६ ब्याडमिन्टन कोर्ट, १६ टेबल टेनिस बोर्ड र १५ सय स्क्वायर मिटरको दुई बहुउद्देशीय प्रशिक्षण हलसहितको इन्डोर सुविधा छन् । आउटडोरमा ४ हार्ड कोर्ट, २ कभर्ड हार्ड कोर्ट र २ कले कोर्टसहित कुल ८ कोर्टको टेनिस कम्प्लेक्स पनि छ । यसबाहेक साइकलिङ ट्रयाक, सेमिनार हल, इन्फोटेन्मेन्ट सेन्टरलगायतका सुविधा पनि छन् ।


एचकेएसआईमा उत्कृष्ट खेलाडी मात्र नभएर सम्भावना बोकेका युवा र प्रतिभावान खेलाडीलाई पनि स्थान दिने गरिन्छ । भविष्यमा राष्ट्रको प्रतिनिधित्व गर्न सक्ने सम्भावना बोकेका खेलाडीले पनि यहाँ मौका पाउँछन् । एचकेएसआईमा १२ सय खेलाडीले नियमित प्रशिक्षण गर्ने गरेका छन् भने करिब ३ सय खेलाडी त्यहीँ बसोबास गर्ने गर्छन् ।
सरकारको लगानी भए पनि एचकेएसआई आफैं कार्यसम्पादन गर्ने संस्था हो । एचकेएसआईले सरकारी सहयोगबाहेक स्थानीय जकी क्लब र प्रायोजकहरूको सहयोगले सम्पूर्ण कार्य गर्दै आएको छ । खेलाडीहरू यहाँ आबद्ध हुन सम्बन्धित खेलकुद संघले सिफारिस गरेपछि मात्र सम्भव हुन्छ । संघले खेलाडीले प्रतियोगितामा गरेको प्रदर्शनलाई आधार मानेर एचकेएसआईलाई खेलाडी सिफारिस गर्नुपर्छ ।


एचकेएसआईमा १९ खेलका लागि सुविधासम्पन्न प्रशिक्षण स्थल छ । आवश्यक परेको खण्डमा ती प्रशिक्षण स्थललाई खेलस्थलकै रूपमा पनि प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि आवश्यक स्वीकृति पनि प्राप्त भएको छ । खेलस्थल बाहेक एचकेएसआईमा स्पोर्ट्स मेडिसिन र फिटनेस ट्रेनिङ सेन्टर पनि रहेको छ । अत्याधुनिक सुविधाले खेलाडीको प्रदर्शनमा पनि निकै सहयोग पुग्छ । एचकेएसआईमा ४ सयभन्दा बढी फुल टाइम स्टाफ र आवश्यक परेको खण्डमा विशेषज्ञ प्रशिक्षक पनि आउने गरेका छन् ।


एचकेएसआईमा आबद्ध खेलाडीले उच्च शिक्षा हासिल गर्न विभिन्न विश्वविद्यालयमा छात्रवृत्ति पनि पाउने गरेका छन् । त्यसबाहेक संस्था आफैंले पनि बेला–बेलामा खेलाडीहरूलाई आवश्यक परेको खण्डमा कोचिङ कक्षाहरू व्यवस्था गर्ने गरेको छ । खेलाडीको विकासमा खेलभित्र मात्र नभएर खेलबाहिर पनि एचकेएसआईले ध्यान पुर्‍याएको छ । खेलाडीको मनोविज्ञान बुझ्न र त्यसलाई स्थिर राख्न पटकपटक कार्यशाला र गोष्ठी पनि आयोजना हुन्छ । यसले खेलाडीलाई मानसिक रूपमा पनि नेपालमा पनि यस्ता प्रशिक्षण केन्द्र बन्ने योजना र आश्वासन वर्षैपिच्छे आउँछन् । तर ती योजना कागजबाट माथि कार्यान्वयन हुन सकेका छैनन् । मकवानपुरको गौरीटारमा २०६६ जेठमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले एकेडेमी शिलान्यास गरे । ८ वर्ष बितिसक्दा पनि उक्त एकेडेमीको निर्माण कार्य सम्पन्न हुन सकेको छैन । डेढ अर्ब अनुमानित बजेट रहेको उक्त कार्यक्रम अझै पनि निर्माणाधीन अवस्थामै छ ।


गौरीटार त केवल एक प्रतिनिधि मात्र हो । नेपालमा योजना आउँछन् तर कार्यान्वयनको प्रक्रियामा जान नपाउँदै सेलाउँछन् । कार्यान्वयनमा अगाडि बढे पनि सम्बन्धित निकायमा व्यक्ति परिवर्तन भएपछि निर्माण कार्य ठप्प हुन्छ । हालसम्म सुविधासम्पन्न रंगशाला नहुनुले नेपालको खेलकुदमा परेको समस्या सबैमाझ प्रस्ट छ । भएको कामचलाउ रंगशाला पनि भूकम्पले क्षतिग्रस्त अवस्थामा छ । भूकम्पको तीन वर्ष बितिसक्दा पनि पुनर्निर्माणको कार्यले गति लिन सकेको छैन । बिग्रेको संरचना भत्काउने काम बल्ल सुरु भएको अवस्था छ, त्यो अब फेरि कहिले बन्ने हो त्यसको टुंगो छैन । रंगशालाको हालजस्तै नेपालको खेलकुद क्षेत्रको हाल पनि उस्तै छ, लथालिंग !

प्रकाशित : वैशाख ८, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?