केकी एक्सप्रेस

केकीले अभिनय गरेका कुनैपनि चलचित्र हिट लिस्टको सूचीमा छैनन् । तर, केकी अभिनय क्षेत्रमा आएका दिनदेखी सधैं ‘हिट’ छिन् ।

काठमाडौँ — हिरोइनको कुनै झल्कोसमेत देख्न सकिँदैन । कुनै विशिष्टता र विराट व्यक्तित्व देखिन्न । तर, करिअरको १० औं वर्ष दौरानमा फरक परिचयले ‘कोहलपुर एक्सप्रेस’ बाट निर्मात्रीको रूपमा चिनिँदै छिन्— केकी अधिकारी । वैशाख १४ देखि आउन लागेको आफ्नो फिल्मको प्रमोसन दौडधुपमा छिन् केकी ।

केकी एक्सप्रेस

यतिखेर चलचित्रमा निर्मम प्रतिस्पर्धा छ, खतरानाक दौडधुप । सिनेमाको स्टार भनाउने र भन्ने यो भीडबीच केकीचाहिँ भनिरहेकी छन्— ‘जीवनमा मेरो कहिल्यै कसैसँग प्रतिस्पर्धा छैन । चलचित्र क्षेत्रको भयानक यो निर्मम दौडमा सामेल हुनु पनि छैन मलाई । मेरो प्रतिस्पर्धा म आफैंसँग हो । मेरो चलचित्रको प्रतिस्पर्धा मेरा विगतका चलचित्रसँग हो ।’


यसरी न कसैसँग गुनासो न कसैसँग रिसईवीको मुहार–मुद्रा देखाइन् केकीले । ‘तपाईंको जुन अहिलेको हुलिया छ नि त्यो साँच्चिकै हिरोइनमा हुने खालको हुलिया देखिँदैन नि ?’ प्रश्न नझर्दै थकित अनुहारमा लामो हाँसो पोखियो ।


‘निर्माता हुन साँच्चिकै गाह्रो रहेछ, जुन जोखिम पहिलो पटक उचालेकी छु,’ केकीले अलिकति नर्भस हँुदै थपिन्, ‘हिरोइन् भएर काम गर्दा र चलचित्र जिम्मेवारीपूर्ण रूपमा हेर्दा आकाश–पातालको फरक रहेछ ।’ हिरोइनलाई मुख्य पात्र बनाएर ‘कोहलपुर एक्सप्रेस’ मा केकीले साँच्चै अर्को एउटा जोखिम मोलेकी छन् । केकी थप्छिन्, ‘नेपाली चलचित्र इतिहासमा अभिनेत्रीलाई मुख्य पात्र बनाएर बनाइएका कमै फिल्म छन्, त्यो पनि पछिल्लो समयको प्रतिस्पर्धात्मक जमानामा ।’


अप्रत्यक्ष रूपमा केकीलाई आजभोलि अनावश्यक चिन्ता, निराशा र उत्तिकै महत्त्वाकांक्षाले गाँजेको छ । कारण ? केकीले अभिनय गरेका कुनै पनि चलचित्र हिट लिस्टको सूचीमा छैनन् । तर, केकी अभिनय क्षेत्रमा आएका दिनदेखि सधैं ‘हिट’ अभिनेत्री हुन् । पछिल्लोपटक रिलिज भएको चलचित्र ‘राज्जारानी’ ले समेत कुनै कमाल देखाउन नसकेपछि केकीलाई उकुसमुकुस छ मनमनै । कस्तो होला सफलताको स्वाद ? यही तनावले सताएको छ । तर, उनी यो कुरा मान्न भने तयार भइनन् । हत्केलाले चिउँडोलाई आड दिँदै भनिन्, ‘केकी अधिकारी लामो दौडकी घोडा हुन् जसलाई सफलता वा विफलताले फरक पार्दैन, केकी–एक्सप्रेस कुदिरहन्छ ।’


केही अपवादबाहेक नेपाली सिनेमामा महिला क्यारेक्टरलाई विशेष जोड दिएर चलचित्र बनाइएका छैनन् । तर, केकीको दाबी छ— ‘कोहलपुर एक्सप्रेसमा जुन महिला कलाकारले काम गरेका छन्, पुरुष क्यारेक्टर मुख्य रोलमा काम गर्ने शैलीलाई नै परिवर्तन गर्नेछ ।’ सधैं लभर–गर्ल भूमिकामा अभिनय गर्ने केकी कोहलपुर एक्सप्रेसबाट फन्नी अभिनेत्रीका रूपमा चिनिनेछिन् । उमेरले झन्डै ३० वसन्त पार नगर्दै केकी आई एम सरी, घामपानी, माई प्रमिस, भाग सानी भाग, बितेका पल, महसुस, श्री ५ अम्बरे, मसान, मेरो बेस्ट फ्रेन्ड, फन्को, वाग्मती, हाउ फन्नी, लभ सासा र राज्जारानी आदिमा विभिन्न क्यारेक्टरमा उत्रिइन् ।


केकीले २०१६ मा केएफए बिजनेस स्कुल काठमाडौंबाट एमबीए डिग्री गरेकी छन् । एक अध्ययनशील, बौद्धिक अभिनेत्रीमा उनको नाम छ । पढाइका माझ उनी एकाएक रंगीन दुनियामा छिरिन् र कमाल देखाइन् । म्युजिक भिडियोमा काम गरिरहेका बेला ‘स्वर’ चलचित्रमा अफर आएपछि उनी केही दिन युट्युबमा चलचित्र ‘सर्च’ गर्न थालिन् । नेपाली, हिन्दी,
इङ्लिस चलचित्र पहिल्यैदेखि हेरे पनि उनी अब हिरोइन भएर काम गर्नका लागि अर्को तयारी गर्दै थिइन् । ‘काम गर्न सक्छु भन्ने अठोट मनमा थपिएपछि प्रसन्न पौडेललाई ओके भनिदिएँ,’ केकीले पहिलो चलचित्रबारे भनिन्, ‘त्यसपछि मैले अफर आएका सबै चलचित्रमा काम गरेको भए अहिलेसम्म दर्जनौं पुग्नेथिए, तर आफैं पाखा लगाउँदै आएकी छु ।’
महिलाले पनि पुरुषले जत्तिकै जोखिम मोल्न सक्छन् भन्ने कोहलपुर एक्सप्रेसको यात्रा हो । कोहलपुर एक्सप्रेस एउटा फन्नी ड्रामा हो । कोहलपुर सिमाना नजिकैको सहर पनि हो । केकीबाहेक ऋचा शर्मा, प्रियंका कार्की, रिमा विश्वकर्मा कोहलपुर एक्सप्रेसका अन्य पात्र हुन् ।


हाम्रो फिल्मी–सम्पदा साह्रै कमजोर छ । सामान्य कथावस्तुमा रमाइरहेका छन् । थोरै लगानीमा हावादारी गफ दिएरै रमाइरहेका हामी यस्तै कमजोर चलचित्र प्रदर्शन गरेर रमाइरहेका हामी आत्मप्रशंसा गरिरहन्छौं । चलचित्रकर्मीहरू ‘आफ्नो चलचित्रभन्दा उत्कृष्ट चलचित्र त संसारमा बनेकै छैन’ भन्ने आत्मरतिमा रमाइरहेका छन् । उनीहरूको यस्तो बुझाइ निकै खतरानाक हो भन्छिन् केकी । ‘मैले सारा जीवन अभिनय र नेपाली चलचित्रलाई दिएकी छु । मेरो घर, परिवार, साथीभाइ र संसारनै चलचित्र हो,’ केकी कुराको सार थियो— ‘केकी अधिकारी जीवनको कुनै कालखण्डमा चलचित्र इतिहासले सधैं सम्झियोस् भन्नेबाहेक कुनै ठूलो सपना छैन ।’
— रामजी ज्ञवाली

प्रकाशित : वैशाख ८, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?