२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

‘मधेसले हेर्ने नेपाली चलचित्र कहाँ बनेको छ ?’

काठमाडौँ — फरक दृष्टिको कथावस्तुमा भिन्न निर्देशकीय क्षमताका कारण ‘झोला’ चलचित्रबाट चिनिएका यादव भट्टराई यो साता फेरि चर्चामा छन् । मधेस मामला, महिलामाथिको अत्याचार र दाइजो प्रथामा भट्टराईले बनाएको चलचित्र ‘भोर’ वैशाख तेस्रो साताबाट प्रदर्शनमा आउँदै छ ।

‘मधेसले हेर्ने नेपाली चलचित्र कहाँ बनेको छ ?’

निर्देशक भट्टराईले ‘भोर’ बारे बोलेका छन् :

महिलाकेन्द्रित मानवीय संवेदनाको हकमा कथाकार कृष्ण धरावासीको बुझाइ, लेखन र त्यसको गहिराइ एकदमै विशिष्ट छ । यसअघि ‘झोला’ कथामा पनि त्यो उच्चतम संवेदना भेटिएकै हो । यो विशेषता र शक्तिकै कारण अहिले मधेसकेन्द्रित ‘भोर’ कथावस्तुमा पनि धरावासी कथाकार रोजिएको हो ।
कुनै कथावस्तुमा सबैभन्दा ठूलो कुरा दृष्टिकोण रहेछ ।


हो, एउटा प्लट र ‘इमोसन’ को प्रारूप बनाएपछि मात्रै ‘भोर’ कथामा काम भएको छ । यथार्थवादी तहमा गएर खोजबिन गर्दा कतिपय कुराहरू फेरिएका पनि छन्, एकप्रकारले सबैले थाहा पाइरहेकै दाइजोको कथा भए पनि धरातलमा पुगेर काम गर्दा महिला समस्या, मधेस वस्तुस्थिति र जडतामाथि नयाँ खोज (रिसर्च) गरेजत्तिकै भयो । ‘भोर’ भन्दा अगाडि झन्डै आठ महिनाजति दृष्टिहीनतामाथिको एउटा कथा ‘दिव्यदृष्टि’ माथि काम गर्दै थियौं, धरावासीकै कथामा । त्यसभित्र दुइटा विषय थिए— दृष्टिहीनता र दहेजको समस्या । यसकारण विषयको विविधताले पनि काम हुन सकेन । त्यसभित्रबाट दहेजको कुरालाई टिपेर फरक स्टोरिलाइन बनेको हो ।


एकाएक दृश्यहरूको विकास भएर बनेको चलचित्र होइन— भोर । पहिला कथाको ‘इमोसन’ बन्यो, त्यसपछि यथार्थ दृश्यहरूमा हामी पस्यौं । ‘भोर’ मा भएका दृश्य काल्पनिक होइनन्, एकदमै तत्कालै घटित र घटिरहेका दृश्य हुन् । के पनि अनुभव भयो भने कथा लेख्ने मान्छे फिल्डमा नगए पनि हुन्छ तर, पटकथाकार जानैपर्ने रहेछ । सुरुमै फाइनल स्क्रिप्ट हातमा राखेर हिँड्ने अवस्थै थिएन ‘भोर’ मा । छठ पर्वबाट सुरु भएर छठमै टुंग्याउने एकवर्षे साइकल देखाएका छौं— फिल्ममा ।


म भित्री मधेसको बासिन्दा होइन, मैथिलीभाषी पनि होइन । तर, विषयवस्तु र कथा–व्यथा अनुभूत गर्न चाह्यो भने सकिँदो रहेछ भन्ने दृष्टान्त म आफैं भएको छु । सबैभन्दा ठूलो कुरा विषयवस्तु रहेछ । जे विषयवस्तुले छोयो र यो दहेज प्रथाकै कारण आज मधेसमा जेजस्तो बेथिति, समस्या र कठिनाइ उब्जिएको छ— यो ख्याल गर्ने विषय होइन भन्ने हामीलाई भैसकेको थियो । दाइजो विषय मधेसमा पीडाको कारण पनि बनेको छ, दाइजोबाट मुक्ति पनि खोजिएको अवस्था छ । तर, मधेसमा न्यायमाथिको पहुँचको अभाव र राज्य संयन्त्रले बसालेको पद्धतिका कारण समस्या यथावत् छ, पीडा उस्तै छ । यही कारण पनि राज्यप्रतिको दृष्टिकोणमै नकारात्मक सोच बढेको अवस्था छ ।


बिनाबजेटको अवस्थामा मैले चलचित्र बनाएको थिएँ— भोर । तर, यही कथा, संवेदना र पीडाबाट बाहिर आउन चाहेका मधेसका सबै दाजुभाइ, दिदीबहिनीले मलाई हार्दिकताका साथ सहयोग गरे । मधेस समस्या, मधेस आन्दोलनका अनेक कारकमध्ये एउटा प्रमुख कारणमध्ये यो दहेज पनि रहेछ, महिला पनि रहेछ भन्ने लाग्यो । ‘झोला’ कथामा बरु जीवनपछिको मृत्युको कारक र कारण छ, सतीप्रथाको कुरा छ । ‘भोर’ मा त एउटी छोरी मान्छेको जन्मैलाई अस्वीकार गरिएको अवस्था छ, भ्रूणमै छोरी फालिएको अवस्था छ । योभन्दा अमानवीय र बीभत्स अवस्था अरू के हुन सक्छ ?


‘झोला’ ले मलाई नामकाम दियो तर, म ऋणमै भात खाइरहेको अवस्थामा छु । तैपनि फिल्मी बजारमा चल्ने चर्को प्रचार–प्रसार वा करोड क्लबको कुरामा म कहिल्यै आश्वस्त भइनँ । ‘झोला’ एक सय वर्षअघिको नेपाली समाजको कुरा थियो भने ‘भोर’ आजको समाजको कुरा हो । जनकपुरकेन्द्रित भएर हामीले यस पटक ‘भोर’ कथालाई पर्दामा उतारेका छौं । तर, दाइजो वा दहेजको यो रोग मधेसमा मात्रै होइन, पहाडमा पनि सरिसकेको छ । सतीप्रथाको उहिलेको यथार्थ र दृश्यचित्र उन्मूलन त भयो तर, त्यो चेतना अझै अर्कै खतरनाक रूपमा आएको छ । यसकारण पनि ‘भोर’ को कथा थप शक्तिशाली छ, थप मानवीय छ भन्ने पनि लागेको छ ।


एउटा ‘झोला’ वा अर्को ‘भोर’ व्यावसायिक रूपमा चलेन भनेर निराश हुने अवस्था छैन । यहाँ राम्रोराम्रो भनिएका चलचित्रबाट धेरैले धोका खाएका छन् । एउटा ‘साँघुरो’ वा अर्को ‘पञ्चायत’ भन्ने चलचित्र व्यावसायिक रूपमा चलेन भन्दैमा समग्र खोज्न नसकिएको बजारको कुरा गर्न मिल्दैन । यहाँ बजार छ, मानवीय संवेदना भएका दर्शक छन् । बजारकै कुरा गर्ने हो भने नेपाली चलचित्र जगत्मा सिङ्गो मधेस कहाँ समेटिएको छ ? मधेसका लागि हेर्ने नेपाली फिल्म कुन बनेको छ ? एकाध मात्रै होला । किन यति ठूलो बजारलाई सम्बोधन गर्न सकिएको छैन ? हामी आज अन्तर्राष्ट्रिय चलचित्र बजारको कुरा गर्छौं । जबकि देशैभित्रको बजार, दर्शकलाई हामीले समेट्न सकिरहेका छैनौं भने अरू बाहिरी कुरा के गर्ने ?


‘भोर’ को कुरा गर्दा मैले पछिल्लो झन्डै २ वर्षको मधेस बसाइ र आवतजावतमा धेरै कुरा पहिल्याउन सकें । मैले के पनि बुझें भने जहाँ धेरै अन्याय र अत्याचार हुन्छ, त्यहाँ कथा–कहानीहरू पनि धेरै हुने रहेछन् । बाहिर आउनै नसकेका घटनाहरू अनेकानेक हुने रहेछन् । मेरो अध्ययनमा यही दाइजोकै कुरामा मधेसमा रहेका ९५ प्रतिशत मानिस अन्यायमा परेका रहेछन्, पीडित र प्रताडित रहेछन् भन्ने लाग्यो । मधेसमा भएको विभेद र दाइजोको समस्याभन्दा पनि जटिल तथा महत्त्वपूर्ण भनेको महिलामाथि हेरिने दृष्टिकोण हो, मधेसमा यो दृष्टिकोण एकदमै विष्मयकारी रहेछ ।

प्रकाशित : वैशाख १५, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?