विभूति कसलाई मान्ने ?

सम्मान र विभूतिबारे विमर्श
ज्ञानमणि नेपाल

काठमाडौँ — इतिहासमा चन्द्रशमशेरले एउटा संवादमा भनेका छन्, “भीमसेन थापाले एउटा चुक (गल्ती सुगौली सन्धि) गरिदिएकाले अहिले सय वर्षपछिसम्म पनि हामीले सच्याउन सकेका छैनौं ।” हो पनि । अहिले दुई सय वर्ष पछिसम्म पनि उक्त सन्धि सच्याएर पञ्चशील आधारमा नयाँ प्रबन्ध गर्न सकिएको छैन । बात मार्नचाहिँ खाँचो छैन, चलिरहेकै छ ।

रणबहादुर शाहले भीमसेन थापा देश थाम्ने ‘तारणहार’ हो भनेका थिए । जल्दाबल्दा भएर भीमसेन थापा रजगज गरिरहेकै थिए । उल्टो उनैले पो देश डुबाइदिए । टिस्टादेखि सतलजसम्म फैलिएको नेपाललाई आश्रित सन्धिमा जकड्याएर मेची महाकालीसम्म खुम्च्याइदिए । इतिहासको अपव्याख्या गर्ने क्रममा भीमसेन थापालाई जे–जसरी चिनाउने काम भयो, त्यसमा राजपरिवारको मनोभावना केन्द्रित थियो । त्यसैले त राजा महेन्द्रद्वारा भीमसेन थापा देश थाम्ने ‘राजगद्दी रक्षक’ भएर विभूतिमा दरिए ।


राजा महेन्द्रले धेरै जना विभूति घोषणा गरे । विभूति घोषणा गर्दा उनले को–कोसँग सुझाव लिए, त्यो त त्यति थाहा भएन, विभूति बनाउने नजिरचाहिँ एक दुई जना ऐतिहासिक पात्र हेर्दैमा थाहा हुन्छ । पुरानो एउटा संस्कृत सूक्तिले भन्छ, ‘देशहित जनहित गर्ने मान्छे राजाले मन पराउँदैनन् र त्यागिदिन्छन्, राजाको हित गर्ने दरबारियालाई जनताले मन पराउँदैनन् र त्यागिदिन्छन् ।’

Yamaha


यस अर्थमा राजाले जसलाई विभूति घोषणा गरे, तिनीहरू राजाले मन पराएकैलाई गरेका होलान् । त्यसमा विद्वान् परेकै छैनन् भन्दा पनि हुन्छ— एकदुई भाषा कविबाहेक । राणा र पञ्चायकालपछिको कुरा गरिहेरौं । ०४६ सालमा कांग्रेस र वाममोर्चाको संयुक्त आन्दोलनले पञ्चायत ढल्यो, राजा वीरेन्द्रबाट प्रजातन्त्रको पुनर्बहाली भयो । त्यसपछि एकैसाथ अनेक बेथितिको पनि सिर्जना भयो भन्दा हुन्छ । जताततै बौद्धिक क्षेत्रमा पनि राजनीतिको प्रवेश हुन थाल्यो । आ–आफ्ना पार्टीका मान्छे मरेपछि ती ‘सहिद’ हुन थाले । सहिद घोषित भइसकेपछि, उनका परिवारका सदस्यले दस लाख रुपैयाँ पाउने नियमै बस्यो । सहिद मात्र होइन, विभूति घोषित गराउन पनि कति लागिपरे । विभूति त धेरै भएनन् । २/३ जना मात्रै घोषित भए । सहिद त कति भए कति । पैसाको सस्तो लोभले सहिद घोषणा गर्नचाहिँ होडबाजी नै चल्यो ।
म त्यसबेला पशुपति विकास कोषमा सल्लाहकार थिएँ । संस्कृति विषयक प्रत्येक बैठकमा उपस्थित हुन्थें । मैले एक दिन संस्कृति मन्त्री (बलबहादुर केसी) लाई भनें, ‘यो के गरेको ? पार्टीका मरेका मान्छेलाई भटाभट सहिद घोषणा गर्दै पैसा बाँड्नुहुन्छ । अज्ञात कुलशीलका मान्छेलाई विभूति बनाउनुहुन्छ । यसले न घोषित सहिदहरूको मर्यादा रह्यो, न मानसम्मान भयो । अब श्रद्धाभक्ति पनि विभूति–सहिद कसैमा रहेन ।’


यो कुरा मन्त्री केसीका मनमा गढेछ, उनले तत्काल विभूति निर्धारण समिति र सहिद परिभाषा निर्माण समिति गठन गरे । यसबारे तत्कालीन मुख्य सचिव लीलामणि पौडेल पनि जानकार छन् । विभूति निर्धारण समितिमा म, पूर्व संस्कृति सचिव शरद भट्टराई, त्रिवि र रोनास्टका उपकुलपति, संस्कृति सहसचिवसहितका सदस्य राखिएका थिए । यस कार्यका लागि दस लाख रुपैयाँ बजेट पनि निकासा गराएछन् । समिति मातहतमा हामी तीन/चारपल्ट बैठक बस्यौं । पहिलो बैठकमा ‘राजाहरूबाट पूर्वघोषित विभूतिलाई नचलाउने तर समीक्षा चाहिँ गर्ने’ निर्णय गरियो । दोस्रो–तेस्रो पल्टका बैठकमा अन्य साधारण सम्झनलायक कर्म गरेका विशिष्ट विद्वान्, देशहित र जनहित गरेका व्यक्तिलाई विभूति नमान्ने निर्णय भयो । बरु इतिहासमा सही योगदान रहेका पात्रको नाम, थर, वतन, अवदान खुलाएर पेस गर्ने, त्यसमा छानबिन गरी गोष्ठी–सेमिनारमा पेस गर्ने र छलफलसम्मत निर्णय गरेर एक महिनापछि बैठकको आयोजना गर्ने भनिएको थियो, यसको जिम्मा मलाई दिइएको थियो । यो क्रम चलिरहँदा मन्त्रिमण्डल विघटन भयो, मन्त्री फेरिए । गठित यो समिति विघटन भएको सूचना पनि आएन । तर, नयाँ मन्त्रीले समितिको काम पनि अघि बढाएनन् । त्यत्तिकै रह्यो । मैले तयार पारेको प्रात:स्मरणीय विशिष्टम् विभूति हुनलायक पूर्वज विद्वान्–वीरहरूको अवदानसहितको सूची उसबेला पेस गरेर विचारविमर्श गर्न पनि पाइएन । तापनि अहिले धेरै समयपछि त्यो विवरणको सूची सचेत पाठकहरूमा प्रस्तुत गर्न लागिरहेको छु ।

लिच्छवीकालीन अनाम विद्वान्
विक्रम संवत्को पहिलो चरणमा लिच्छवी राजा मानदेवकै पालाका एक जना ठूलो वैदिक यज्ञ कालजेय गर्ने ब्राह्मण थिए । यिनकी पत्नी विजय स्वामिनीले पलाञ्चोकमा राखेको अभिलेखमा ‘सम्राट् गृहपति पत्नी’ भनेर आफूलाई चिनाएकी छन् । पत्नीले पतिको नाम काढ्नु हुँदैन भन्ने मर्यादा राखेर पतिको पद्वी मात्र लेखेकी छन् । ‘बाजपेय’ यज्ञ गर्ने सर्वश्रेष्ठ विद्वान् भनेर यज्ञमा धेरै ब्राह्मणहरूले वैदिक मन्त्राभिषेक गरेर ‘आजदेखि तपाईं सम्राट् हुनुभो’ तीन–तीनपल्ट अभिनन्दन गरियो। सम्राट् भएका यी विद्वान्को नाम नपाउँदा खल्लो भयो नै । जे भए पनि कालजेय यज्ञ गर्ने यी सम्राट् गृहपति नेपालका उज्ज्वल विभूति हुन् ।

अनुपरम
यसको केही समयपछि एक जना वेदान्त दर्शनका अनुपरम नामका विद्वान् थिए । यिनले हाँडीगाउँको नारायणस्थानमा व्यासको स्तुति कुदाएका छन् । ७३ पंक्तिको यस लामो स्तम्भ लेखबाट ब्रह्मसूत्रको विशद व्याख्या गर्ने यिनको क्षमता देखिन्छ । नवौं शताब्दीमा शङ्कराचार्यले ब्रह्मसूत्र शाङ्कर भाष्य लेखेका थिए । करिब दुई सय वर्षपहिलेका यी विद्वान् अनुपरममा पनि त्यस्तो विद्वता देखिन्छ । यी नेपालका विभूति हुनलायकका विशिष्ट विद्वान् हुन् । यी परमाभिमानीका छोरा हुन् । यिनकी पत्नी आभीरी र यिनका छोरा भौमगुप्त उच्च शासक र हरिहर सम्प्रदायका प्रखर प्रचारक पनि थिए ।


बुद्धिकीर्ति
विसं ७९० मा लिच्छवी राजा जयदेवले आमा वत्सदेवीसमेत भएर पशुपतिमा चाँदीका कमल चढाउँदै ३४ श्लोकको शिलालेख राखेका छन् । त्यसमा उनले आफूलाई ‘परचक्रकाम’ शत्रुको राज्य जित्ने भन्ने पदवी लिएका छन् । आश्चर्य कुराचाहिँ यहाँ भन्नुपर्नेछ । भारतका सम्राट् समुद्रगुप्तले आफूलाई लिच्छवी राजाको छोरीको छोरो (दौहित्र) भनेका छन् । उनले इलाहावादको ठूलो अशोक स्तम्भमा आफ्नो विजयवर्णनको गद्य–पद्यमा लामो प्रशस्ति कुदाएर राखेका छन् । त्यो प्रशस्तिका रचनाकार हरिशेणले ‘यहाँ परम महारक महाराजाधिराजको पाउको नजिकै आउनजान पाएकाले बुद्धि सप्रेकोले प्रशस्ति बनाउन सकेको हुँ’ भनेका छन् । यहाँ जयदेवको वंश प्रशस्ति बनाउने विद्वान् बुद्धिकीर्तिले भनेका छन् । यहाँ महाराज जयदेव आफैं लेख्न सक्नुहुन्थ्यो, आफ्नो वंशको प्रशस्ति आफैं किन लेखौं भनेर कुलीन मान्छेलाई लाज लाग्ने कुरो भो भनिठानेर राजाप्रति दयामायाले गर्दा राजाले बनाएको पाँच पद्यबाहेक यो अपूर्व प्रशस्ति मैले लेखिदिएको हुँ भनेका छन् । उता हरिशेण जतिसुकै ठूला विद्वान् भए पनि आफूलाई तल पारेर ‘महाराजाधिराज समुद्र गुप्तको नजिक बस्न पाएर मेरो बुद्धि सप्रिएको हो’ भन्छन् । यता बुद्धिकीर्ति राजाको स्नेहले अर्थात् दयामायाले प्रशस्ति लेखिदिएको हुँ भनेर गौरव गर्छन् । बुद्धिकीर्ति एक असाधारण विद्वान् थिए ।

कपिलमुनि
कर्मयोगका प्रवर्तक जनक राजाजस्तै बुद्धजन्मस्थल नजिकै कपिलवस्तुमा जन्मेका सांख्य दर्शनका प्रवर्तक कपिलमुनि पनि हाम्रा प्राचीनतम विभूति हुनलायक छन् । उनको सांख्य दर्शन सबैभन्दा सुरुको दर्शन हो भनिन्छ । बुद्धले पहिले सांख्य दर्शन नै पढेका थिए । त्यसबाट चित्त नबुझेकाले प्रस्थानान्तरतिर लागेका हुन् । त्यसकारण कपिलवस्तुका सांख्य दर्शनका प्रवर्तक कपिलमुनिलाई बिर्सनु हुँदैन । उनलाई प्रथम विभूति मान्नैपर्छ ।

चण्डेश्वर ठाकुर र देवलदेवी
चण्डेश्वर ठाकुर हरसिंहदेवका सैनिकको नेतृत्व गर्दै नेपाल आएका थिए । विजयपछि उनले यहाँबाट पाएको धनले पोखरी तुलादान गरे । यहाँका जल्दाबल्दा शासक रुद्र मल्लकी बहिनी देवलदेवीसँग विवाह गराउनाले सिम्रौनगढ र नेपालदूनको वैमनस्य सदाका लागि मेटाए र मेलमिलापको सूत्रले दुवै राज्यलाई जोडे । यसभन्दा प्रमुख उनको विद्याको क्षेत्र छ । उनले ‘रत्नाकर‘ नामका सात ग्रन्थ लेखेका छन् । कति अप्रकाशित छन् । यी पनि नेपालका एक विभूति नै हुन् ।
हरसिंहदेव तीन पाटनको किल्लामा आएर बसेका थिए । मुसलमानले सिम्रौनगढ ध्वस्त पारेपछि त्यहाँ चाँडै राजा हरसिंह बिते । रानी देवलदेवी छोरासहित आएर नेपालदूनमै बसिन् ।

सत्ताका लागि यहाँ लुछाचुँडी मारामार थियो । यो सब समाल्दै आखिर उनले आफ्ना छोराको बिहे यहींकी राजकुमारीसँगै गराइन् । उनी दुवै राज्यको गतिविधि बुझेकी राजनीतिशास्त्र बुझेका चण्डेश्वरजस्ता विद्वान्हरूको संगतमा परेकी हुँदा धेरै कालसम्म यहाँ टिकेर राजकाजमा साख जमाएरै बसिन् । उनी एक ‘जमामर्द’ महिला थिइन् । उनकी नातिनी राजल्लदेवी जन्मेपछि राज्यको उत्तराधिकारिणी भइन् । देवलदेवीले मिथिलातिरैबाट कुमार केटा डोला ल्याएर नातिनीसँग जोडा बाँधिदिइन् । जयस्थिति मल्लले राजल्लदेवी नाताले शासन थालेपछि एक किसिमले यहाँ व्यवस्थित शासन चल्न लाग्यो । देवलदेवी पनि मध्यकालमा विभूति बन्नलायक महिला हुन् ।

माणिकवद्र्धन
पछि जयस्थिति मल्ललाई स्थिति बन्दोबस्त बाँध्नलाई धेरै विद्वान्हरूको सहयोग चाहियो । त्यसमा मन्त्री जयत विद्वान् माणिकवद्र्धनले पूरा सहयोग गरे । जयस्थिति मल्लका दरबार विद्वान् बालसरस्वती सुमति भन्नेसम्मन पदवी दिन्थे जयस्थिति मल्लले रामदासलाई बालबागीश्वर सुमति पदवी दिएका थिए । माणिकवद्र्धन त ठूला विद्वान् र छवटा भाषा जान्दथे । जयस्थिति मल्ललाई स्थिति बन्दोबस्त बाँध्न सजिलो होस् भनेर ‘नारदस्मृतिको नेवारी’ टीका लेखिदिए । बालक पढाउन भनेर अमरकोशको पनि नेवारी टीका लेखिदिए । यी पनि नेपालको मध्यकालका विभूति थिए ।

भीम मल्ल
अब पछिल्लो कालका ‘विभूति हुनलायक भए पनि राजाले नरुचाएका र सजाय दिएका’ केही वीर सपूतको नाम लिन चाहन्छु । तिनमा पहिला भीम मल्ल नै हुन् जसले कुती–केरुङ जितेर ‘भोट–ल्हासामा ३२ कोठी नि:शुल्क बेपार गर्न पाउने व्यवस्था’ बाँधेर आएका थिए । नेपालका बेपारीहरू खुसीले गद्गद् भएर भीम मल्ललाई अबीरजात्रा गर्दै सहर भित्र्याए । राजा प्रताप मल्ललाई कुनै छुस्केराले ‘अब यस्तो उधुमसँग भीम मल्ललाई जनताले रुचाए, अब उनै राजा हुन बेर लाग्दैन’ भनेर कान भरिदिएछ । राजाको दर्शन गर्न हिंडेका भीम मल्ल दरबार पस्ने ढोकैमा काटिए । उनकी पत्नीले रुँदै ‘यस ढोकाको भलो गर्नेको गति यस्तै हुन्छ’ भनेर पतिको दुवै हात रगतमा चोबेर ढोकामा छाप लाउँदै सती गइन् भनिन्छ । उनले साँच्चै नै नेपालको वस्तुस्थिति नै भनेकी हुन्, अझै त्यस्तै भइराखेको छ । यो सतीको सराप परेको देश भनेर जनोजात (सम्पूर्ण मानिस) ले भन्छ, तर यो वस्तुस्थिति नै हो । माथि उद्धृत सूक्तिले पनि यही भन्छ— जनताले मन पराएको मान्छे राजालाई मन पर्दैन ।

बहादुर शाह
पछि बहादुर शाहको पनि त गति यही भयो । त्यत्रो देश जित्ने नेपालको साँध यमुना पुर्‍याउने वीर सपूत विभूति हुनलायक पुरुष देशको उन्नति उत्थान गर्छु, कारखाना खोल्छु, स्थिति बन्दोबस्त बाँध्छु भन्दाभन्दै अनाचारी व्यभिचारी राजाबाट मारिए । तिनलाई विभूति बनाएर जनताले न्याय दिनुपर्छ ।

अभिमानसिंह बस्नेत र दामोदर पाँडे
पृथ्वीनारायण शाहले ‘पाँडे–बस्नेतलाई देश जित्न मेरो ढाल–तरबार’ भनेका थिए । यिनले पनि न्याय पाएको देखिएन । शान्तिपूर्वक पूर्वाञ्चल जित्नेमा अभिमानसिंह बस्नेतकै हात थियो । पश्चिमतिर विजय गर्न र भोट विजय गर्न दामोदर पाँडेकै प्रमुख हात थियो । यिनले पृथ्वीनारायणको उपदेशलाई अक्षरश: पालना गरेका थिए । पाडे मुख्यकाजी हुँदा नायब बनेकी महारानीले ‘थुनिएका सबै विपक्षीलाई मृत्युदण्ड दिनू’ भनेर आदेश दिँदा पनि ‘महारानी † यी भारदार मार्नुहुन्न, पछि यी काम लाग्छन्’ भनेर मारेका थिएनन् । यस्तो अवसर पाउँदा पाँडेले ‘पृथ्वीनारायणले आफ्ना मान्छेलाई आफैंले नमार्नू, लडाइँमा झोसिदिनू । जित्यो भने राम्रै भो, हार्‍यो भने आफूले मार्नु परेन’ भनेर दिएको उपदेश सम्झेर मार्ने काम गरेका थिएनन् ।


परन्तु जोगी राजा रणबहादुर फर्केर काशीबाट आएपछि पहिले जबर्जस्ती उनै पाँडे थुनिए । उनीसँगै थुनिएका अरूहरू राति नै भागेर मुगलान पसे र, बचे । उसबेला देशभक्त दामोदरले न्याय पाएनन् । अन्यायी जोगी राजाबाट मारिए, अब जनताले उसलाई सम्मान गरेर न्याय दिनुपर्छ । उनलाई पनि नेपालको वीर सपूत विभूति बनाउनुपर्छ ।

जङ्गबहादुर राणा
बलभद्र कुँवर वा भीमसेन थापाभन्दा धेरै गुना योग्य र सम्मान हुनलायक व्यक्ति जङ्गबहादुर थिए । यिनलाई किन उपेक्षा गरियो ? देशभक्ति राजभक्तिमा पनि उनलाई खोज लाउन सकिँदैन । जङ्गबहादुर स्वयंले भनेका छन्, ‘मैले धेरै मान्छे मारें, राजालाई थुनें तापनि जनता रिझाउने काम गरें, मलाई ईश्वरले सहे । जनताले खुसीले आशीर्वाद दिएकाले मेरो औलादौला (सत्ता पाएको अर्थमा) भएको हो ।’ हुन पनि हो, उनी सर्वशक्तिमान भएको दुई महिना जति पछि नै गुठी बिर्ता फिर्ता गर्ने घोषणा गराए । त्यसले जनतामा सकारात्मक सोच सञ्चार भयो । आफ्नो बिर्ता बराबरको पहाड–मधेस जहाँ हुन्छ, लिएर बस्ती बसाउने खर्च दिउँला भन्दा पनि भावर–ऐलानीमा मान्छे जान मानेनन् । पछि बिर्ता हरेको दोष मेट्न विग्रहस्वरूप केही मोल लिनेलाई दिइयो । अर्को कुरा बिर्ताकारकै सन्तानलाई हरिएको बिर्तामा मुखिया जिमिदार बनाइदिने व्यवस्था गरियो र चित्त बुझाइयो ।


भोटसँगको व्यापार व्यवसायमा खटपट पर्दा चीनको विद्रोहमा सहायता गर्छु भन्दै भोट जितेर संसारमा एकाधिकार जमाएर जङ्गबहादुरले दस हजार सिर्तो ( रकम) बर्सेनि तिर्ने पारे, एक सय वर्षसम्म । जङ्गबहादुरले अंग्रेजसँग जुधेर होइन, मिलेर नयाँ मुलुक (चार जिल्ला) फिर्ता ल्याए । सुगौली सन्धि मार्फत नेपाली मात्रको ह्दयमा लागेको चोटलाई मलमपट्टी लगाएर अलिकति शान्त पारेका थिए ।


यी जङ्गबहादुरलाई विक्रमको बीसौं शताब्दीमा महारानी भिक्टोरियाले ‘भारतवर्षका तारा (सर)’ उपाधि प्रदान गरेकी थिइन् । उनी महानायक थिए, विभूति बन्नलायक पुरुष थिए ।

देवशमशेर
एक सय चारवर्षे राणाशासनमा जङ्गबहादुरपछि जनताको पक्षमा काम गर्ने शासकमा एक मात्र थिए— देवशमशेर । बरु उनले मात्रै चार महिना शासन गर्न पाए । चार महिनामा चारैवटा यस्ता काम गरे जो अहिले पनि अनुसरण गर्नलायक छ ।
उनी सत्तामा जानासाथ ‘जापानको जस्तो शासन परिपाटी बसाल्नुपर्छ’ भन्ने अलिकति प्रजातान्त्रिक भावनाको भाव ल्याए र, ठाउँठाउँमा जनमत बुझ्ने वा ‘जनता के चाहन्छन्, सो लेखेर यस बाकसमा हालून्’ भन्ने उर्दी दिए । दोस्रो, सरकारलाई जनताको हालखबर बुझाउने हेतुले गोरखापत्रको प्रकाशन प्रारम्भ गरे । सो अहिलेसम्म दैनिक रूपले प्रकाशित हुँदैछ । तेस्रो, नेपालका अशिक्षित जनतालाई शिक्षित तुल्याउनुपर्छ भनेर गाउँगाउँमा एकैचोटि ३५ वटा पाठशाला स्थापित गराए । चौथो, ‘नेपालभरका कमाराकमारी अमलेख हुनुपर्छ, पहिले दरबारकै कमाराकमारी अमलेख हुनुपर्छ’ भनेर थालेका थिए ।


‘असल काम गर्ने व्यक्ति नेपालमा टिक्तैन’ भन्ने भीम मल्लको उदाहरण पहिल्यै दिइएको छ । देवशमशेरकै भाइ चन्द्रशमशेरले सैनिक बलका भरमा दाजु देवलाई गद्दीच्युत गरी बाँधेर डाँडो कटाए । तर, उनले चार महिनामा गरेका चार कम अहिलेसम्मै उल्लेख्य छन् । उनी पनि एक विभूति हुनलायक इतिहासका पात्र हुन् ।

विश्वेश्वरप्रसाद कोइराला
प्रजातन्त्रको उद्भवकालमा जनआन्दोलन सञ्चालन गर्न प्रमुख भूमिका खेलेका र साहित्यमा पनि विशिष्ट योगदान दिएका राजनीतिक उच्च विचारक विश्वेश्वरप्रसाद कोइराला नै थिए । यिनको नेतृत्वमा १५ सालको चुनाव लड्दा नेपाली कांग्रेसले दुई तिहाइ बहुमतले जित्यो । विश्वेश्वरकै नेतृत्वमा मन्त्रिमण्डल गठन भयो । उनले सत्र महिना मात्र शासन गर्न पाए । संयुक्त राष्ट्र संघमा गएर साना राष्ट्रको स्वतन्त्रताको बारेमा प्रखर वक्तव्य दिएर ‘इजरायललाई संयुक्त राष्ट्र संघमा सदस्यता दिनुपर्छ’ भनेर वकालत गर्दा विश्वमै उनी हाईहाई भए । उनी एसियाका तारा कहलिए । परन्तु दक्षिणी छिमेकीलाई यिनको उन्नति र नाम रुचाएन ।


कोइरालाले गरिब राष्ट्र नेपाललाई सहायताको अपिल गर्दा नेपालमा सहायताको ओइरो लाग्यो । इजरायलले नगद २ करोड दिएकाले ‘सो रकम शुद्ध खानेपानी ल्याउनमा खर्च गर्नू’ भनी जिल्लाजिल्लामा पठाइयो । एक–एक चुनाउ क्षेत्रमा एक स्कुल वा जुनियर स्कुल, जिल्लामा हाइस्कुल, अस्पताल स्वास्थ्य चौकी खुल्न लागे । स्वास्थ्य चौकी नखुल्दै विदेशीले दिएका औषधिका भारी आउन लागे । भारत, युरोप, अमेरिका मिलेर सबै ३६ जिल्ला जोड्ने गरी उत्तर दक्षिणका तेह्रवटा मोटरबाटा जोडतोडसँग खनिन लागे । उत्तरी चीनको सिमानासम्म पुग्ने गरी पहिलो ५ वर्षमा कच्ची ग्राभेल मोटरबाटो पुर्‍याउने योजना अघि बढ्यो । परन्तु विश्वेश्वरको यस्तो हाईहाई र उनले अपनाएको स्वतन्त्र परराष्ट्र नीतिले दक्षिणको आँखा पोल्यो । स्वदेशमै महाराजको डाहा छटपटले मन दुख्यो । राजाले सहनै सकेनन्, प्रधानमन्त्री विश्वेश्वरलगायत मन्त्री, सांसद सब थुनिए । प्रजातान्त्रिक सरकार सत्र महिनामै सबै समाप्त पारियो । जनताले मन पराएको मान्छे राजाले मन पराउँदैनन् भन्ने सूक्ति राजाले फेरि सार्थक पारे । यसकारण विश्वेश्वर नेपालका सपूत नेता तथा यस शताब्दीका प्रथम विभूति नै भएर रहनेछन् ।

मनमोहन अधिकारी
यस शताब्दीको मध्यमा विश्वेश्वरपछि राजनीतिक नेतामा मनमोहन अधिकारी नै देखा परे । बीसौं शताब्दीको मध्यमा चार महिना शासन गर्ने देवशमशेरले चारैवटा काम गरेका थिए । यो शताब्दीको प्रारम्भमा सत्र महिना शासन गर्ने विश्वेश्वरले पन्ध्र वर्षमा देशलाई सम्पन्न बनाउने संकल्प मात्र होइन, सम्पादनै गर्न थालेका थिए । मनमोहन अधिकारीले पनि नौ महिना मात्र शासन गर्न पाए । छोटै भए पनि उनले एउटा यस्तो काम गरे, जसले जनजनको मन छुने काम भयो । मेची महाकालीसम्मका गाउँसहरमा घरघरमा बूढाबूढी त हुन्छन्— तिनले वृद्धभत्ता भनेर मासिक १/१ सय पाउने भए । यसले यति सानो कुराले गाउँसहर नै हल्लिए । त्यो भत्ता बढ्दबढ्दै अहिले दुई हजार पुग्यो । यसबाट त्यति सानो रकमले एमाले पार्टी यति लोकप्रिय भयो, अहिले त सबैलाई उछिनेर उही शासक पार्टी बनेको छ । यसलाई यस्तो लोकप्रियता उजिल्याउने मनमोहनले जोगाएको सोही सानो झिल्को थियो ।


शासकले लिने मात्र हुँदै होइन, दिने काम गर्नुपर्छ । नेपालीमा उखान छ— दिएको लाख, लिएको खाग । जङ्गबहादुर आफ्नै अनुभवले भन्छन्, ‘मुख्तियार (शासक वा प्राइममिनिस्टर) भएको वा हुन चाहनेले कदापि लोभ गर्नु हुँदैन । गीतामा कृष्णले पनि यही भन्छन्, अति लोभले बुद्धिनाश हुन्छ र आफैं पनि नष्ट हुन्छ । हामी पनि श्राद्धमा पितृसँग सधैं दिइरहन पाऊँ भनेर यही प्रार्थना गर्छौं । देशभरका वृद्धवृद्धा (बुद्धको शब्दमा महल्लक) हरूलाई मनमोहनले सम्मान दिए । उनी आफैं पनि सम्मानित हुनलायक छन् । विभूति बन्न उनी योग्य छन् ।

प्रेमनिधि पन्त
मध्यकालका बारा सिम्रौनगढका ज्योतिरीश्वर चण्डेश्वर ठक्कुर र नेपालदूनका माणिकवद्र्धन पछिका चण्डेश्वरजस्तै कलम चलेका र धेरै ग्रन्थ लेखेका पर्वतका प्रेमनिधि पन्त विभूति बन्नलायक विद्वान् हुन् । पछिल्लो आधुनिक कालका हरिहर संस्कृत पाठशालाका संस्थापक अध्यापक संस्कृत भाषामा कलम चलेका दधिराम मरासिनी, पूर्वका वैयाकरण नेपाल विभूति हुनलायक विद्वान् हुन् । वैयाकरण असाधारण प्रतिभाशाली विद्वान् थिए । उनको आचरण पनि मैले देखेसुनेका विद्वान्हरूभन्दा विशिष्टै थियो । उनले भनेको पुगेन भन्ने मान्छे मैले सुनेको छैन । धर्मशास्त्रमध्ये पं. ज्योतिष (फलित) शास्त्रमा अद्वितीय थिए । उनका काव्य कविता पनि व्यावहारिक दैनन्दिन स्त्रीपुरुषलाई काम लाग्ने छन् । महिलालाई काम लाग्ने तर्कारीकल्प, पुरुषलाई काम लाग्ने अश्ववाक्षण (शालिहोत्र), धर्मात्मालाई काम लाग्ने पुण्यशिक्षा हुन् । उनको आचरण पनि असाधारणै थियो । उनी लाखौंकै भए पनि दान–प्रतिग्रह लिँदै लिँदैनथे । दक्षिणा मात्र लिन्थे । गौ, भूमि बेच्तैनथे । जग्गा राजीनामा लिँदैनथे । उनको अप्रतिग्राहकताको महिमा काशी पढ्दादेखिकै प्रसिद्ध छ । बीसौं शताब्दीका विद्वान्मा उनी एक विभूति बन्न योग्य विद्वान् हुन् ।

नयराज पन्त
एक्काइसौं शताब्दीमा यस्ता असाधारण विद्वान्मा नयराज पन्त नै रहे । उनले आफूले पढेका सिद्धान्त ज्योतिष जीवनभर नै पढिरहे, कण्ठ पारिरहे । आफूले पढेको ज्योतिषशास्त्र पढाए, सोह्र जना शिष्यलाई आचार्य पढाए । तर, यो विद्याको अनुसरण कसैले गरेनन् । उनी चिन्तित थिए । उनलाई यो त्रिखण्डी परीक्षा प्रणालीले गर्दा विद्याको क्षय हुँदै गयो भन्ने चिन्ता लाग्यो र, उनी आफैंले संस्कृत पाठशाला खोलेर पनि पढाए— पढेको विद्या कण्ठ पार्ने पद्धति अपनाएर ।
उनी पाश्चात्य ग्रीक सिद्धान्त ज्योतिष र पौरस्त्य वेदाङ्ग ज्योतिष पनि जान्दथे । पौरस्त्य पाश्चात्य ज्योतिषको तुलनात्मक अध्ययन गर्न सक्ने विद्वान् उनी एकमात्र भन्दा हुन्छ । भारतमा म भन्न सक्तिनँ, नेपालमा भने कोही देखिएका छैनन् । यस्ता प्रकाण्ड विद्वान् उनी अर्का विभूति हुनलायक नै हुन् ।

कुलचन्द्र गौतम
सम्वत ११३४ मा जन्मेर ८ वर्षमा व्रतबन्ध भएपछि पितासँगै काशीनगरी गएर विद्याध्ययन गरेर विषद्वरेण्य बनेको पण्डित कुलचन्द्र गौतम पनि अर्का विशिष्ट विद्वान् थिए । उनले काशीमा प्रसिद्ध विद्वान् महामहोपाध्याय गङ्गाधर शास्त्री सैलङसँग विद्याध्ययन गरेका थिए । उनी एक किसिमले श्रुतधर नै थिए । साहित्याचर्य मूलत: भए पनि आयुर्वेद पनि पढेका थिए । घरैमा उपचार गर्न सजिलो होस् भनेर स्वयं वैद्य नेपाली भाषा लेखे । विद्यार्थीलाई पढ्नका लागि अमरकोशको टीका नेपालीमा परिशिष्टसमेत गरी लेखे । अलङ्कार बुझ्न सुझाउन अलङ्कार चन्द्रोदय राघवालङ्कार लेखिएका छन् । क्षेयेन्द्रको भारत मञ्जरी रामायणमञ्जरी जस्तै कुलचन्द्रले भागवतमञ्जरी मानसमञ्जरी लेखेका छन् । जगन्नाथको जङ्गालहरी जस्तै गङ्गागौरव यिनको छ । सानातिना खण्डकाव्य उनका अनेक छन्, आफैंलाई सम्बोधन गरेर लेखेको प्रपञ्चचर्चा सारसंग्रह बन्दना, युगल आदर्श दम्पती, सीतारामो आदि खण्डकाव्य सुन्दर पठनीय छन् । पञ्चपच्चाशिका नामको सानो शोक काव्य उनले पत्नी वियोगले खिन्न जनकराजको उनैले लेखिदिएको भनिन्छ । रामचरितमानस नेपालीमा उतारिदिएर पाठकहरूको ठूलो उपकार गरिदिएका छन् ।


काशीका ठूला महामहोपाध्याय आदि विद्वान्हरूले कुलचन्द्रको कालिदासजस्तो कलम चलेको देखेर भनेर उनलाई अभिनन्दन गर्दै साहित्यभूषण साहित्यमणि महाकवि आदि उपाधि दिएर सम्मान गरेका छन् । नेपालका श्री ३ जुद्धशमशेरले ‘विशिष्ट विद्वान्’ भनेर आचार्य बनाएका श्री ५ त्रिभुवनले गोखा दक्षिणबाहु र विद्वच्छिरोमणि भन्ने उपाधिले विभूषित गरेका कुलचन्द्र गौतम पनि नेपालका अर्का विभूति हुन लायक हुन् ।

सन्त शिरोमणि शशिधर स्वामी
सन्त शशिधरको परिचयका लागि स्वामी प्रपन्नाचार्यको मिल्केका झिल्का हेर्नुपर्छ । शशिधरको जन्म अर्घाखाँची जिल्लाको बामरुक गाउँमा भएको हो । यिनका पिताको नाम दिशै शर्मा मरासिनी थियो । गृहस्थ हुँदा यी शशिधर मरासिनी ब्राह्मण विष्णुस्वामी सम्प्रदायमा दीक्षित भएपछि शशिधर दास यशोमणि भए, पौडी गढवालमा क्यों कालेश्वर मठ स्थापना गर्दा शशिधर मुनि भए । विसं १८१० तिर खनगुफादेखि रेसुङ्गा आइपुग्दा जोसमणि भएका हुन् । यस सम्प्रदायका साधु कतै दास, कतै दिन कहिन्छन् । शशिधर मुनि भनिन्छन् ।


शशिधर स्वामिले जोसमणि प्रचारप्रसारमा तीव्रता ल्याए । उनले नै राजा रणबहादुर शाहलाई जोसमणि निर्गुणानन्द स्वामी बनाएका र भीमसेन थापाका भाइ रणवीरसिंह थापालाई जोसमणि दीक्षा दिएका थिए भनिन्छ । यस सम्प्रदायको प्रभाव पूर्वाञ्चलमा राई लिम्बूहरूमा निकै परेको छ । धेरै राईहरू सात्त्विक साधु बनेका थिए ।


शशिधर साधु मात्र होइन, धेरै ग्रन्थ पनि लेखेका थिए । सधुक्कडी बोलीमा निर्गुण भजनबाहेक उनका अरू ग्रन्थ संस्कृत भाषामै छन् । जोसमणिकृत सधोसार योगात्मबोध हंसात्मबोध चित्प्रकाश, वाणे पनिषद्, तत्त्वगीता अजयगीता आदि एकाध पुस्तक उनका पनि छन् भनी प्रपन्नाचार्यले लेखेका छन् । यी उन्नाइसौं शताब्दीका पहिला सन्तशिरोमणि हुन् ।

बालागुरु षडानन्द
सं १९९२ मंसीर ५ मा पूर्वाञ्चलको अरुण निकट दिंग्लामा लक्ष्मीनारायण र रुक्मिणीदेवीको गर्भबाट एक महापुरुष खडानन्द अधिकारीको जन्म भयो । उनी बालक छँदै पिता स्वर्गे भएकाले आमाकै काखमा यी हुर्के । व्रतबन्धपछि २५ वर्षसम्म ब्रह्मचर्यमा रहेर विद्याध्ययन गर्नुपर्छ भन्ने उपदेशलाई साकार पार्न उनी मिथिला तेह्रौत पुगे । त्यहाँ प्राथमिक शिक्षा लिएपछि उनी काशी गए । काशीमा आजीवन ब्रह्मचारी भएर गायत्री पुरच्चरण गर्नतिर लागे । वाग्मती किनारमा बसेर पुरश्चरण गरे, अनि घुम्दै पोखरा पुगे । त्यहाँ पनि उनले गायत्री अनुष्ठान गर्दै रहे । भारतका तीर्थ घुम्दै काठमाडौं आएर टेकु दोभानमा आश्रम जमाए । यहाँ उनका धेरै चेला भए । कति राणा पनि उनीसँग मन्त्र सुनेर चेला बने ।

त्यसपछि उनी जन्मस्थान दिंग्ला आएर बसे । दिंग्ला भन्ज्याङमा सीताराम मन्दिर स्थापना गरेर सं १९३२ मा संस्कृत पाठशालाको उद्घाटन गरे । पछि महादेव मन्दिर पनि बनाइयो । आवाल ब्रह्मचारी गुरुमहाराजको नामले प्रसिद्ध भएका उनको सिद्धि लाग्छ भनेर पनि उनको संगतमा मान्छे आउँथे । सोध्ने मान्छे पनि त्यतिकै आउँथे । परन्तु धर्मशास्त्रका कुरा ज्योतिषका कुराचाहिँ उनी वैयाकरणकै ‘सखेडा’ मान्थे र सोधपुछ गर्न मान्छे पठाइरहन्थे । वास्तवमा उनी एक सिद्ध–पुरुषका रूपमा प्रसिद्ध थिए । बीसौं शताब्दीमा उनी एक अर्का सन्तशिरोमणि थिए ।

स्वामी प्रपन्नाचार्य काले राई
यिनी पल्लो किरात, राई परिवारमा जन्मेका थिए जसको पहिलो नाउँ काले राई थियो । यिनका बाजे गोठु राई, बाबु धम्बे राई थिए । यो राई परिवार जोसमणि सम्प्रदायमा दीक्षित थियो । यो चाम्लिङे राई परिवार खोटाङबाट पल्लो किरात गएको थियो । आयुको प्रथम चरण घरमै शारीरिक परिश्रमबाट बिताए पनि सामान्य प्राथमिक शिक्षा पढ्न भनेर काले भारत पसे । पढ्दापढ्दै उनी वेदाचार्य हुन पुगेर त्यसमा पनि विद्यावारिधि गरेर रामानुज सम्प्रदाय दीक्षित भएर वैष्णव बैरागी प्रपन्नाचार्य प्रसिद्धिमा आए ।


यतिमै यिनी चुप लागेर बसेनन् । ठाउँठाउँमाा शास्त्रार्थ भाग लिँदै यायावरी रूपले घुम्दै अनेक ग्रन्थ पनि लेख्दै रहे । जीवनमा यिनले दर्जन ग्रन्थ लेखे, सम्पादन गरे । आखिरमा आएर मृगस्थलीमा निचुलो बसेर लेखपढमै जीवन बिताए । यिनले सरकारबाट कुनै सम्मान पुरस्कार त्यति पाएको देखिएन । जनस्तरबाट पाएका उनका सम्मान कदरपत्र पुरस्कारका लागि दिएका अभिनन्दन पत्रहरू धर्मशालाका भित्ताभरि राखिएका देखिन्छन् । एक्काइसौं शताब्दीका यी स्वामी डा. प्रपन्नाचार्य पनि त्यस्ता सन्तशिरोमणि विभूति हुनयोग्य पुरुष हुन् ।

विचारणीय विभूतिहरू
नेपालमा जन्मेर भोटका राजासँग विवाह गरेर उतै गएकी र बौद्ध धर्मसंघ स्थापना गर्ने प्रमुख भूमिका खेलेकी भृकुटीलाई हामी विभूति मान्छौं । परन्तु उनी त उहीं गएर तारादेवी भइन् । तारादेवी भनेर उनी भोटमा पुजिन्छिन्, मानिन्छिन् । तारादेवीकै रूपमा मूर्तिहरू प्रतिस्थापित छन् । उनलाई ल्याएर हामीले ‘विभूति’ बनाउनु उचित होला–नहोला ? यो बहसको विषय हो ।


त्यस्तै, मिथिला जनकपुरका राजा जनकलाई कर्मयोगी भनेर हामीले विभूति मान्यौं । यो सर्वथा उचित छ । परन्तु मिथिलामा जन्मेकी सीतालाई हामीले तानेर ल्याउन सक्तैनौं । उनी रामकी पत्नी भइन् । राम विष्णुका अवतार मानिए । सीता लक्ष्मीको अवतार मानिइन् । सीताराम सबैका भए । नेपाल–भारतका सबै स्त्री–पुरुषका श्रद्धेय पूजनीय छन् । तर, सीतालाई ‘विभूति’ भनिनु विचारणीय हुन सक्छ ।


यसैगरी, विभूति घोषणा गर्दा के देखेर के बुझेर बलभद्र कुँवरलाई विभूति बनाइयो ? ‘वीर’ भनेर हो भने गोरखाली काजी सरदार सिपाहीहरू पनि सबै रणकुशल (रणवीर) नै थिए, तिनमा बलभद्र त हारेर रणमैदान छाडेर भाग्दै लाहुरे भएर उतै बसेका र अफगान युद्धमा मारिएका हुन् ।


हुन त, भीमसेन थापा पनि विभूतिको परिभाषाअनुसार ‘असाधारण काम गर्ने जनहित र देशहित गर्ने’ पात्र होइनन् । बहादुर शाह, दामोदर पाँडे, अभिमानसिंहजस्ता असाधारण व्यक्तिलाई पनि उपेक्षा गर्दै राजनीतिक चातुर्य नभएर र पृथ्वीनारायणको उपदेशको पनि अनुगमन नगरेर ठूलो शक्तिसँग जुध्ने हुँदा टिस्टा–सतलजभित्रको देशलाई मेची–महाकालीभित्र खुम्च्याउने व्यक्तिलाई किन विभूति बनाइयो ? राजाको इतिहासप्रति अज्ञान र सल्लाहकारको अबुझपनाका कारण भीमसेनलाई ‘राजसंस्थाको संरक्षक, अंग्रेजको प्रखर विरोधी’ भनेर सम्मानित गरिएको हुन सक्छ ।


पूर्वमध्यकालमा विभूति घोषित अरनिको (आनिक) बारे पनि तर्कसंगत आधार ‘विचारणीय’ छ । यिनी १८ वर्षकै उमेरमा ८० जनाको टोली लिएर भोट गए । शाक्यमठमा सुवर्णस्तूप बनाए । चीनका बादशाह कुब्ला खाँको दरबारमा बसेका अरनिकोलाई नेपाली भन्न मिल्छ/मिल्दैन— यो बहसको विषय हो । उनले श्वेतचैत्य बनाएर प्रसिद्धि त पाए तर, उनले ८ पटक (चिनियाँ) बिहा गरेका थिए जसका सन्तान–दरसन्तान उतै फैलिए । उनको सिङ्गो जीवनको अवदान उतै सीमित रह्यो ।

Esewa Pasal

प्रकाशित : वैशाख १५, २०७५ ०८:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पृथ्वीनारायणलाई सम्मान किन ?

सन्दर्भ : राष्ट्रिय एकता दिवस
गणतन्त्र–लोकतन्त्रको सरकारले पनि पृथ्वीनारायणको सम्मानमा राष्ट्रिय एकता दिवस मनाउन छाडेको थियो । तर, यसपालि सरकारको चेत खुलेको छ । 
ज्ञानमणि नेपाल

काठमाडौँ — पृथ्वीनारायण धेरै पढेका थिएनन्, पुस्तकवाचनसम्म गर्न सक्थे । दरबारमा पुराण लगाइँदा सुनेको राजा गद्दीनसीन भएपछि दिग्विजय गर्नुपर्छ भन्ने कुरो उनका मनमा गडेको थियो । आफ्ना पुर्खा राम शाहका पालादेखि लिन थालेको ‘गिरिराजचक्रचूडामणि’ भन्ने पदलाई सार्थक पार्ने अभिलाषाले उनले आफू राजा भएकै अर्को साल काठमाडौंको पल्लो किल्ला नुवाकोटलाई जिते ।

त्यसपछि काठमाडौं राज्य क्षेत्रभित्र पस्ने गौंडो खुल्यो, भोटसँगको
व्यापारको बाटो पनि खुल्यो । अहिलेको भाषामा, ‘ल्यान्डलक कन्ट्री’ ले अन्तर्राष्ट्रिय बन्दरगाह पाए जस्तै भयो । भोट–मधेस नभएको, चारैतिरबाट घेरिएको सानो गोरखा राज्यका पखेटा लागे । एकै चोटि काठमाडौं सहरमा आक्रमण गर्दा व्यर्थ जनक्षय हुन्छ भनी उनले पहिले वरिपरिका किल्ला कब्जा गरे । काठमाडौं जितेपछि उनले साम–दान–दण्ड–भेदका माध्यमले जनता हात लिने नीति लिएका थिए । यस्तै उपाय अवलम्बन गरेर उनले नेपाल देशको एकीकरण गरे । उनले यस्तो दुस्साहसी पहल नगरेको भए अहिले ‘नेपाली’ का नामले चिनिने हामी सबै के भनेर चिनिइन्थ्यौं, कसैले भन्न सक्दैन ।
उनै पृथ्वीनारायणको सम्मानमा पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन थालिएको थियो । पछि राष्ट्रको एकतालाई बिर्सेर, सरकारी उर्दीका कारण एकता दिवस मनाउन छाडियो । यस पालिदेखि फेरि सरकारले त्यस दिन बिदा दिने घोषणा गरेको छ ।
केही वर्षअघिसम्म पुस महिनाका तीन दिन चाडपर्व जस्तै गरेर भव्यसँग मनाइने हुँदा यसको व्यग्र प्रतीक्षा गरिन्थ्यो । विशेषत: विश्वविद्यालयका प्राध्यापकहरूलाई यो महीना फलदायक साबित हुन्थ्यो । पुस १ गते पञ्चायतको संविधान दिवस र १४ गते राजा वीरेन्द्रको जन्मदिवस भनेर सरकारकै तर्फबाट धुमधामसँग मनाइन्थ्यो । पुस २७ गते एकता दिवस भइहाल्यो । २७ गते अघिल्ला दुई दिनमा जस्तो चहकमहक हुँदैनथ्यो । सेवानिवृत्त र बहालवाला निजामती कर्मचारी र सैनिक तथा प्रहरीहरू अनिवार्य रूपमा उपस्थित हुन्थे । जिल्ला सदरमुकामहरूमा घुइँचो हुन्थ्यो । जिल्लाका हाकिमको उर्दी त स्वाभाविक भइहाल्थ्यो, केन्द्रबाट ठूला मान्छे वा मन्त्री पनि आउने भनेपछि झन् ठूलो भीड हुने भइहाल्यो । यसमा उपस्थित नहुने वा यसका बारेमा अन्यथा बोल्नेका लागि डरमर्दो स्थिति थियो । पुस १ र २७ गतेका राष्ट्रिय दिवसमा पञ्चायतको सुरुताका त झनै कडीकडाउ थियो । त्यस बेलाको एउटासम्झना मलाई अहिलेसम्म आइरहन्छ ।
म आफ्नै कामले भोजपुर सदरमुकाम गएको थिएँ र घर फर्किन अबेर भएकाले नजिकैको गाउँमा बास बसेको थिएँ । भोलिपल्ट पुस १ गते रहेछ । उक्त पर्व मनाउन एक पूर्वसुब्बा र एक पूर्व लप्टन हुन् कि के हुन्, एउटा साथी लिएर त्यहीँ बस्न आइपुगे । भोलिपल्ट चाँडै खानपिन गरेर राष्ट्रिय दिवसको सभामा जान तयार भए । मलाई पुस्तक पढ्दै बसिरहेको देखेर ती सैनिकले भने, ‘हिंड्नोस् गुरु, के पढिरहनुभएको ? सहर परिक्रमा गर्ने बेला भो होला । दिनभरिको समारोह सकिएपछि बेलुका बडाहाकिमको भोज खानुपर्छ ।’ मैले भनेँ, ‘तपाईं पो सेनाको मान्छे, म बाहुनको छोरो, नबोलाई कसरी जानु श्राद्ध खान ?’ उनले कुरो बुझिहाले, जुरुक्क उठेर ‘केको श्राद्ध ? कसको श्राद्ध ?’
भन्दै मलाई हातपात गरुँला जस्तो गरी झम्टन लागे ।
सुब्बा अघि सरेर उनलाई रोक्दै भने, ‘उहाँ जानुहुन्न भने किन कर लाउनु ?’
‘सबै पञ्च नेपाली, सबै नेपाली पञ्च’ भनिने जमानामा पञ्च नभई बाँच्न गाह्रो थियो । लेख्न पनि गाह्रो थियो । म त्यसबेला पनि लेखिरहन्थेँ । भोजपुरमै निकालिने एउटा सामयिक संकलनमा मेरो अनुसन्धान लेख छापिएको थियो । त्यसमै कसैको कविता छापिएको रहेछ, जसमा पुस १ गते कालरात्रि हो भन्ने बेहोरा परेको रहेछ । काशीमा छापिएको त्यो पत्रिका अञ्चलाधीश कार्यालयले नजाँची पाठकका हातमा पर्न सक्दैनथ्यो । त्यहाँ जाँचिँदा पत्रिका जफत हुने हुँदा नेपाल ल्याउँदै ल्याइएन ।
त्यसबेला पञ्च भएपछि भने उन्नतिका सबै ढोका खुल्थे । पुसका यी तीन दिन ७५ जिल्लामा त्रिविका पचहत्तरै प्राध्यापक पठाइन्थे । जिल्लामा गएर प्राध्यापकले १५–२० मिनेटको भाषण दिँदा ४–५ हजारदेखि १० हजारसम्म नगद पाउने गर्थे । तिनीहरू हवाईजहाज जाने ठाउँमा हवाईजहाजबाटै लगिन्थे भने अन्यत्र हेलिकप्टरबाट । दुर्गम क्षेत्र जानेले १० हजार पाउँथे । आफ्नो खर्च गर्नु पर्दैनथ्यो । विद्वान्को कदर गरे जस्तो गरी तिनलाई पञ्चायत समर्थक बनाउने कस्तो सजिलो उपाय ? यो बडो राजनीतिक चातुर्य थियो । जनआन्दोलनका कारण २०४६ सालमा पञ्चायत मासियो । २०५८ मा नारायणहिटी दरबारमा वीरेन्द्र राजाका परिवार मारिए । यसपछि भने राजसंस्थामा जनआस्था सकियो । शत्रुमित्रु नचिन्दा आफ्नै कर्मले ज्ञानेन्द्र शाह पनि मासिए, राजसंस्थालाई पनि समाप्त पारे ।
त्यसयताका देश सञ्चालक नेताले विदेशी साम्राज्यवादीका पिछलग्गूहरूले र विदेशी विधर्मीले फैलाएका नेपाली इतिहास, संस्कृति एवं नेपाली विभूतिप्रतिको अवहेलनालाई नै अनुगमन गरे र सही तथ्य नबुझी ज्ञानेन्द्र शाहको दोष राष्ट्रनिर्माता पृथ्वीनारायण शाहमाथि थोपरेर उनको ऐतिहासिक सुकर्मको अपमान गर्दै एकता दिवस मान्न छाडेका थिए । पृथ्वीनारायणले त्यतिबेला राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिलाई हृदयंगम गरी जनताको चाहनालाई पनि अनुसरण गर्दै यस देशको एकता नगरिदिएका भए न नेपाल रहने थियो, न नेपाली नै । नेपाल विदेशीको उपनिवेश बन्ने थियो । नेपालै नरहेपछि नेपालीको राष्ट्रिय गौरव र स्वाभिमान कहाँ रहन्थ्यो ?
पृथ्वीनारायणले थालेको एकीकरण अभियानमा कसरी विजय गरेर प्रशंसा पाए, किन कसरी केमा उनमा खुनखोट लागे, यहाँ यसबारे विचार गरौं । उनले सुरुमा आफ्नै ससुराली राज्य मकवानपुर जितेका हुन् । त्यसको ६ वर्षपछि मात्रै उपत्यकाकै मानिसलाई हात लिएर बिनायुद्धै कान्तिपुर र ललितपुर जितेका थिए । यसबीच मकवानपुरमा दिग्बन्धन सेनलाई पुन:स्थापित गरिदिन आएको गुरगिन खाँ नेतृत्वको नवाब मीर काशिमको सैन्य दलसँग तथा जयप्रकाशलाई मद्धत दिन आएको अंग्रेज किनलकको सैन्य दलसँग भने गोरखालीले ठूलै तारतम्य मिलाएर लडी तिनलाई परास्त गर्नुपरेको थियो । भक्तपुरलाई पनि घेराबन्दीद्वारा थकाएरै आत्मसमर्पण गराउने पक्षमा उनी थिए, जति समय लागे पनि । तर तैनाथीे दिएर पठाएका सेनानायक भाइ शूरप्रतापकै हतारोले गर्दा सहरभित्र पसेर हतियार चलाउने स्थिति आयो । दुईतिरैबाट हतियार चल्दा स्वभावत: केही रक्तपात भयो । एकजना राजै पनि घाइते भएपछि मात्र आत्मसमर्पणको अवस्था आयो । त्यसबेला अन्त्यकालमा कि तीर्थस्थल जाने, कि काशीवास बस्ने चलन थियो । घाइते राजालाई तीर्थस्थानतिर लगियो, मीतबाबुलाई ससम्मान काशीवास पठाइयो । पाटनका राजालाई चाहिँ नजरबन्दमा राखियो । यसभन्दा पहिले मकवानपुरका अर्का राजा हेमकर्ण सेन पनि स्वेच्छाले काशीवास गएका थिए । उनका छोरा दिग्बन्धन पनि पहिल्यै बन्धनमा परिरहेकै थिए ।
मकवानपुर विजयपछि गोरखा राज्यको पूर्वमा तराईतिर कमला नदी साँध लागिसकेको थियो । अर्थात्, चौदण्डी राज्यको सीमामा गोरखा राज्य पुग्यो । पूर्वमा चौदण्डी र विजयपुर गरी दुई सेन राज्य थिए । विजयपुरबाटै छुट्टिएर चौदण्डी राज्य खडा भएको थियो । यी राज्यमा आन्तरिक कलह उग्र रूपले उठ्थ्यो । चौदण्डीमा राई नै चौतारिया हुन्थे । शाह राजाहरू आफ्ना भाइछोरालाई चौतारिया पद दिन्थे । त्यहाँ चाहिँ राय–राईलाई चौतारा/चौतारिया वा देवान पद दिन्थे । कहिले बाबुछोरा र दाजुभाइमै राजघरानामै कलह उठेर खटपट परिरहन्थ्यो, कहिले राजा र चौतारिया/देवानबीच नै मारामार चल्थ्यो । यस्तो स्थितिमा प्रजाको शान्ति–सुव्यवस्था, न्यायनिसाफ के हुन्थ्यो ? थुमथुमका गढीगौंडामा बसेका राई सरदारहरूले परम्परागत रूपले राजस्व बुझाइ जेनतेन राजकाज, व्यवहार चलाइरहेका हुन्थे ।
पृथ्वीनारायणले मकवानपुर राज्य जित्नासाथ पूर्वका सेनराज्यतर्फ आँखा लाइसकेका थिए । त्यहाँका खातापिता मानिसहरूलाई हात लिने उपायमा उनी लागिसकेका थिए । उनले विजयपताका फहराएको ठाउँमा आफ्नो कामले प्रभाव बढाएका थिए । पृथ्वीनारायणको कीर्तिगाथा
सुनेका बिर्तावार खार्पाका पोखरेल उनलाई भेट्न करकोसेलीसाथ पहिल्यै नुवाकोट दरबार पुगिसकेका थिए । दरबारमा राजाले राम्रो कपडाको त्यो पोको खोलेर हेर्दा माटाको डल्लो थियो । पृथ्वीनारायणले गुह्यकुरा बुझिहाले र महारानीलाई बोलाएर दिँदै भने, ‘लौ हेर, लक्ष्मी आइछन् । लगेर राम्रोसँग भण्डारमा राख ।’
उता, विजयपुरमा राजा कामराजदत्त सेन र देवान बुद्धकर्ण राईका बीचमा मारामार परिरहेको थियो । यस्तैमा राजा कामराजदत्त मारिए । उनी पृथ्वीनारायणकी फुपूका छोरा अर्थात् भानिज दाजु पर्थे । अर्को कुरा, यी राज्यबाट सहायताका लागि फिरंगीसँग गुहार मागिँदै छ भन्ने खबर पनि उनका कानमा परिरहेको थियो । अब उनले पूर्वमा विजय अभियान नचलाई नहुने स्थिति आयो । यिनै कुरालाई आधार मानेर चौदण्डी विजयका लागि सरदार रामकृष्ण कुँवरको नेतृत्वमा सैन्य दल पूर्वी पहाडतिर लाग्यो । बक्शी अभिमानसिंह बस्नेतको नेतृत्वमा अर्को दल मकवानपुरको बाटो चौदण्डी राज्यतिरै लाग्यो । सरदार रामकृष्ण नेतृत्वको सेनालाई स्थानीय बासिन्दाको पूरै सहयोग थियो । खार्पाका पोखरेल हरिनन्दन–त्रिलोचनले दूधकोशी तार्न सहयोग गरे । थुमथुमका गढीगौंडामा बसेका राई मुखियासँग सानोतिनो मुठभेड भयो । हलेसी र मझुवा आदि गढीमा केही प्रतिकार झेल्दै सैनिकहरू अघि बढे । पूर्वी सीमानामा अलि युद्ध परे पनि माझकिरात सजिलै सर भयो । यहाँ त्यति ठूलो धनजनको क्षय–व्यय भएको बुझिँदैन । हलुवा गढी जितेर गोरखाली सरदार कोशी तरेर चौदण्डी राजधानी नउक्लँदै त्यहाँका राजा कर्ण सेन विजयपुर गए । चौतारा सपरिवार भागेर भगलपुर पुगे ।
चौदण्डी विजय गरेको अर्को साल पहाडतिरबाट पसेको दलले चैनपुर सजिलै सर गर्‍यो । यता, कोशी तरेर अभिमानसिंहको सेना विजयपुरतिर लाग्यो । राजा कर्ण सेन र देवान बुद्धिकर्ण राई भागिहाले । नेतृत्वविहीन केही स्थानीय सैनिकसँग मुठभेट भए पनि त्यसले केही अर्थ राखेन । त्यहाँका दशलिम्बुवानका सुब्बाहरूले अभिमानसिंहको सन्देश र पृथ्वीनारायणको लालमोहर पाएपछि तिनले सेन–मकवानको रीतिथितिमा यथावत् रहन पाउने भए । सबै सुब्बा राजीखुसी मिल्न आइहाले । यसरी पूर्वका दुई सेनराज्यसमेत सम्मिलित हुँदा सात राज्य मिलेर एक नेपाल राज्य बन्यो । एकीकरणको यति काम गरेपछि पृथ्वीनारायण यस संसारबाट सदाका लागि बिदा भए ।
पृथ्वीनारायणले आफ्नो जीवनकालमा तीन मल्ल राज्य र तीन सेन राज्य जिते । यो एकीकरण अभियान अलिकति पनि मन नपराउने विदेशी शक्तिका पुजारीहरूले पृथ्वीनारायणका दोष उधिनी उधिनी व्यापक दुष्प्रचार गरे । उनले शान्ति नीति अनुसार घेराबन्दी गरेरै कीर्तिपुरलाई पनि आत्मसमर्पण गराएका थिए । बोलाएरै लगेका केही गोरखाली सैनिकलाई सुतेका बेला कीर्तिपुरका केही हुल्याहाहरूले हूल उठेर नोल र फलेकले ठोकीठोकी मारे । पछि ती ज्यानमारा पक्राउ परे । त्यसबेला ज्यानको बदला ज्यानै लिनुपर्ने चलन पनि आफ्नै प्रजा हुन्, गरिखाउन् भनेर पृथ्वीनारायणले तिनका नाकको टोप्रोसम्म काट्ने आदेश दिए । नाक काटिनेमा धेरै थिएनन् । यस घटनाबारे त्यतिखेरै ललितावल्लभले ‘काश्चन विरूपिण:’ अर्थात् केही व्यक्तिलाई विरूप बनाए भनी लेखेका छन् । धेरैको नाक काटिएको भए ‘बहून्’ लेख्थे, सबैको काटिएको भए ‘सर्वान्’ लेख्थे । बाबुराम आचार्यले कीर्तिपुरमा त्यसबेला धेरै भए ८–१० दश जनाको नाक काटियो होला भनेका छन् । यस कुरालाई विदेशीहरूले पादरीहरूको निष्कासनको बदला लिनलाई बढाइचढाइ गरेको देखिन्छ । तीन सहर नेपाल सर भएपछि पृथ्वीनारायणले साधुको वेशमा राजनीति गर्ने हिसाबले उपत्यकामा रहेका ६० जना क्रिस्चियन पादरीहरूलाई निकालिदिए । ती गएर बेतियामा बसे । पादरी जिसेप्पीले पृथ्वीनारायण भनेका बर्बर शासक हुन्, कीर्तिपुरका सयौं मान्छेका नाक काटिदिएका छन् भनी मनगढन्ते कुरा लेखी बेलायतबाट प्रकाशित हुने जर्नलमा छापे । यो कुरो विश्वव्यापी भयो । अजेय बेलायती शक्तिलाई परास्त पारेर खेद्ने, क्रिस्चियनलाई निकाल्ने, कोठी खोल्न त परै जावस् फिरंगीलाई पस्नै नदिने पृथ्वीनारायण अंग्रेजहरूका बापवैरी त हुने नै भए । यसकारण यहाँ आएका अंग्रेजहरूले कीर्तिपुरलाई नकटापुरै बनाए । नेपाल–अंग्रेज युद्धपछि स्थानीय रूपले बस्न पाएका रेजिडेन्टमा ब्रायन हड्सनले यसलाई यति बढाए कि १७ धार्नी काटेका नाक थिए भनेर वंशावलीमै लेखाए । हरेक क्षेत्रमा हस्तक्षेप गरे भनी निकालिए पनि उनले दार्जिलिङमा बसेर पृथ्वीनारायणका अर्घेल्याइँ उधिनी बढाएर लेखाउन छाडेनन् । पृथ्वीनारायणको विजयको धेरै दुष्प्रचार गराए । ३५ हजार किरात मारे, लिम्बूलाई सखापै पारे, बालबालिकालाई ढिकीमा कुच्याएर मारे भन्नेसम्मका दस्तावेज लेखाएर बेलायत पुर्‍याए । हड्सन कलेक्सनका नामले उक्त संग्रह त्यहाँ सुरक्षित छ । आफैंले वा अरूले ल्याएको उक्त पत्र पढेपछि इमानसिं चेम्जोङले धनवज्र वज्राचार्यलाई देखाउँदै भनेका थिए, ‘हेर, यस्तो दुष्प्रचार गरेका पर्चा पनि लगेर अंग्रेजले सुरक्षित राखेका छन् ।’ सोही पर्चा हड्सनको संकलन पढ्न गएका रमेश ढुंगेलबाट पाएर वैरागी काइँलाले त्यसको अनुवाद र व्याख्यासहित पत्रिकामा निकालेर फेरि व्यापक प्रचारमा ल्याइयो । यस्तै दुष्प्रचारको भरमा परेर गणतन्त्र–लोकतन्त्रको सरकारले पनि पृथ्वीनारायणको सम्मानमा राष्ट्रिय एकता दिवस मनाउन छाडेको थियो । तर, यसपालि सरकारको चेत खुलेको छ । हेरौं, भविष्यका सरकारहरूले नेपालनिर्माताको सम्मानलाई निरन्तरता दिन्छन् कि कसैको इसारामा फेरि उनको खोइरो खन्न थाल्छन् । नेपाललाई खासमा कसले माया गर्दोरहेछ भन्ने पनि यसैबाट पत्तो पाइनेछ ।

प्रकाशित : पुस २७, २०७४ ०७:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT