कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अन्यायको पराकाष्ठा

वर्तमान परिवेशमा पनि बोक्सीजस्तो कुप्रथालाई समाजले स्विकारेर कुनै व्यक्तिविशेषमा खनिनु र जीवन बर्बाद गर्न खोज्नु घोर अन्यायको पराकाष्ठा हो ।
सुशीला अम्गाई

काठमाडौँ — साहित्यिक पत्रकार कमल रिजालको तेस्रो औपन्यासिक कृति हो– दृष्टिभ्रम । विशुद्ध सामाजिक पृष्ठभूमिमा लेखिएको यो उपन्यासले सामाजिक विसंगति र विकृति खोतल्ने प्रयत्न गरेको छ ।

अन्यायको पराकाष्ठा

उपन्यासमा विवेकशील पात्र चयन गर्दै पीडितका पक्षमा वकालत गरिएको छ । मनभित्रको तहगत स्वार्थलाई जब मान्छेले त्याग्ने कोसिस गर्दैन, तब मान्छेको अर्थ र अस्तित्व कहींकतै नरहने हुन्छ । ईष्र्या, रिस र घमण्डजस्ता तत्त्वले मानब स्वयम्लाई दिशाहीन बनाइरहेको यथार्थ ‘दृष्टिभ्रम’ ले प्रस्तुत गरेको छ । तन्त्रमन्त्र, झारफुक, बोक्सी, झाक्री विद्याप्रतिको जनविश्वास र आदिम पृष्ठभूमिका सन्दर्भमा उठेका रोचक प्रसङ्गले औपन्यासिक सौन्दर्यमा नवीनता थपेको छ ।
मान्छेभित्रको ईष्र्याले जब भयानक रूप लिन्छ, तब आरोप–प्रत्यारोपबीचबाट हिंसात्मक गतिविधि बढ्दा सामाजिक एकता भत्कन्छ नै । मानवीय व्यवहारका यस्तै बिम्बहरू उपन्यासमा समेटिएका छन् उपन्यासमा । वर्तमान परिवेशमा पनि बोक्सीजस्तो कुप्रथालाई स्विकार्दै कुनै व्यक्तिविशेषमा खनिनु घोर अन्यायको पराकाष्ठा हो । उपन्यासमा कानुनी निकायको गैरजिम्मेवारीप्रति दह्रो व्यङ्ग्य गरिएको छ ।


विविध मान्छे र तिनकै विचारको सम्मिश्रण हो— समाज । समाज तब मात्र सभ्य कहलाउँछ, जब अग्रगामी चेतनाको बाटोमा उन्मुख हुन्छ । समाज परिवर्तन हुन सामाजिक एकता र सद्भाव अपरिहार्य हुन्छ । अशिक्षा र अन्धविश्वासले गाँजेको नेपाली समाजमा झारफुक तन्त्रमन्त्रकै भरमा स्वास्थ्यलाभको प्रतीक्षा गरेर बस्दाबस्दै मृत्युवरण गरेको घटना पनि प्रशस्तै भेटिन्छन् ।


उपन्यासकी प्रमुख नारी पात्र हुन्— चन्द्रावती । आफ्नो साख्यै काका मुरलीमनोहरले रचेको जालमा प्रताडना झेल्दाझेल्दै आफ्नो सुशिक्षित एवं समाजसेवी पति उनले गुमाएकी छन् भने छोरा विवेकको पनि पहिचान भएको छैन । एउटी नारीले बिनाकसुर एकपछि अर्को गर्दै झेलेका यस किसिमका पीडा सामान्य भने अवश्य होइनन् । अन्तत: वैयक्तिक जीवनमा अन्तर्घात गर्ने समाजका अधम पात्र स्वयं पश्चात्तापको भुंग्रोमा छट्पटिन पुगेका छन् । समाजमा बसेर मनपरी गर्ने, मानवीय संवेदनाको ख्याल नगरी अनेक लाञ्छना लगाउने र आफ्नो स्वार्थसिद्ध गर्न पल्केकालाई कानुनको कठघरामा उभ्याउन उपन्यास सफल भएको छ ।


यसै पनि महिलाप्रति हेर्ने दृष्टिकोण भिन्नै छ समाजमा । अझ एकल महिलालाई बोक्सीको बिल्ला भिराउने संस्कार यथावत् छँदैछ । बिनाकसुर लगाइएका लाञ्छनाले प्रताडित बन्दै आत्महत्या गर्ने महिलाको संख्या पनि उत्तिकै छ नेपाली समाजमा । आरोपित हँुदै शारीरिक–मानसिक यातना खेपिरहनेको संख्या पनि त्यत्तिकै छ । यसको ज्वलन्त उदाहरण हुन्— चितवन माडीकी ठेगनीदेवी र काठमाडौं जोरपाटीकी सुनीता पुडासैनी ।


उपन्यासले समाजको उत्थानमा बाधा पुर्‍याउने समाजभित्रै दबिएर रहेका सूक्ष्म कर्तुतलाई उदांगो पारेको छ । कुसंस्कारले सुन्दर परिवारिक संसारमा रमेकी युवतीको जीवनका हरेक पक्ष तहसनहस पारेको छ । समाजका बौद्धिक वर्ग आदर्शका कुरा गर्छन्, कुरीतिको भत्र्सना गरेजस्तो गर्छन् तर त्यसैको मौन समर्थन गरिरहेका हुन्छन् । सुन्दा सामान्य लाग्ने धेरै घटना उठेका भए पनि त्यसले वैयक्तिक मनोविज्ञानमा ल्याएको उतारचढावलाई गहन विश्लेषण गरेको छ उपन्यासले । उपन्यासकारले समाजसेवा गर्ने र पुख्र्यौली परम्परालाई निरन्तरता दिने बहानामा भैरहेका जघन्य अपराध निस्तेज गराउन राष्ट्रको न्याय प्रशासनलाई झक्झकाउने कोसिस गरेका छन् ।


महिलाहरूले अझै स्वतन्त्रताको श्वास फेर्न सकेका छैनन् । अरूको प्रगति र उन्नतिमा डाह गर्ने प्रशस्त हुन्छन् समाजमा । मान्छेको ईष्र्यालु र संकीर्ण मानसिकताको सफल शल्यक्रिया गरेको छ उपन्यास— दृष्टिभ्रमले । चितवन जिल्लाकै दुर्गम गाउँ माडी र त्यहाँका जान्नेमान्ने कहलाएका पूर्णप्रसाद पन्थी धर्मशास्त्रका आचार्य हुन् । ग्रहदशा हेर्न, झारफुक गर्न सिद्धहस्त छन् उनी । सम्पूर्ण गाउँलेको जन्ममृत्युका तीथिमिति पूरापूर ख्याल छ उनलाई तर मन भित्र भ्रम पालेका छन्— आफूजस्तै मान्छेलाई उनी मानवीयता दृष्टिले हेर्न सक्दैनन् ।


अन्तत: नितान्त सामाजिक उपन्यास दृष्टिभ्रमले मानिसमा रहेको चेतनाको स्तर र प्रवृत्तिगत स्वार्थलाई निकै गहिराइमा पुगेर विश्लेषण गरेको छ । झन्डै उस्तै पृष्ठभूमिका धेरै घटनाको लम्बेतान व्याख्या भइरहँदा पाठकको आश्वादन पक्षमा कमी आउनु स्वाभाविक पनि हो । कमल रिजालका उपन्यासले मुख्य विषयवस्तु बनाएका घटनाहरू नेपाली जनजिब्रोले देखे–भोगेका, सुनेका भए पनि त्यसले वैयक्तिक जीवनमा
पुर्‍याएका आघातहरू कहालीलाग्दा छन् । चेतना र न्यायपूर्ण समाजको निर्माणका लागि सशक्त आवाज हो— दृष्टिभ्रम ।

प्रकाशित : वैशाख १५, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?