कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

त्रिपिटक पढ्न सजिलो

२५६२ औं बुद्धजयन्ती
हिमेश वज्राचार्य

काठमाडौँ — बुद्धले प्रवर्तित गरेको धर्म तथा स्थापना गरेको संघको प्रमाणित जानकारी दिने एक मात्र भाषा हो, पालि । त्यसैले पालि भाषा र त्यसका साहित्य कुनै पनि दृष्टिकोणले महत्त्वपूर्ण छ । सिद्धार्थ गौतमले २९ वर्षका गृहस्थी त्यागे, त्यसको छ वर्षपछि बुद्धत्व प्राप्त गरे । उनको महापरिनिर्वाण ८० वर्षको आयुमा भएको थियो । त्यो अर्थमा बुद्धले ४५ वर्षसम्म बुद्धले जे जति गरे, जो कोहीलाई जे सुनाए, त्यो सबै त्रिपिटकका रूपमा सुरक्षित छ ।

त्रिपिटक पढ्न सजिलो

अनि यो नै पालि साहित्यको मूल स्रोत हो । यस भाषाका विद्वान्हरू के मान्छन् भने यो भाषा सरल र स्वाभाविक छ, अनि उत्तिकै आकर्षक पनि । पालि भारतको पश्चिम प्रदेशको कुनै भाषा रहेको हुनुपर्छ र यसको विकासमा संस्कृतको राम्रो हात रहेको हुनुपर्छ । जे होस्, बौद्ध धर्मबारे आधिकारिक रूपमा बुझ्ने र जान्ने हो भने पालि भाषाको ज्ञान अनिवार्य हुन्छ । पछिल्लो समय हाम्रोमा यो भाषाबारे राम्रो दखल राख्ने विरलै पाइन्छ ।


बुझ्ने र जान्ने प्रयास गर्ने हो भने यो कठिन छ । कम्तीमा अब यो काम केही हदसम्म सजिलो भने हुनेछ, यदि तपाईंलाई नेपाल भाषाको पनि ज्ञान छ भने । पालिबारे धेरै ज्ञान भएका नेपालिमा पर्छन्, दुण्डबहादुर वज्राचार्य । उनकै लगातार छ वर्षको प्रयासले तयार भएको छ, पालि नेपाल भाषा शब्दकोश । यसमा २१ हजारको हाराहारीमा शब्द छन् र यसले पक्कै पनि पालि साहित्य बुझ्न मदत गर्नेछ । अथवा सीधै भन्दा त्रिपिटक पढ्न सजिलो हुनेछ ।


त्यसो त पालि भाषाको शब्दकोश नेपालमा प्रकाशित भएको यो पहिलोपल्ट भने होइन । भिक्षु अमृतानन्दले धेरै अगाडि पालि भाषाको शब्दकोश निकालेका थिए र त्यसमा नेपालि र नेपाल भाषा दुवै प्रयोग गरिएका थिए । तर यसको स्वरूप संक्षिप्त रह्यो । यो भन्दा अहिले दुण्डबहादुरको सम्पादनमा निस्केको शब्दकोशको आकार धेरै ठूलो छ । यो आपंैmमा पूर्ण भने होइन । बौद्ध धर्म मान्ने बर्मा, थाइल्यान्ड र श्रीलंकातिर पालिका ठूलठूला शब्दकोष पाइन्छ ।


पालि नेपालभाषा शब्दकोशले कम्तीमा त्यस्त बृहत् पुस्तकको आधार भने तयार पारेको छ । यो शब्दकोश तयार पार्न दुण्डबहादुरलाई मद्दत गरेका छन्, भिक्षु चन्द्रगुप्त, भिक्षु धर्मगुप्त र अनागरिका अग्गञाणीले । यस पुस्तकको मूल्य रहेको छ, पाँच सय रुपैयाँ  । यही शब्दकोषसँगै त्रिपिटकका अरू दुई पुस्तक पनि प्रकाशित भएका छन् र ती हुन्, यमक र महावग्ग । दुवै पालिबाट नेपाल भाषामा अनुवाद भएर उपलब्ध भएका हुन् ।


यहाँनिर त्रिपिटकबारे छोटकरीमा बुझ्न आवश्यक हुन्छ । बुद्धको महापरिनिर्वाणपछि उनका शिष्यलाई के लाग्यो भने सबै उपदेशको संग्रह गर्नुपर्छ । भिक्षु महाकश्यपले बुद्धको उपदेश संग्रह गर्न सम्मेलन गर्ने निर्णय गरे । बौद्ध धर्मको इतिहासमा यस्ता सम्मेलन संगायनाका नामले प्रख्यात छन् । बुद्ध महापरिनिर्वाणको तीन महिनापछि पहिलो संगायना भएको थियो । यसै क्रममा धर्म र विनयसम्बन्धी उपदेश संकलन गरिए । पहिलो संगायनायता बुद्ध वचन सुरक्षित हुने काम सुरु भयो ।


इसापूर्व २९ को वरिपरि भिक्षुहरूले अनुभव गरे, यसरी मौखिक परम्पराले बुद्ध वचन सधैंका लागि चिरस्थायी हुने छैन । यसलाई लिपिबद्ध गर्न आवश्यक छ । त्यति बेला श्रीलंकामा राजा बट्टगामिणीको शासन चलिरहेको थियो । उनले बुद्ध वचन लिपिबद्ध गर्न सबै व्यवस्था मिलाए । यसका लागि एक अर्को संगायन भयो । यो टिपिटक संगायनाका नामले प्रख्यात छ । टिपिटक अर्थात् त्रिपिटक । यसको अर्थ हुन्छ, तीन थैलीको समूह । यी तीन पिटक हुन्, सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक ।


त्रिपिटककै माध्यमबाट तात्कालीन समयको इतिहास र संस्कृति पनि बुझ्न सकिन्छ । यमक अभिधम्मपिटकअन्तर्गतको छैटौं ग्रन्थ हो । यसमा चित्तबारे वैज्ञानिक व्याख्या गरिएको छ । यमकमा तीन खण्ड रहे पनि नेपालभाषामा भने यो बृहत् एउटै ग्रन्थका रूपमा उपलब्ध हुनेछ । यसका अनुवादक अनागरिका विमलज्ञाणी हुन् । यसको मूल्य आठ सय रुपैयाँ छ । विनयपटकअन्तर्गतको महावग्गका अनुवादक भने अनागारिका उत्पलवर्णा हुन् र मूल्य रहेको छ, ५ सय ५० रुपैयाँ । बुद्ध जीवनको प्रारम्भिक स्रोतका रूपमा रहेको छ ।

प्रकाशित : वैशाख १५, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?