९ भाषामा लुम्बिनी

परिचय
मनोज पौडेल

काठमाडौँ — बुद्धस्थलका अध्येता तथा पुरातत्त्वविद् वसन्त बिडारीले लेखेको ‘लुम्बिनीको मौन आह्वान’ एकै पटक नौवटा भाषामा अनूदित भएर आएको छ । नौ भाषामा एउटै विषयवस्तु समावेश गरेर बिडारीले प्रकाशित गरेको कृति नेपाली, अंग्रेजी, थाई, चाइनिज, बर्मिज, जापानी, सिंहला (श्रीलंकाली), हिन्दी र नेवारीमा एकैसाथ आएको छ ।

९ भाषामा लुम्बिनी

बिडारीले सबैभन्दा पहिले सन् २००९ मा अंग्रेजी र सन् २०१० मा जापानी भाषामा पुस्तक प्रकाशन गरे । त्यसपछि २०१३ मा नेपाली र थाई भाषामा पुस्तक प्रकाशन गरे । २०१६ मा अन्य ३ भाषामा पुस्तक प्रकाशन गरे । अंग्रेजी पुस्तक २०१५ सम्म आइपुग्दा चौथो संस्करण प्रकाशन गरे । नेपाली र जापानिज तेस्रो संस्करण र थाई दोस्रो संस्करण प्रकाशन गरे । २०१६ डिसेम्बर एक महिनामै बर्मिज संस्करण सकियो ।
‘अबको ६ महिनाभित्रै कोरियन भाषामा पुस्तक प्रकाशन हुन्छ,’ उनले भने, ‘२ वर्ष भित्र तिब्बती र भियतनामी भाषामा पनि पुस्तकको तयारी गरेको छु ।’ कम्तीमा १५ बढी भाषामा पुस्तक निकालेर संसारका धेरैलाई लुम्बिनीबारे जानकारी दिने इच्छा छ उनले भने । स्वअध्ययन, अनुसन्धान र तथ्य राखेर लेखेको पुस्तक उनले सम्बन्धित देशकै भाषा विज्ञको सहयोगमा पुस्तक अनुवाद गराएका हुन् । ‘अंग्रेजीमा मैले पुस्तक आफैं लेखे’ उनले भने, ‘नेपालीलगायत अन्य भाषा अनुवाद गराएको हुँ ।’


१४ वर्षअघि म्यानमारका तीर्थयात्रीलाई मायादेवी मन्दिर घुमाउँदा उनीहरूले आफ्नै भाषामा लुम्बिनी पढ्न पाउँदैनौं भनेर प्रश्न गरेका रहेछन् । बिडारीे भने त्यो कुरामा मनमा किलाजस्तै गड्यो । उनी त्यही बेलाबाट देश विदेशमा ‘लुम्बिनी चिनाउनु जरुरी छ’ भन्दै पुस्तकको तयारीमा लागे ।


२८ वर्ष बढी लुम्बिनी विकास कोषमा पुरातत्त्वविद्का रूपमा काम गर्दाको अध्ययन र अनुसन्धानलाई पुस्तकाकार दिएका हुन् । पछिल्लो ३ दशकयता लुम्बिनी कपिलवस्तुका अधिकांश अन्वेषण, उत्खनन र अनुसन्धानमा उनी आफैं सक्रिय थिए । पुस्तकको पहिलो भागमा नेपालको सामान्य परिचय, बुद्ध जन्मनुअघि लुम्बिनी कस्तो थियो ?, बुद्धको जन्मदेखि मृत्यु, लुम्बिनीमा बुद्धजन्म र संक्षिप्त जीवनी रहेकोछ । लुम्बिनीमा सम्राट् अशोक आगमन र निर्माण, चिनियाँ तीर्थयात्रीको तीर्थाटन, ईस्वीको चौधौं शताब्दी र त्यसपछिको लुम्बिनीको अवस्था पनि उल्लेख छ । लुम्बिनीको खोजको सुरुवात, मायादेवी मन्दिर उत्खनन, संरक्षण र पुनर्निर्माण, प्राचीन स्मारक र लुुम्बिनीमा विकासको सुरुवात विषय संलग्न छन् ।


दोस्रो भागमा भारतीय सम्राट् अशोकको लुम्बिनी भ्रमण, अशोकस्तम्भको स्रोत र निर्माण, मायादेवी मन्दिरमा मार्क स्टोन (बुद्ध जन्मस्मारक शिला) कसले किन राख्यो ? र त्यसको नवीन व्याख्या रहेको छ ।
सबै भाषाका पुस्तक लेखक बिडारीले आफ्नै खर्चमा छापेका छन् । ‘नेपालको राम्रो पर्यटन प्रवद्र्धन होस्’ उनले भने, ‘लुम्बिनी जान्न चाहनेको श्रद्धा र आस्था बढोस् भनेर पुस्तक प्रकाशन गरेको हँु ।’ लुम्बिनी विश्व शान्तिको मुहान हो भन्ने सबैले थाहा पाउन उनले भने शान्तिको ऊर्जा लिन आउने विदेशी सूचनाविहीन बन्न नपरोस् भनेर पुस्तक ल्याएको हुँ । सबै पुस्तक काठमाडौंमा छापिएको हो । एउटा भाषाको पुस्तक छाप्न करिब ३ लाख रुपैयाँ लाग्ने गरेको छ । सबै भाषाका पुस्तक सय पानाका छन् । चाइनिज पुस्तक भने कम पानाको छ । विरलै पाइने पुराना श्वेतश्याम फोटो र स्केचले पुस्तकको प्रामाणिकता थपेको छ । डिजिटल प्रविधि भित्रिएपछिको रंगीन र एरियल फोटोले पुस्तक थप आकर्षित बनाएको छ । पुस्तकमा सय बढी तस्बिर छन् । उनी फोटोग्राफर नभए पनि उनले महत्त्वपुर्ण तस्बिर संगृहीत छन् । बुद्ध बारेमा अनुसन्धान गर्ने उनीसँग तस्बिर खोज्दै पुग्छन् ।


‘आम्दानीभन्दा पनि लुम्बिनीको जानकारी सही जाओस् भनेर पुस्तक प्रकाशित गरेको हुँ’ बिडारीले भने, ‘खर्च उठेको छ ।’ थोरधेर आम्दानी हेटौंडाको असहाय गृह र कपिलवस्तुको बालगृहलाई बर्सेनि दान दिने गरेको छु उनले भने । बिडारीले लुम्बिनी र कपिलवस्तुका बुद्धसँग सम्बन्धित पुरातात्त्विक र ऐतिहासिक स्थलका बारेमा भएको खोज, अध्ययन र अनुसन्न्धानबारे अंग्रेजीमा ४ पुस्तक पनि लेखेका छन् । बुद्ध अस्तु धातु रहेको रामग्रामबारे लेखेको पुस्तक एक वर्षभित्रै प्रकाशन हुने बताए । युनेस्को नेपालका कन्सल्ट्यान्ट परामर्शदातासमेत रहेका उनले संयुक्त राष्ट्र संघको महासचिवद्वय वानकी मुन र हाभियर पेरेज द कोइयारदेखि कैयौं मुलुकका राजा, युवराज, राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायतका अति विशिष्ट व्यक्तिलाई लुम्बिनी कपिलवस्तुको अवलोकन भ्रमण गराएका छन् । ६० वर्षे उनी अहिले श्रीलंका सरकारको विशेषज्ञ परामर्शदाता भएर कोलम्बोमा काम गरिरहेका छन् । उनले त्यहाँ लुम्बिनी र कपिलवस्तुको रिप्लिका बनाउँदै छन् ।

प्रकाशित : वैशाख १५, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?