३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

सिटी फुटबल

नेपालमा हाल संस्थागत फुटबल नभइरहेको अवस्थामा सिटीको फुटबल योजनालाई मूर्तरूप लिन सजिलो छैन ।
विनोद पाण्डे

काठमाडौँ — फ्रान्क लाम्पार्डले ३ इंग्लिस प्रिमियर लिग, ४ एफए कप, २ लिग कप, १–१ च्याम्पियन्स लिग र युरोपा लिगको उपाधिका साथ चेल्सीसँगको १३ वर्षे खेल जीवन टुंगाएका थिए । युरोपको स्टार खेलाडी आफ्नो उत्तराद्र्धमा केही अमेरिका लाग्छन् र त्यही गएर आफ्नो खेल जीवनको अन्तिम खेल खेल्छन् ।

सिटी फुटबल

सन् २००१ देखि २०१४ सम्म चेल्सीबाट ६ सय ४८ म्याच खेलेर २ सय ११ गोलको गर्विलो इतिहासका साथ २०१३–१४ को सिजन सकिएपछि लाम्पार्ड पनि यही नै गर्दै थिए । अर्थात् उनको आगामी व्यावसायिक गन्त्वय अमेरिका थियो र २०१४ को अगस्टमा उनले न्युयोर्क सिटी एफसीबाट खेल्ने निर्णय गरेका थिए ।


अमेरिकी मेजर लिगको सिजन मार्चमा मात्र सुरु हुन्थ्यो । अगस्टदेखिको मार्चसम्मको ६ महिना लाम्पार्डले खाली समयमै बिताउनुपर्ने अवस्था थियो । प्रिमियर लिगको अर्को टोली म्यानचेस्टर सिटीले लाम्पार्डसामु जनवरीसम्म ‘लोन’ मा खेल्ने प्रस्ताव गर्‍यो । न्युयोर्क सिटीको फ्रेन्चाइज म्यानचेस्टर सिटी र बेसबलको हस्ती न्यु योर्क यान्कीज नै छ । एक किसिमले यो पारिवारिक निर्णयजस्तो थियो सिटी फुटबलका लागि न्युयोर्क जानुअघि नै लाम्पार्डलाई म्यानचेस्टर ल्याउने ।


कथाले तब ठूलो रूप लियो जब म्यानचेस्टरले चेल्सीसँग नै खेल्नुपर्ने स्थिति आयो । अर्थात् चेल्सीका ‘लिजेन्ड’ लाम्पार्डले म्यानचेस्टर सिटीको जर्सी लगाएर चेल्सीसँगैं खेल्नुपर्ने भयो । लाम्पार्ड बैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गर्दै सिटीबाट बराबरी गोल गरेपछि चेल्सीका तत्कालीन व्यवस्थापक जोसे मोउरिन्हो चुप लागेर बस्ने स्थिति नै रहेन । मोउरिन्होले लाम्पार्ड र चेल्सीको लभ स्टोरी समाप्त भएको घोषणै गरिदिए । त्यसबाहेक उनले सिटी फुटबलले निमत्याएको स्थितिको बारेमा पनि मुख खोले ।


***

अबुधावी युनाइटेड ग्रुपले २००८ मा म्यानचेस्टर सिटीको स्वामित्व खरिद गरेको थियो । यसका मालिक मन्सुर बिन जायेद अल नाहयन यूएईका उपप्रधानमन्त्री पनि हुन् । उनकै अगुवाइ म्यानचेस्टरमा क्रान्ति भएको थियो । यसको विस्तारमा सिटी फुटबल ग्रुप (सीएफजी) बनाएपछि प्रभाव विश्वभरि देखिँदै छ । अबुधावी युनाइटेड ग्रुपको प्रमुख लगानीमा यसले तीन महादेशमा प्रमुख फुटबल क्लब विस्तार गरेको छ । युरोपमा म्यानचेस्टर सिटी, अमेरिकामा न्युयोर्क सिटी र अस्ट्रेलियामा मेलबर्न सिटी एफसी । यी सबै क्लबसँग पुरुष, महिला, युथ टिम र एकेडेमी छन् ।


अबुधावी युनाइटेड ग्रुपले जापानको जे लिगको योकोहामा एफ मारिनोज, उरुग्वेको एथ्लेटिक टोक्विई र स्पेनमा जिरुना एफसीमा पनि लगानी गरिरहेको छ । योकोहामामा अबुधावीको २० प्रतिशत मात्र लगानी छ । जापान सरकारको नियमअनुसार जापानमा लगानी गरिएको रकम त्यहाँबाट विदेश लैजान नपाउने हुनाले योकोहामामा अबुधावीले पूर्ण लगानी गरेको छैन । सीएफजीमा अबुधावी युनाइटेड ग्रुपको ८७ र चीन मिडिया क्यापिटलको १३ प्रतिशत लगानी थियो । २०१५ यता मन्सुरको नेतृत्वमा रहेको अबुधावी युनाइटेड ग्रुपको एक्लौटी लगानी छ । अबुधावीका शेख परिवारका मन्सुरले जति खेर म्यानचेस्टर सिटीको स्वामित्व लिएका थिए त्यत्तिखेर उनीसँग झन्डै ५ अर्ब डलर सम्पत्ति थियो ।


म्यानचेस्टर सिटीको १ सय ३८ वर्षको इतिहासलाई दुई कालमा छुट्याउँदा उत्तम हुन्छ । मन्सुर र अबुधावीको लगानी अघि र पछिको काल । अघिको म्यानचेस्टर सिटी औसत टोली मात्र थियो । २००२ सम्म टोलीको रंगशाला मेन रोडमा थियो । त्यसयता इतिहाद रंगशालामा खेल्दै आएको छ । मेन रोड छाड्नु अघिल्लो सिजन टोली रेलिगेसनमा परेको थियो । आर्थिक संकटले पनि टोलीलाई गाँजेको थियो । इंग्ल्यान्डका प्रमुख क्लबहरू म्यानचेस्टर युनाइटेड, लिभरपुल, आर्सनलजस्तो ‘हार्ड कोर’ प्रशंसक सिटीको छैन । त्यही पनि दर्शकहरूले सिजनल टिकट किन्दा मात्र म्यानचेस्टर सिटीलाई आर्थिक हिसाबमा उभिन बल प्रदान गरेको थियो ।


अबुधावीको लगानी भित्रिएयता सिटीको रवाफ छुट्टै छ । पछिल्लो सात वर्षमा टोलीले ३ प्रिमियर लिग उपाधि जितिसकेको छ । १ एफए कप, ३ लिग कप र १ कम्युनिटी सिल्ड पनि सिटीको उपाधिमा जोडिएको छ । म्यानचेस्टर युनाइटेड, चेल्सी, आर्सनल, लिभरपुल, टोटनहमलाई सिटी अहिले ठूलो चुनौती भएको छ । युरोपेली प्रतियोगितामा भने क्वार्टरफाइनलभन्दा माथि आउन म्यानचेस्टर सिटीले अझै संघर्ष गरिरहेको छ ।


बजार विस्तारमा पनि सिटीको सक्रियता बढ्दो छ । यही क्रममा सीएफजीका साउथ इस्ट एसियाका पाटनरसिप सेल्स म्यानेजर चार्ली इभान्स नेपाल आएका थिए । सीएफजीले अब चीन र भारतमा फुटबल क्लब किन्न खोजिरहेको बताउँदै थिए । एसियामा अझै म्यानचेस्टर युनाइटेड र लिभरपुलको हिसाबमा प्रशंसकको स्तरमा पुग्न गारो हुने उनको बुझाइ थियो । विशेष गरी थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया, सिंगापुरलगायतका क्षेत्रमा यी दुई परम्परागत क्लबको वर्चस्व रहेको सिटीको टिमले पाएको थियो ।


त्यसैले सिटीको ध्यान बजार व्यवस्थापनमा यी राष्ट्रमा कम छ । कम्बोडियामा टोलीले समर्थकको ठूलो समूह बनाइसकेको छ । ‘म्यानचेस्टर सिटीको खेल हुदाँ अहिले फ्नोम पेन पूरै नीलो हुन्छ,’ इभान्स भन्दै थिए । नेपालमा पनि यस्तै बाक्लो समर्थकको समूह बनाउने र बजार व्यवस्थापनको दायरा फराकिलो बनाउने उनको योजना थियो । कुनै दिन काठमाडौंका सडकलाई फ्नोम पेनजस्तै नीलोले रंगाउने उनी योजना सुनाउँदै थिए । मैले यही विषय सामाजिक सञ्जालमा राख्दा साथी निरन महर्जनको कमेन्ट आएको थियो, ‘म्यानचेस्टर सधैं रातो छ ।’ हुन पनि इंग्लिस स्टार डेबिड बेकहम आफ्नो खेल जीवनको उत्तराद्र्धमा अमेरिका मेजर लिग सकर खेल्न गएका थिए । अमेरिकाको अफ सिजनमा उनले ‘लोन’ मा एसी मिलानबाट खेलेका थिए । त्यही क्रममा उनको सिटी जाने हल्ला चलेको थियो । बेकहम युनाइटेडका हस्ती हुन् । त्यसैले बेकहम ‘म्यानचेस्टर एउटै छ’ भन्दै प्रतिक्रिया दिइरहेका थिए ।


इभान्स नेपालमा हाल रहेका सिटीका प्रशंसकका बारेमा सोध्दै थिए । मलाई नेपालमा सिटीका प्रशंसक चिनिने गरी दुई जना मात्र थाहा थियो । कलाकार तथा लेखक ब्रजेश खनाल र अर्को कान्तिपुर टीभीका पत्रकार गिरीश भट्टराई । ब्रजेशले सिटीलाई पछ्याउनुको आफ्नै कारण छ । उनी बार्सिलानोका जबरजस्त फ्यान हुन् । गत सिजनमा बार्सिलोनाका हस्ती पेप ग्वार्डिओला सिटीको व्यवस्थापक बनेपछि ब्रजेशको सिटीसँगको सामीप्यता झन् बढेको स्पष्ट देख्न सकिन्छ । इभान्सका अनुसार सिटीका विश्वव्यापी समर्थक लगभग धेरै त्यस्तै छन, ग्वार्डिओलासँगैं बार्सिलोनाबाट बायर्न म्युनिख हुँदै सिटी आइपुगेका छन् ।


सिटीको नेपालमा अरू पनि योजनाहरू छन् । नेपाली युवा टोलीलाई सिटी फुटबलको एकेडेमीमा प्रशिक्षण गराउने, सिटीसँग आबद्ध एकेडेमी प्रशिक्षकलाई युवा खेलाडीलाई प्रशिक्षण दिन नेपाल पठाउने, नेपाली प्रशिक्षकलाई विदेशमा कोर्स गराउने, सामाजिक कार्यमा सहयोग गर्ने आदि । आगामी दिनमा सिटीको सफलता बढेसँगैं समर्थक पनि बढ्ने र नेपालमा ल्याइएका योजनाहरूलाई अगाडि ल्याउने उसको योजना बुझ्न सकिन्छ । तर, नेपालमा हाल संस्थागत फुटबल नभइरहेको अवस्थामा सिटीको फुटबल योजनालाई मूर्तरूप लिन सजिलो छैन । सिटीको योजना नेपाली क्लबलाई माध्यम बनाएर समर्थकमाझ पुग्नु हो । काठमाडौंकेन्द्रित नेपाली फुटबल पनि सिटीको यो योजनासँग मेल खाँदैन । इभान्सका अनुसार अहिले भएकालाई सिटीको समर्थक बनाउन गाह्रो छ, सिटीले अब आउने पिँढीलाई समर्थक बनाउन प्रयास गर्ने हो ।


***

सिटी फुटबल ग्रुपले एक किसिमको त्रास युरोपेली फुटबलका अरू क्लबमा ल्याएको देखिन्छ । किनभने यसअन्तर्गत रहेका क्लबका खेलाडीहरू लगभग एकै देखिँदा सीएफजीले आफूले चाहेको समयमा ती खेलाडीलाई प्रायोग गर्न पाएको छ । लाम्पार्ड सिटी आएको साल जनवरीमा पनि न्युयोर्क फर्किएनन् । पूरै सिजन सिटीमा बिताए । प्रिमियर लिग मेमा मात्र सकिन्थ्यो । उता न्युयोर्क सिटीका समर्थकहरू लाम्पार्ड आउने आशामा मार्चदेखिको टिकट लिएर अमेरिकामा मेजर लिग सकरमा कुरेर बसिरहेका थिए । लाम्पार्डको खेल समयमै प्रत्यक्ष हेर्न नपाउँदा न्युयोर्क सिटीका समर्थकहरू आक्रोश सुरु भइसकेको थियो ।


स्पेनिस स्ट्राइकर डेबिड भिल्ला र इटालियन मिडफिल्डर एन्ड्रयु पिर्लो पनि आफ्नो खेल जीवन टुंगाउनुअघि न्युयोर्क पुगेका छन् । मेजर लिगको ब्रेक समयमा भिल्ला म्यानचेस्टर सिटी समूहकै मेलबर्न सिटीमा ३ महिनालाई ‘लोन’ मा पुगेका थिए । लाम्पार्ड र भिल्लाको स्थितिमा माउ संस्था सीएफजीको एउटा उद्देश्य के देखिन्छ भने उसले चाहेका अवस्थामा सिटी फुटबल ग्रुपबाट आफ्नो खेलाडी प्रयोग गर्नेछ ।
twitter: @dearbinod

प्रकाशित : वैशाख १५, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?