कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समुद्रमुनि हिँड्ने जाति

दक्षिणपूर्वी एसियाको समुद्र आसपासमा बसोबास गर्ने ‘बजाउ’ नामक समुदायका व्यक्तिहरूले आफूलाई उत्तम गोताखोरका रूपमा विकास गरेका छन् । बजाउ गोताखोर बिनाकुनै कठिनाइ २०० फिटमुनि समुद्रसम्म पुग्ने क्षमता राख्छन् ।

काठमाडौँ — हामी मानव जाति लाखौं वर्षको विकास क्रमका उपज हौं । वैज्ञानिकहरू मानव विकास क्रमबारे अझै पनि विभिन्न शोध/अनुसन्धान गर्दै छन् । उनीहरूले हाम्रो ‘जिन’ को अध्ययनबाट केही हजार वर्षयता पनि हाम्रो विकासक्रममा परिवर्तन आएको तथ्य प्रमाणित गरेका छन् । यस अर्थमा विकासक्रम रोकिएको छैन ।

समुद्रमुनि हिँड्ने जाति

तिब्बती उच्च पठार र इथोपियाका उच्च भूभागमा बस्ने मानिसले आफूलाई त्यहीँको वातावरण अनुकूलतामा ढालेका छन् । पूर्वी अफ्रिका र उत्तरी युरोपका बस्तुभाउ पाल्ने किसानमा जति पनि दूध पचाउन सक्ने क्षमताको विकास भएको छ, यो सबै आफू बस्ने वातावरणअनुसार आफूलाई अनुकूल बनाएको मानव जातिको उदाहरण हो ।


पछिल्लो ‘सेल’ नामक जर्नलमा प्रकाशित अनुसन्धनात्मक रिपोर्टले मानव जातिमा नयाँ प्रकारको अनुकूलताको विकासक्रमका केही तथ्य उजागर गरेको छ । यो अनुकूलता न हावासँग सम्बन्धित छ, न खानासँग । यो त समुद्रसँगको अनुकूलता विकासक्रमसँग जोडिएको छ ।


दक्षिणपूर्वी एसियाको समुद्र आसपासमा बसोबास गर्ने ‘बजाउ’ नामक समुदायका व्यक्तिहरूले आफूलाई उत्तम गोताखोर (डाइभर्स) का रूपमा विकास गरेका छन् । इन्डोनेसिया, मलेसिया र फिलिपिन्समा लाखौंको संख्यामा समूहमा बजाउ समुदाय बसोबास गरेको पाइन्छ । उनीहरू परम्परागत रूपमा डुंगाको घरमा नै बस्ने गर्थे । हाल आएर उनीहरू समुद्रतट छेवैको पानीमाथि बनेको घरमा बस्न थालेका छन् ।


‘उनीहरू वास्तवमा जमिनका लागि नौला मानिस नै हुन्,’ यस्तो बसोबासबारे हवाई विश्वविद्यालयका मानवशास्त्री रोड्ने सी जुबिलादो भन्छन् । मानवशास्त्री जुबिलादोले पहिलो पटक बजाउ जातिलाई फिलिपिन्सको सामल टापुमा आफू हुर्किंदै गर्दा देखेका थिए । त्यतिबेला पनि उनीहरूको जीविकोपार्जनको प्रमुख उपाय भनेकै गोताखोरी, भालाले माछा मार्नु र ‘सेलफिस’ संकलन गर्नुहुन्थ्यो ।


‘हामी उनीहरूको लामो समयसम्म समुद्रमुनि बस्न सक्ने क्षमताका कारण निकै आश्चर्यचकित र आकर्षित हुन्थ्यौं,’ उनले भने, ‘म तिनीहरूलाई समुद्रमुनि हिंडिरहेकै देख्थें ।’


मानवशास्त्रीले बजाउ जातिको संस्कृति र रहनसहनबारे अध्ययन गर्ने भए पनि जीव वैज्ञानिक पनि उनीहरूको अद्भुत क्षमताबारे उत्सुक भएका छन् । बजाउ गोताखोर बिनाकुनै कठिनाइ २०० फिटमुनि समुद्रसम्म पुग्ने क्षमता राख्छन् । उनीहरूले प्रयोग गर्ने साधनमा आफैंले बनाएको काठको सामान्य गगल्स मात्रै हुन्छ ।


सन् २०१५ मा कोपनहेगेन विश्वविद्यालयबाट जेनेटिक्समा स्नातक गरेकी मेलिस्सा इलार्दोले बजाउ समुदायका बारे पहिलो पटक सुनिन् । उनमा ती समुदायका मानिसका पुस्तौं पुस्ताले समुद्रसँग गाँसेको नाताका कारण शारीरिक रूपमा नै केही परिवर्तन आएको हुन सक्ने र यही कारण यति अपत्यारिलो गोताखोर भएको हुन सक्ने विचार उब्जियो ।


उनी आफ्नो कौतूहल मेट्न इन्डोनेसियाको सुलाबेसी पुगिन् र त्यहाँबाट बजाउ समुदाय बसोबास गर्ने ‘कोरल रिफ’ को टापु गइन् । उनले बजाउ समुदायका मानिसहरूलाई भेटेर आफ्नो कुरा राखिन् र, अध्ययनका लागि राजी गराइन् अनि फर्किन् । केही महिनापछि उनी त्यहाँ सानो अल्ट्रासाउन्ड मेसिन साथमा लिएर गइन् र, फियो (स्प्लिन) को आकार मापन
गर्न थालिन् ।


जब कुनै मानिस पानीमा हाम फाल्छ, उसको शरीरको ‘डाइभिङ रिफ्लेक्स’ नामक प्रक्रिया सुचारु हुन्छ जसअनुसार त्यो व्यक्तिको धड्कनको गति कम हुन थाल्दछ, नसाहरू खुम्चिन थाल्छन्, ताकि बाँच्नका लागि अत्यावश्यक अंगमा रगत पुगोस् । फियो पनि खुम्चिन्छ जसका कारण अक्सिजन बोक्ने रातो रक्तकोषहरू त्यहाँबाट बाहिरिन्छन् र अत्यावश्यक अंगमा थप अक्सिजन पुर्‍याउन मद्दत गर्छन् ।


सबै स्तनधारी जनावरमा ‘डाइभिङ रिफ्लेक्स’ हुन्छ । तर समुद्री स्तनधारीजस्तै सिलहरूमा भने यो निकै शक्तिशाली हुन्छ । वैज्ञानिकका अनुसार त्यही रिफ्लेक्सले नै तिनलाई धेरैभन्दा धेरै गहिरो पानीमा जान मद्दत गर्छ । सिलमा जति ठूलो फियो हुन्छ, त्यो त्यति नै धेरै गहिराइमा जान सक्छ । ठूलो फियोको काम ‘स्कुबा ट्यांक’ (गोताखोरहरूले बोक्ने अक्सिजन सिलिन्डर) जस्तै हो ।


डा. इलार्दोले बजाउहरूको पेटको अल्ट्रासाउन्ड गरिन् र त्यहाँबाट ३० किलोमिटर जति भित्रको गाउँमा गएर ‘सलुअन’ समुदायका किसानको पनि पेटको अल्ट्रासाउन्ड गरिन् । जब उनले ती दुई भिन्दाभिन्दै रिपोर्टलाई दाँजेर हेरिन्, तिनमा आश्चर्यजनक भिन्नता देखिए । बजाउको फिसो सलुअनको भन्दा औसतमा ५० प्रतिशतले ठूलो थियो ।


यद्यपि यो भिन्नता केवल विकासक्रमको प्रभाव मात्रै नहुन पनि सक्थ्यो । किनकि गोताखोरी गर्नेहरूको फियो सामान्यतया ठूलो नै हुन्छ । यीमध्ये केही बजाउ मात्रै पूर्णकालीन गोताखोर थिए । अन्य त सामान्य मानिसझैं पसले, शिक्षक आदि हुन् जसले जीवनमा कहिल्यै समुद्रमा डुब्की लगाएका थिएनन् । तर उनीहरूको फियोको आकार पनि ठूलो पाइयो । यसको अर्थ बजाउ जातिमा जन्मजात नै फियो ठूलो हुन्छ । यो उनीहरूको पुस्तौंनी देन हो जसले गर्दा उनीहरूको जिनमा नै परिवर्तन भयो ।


डा. इलार्दोले बजाउ र सलुअनहरूको जिनको पनि अध्ययन गरिन् । त्यसलाई न्यू गिनिया र चीनमा रहेका तिनीहरूको समुदायसँग पनि दाँजिन् । केही अनुवांशिक गुणहरू बजाउ समुदायमा समान देखिए ।


‘पीडीई१०ए’ नामक जीनको गुणका कारण नै फियोको आकार ठूलो हुन्छ । यो गुणको एउटा कपी भएकाको फियोको आकार नभएकाभन्दा ठूलो थियो भने दुईवटा कपी भएकाको फियो अझ ठूलो थियो ।


वैज्ञानिकहरूले फियो ठूलो हुनुमा ‘पीडीई१०ए’ को सम्बन्धबारे अझै अध्ययन गर्दैछन् । किनकि उनीहरूले यसभन्दा अघि यसको फियोसँग कुनै विशेष सम्बन्धबारे कही पनि भेटेका थिएनन् । ‘पीडीई१०ए’ ले शरीरको थाइरोइड हार्मोनको स्तरलाई नियन्त्रण गर्ने काम गर्छ । थाइरोइड धेरै भए पनि फियोको अकार ठूलो हुन्छ । यो तथ्य त्यति चित्तबुझ्दो नभए पनि भर पर्ने ठाउँ भने छ ।


यस्तै बजाउको जिनमा भेटिएको ‘बीडीकेआरबी२’ नामक गुणले पनि उनीहरूमा गोताखोर क्षमता अभिवृद्धि गरेको हुन सक्छ । गत वर्ष प्रकाशित भएको रसियन वैज्ञानिकको रिपोर्टअनुसार ‘बीडीकेआरबी२’ को ‘डाइभिङ रिफ्लेक्स’ सँग महत्त्वपूर्ण सम्बन्ध छ । यो गुण भएका मानिसले चिसो पानीमा डुब्की लगाउँदा उनीहरूको रगतका नसाहरू धेरै नै खुम्चिन्छन् ।


यसको थप पुष्टि गर्न डा. इलार्दोले अझै धेरै पटक सुलावेसीको भ्रमण गर्नुपर्ने हुन्छ । ‘म आफूले सकेसम्म यो अध्ययन गरी नै रहन्छु,’ उनले भनिन् ।


जे भए पनि उनीहरूको पुस्ताले हजारौं वर्ष पहिलेदेखि नै समुद्रमा बसोबास गर्न थाले पनि समुद्रको गहिराइमा भने सन् १६०० यता मात्रै छिर्न थालेका हुन् । चीनमा सी कुकम्बर्स (काँक्रो आकारको समुद्री जीव) को माग बढेसँगै बजाउका पूर्वजहरूले समुद्रको गहिराइमा धेरै समय बिताउन थालेका हुन् । त्यस अर्थमा पनि उनीहरूमा विकासक्रमका साथसाथै र अनुकूलताका लागि आएको परिवर्तनको इतिहास धेरै पुरानो पनि छैन ।
(न्युयोर्क टाइम्समा प्रकाशित रिपोर्टको अनुवाद र सम्पादन गरिएको अंश)
अनुवाद : स्वरुप आचार्य

प्रकाशित : वैशाख १५, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?