१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पारिजात सम्झँदा

स्मृति
लीला लुइटेल

काठमाडौँ — कलेज पढ्ने बेलासम्म पनि साहित्यकार भनेको यस धर्तीका प्राणी नभएर अर्कै ग्रहबाट आएका विशिष्ट प्राणी पो हुन् कि जस्तो लाग्थ्यो । पारिजातको नाम सुनेको भए पनि उनका रचनाचाहि बीए तह आइपुग्दा मात्रै पढ्ने साइत जुर्‍यो । उनका बारे अनेक किंवदन्ती सुनिन्थे, सुनाइन्थे । बीएमा ‘मैले नजन्माएको छोरो’ र ‘शिरीषको फूल’ पढेपछि उनका बारेमा उत्सुकता बढेर आयो र, कृति खोजी गर्दै जाँदा ‘आदिम देश’ भेटियो ।

पारिजात सम्झँदा

बीएमा थेसिस लेख्न पाइने हुनाले नेपाली महिला कथाकार शीर्षकमा शोधपत्र तयार गर्ने निधो गरँे । यसले पारिजातलाई भेट्न जाने निहुँ बन्यो । सोध्दैखोज्दै पारिजात निवास म्ह्ैपी पुगेँ । एकातिर किंवदन्तीकी नायिकाजस्तै साहित्यकार पारिजातलाई भेट्न पाउने उत्सुकताले रोमाञ्चित थिएँ भने अर्कातिर त्यति ठूलो साहित्यकारले भेटै पो नदिने हो कि ? भन्ने त्रासले सताइरहेको थियो ।


उत्सुकता एवं त्रासमा चेपिएको मानसिकता बोकेर पारिजातको घरमा पुगेँ । दुई औँलाले गिलास च्यापेर चिया पिइरहेकी पारिजातलाई देखेर मेरो मन भरिएर आयो, शिर श्रद्धाले झुक्यो । नमस्कार गरी हड्बडाउँदै आफ्नो परिचय दिई भेट्न आउनुको प्रयोजन बताएँ । पारिजात स्वयंले कुरा सुरु गर्नुभयो— घर, परिवार, मौसम आदिआदि । मभित्र रहेका संकोच तथा त्रास बिस्तारै पाखा लाग्न थालिसकेका थिए ।


पहिलो भेटमै म पारिजातबाट यति प्रभावित भएँ, जसले गर्दा मेरा पाइला बेलाबेला स्वचालित रूपमा उहाँको घरतर्फ मोडिन्थे । यही बीचमा उहाँले नेपाली महिला साहित्यकारका कृतिको प्रदर्शनी गर्ने योजना सुनाउँदै यसमा सहयोग गर्नाका लागि भन्नुभयो । यसमा मैले सक्रियताका साथ निकै दिन पारिजातसँग बसेर काम गरेकी थिएँ । नेपाल–भारत सांस्कृतिक केन्द्रमा भएको त्यस प्रदर्शनीमा जम्मा भएका महिला साहित्यकारका कृति देखेर म आश्चर्यचकित भएँ किनकि त्यस बेलासम्म पढेको नेपाली साहित्यको इतिहासमा त्यहाँ जम्मा भएका कुनै पनि लेखक र तिनका कृतिको नाम मैले देखेकी थिइन । त्यसबेला मलाई ठूलो गाडधन मिलेजस्तो लाग्यो, यसले मलाई नेपालीमा महिला लेखनको अध्ययनतर्फ लाग्न ठूलो प्रेरणा दियो । प्रदर्शनी सकिएपछि जम्मा भएका कृतिमध्ये कतिपय कृति छानेर लानका लागि पारिजातले मलाई अनुमति दिनुभयो ।


कीर्तिपुरमा नेपाली स्नातकोत्तर प्रथम वर्षका हामी सहपाठी मिलेर साहित्य कुञ्ज नामक संस्था स्थापना गरेको सन्दर्भमा यही कुञ्ज मार्फत दुई जना साहित्यकारलाई अभिनन्दन गर्ने योजना बनायौँ । मैले पारिजातको नाम प्रस्ताव गरेँ, यसमा कुनै विरोध नभई सहज ढंगमा सर्वसम्मतिमा तुरुन्तै पारित भयो । अर्को नाममा बदरीनाथ भट्टराईको नाम सर्वसम्मत भयो । योजना त बन्यो, तर अभिनन्दनका लागि पारिजातलाई मनाउन सकिएन भने... ?


अहिलेजस्तो फोन सुविधा नभएकाले म बाँकी कक्षा छोडेर पारिजातका घरतिर हान्निएँ । उहाँले सर्वप्रथम संस्था एवं सदस्यका बारेमा जानकारी लिएपछि सुकन्या दिदीलाई बोलाएर प्रसन्न मुद्रामा यो कुरा सुनाउनुभयो । त्यसपछि उहाँले मिति, समय, प्रमुख अतिथि, उहाँका बारेमा बोल्ने मान्छे आदि बारेमा रुचिपूर्वक जानकारी लिनुभयो ।


‘तपाईंहरूले मलाई अभिनन्दन गर्ने त भन्नुभयो तर एउटा कुरा नि लीला...’, पारिजातको यो वाक्यले अब के भन्ने हो, अभिनन्दन स्वीकार पो नगर्ने हो कि जस्ता अनेक आशंका बादल बनेर मभित्र मडारिन थालेको थियो । मैले केही बोल्न नपाउँदै उहाँले नै भन्नुभयो— ‘अभिनन्दनमा मलाई टीका र मालाचाहिँ तपाईंले नै लगाइदिनु न है...।’ पारिजातको यस वाक्यले मलाई शिरदेखि पाउसम्मै शीतल भएको अनुभव भयो ।


पारिजातलाई हेर्न सबै सङ्कायका शिक्षक–विद्यार्थीको भीड जम्मा भएको थियो । तीमध्ये कतिपय पारिजातलाई एक झल्को देख्नकै लागि भए पनि कार्यक्रम सकिइन्जेल चौरमा पर्खिरहेका थिए । उहाँले त्यतिखेर ‘बोनी’ उपन्यास पनि लिएर आउनुभएको रहेछ । सबै पुस्तक हामीले हातहातै बिक्री गरिदियौं ।


एमए सकिएपछि क्याम्पसमा पढाउन थालेको कुरा मैले उहाँलाई फोनद्वारा बताएकी थिएँ । त्यतिखेर म नवदुर्गा बहुमुखी क्याम्पस र भक्तपुर बहुमुखी क्याम्पसमा पढाउँथँे । दुवै क्याम्पस भक्तपुरमै भएको हुँदा म पारिजातकहाँ नपुगेको निकै दिन भएको थियो । एक दिन उहाँले नै फोन गर्नू भन्ने समाचार क्याम्पस प्रमुखलाई छोड्नुभएको रहेछ । यो थाहा पाएर मैले फोन गरेँ । ‘क्याम्पस पढाउने भएपछि मलाई बिर्सेको’ भनेर उहाँले ठट्टा गर्नुभयो । त्यसको भोलिपल्टै म उहाँकहाँ पुगेकी थिएँ ।


अर्काे सन्दर्भ, ‘नेपाली जनवादी साहित्यिक आन्दोलनमा विवाद र एकताको प्रश्न’ शीर्षक कार्यपत्रका लागि केही सामग्री खोजिदिन पारिजातले मलाई अह्राउनुभएको थियो । कार्यपत्र गोरखपुरमा भएको सम्मेलनमा प्रस्तुत गरिएको थियो । उहासँगका हरेक भेट मेरा लागि फलदायी भए पनि महिला साहित्यकार प्रदर्शनी र कार्यपत्र लेखनका यी दुई सन्दर्भचाहिँ मेरा लागि निकै महत्त्वपूर्ण रहेका छन्, अविष्मरणीय पनि ।

प्रकाशित : वैशाख १५, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?