कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

मार्क्स भगवान् होइनन्

कार्ल मार्क्स : २०० वर्ष
संवाद
घनश्याम भुसाल

काठमाडौँ — दुई शताब्दीदेखि संसारभर चर्चा भइरहेको दर्शन ‘मार्क्सवाद’ का प्रणेता कार्ल मार्क्स जन्मेको शनिबार दुई सय वर्ष पुग्दै छ । मार्क्स जन्मेको दुई शताब्दी पुगेको अवसरमा मार्क्सवादी विमर्शलाई व्यापकता दिन गत वर्षदेखि नै एमाले उपमहासचिव घनश्याम भुसालको संयोजकत्वमा ‘कार्ल मार्क्स जन्म द्विशतवार्षिकी समारोह समिति’ बनेको छ ।

मार्क्स भगवान् होइनन्

त्यसले एक वर्षदेखि विभिन्न कार्यक्रम गरिरहेको छ । मार्क्सवादको मिहिन अध्ययन गरी नेपालमा समेत त्यसको उपयोगिताबारे भुसालले ‘नेपालको अर्थराजनीति’ र आजको माक्र्सवाद र नेपाली क्रान्ति’ नामक दुई पुस्तक लेखे । मार्क्सवादका कट्टर अनुयायी भुसालले मार्क्सलाई यसरी सम्झेका छन् :

कार्ल मार्क्स जन्मेको दुई सय वर्ष पुगेको छ । सन् १८१८ मे ५ उनको एक पढालेखा परिवारमा जर्मनीमा जन्म भयो । बुवा वकिल थिए त्यसैले उनले सानैबाटै लेखपढको वातावरण पाए र दर्शनशास्त्रको विद्यार्थी भए । उनी जन्मेको कालखण्डमा युरोपको विकसित दार्शनिक पद्धति ‘हेगलवाद’ थियो । त्यसको राम्रो अध्येता भए उनी । हेगलवादमाथिको विमर्श र चिन्तन मननले उनलाई नै एउटा महान् दार्शनिकको रूपमा स्थापित गरायो । फ्रान्सेली क्रान्तिले विगुल फुकिसकेको थियो । नेपोलियन बोनापार्टले सामान्ती राजा रजौटालाई हल्लाइसकेका थिए । युरोपमा बोनापार्टले ल्याएको क्रान्तिको उथलपुथल समयमा माक्र्स आए । ब्रिटेन आर्थिक हिसाबले बलियो थियो । फ्रान्समा समाजवादको परम्परा थियो । दर्शनमा जर्मनहरूको ठूलो प्रभाव थियो । यी विषयहरूमाथि ठूलो बहस र विमर्श चलेको बेला माक्र्सको उदय भयो ।

तर, व्यक्तिगत रूपमा उनको जिन्दगी दु:खमय छ । उनले २३ वर्षमा पीएचडी गरे । त्यसपछि उनले पत्रिकामा उनले एउटा लेख लेखे ‘अ रथलेस क्रिटिसिज्म टु इभ्रिथिङ एक्जिस्टिङ’ । लेखमा उनले जेजे चीज अस्तित्वमा छन् ती सबका विरुद्ध अब हामी लड्नुपर्छ भन्ने सन्देश थियो । विशेषगरी धर्म र सत्ताका नाममा भइरहेका गतिविधिविरुद्ध लड्नुपर्छ भन्ने घोषणा त्यसमा थियो । पत्रकारिताले उनलाई क्रमश: क्रान्तिकारी बनाउँदै लग्यो । पत्रकारितामा उनले श्रमजीवी किसानको पक्षमा लेख्न थाले । त्यसपछि उनको सत्तासँग टकराव सुरु भयो । त्यसैले २५ वर्षको उमेरमा उनी निर्वासित भए, त्यही वर्ष उनले आफूभन्दा ४ वर्ष जेठी युवतीसँग प्रेमविवाहसमेत गरेका थिए । निर्वासित भएर पेरिस गए । त्यसपछि जर्मन सरकारले फ्रान्स सरकारलाई दबाब दियो । त्यसपछि फ्रान्स छोडेर ब्रसेल्स गए । ब्रसेल्समा पनि १८४८ बाट हटाइयो । त्यसपछि उनी जर्मनीकै क्रान्तिकारी गतिविधिमा भाग लिन पुगे । त्यसपछि सरकारले निकाला गरेपछि फेरि पेरिस गए । १८४९ पछि उनी लन्डन गए । लन्डनमा पुग्दा उनी दर्शनको हिसाबले समृद्ध भइसकेका थिए । लन्डन जानुअघि घोषाणापत्र नै लेखिसकेका थिए । जर्मनीले लखेटेपछि उनले १८४५ मा जर्मन नागरिकता त्यागे । त्यसैले उनको ‘नेसनालिटी’ मा धेरैले ‘स्टेटलेस’ लेख्ने गरेका छन् । उसको राष्ट्रियता राज्यविहीन हो । लन्डनमा उनले पत्रपत्रिकामा लेखेर खानुपथ्र्याे । सात सन्तान थिए । १८६७ मा उनको ‘पुँजी’ प्रकाशित भयो । माक्र्स पत्रकार, दार्शनिक, समाजवादी, समाजशास्त्री, राजनीतिक चिन्तक हुन् ।

खासगरी आधुनिक दुनियालाई प्रभावित पार्ने विचार शृंखला माक्र्सवाद हो भन्ने माक्र्सवादइतर बौद्धिकमा पनि स्थापित छ । माक्र्सले एउटा विचार शृंखला निर्माण गरेर दुनियासमक्ष राखे । यस हिसाबले हेर्दा अर्थशास्त्र, समाजशास्त्र, राजनीतिशास्त्र, संस्कृति, साहित्यलगायत समाज विज्ञानका जुनसुकै क्षेत्र माक्र्सवादमा अध्ययनको एउटा अनिवार्य विषय बन्ने गरेको छ । हुन त सोभियत युनियनको पतनपछि माक्र्सवादको युग समाप्त भयो भन्नेहरू पनि छन् तर त्यस्तो होइन ।

खासगरी उनले सबैभन्दा ठूलो अध्ययन ‘मान्छे’ माथि गरे । मान्छे के हो र उसको महत्त्व के छ भन्ने विषयमा उनले अघि सारेको विचार र दर्शन सबैभन्दा ठूलो हो । त्यसलाई हामी ‘ऐतिहासिक भौतिकवाद’ भन्छौं । उनी आउनुभन्दा अघिको पूर्वीय वा पश्चिमा जुनसुकै शास्त्रले ‘मान्छे’ लाई या त यान्त्रिक उपज ठान्थ्यो या अलौकिक चेनता, ईश्वर, देवताको वा उसको सिर्जना, सृष्टि ठान्थ्यो । आध्यामिक मतले मान्छेलाई ईश्वरमा ठान्थ्यो । ईश्वरले अराए खटाएको रूपमा ‘मान्छे’ को अस्तित्व रहन्छ भनिन्थ्यो ।

मार्क्सले यही मान्यतालाई बदले । मान्छेको जीवन भौतिक छ त्यसैले त्यो भौतिक जीवनको उत्पादन आफैंले गर्छ । नयाँनयाँ परिस्थिति मान्छेले नयाँनयाँ रूपमा जन्माउँदै जान्छ भन्ने उनको कुरा छ । त्यसैले मुक्ति, मोक्ष, दु:ख, सुख सबै कुरा अलौकिक होइनन् । सुख भनेको भौतिक जीवनमा जे हो त्यही हो । यसैले मोक्ष अन्यत्र होइन, मानवीय समाजमै पाउने हो । मुक्तिका लागि जे प्रयत्न गरिन्छ, ती स्वयं मान्छेले गर्ने हो । यसर्थ मान्छेको महत्त्व र क्षमतालाई सबैभन्दा राम्रो गरी आजसम्मको इतिहासमा माक्र्सले स्पापित गरेका छन् । त्यसैले उनी अहिले पनि सबैभन्दा बढी प्रभाव पार्ने दार्शनिकको रूपमा चिनिन्छन् ।

इतिहासलाई पनि मार्क्सले थप प्रस्ट पारे । मानिसले दैनन्दिन जीवनका आवश्यकता पूरा गर्ने क्रममा जे प्रयास र प्रत्यन्त गर्दै आयो ती सबै प्रयत्नहरू नै समग्रमा इतिहास हो भन्ने कुरा उनले गरे । मान्छेलाई आफू बाँच्ने क्रममा जेजे आवश्यकता पर्‍यो ती आवश्यकता पूरा गर्ने जेजे कर्म गरे त्यही आधारमा भाषा, विज्ञान, प्रविधिलगायत सबै कुराहरू सृष्टि हुँदै गए । कुनै धर्म, ईश्वर वा तपस्वीले बनाएको होइन भन्ने मान्यता माक्र्सले अघि सारे ।

पुँजीवादले ठूला नयाँ कामहरू पनि गर्‍यो । जीवनमा ठूल्ठूला कायापलट पनि गर्‍यो । अर्को संसार चहार्न ग्रहहरूसमेत खोजेर हिँड्ने बनायो । तर, पुँजीवादको चरित्र स्वामित्व केन्द्रीकृत र शोषण विकेन्द्रित हुँदै जाने हो । स्वामित्व केन्द्रीकृत र शासन विकेन्द्रित हुँदा शोषणमा पर्ने करोडौं मान्छे हुन्छन् । त्यसैले स्वामित्व साँघुरिंदै जाँदा शोषण बढ्दै जान्छ भन्ने माक्र्सले इतिहासको अध्ययनमा उल्लेख गरेका छन् ।

जब एउटाले कमाउँछ र अर्कोले फल लिन्छ त्यसलाई उनले ‘अतिरिक्त मूल्य’ को सिद्धान्तमा व्याख्या गरे । प्राकृतिक चीजमा श्रम लागेपछि त्यो उत्पादन हुन्छ भन्ने सामान्य अर्थशास्त्रीले भन्दै आएका थिए । पुँजीपतिले मजदुरलाई श्रमको मूल्य दिन्छ भन्ने मान्यता पनि उनीहरूको थियो । तर, माक्र्सले त्यसको विस्तारित व्याख्या गरे । माक्र्सले श्रमको मूल्य मालिकले थोरै मात्र दिन्छ र सबै दिँदैन भन्ने निष्कर्ष निकाले ।

श्रमिकले उत्पादन गर्छ र पुँजीपतिले लिँदै जान्छ । उत्पादन गर्दा लागेको सबै श्रमको मूल्य दिँदैन । श्रमिकलाई नदिएको मूल्य थुपारेर पुँजीपतिहरू पुँजीपति बन्छन् भन्ने सिद्धान्त प्रतिपादन गरे । श्रमिक आफू उत्पादनमा संलग्न हुन्छ । राम्रो घर बंगला बनाउँछ तर आफूले प्रयोग गर्न पाउँदैन, झुपडीमा बस्छ । राम्रो गाडी बनाउँछ प्रयोग गर्न सक्दैन । राम्रो खानेकुरा उत्पादन गर्छ तर आफू खान पाउँदैन । आफैंले उत्पादन गरेका वस्तु प्रयोगबाट वञ्चित हुुन्छ । यो न्याय हो कि अन्याय हो ? यहींनिर माक्र्सले युगीन प्रश्न गरेका छन् । सारा कुरा श्रमले बनाउँछ तर श्रममाथिको स्वामित्व र उपभोगचाहिं श्रमिकको हुँदो रहेनछ । यसरी मान्छे आफैंले उत्पादन गरेरका आफ्ना उपभोग्य वस्तु प्रयोगबाट अलग्याइन्छ त्यतिखेर मान्छे बन्ने प्रक्रिया अवरुद्ध हुन्छ । त्यसैले पुँजीपति वर्गले, पुँजीवादले लाखौं करोडौं मानिसहरूको श्रमको मूल्य, उनीहरूको जीवन खोसेर उनीहरूलाई मान्छे बन्न दिँदैन । अमानवीकरण गर्छ । मान्छेबाट मनुस्यत्व अलग गरिदिन्छ भन्ने धारणा उनले अघि सारेका छन् । यो समस्या अहिले पनि समाप्त भएको छैन ।

यो कुरा स्वयं एक जना मान्छेको रूपमा मार्क्सले ल्याएका हुन् । त्यसैले मान्छेको महत्त्व दर्साउने व्यक्तिको रूपमा रहेमा माक्र्सलाई एउटा व्यक्तिकै रूपमा हेर्नुपर्छ उनलाई भगवान्जस्तो मान्यौं भने गल्ती हुन्छ । तर, त्यस्ता गल्ती बेलाबेलामा आन्दोलनका क्रममा भएका छन् । माक्र्सलाई कुन युगमा कसले व्याख्या गर्‍यो त्यसको आधारमा बुझ्न खोजियो भने गलत हुन्छ । एउटा युगमा लेनिनले व्याख्या गरे । पछि माओत्से तुङले व्याख्या गरे । माक्र्सको भाष्य र पुनर्भाष्य हुँदै जाँदाखेरी बेलाबेलामा गल्ती भएका छन् । माक्र्सलाई माक्र्सकै रूपमा पढ्नेभन्दा पनि माक्र्सलाई अरू कसैको भाष्यमा पढ्ने र बुझ्ने गरिन्छ । यो गलत हो । इतिहास पठनमा माक्र्स बुझ्ने कुरामा कमजोरी छन् ।

रुसको क्रान्तिले भोका–नांगाले शासन गर्न सक्छन् भन्ने उदाहरण स्थापित गरेको थियो । रुसी क्रान्तिको सफलतापछि पुँजीपति वर्गको किल्लामा हल्लिएको थियो । त्यसैले स्वयं लेनिनले जे गर्‍यो त्यो नै माक्र्सवाद भन्ने रूपमा बुझियो । माओत्से तुङले जे भने त्यो नै माक्र्सवादको ठानियो । माक्र्सवादलाई यसरी मात्र बुझ्नु हुँदैन ।

संसार सृष्टिदेखि अहिलेसम्म मानिसहरू मुक्तिका खातिर दौडिइरहे । धर्म, कर्मको बाटो लिए, ईश्वर खोजे । जब समाज सुरु भयो त्यसबेलादेखि नै मान्छे समस्यासँग जुध्न थाल्यो । समस्याको वास्तविक समाधान गर्न नसकेपछि अवास्तविक समाधानहरूतर्फ ल्याग्यो । त्यसअन्तर्गत सबै सभ्यताहरूले धर्मको सृष्टि गरे । तर, माक्र्सले वास्तविक समस्याको समाधान वास्तविक तरिकाले नै खोज्ने हो भन्ने व्याख्या गरे । यही नदेखिएको समाधान अन्त कहीं भेटिँदैन भनेर व्याख्या गरे । यही सन्दर्भमा, धनि र गरिब एवं ठूला र साना हुने र नहुनेबीचको समस्या सबै अवास्तविक हो भने । वास्तविक कुरा त मान्छेले जब आफूले उत्पादन गरेका चीज आफूले उपभोग गर्न पाउँदैन, अन्याय त्यहीँबाट सुरु हुन्छ ।

त्यसैले आफ्नो जीवनका वास्तविक समस्या समाधान गर्नुपर्छ । पुँजीवादको विकासको क्रममा केही जाति, वर्ग, लिंगलाई केवल उत्पादन गर्ने श्रम मात्र गर्ने र शासित मात्र हुनेजस्तो गरी व्याख्या भयो । त्यो मान्यतालाई माक्र्सले तोड्ने प्रयास गरे । जस्तो महिलाको विषयमा पुरुषसरहको ज्यालाको कुरा उठाउने पहिलो व्यक्ति माक्र्स नै हुन् ।

यदि कही शोषण दमन छ भने त्यहाँ स्वत: माक्र्स आउँछन् । अफ्रिकामा, ल्याटिन अमेरिकामा या संसारमा कहीँ पनि दमन छ भने त्यसबाट मुक्तिको बाटो माक्र्सवादले नै दिन्छ । त्यसका लागि माक्र्सवादी भनिरहनुपर्दैन स्वत: त्यो मुक्तिमा माक्र्सवाद जोडिन आइपुग्छ । कसैकसैले सोभियत मोडलको समाजवादको पतनलाई माक्र्सवाद नै सकियो भन्ने एउटा सूत्रको रूपमा बुझ्ने गर्छन् । त्यो सच्चाइ होइन ।

नेपालमा मार्क्सवादलाई सही हिसाबमा बुझ्ने सौभाग्य पुष्पलाललाई मिल्यो । २३ वर्षको उमेरमै उनले यो विचार अघि सार्ने प्रयास गरे कम्युनिस्ट पार्टी स्थापना गरेर । उनले माक्र्सको घोषणापत्रलाई अुनवादसमेत गरे । त्यसपछि नेपालमा माक्र्सवादले उर्वर भूमि पाउँदै गयो । २००७ सालमा माक्र्सवादी कम्युनिस्टहरूको गनितो–मनितो थिएन । २०१५ सालमा ४ सिट जित्यो । ४६ पछि शक्ति हासिल गर्‍यो र अहिले वाम पार्टी एक ठाउँमा छौं र सरकार चलाइरहेका छौं । अब त संविधानमा समेत समाजवाद लेखिएको छ । यस हिसाबले नेपालमा माक्र्सवादी विचारले ठूलो सफलता हासिल गरेको छ । माक्र्स यहाँ उपयोगी भएका छन् । राजनीतिक हिसाबले जति उपलब्धि हासिल भएका छन्, त्यसमा टेकेर समाजवाद ल्याउने कुरामा हामीले अझै धेरै काम गर्नुपर्नेछ ।

प्रस्तुति : दुर्गा खनाल

प्रकाशित : वैशाख २२, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?