३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

हिमाली बेल्टको सर्सर्ती बयान

समीक्षा
कुनै रोचक घटना–प्रसंगमा थोरै भित्र पस्न खोजिएको हुन्छ, राम्ररी स्वाद लिन नपाउँदै पाठकहरू अर्को प्रसंगतिर हुर्रिहाल्नुपर्छ– एकदम हतारमा यात्रा गर्नुपरेजस्तो ।
सुधीर शर्मा

काठमाडौँ — भारत र चीन– विश्वका दुई ठूला देशको बीचमा एउटा छुट्टै संसार छ, हिमाली बासिन्दाहरूको । यी कुनै राष्ट्रविशेषको राजनीतिक भूगोलमा मात्र सीमित छैनन् । आधुनिक जमानाको राजनीतिक सीमाले यिनलाई परिभाषित गर्न पनि सक्दैन । पूर्वको बर्मादेखि पश्चिम कश्मीरसम्म हिमालय काखको चन्द्राकार बेल्टमा अनेकन सभ्यताको इतिहासलाई जीवित राखेका छन् उनीहरूले । सायद त्यसैले पनि, हिमाली क्षेत्र पर्वतारोहण मात्र होइन समाजशास्त्रीय अध्ययन–अनुसन्धानका लागि समेत रोचक विषय बन्दै आएको छ ।

हिमाली बेल्टको सर्सर्ती बयान

यहाँ के छैन ? उच्च प्राकृतिक छटा त छँदैछ, त्यसबाहेक पनि धेरै कुराहरू छन् । मानवीय बसोबास र आप्रवासनको प्राचीन इतिहास छ । सम्पन्न सांस्कृतिक धरोहरहरू छन् । शान्ति र हिंसा दुवैको उत्कर्ष रूप यहाँ प्रकट भएको छ । साम्प्रदायिक संहार र सामुदायिक मिलापका दृष्टान्त यहीं भेटिन्छन् । पहिचानको आन्दोलन छ, दमनको व्यथा छ । पृथकता र सशस्त्र संघर्षका दर्जनौं, सायद अझै बढी, स्वरहरू यहाँ गुन्जेका छन् । यो शान्त (र, अशान्त) बेल्टमा राजनीति र भूराजनीतिका अनेक आयाम छन् । त्यसैले पनि यो भेगको भोगाइ बाँकी संसारका लागि सदैव रोमाञ्चक कथा बन्दै आएको छ ।

भारतीय लेखक नमिता गोखलेले सम्पादन गरेको पुस्तक ‘दी हिमालयन आर्क’ पनि यसै वरिपरि घुमेको छ । कुमाउनी परिवारमा जन्मेकी गोखलेको लेखनमा पहाड र हिमालहरू बारम्बार आउँछन् । उनले र रस्किन बन्डले यसअघि सम्पादन गरेको किताबको नाम पनि ‘हिमालय : एड्भेन्चर्स, मेडिटेसन्स, लाइफ’ रहेको छ । तर, गोखलेलाई हिमालयको सौन्दर्यले मात्र तानेको छैन, यो क्षेत्रका मानिस, समाज, तिनको पहिचान, दैनन्दिनी, राजनीति, पीडा, भूगोल, संस्कृति आदिले पनि उत्तिकै छोएको देखिन्छ । हिमालयन आर्कमा यिनै विषयहरूमा तीन दर्जन लेखकहरूको फरकफरक भोगाइ/हेराइ समेटिएको छ, जो पढ्दै जाँदा दार्जिलिङ, सिक्किम, भुटान, तिब्बत, धर्मशाला, मणिपुर, नागाल्यान्ड, बर्मा, नेपाललगायत धेरैतिर पुगिन्छ । एउटै पुस्तकमा हिमाली बासिन्दाका फरकफरक जीवनाभूति महसुस गर्न सकिन्छ, संक्षिप्त रूपमा ।

‘अ हिमालयन सिटिजन’ शीर्षकको सुरुआती अध्याय सुजीव शाक्यले लेखेका छन्— कसरी कालिम्पोङमा हुर्के–बढेका र काठमाडौंलाई कर्मथलो बनाएका उनीजस्ताले आफूलाई ‘हिमाली नागरिक’ ठान्छन् । ‘हिमाली नागरिकहरूको आफ्नै पृथक् पहिचान छ,’ शाक्य लेख्छन्— खासमा हिमालय नै उनीहरूको बृहत्तर परिचय हो, भलै राष्ट्रिय सीमा या देशहरूको सहपरिचय पनि तपाईंसँग जोडिएको हुन सक्छ, कुनै देशविशेषको पासपोर्ट तपार्इंसँग हुन सक्छ तर त्यसले तात्त्विक अर्थ राख्दैन ।

सिर्जनाको सहर भनिने दार्जिलिङको सन्दर्भ बारम्बार आउँछ पुस्तकमा । एक ठाउँमा लेखिएको छ, ‘दार्जिलिङ पहाडमा यसो भन्ने गरिन्थ्यो— यदि तिमीसँग कहिल्यै गिटार थिएन वा युवा छँदा पनि त्यो बजाएका थिएनौं भने तिमीमा पक्कै केही गडबडी छ ।’ कुनै बेलाको यो जागरुक सहरको राजनीतिक–सामाजिक अवनतिको चित्रण पनि ठाउँ–ठाउँमा पढ्न पाइन्छ । जस्तो कि, कथाकार प्रज्वल पराजुली लेख्छन्— हरेक पटक म दार्जिलिङ जाँदा पहिलेभन्दा दु:खी भएर फर्कन्छु, त्यहाँको प्रकृति त सधैंझैं सुन्दर छ तर मानिसहरू निरन्तर विध्वंसक बन्दै गएका छन् । खासगरी सहरी सौन्दर्य मार्ने गरी गरिएको पूर्वाधार निर्माण र चौतर्फी अव्यवस्थाले लेखकहरूको चित्त दुखाएको छ तर सुन्ने राजनीतिक नेतृत्व छैन । राजनीति आफंै अराजकताको दलदलमा फँसेको छ । खासगरी सन् ८० को दशकदेखि ‘गोर्खाल्यान्ड’ माग्दै आन्दोलित भएयता दार्जिलिङ कहिल्यै बौरिन सकेको छैन, न छुट्टै राज्य पाएको छ, न त अनिश्चितता चिर्न सकेको छ ।

दार्जिलिङभन्दा पूर्वतिरका ‘सेभेन सिस्टर्स’ भनिने सातवटा भारतीय राज्यका कथा–व्यथाको पनि झलक आउँछ किताबमा । नेपालछेउ साँघुरिएर पूर्वतिर फैलिँदै गएको भारतको यो चुच्चोको आफ्नै गुनासा र आक्रोश छ दिल्लीप्रति । पूर्वोत्तर भारत वास्तवमा दर्जनौं आदिवासी र जातीय समुदायहरूको जीवित संग्रहालयजस्तो लाग्छ, जसको जरा कम्बोडिया, थाइल्यान्डदेखि तिब्बत र बर्मातिर बढी जोडिएको छ । त्यसैले ‘असमको राजधानी गुवाहाटी दिल्लीभन्दा हनोईसँग नजिक लाग्छ,’ सञ्जय हजारिका लेख्छन्, ‘मणिपुरको राजधानी इम्फाल पुग्दा यांगुनमा गएजस्तो लाग्छ ।’ यो क्षेत्र कश्मीरझैं कटेको छ भारतको मूलभूमिबाट । यहाँ अनगिन्ती पृथकतावादी र सशस्त्र समूहहरू सक्रिय रहिरहनुको आधार भनेकै बहुसंख्यक बासिन्दाले भारतीय भूमिमै आफूलाई ‘बाहिरिया’ झंै ठान्नुपर्ने अवस्थाले गर्दा हो ।

पूर्वोत्तर भारतभन्दा अझै पूर्वतिर पर्छ बर्मा, जहाँको बयानले यो पुस्तकको ठूलै भाग ओगटेको छ । तीमध्ये चिकित्सा पेसाबाट लेखनमा आएकी मा थिडाको ‘अ फियर्स फियर’ मलाई अलि फरक लाग्यो । लामो अवधि चलेको अधिनायकवादी सत्ताले बर्मेली समाजको सोच्ने/बोल्ने क्षमतामै कसरी सामूहिक ह्रास ल्याइदियो र अहिलेको तुलनात्मक खुकुलो परिवेशमा समेत मानिसहरू कसरी ‘सेल्फ–सेन्सरसिप’ बाट गुज्रिरहेका छन् भन्ने यथार्थको राम्ररी खुलासा गरेकी छन् उनले । ‘भयले सोच्ने सामान्य प्रक्रियालाई नै ध्वस्त पारिदिएको छ,’ उनी लेख्छिन्, ‘बर्मेली भाषामा एउटा भनाइ नै छ– यदि सोच्ने वा मर्ने विकल्प दिइयो भने मानिसहरू बरु मर्न नै चाहन्छन् ।’ यो टिप्पणी अतिशयोक्तिपूर्ण लाग्न सक्छ तर यसले ‘क्रिटिकल थिंकिङ’ को अभावमा समाज कुन दिशातिर जान सक्छ भन्ने औंल्याउँछ ।

भुटानी सत्ताबाट अतिप्रभावित अध्यायहरू पनि पढ्न पाइन्छन् पुस्तकमा । कूटनीतिज्ञ डेभिड मेलोन र जोन इलियटका स्मरणहरूलाई यही कोटीमा राखेर हेर्दा हुन्छ । एक्काइसौं शताब्दीमा पनि हिमालयमाथि धार्मिक विश्वासले कसरी शासन गरिरहेको छ ? सुधीन्द्र शर्मा र कनकमणि दीक्षितले यो जटिल र संवेदनशील विषयमा निकै पहिले ‘हिमाल साउथ एसियन’ मा गरेको खोजबिन पनि उद्धृत गरिएको छ । अलि मास्तिर तिब्बततिर पनि बरालिएको छ पुस्तक । पत्रकार मनोज जोशीको ‘तिब्बत, भारत र चीन’ सूचनामूलक छ तर अनुभूतिजन्य लेखोटहरू बढी समेटिएको पुस्तकमा उनको भूराजनीतिक विश्लेषण ‘कागको बथानमा बकुल्ला’ जस्तो लाग्न सक्छ । बरु दलाई लामा बस्ने गरेको धर्मशाला, जसलाई ‘लिटिल ल्हासा’ उपनाम दिएर एक पश्चिमा लेखकले आफ्नो व्यक्तिगत अनुभूति जोड्दै लेखेको संस्मरण छुट्टै प्रकृतिको छ ।

दलाई लामाको तिब्बतसहित लद्दाख, कश्मीर, सिक्किम, मणिपुरजस्ता कुनै बेलाका हिमाली राज्यहरूको स्वतन्त्र अस्तित्व अचेल मानचित्रमा भेटिन्न । यी साना राज्यहरूको पहिचान कसरी हरायो, त्यसबारे पनि हिमालयन आर्क थोर–थोरै बोल्न खोजेको छ । सिक्किमको कथा बताउन एन्ड्रयु डफको पूर्वप्रकाशित ‘माई जर्नी इनटु सिक्किम’ लाई राखिएको छ । मणिपुरे महाराजकी कान्छी छोरी विनोदिनी देवीको अनुवादित संस्मरण समावेश गरिएको छ, जसले एउटा राजपरिवार र राज्य कसरी छिन्नभिन्न हुन पुग्यो भन्ने संक्षिप्त चित्र पेस गर्छ । वास्तवमा यो पुस्तकले इतिहासलाई आँखीझ्यालबाट अलिअलि चियाउन खोजेजस्तो मात्र महसुस हुन्छ । कुनै रोचक घटना–प्रसंगमा थोरै भित्र पस्न खोजिएको हुन्छ, राम्ररी स्वाद लिन नपाउँदै पाठकहरू अर्को प्रसंगतिर हुर्रिहाल्नुपर्छ— एकदम हतारमा यात्रा गर्नुपरेजस्तो ।

पुस्तकले समेटेको हिमाली बेल्टमा सम्भवत: सबभन्दा ठूलो जातीय समूहका रूपमा नेपालीभाषीको उपस्थिति छ, जो पूर्व बर्मादेखि पूर्वाेत्तर भारत, दार्जिलिङ, सिक्किम हुँदै नेपाल र भारतको उत्तराखण्ड, अनि हिमाञ्चल प्रदेशसम्म फैलिएर बसेका छन् । यो फैलावटका पछाडि कुनै बेलाको गोर्खाली साम्राज्यको देन थियो । अठारौं शताब्दीको मध्यमा २५० वर्ग किलोमिटरभन्दा कम क्षेत्रफल भएको गोर्खाजस्तो एउटा सानो पहाडी राज्यले कसरी काठमाडौंका नेवार, पाल्पाका सेन, सिक्किमका चोग्याल र कुमाउँका चन्द राजालाई हराएर आफूभन्दा झन्डै सय गुणा ठूलो आकार बनाउन सक्यो ? लेखक अमिशराज मुल्मीले यसको जवाफ खोज्ने कोसिस गरेका छन् । तर, यसका निम्ति जति विस्तारित वर्णन आवश्यक हो, पुस्तकले त्यति स्थान दिन चाहेको छैन । इतिहासको ‘रिभिजिट’ गर्दै–गरेका मुल्मीले यस सम्बन्धमा छुट्टै कलम चलाउँदा समाजलाई योगदान नै हुनेछ ।

यो पुस्तकको समस्या भनेकै महत्त्वपूर्ण मुद्दाहरूमा छिपछिपे प्रवेश मात्र गर्न खोज्नु हो । अर्को कमजोरी थुप्रै पूर्वप्रकाशित सामग्रीहरूलाई भेला पारेर नयाँपन दिन खोज्नु हो । उदाहरणका लागि, नेपालप्रति रुचि राख्ने कतिपय पाठकलाई थोमस बेलको ‘अपरेसन मुस्ताङ’ ले तान्न सक्छ । माओवादी विद्रोहका बेला बेलायती सहयोगमा सञ्चालित यो खुफिया अपरेसनबारे बेलको विवरण रोचक छ तर यो नयाँ भने होइन । बेलकै किताब ‘काठमान्डू’ बाट झिकेर त्यो अंश राखिएको हो । इन्द्रबहादुर राईको ‘आज रमिता छ’ को मञ्जुश्री थापाले गरेको अंग्रेजी अनुवादको अंश पनि यो पुस्तकमा पढ्न पाइन्छ । पुस्तकका आधाजति अध्याय अन्यत्र कतै प्रकाशित भइसकेका सामग्रीबाट संकलन गरिएका छन् । त्यसो नगरी सकभर बढी ताजा लेखन भए पढ्दा पनि ताजापन अनुभूति हुने थियो । त्यो पक्ष अलि खल्लो लागे पनि यसले हिमाली क्षेत्र र यहाँका बासिन्दालाई जुन फराकिलो क्यानभासमा राखेर हेर्न खोजेको छ, त्यसले किताबको औचित्यलाई स्थापित नै गरेको छ । पुस्तकमा राखिएका सन् १८६० देखिका केही पुराना तस्बिरले यो क्षेत्रको मानव इतिहासलाई झल्काउँछ । बीच–बीचमा राखिएका विभिन्न कालखण्डका कविताहरूले स्थानीय परिवेशको छुट्टै स्वाद दिन्छन् ।

जसलाई हिमाली जनजीवनमा रुचि छ, हिमालयन आर्कको सर्सती अध्ययन उपयोगी नै हुन सक्छ ।

प्रकाशित : वैशाख २२, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?