अस्तित्ववादका प्रथम पुरुष

साहित्य
किर्केगार्ड जन्मोत्सव
‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ’, समको यो प्रख्यात कविताको व्याख्या परीक्षामा गर्न पर्दा मैले लेखेको थिएँ, आखिर मर्न त दुवै मर्छन् । अहिले सोच्दछु समजीले पनि किर्केगार्डको यो भनाइ पढेका थिए कि ?
डा ध्रुवचन्द्र गौतम

काठमाडौँ — कोपेनहेगेनको एउटा गाउँ बाहिरको चउरमा जुन महिनाको टन्टलापुर घाम झेल्दै एउटा किशोर भेडा चराइरहेको थियो । निकै बेर बितेपछि ऊ ती भेडाहरूको बथानतिर हेर्दै सोच्न थाल्छ— म र यी भेडाबीचमा के फरक छ ? यिनले बह दु:ख अनुभव गर्छन्–गर्दैनन्, थाहा छैन । म त अनुभव गर्छु ।

अस्तित्ववादका प्रथम पुरुष

यो दु:खी जीवन बाँचेर के गर्नु ? आफ्नो दु:खपूर्ण जीवन सम्झेर ऊ एकाएक ईश्वरलाई त्यसका लागि जिम्मेवार ठान्दै, यस्तो दु:खी जीवन दिएकामा चिच्याईचिच्याई ईश्वरलाई गाली गर्न थाल्यो जथाभाबी । त्यसले ईश्वरलाई त के फरक पथ्र्यो, धेरै बेरपछि आफैं थाक्यो र साम्य भयो । साम्य मात्र भएन, तत्काल आफूलाई धिक्कार्न थाल्यो ।

त्यसबखत हुर्किने केटाकेटीहरू सबै एउटा ईश्वरीय अनुशासनको कडाइमा हुर्किन्थे । त्यसकारण त्यस्तो घटना अपराध मानिन्थ्यो, यद्यपि उसको त्यो विद्रोह सुन्ने त्यसबखत घाँस चरिरहेका भेडाबाहेक केही थिएन, तर पनि त्यो किशोर नवयुवक आफैंदेखि अतालियो । अब ईश्वरलाई गाली गरेकामा आफैंलाई गाली गर्न थाल्यो । यो ‘ईश्वर–निन्दा’ हो । मैले पाप गरेको हुँ । म ईश्वरको अपराधी हुँ आदि सोच्दै एक अपराधबोधले पीडित भयो । यो किशोरलाई आफ्नै काकाको ‘बँधुवा मजदुरी’ बाट एक्काईस वर्ष पुगेपछि विधिवत् रूपमा मुक्त गरियो । पछि ऊ एक सफल र सम्पन्न बेपारी भयो ।

तर, किशोरावस्थाको त्यो ‘अपराधबोध’ उसको जीवनबाट कहिल्यै गएन र ऊ त्यसको निवारणस्वरूप, धर्मको व्याख्यातासमेत बन्यो । पढाइ त उसको ‘सेल्फ स्टडी’ नै हो, तर तीक्ष्ण हुनाले र बोल्न सक्ने हुनाले, छरछिमेकका मानिसहरू उनका धार्मिक कुरा ध्यान दिएर सुन्दथे । तर, उनको आफ्नो जीवनबाट भने, त्यो कहिल्यै गएन र ओठमा हाँसो कहिल्यै आएन ।

त्यो व्यक्तिको नाउँ थियो माइकल पेडरसज, जसले आफू त दारिद्रयमा पनि राख्यो, तर आफ्ना सन्तानहरूले भने कहिल्यै अभावमा रहन दिएन । त्यसकारण उनका सन्तानहरूको समस्या आर्थिक नरहेर अन्य नै रह्यो ।

यिनै माइकल पेडरसनकी दोस्री पत्नी एनबाट सन् १८१३ मा सातौं र अन्तिम सन्तानका रूपमा, एक बालकको जन्म भयो, मे ५ का दिन । नाउँ राखियो, सोरेन अबे किर्केगार्ड । हामी उनको थर केवल किर्केगार्ड भनेर उच्चारण गर्दछौं । आजै तिनको जन्मदिन पनि परेछ जो दर्शन र साहित्य–जगत्का एक महान् हस्ती हुन् ।

मैले अघि नै भनेजस्तै, किर्केगार्डको दु:ख आर्थिक अभावको होइन, उनका सारा दु:ख, छटपटी, एकान्त सब आध्यात्मिक हुन् । यही दु:खबाट मुक्ति पाउन वा यसैलाई अभिव्यक्त गर्न उनले कृतिहरू लेखे । अद्भुत किसिमले लेखे । जम्मा ४२ वर्षको उमेर पाएका किर्केगार्डले लेख्ने उमेर १२ वर्ष चानचुन पाए । त्यतिमा उनले २१ वटा एक से एक चर्चित कृति जन्माए । अझ त्यसबाहेक अन्य उनले लेखेका विभिन्न लेखहरू ८ हजार पृष्ठमा छन् । ४२ वर्षको उमेरमा उनले चाहिनेभन्दा बढी मृत्यु देखे, आमाबाबु, दाइभाइ, दिदीबहिनी सबको अत्यमा सबैमध्ये दुई जना मात्र बाँकी रहे भनिन्छ ।

उनीमाथि आफ्ना पिताको सकारात्मक–नकारात्मक दुवै असर परेको देखिन्छ । सकारात्मक के भने, उनी पनि आध्यात्मिक लेखन र प्रवचनमा सिद्धहस्त भए । क्रिस्चियानिटी उनको पनि प्रमुख विषय भयो । नकारात्मक के भने बाबुको अत्यन्त कडा अनुशासनमा उनले बस्नुपर्‍यो । किर्केगार्डले आफूलाई ‘सुपर ओबिडियेन्स’ मा बाल्यकाल बितेको कुरा लेखेका छन् । त्यसकारण उनी एकान्तप्रिय र निराशावादी भए । पछि गएर ‘मेलेन्र्काेनी’ र ‘डिस्पेयर’ उनको चिन्तको मूल आधार बन्यो । उनको दर्शनमा ईश्वरी भूमिका मानव–जीवनमा अत्यन्तिक रूपमा रहेको कुरा आउँछ ।

हाम्रोजस्तो नभए पनि, उनको चिन्तनको ‘थेइस्ट’ चिन्तन भन्दछन् । ‘फियर एन्ड ट्रेम्बलिङ’, फियर अन टु डेथ’, ‘आइदर/अर’ जस्ता पुस्तकमा उनले आफ्नो दर्शनको विस्तृत विवेचना गरेका छन् । मानव–जीवनमा, भय, निराशा, ‘अपराधबोध’ र एक्लोपन अनिवार्य रूपमा रहन्छ । यी सब आध्यात्मिक उनको शब्दमा ‘स्प्रिच्युअल’ रोगहरू हुन् मानिसको आत्माका । तिनबाट मुक्त हुन सकिन्छ । त्यसलाई उनी ‘सेल्भेसन अफ सोल’ भन्दछन् अर्थात् ‘आत्माको मुक्ति’ । पूर्वीय दर्शनजस्तो देखिने यो चिन्तन, पूर्वीय दर्शनसँग केही मात्रामा मिल्छ पनि । किर्केगार्डले पनि ईश्वरीय अस्तित्व स्विकारेका छन् । उनी आफ्नो लेखनमा, बारम्बार ‘ईश्वरका सामु उभिने’ कुरा गर्दछन् ।

पछिका केही चिन्तकले यसमा प्रश्न उठाएका छन्, ईश्वरका सामु उभिनलाई, ईश्वर हुनु पनि त पर्‍यो ? सात्र्र, कामु दार्शनिकले ‘संसार ईश्वररहित छ, अस्तित्व अर्थहीन छ’ नै भनेर मानेका छन् । किर्केगार्ड भने, अस्तित्वको अर्थ, ईश्वरी सान्निध्यमा पाइन्छ भन्दछन् । दुवैथरीले कर्म नै मनुष्यको सार्थकता हो, जुन स्वयं मनुष्यले नै दिन सक्छ आफूलाई । तर दुईथरीको अन्तिम परिणाममा भने पृथकता छ । सात्र्र, कामु भन्छन्— मनुष्यजन्य अर्थबाहेक केही छैन । किर्केगार्डहरू भन्छन्— मनुष्यजन्य कर्मले, ईश्वरसितको सान्निध्य दिन्छ, त्यही हो ‘सेल्भेसन अफ द सिल’ वा आध्यात्मिक मुक्ति । ‘ट्रान्सेन्डेन्स’ भावातीतलाई पनि उनले मुक्तिको स्थिति मानेका छन् । ‘जिल्ट, ग्लुम, डिस्पेयर’ मनुष्यका ‘स्पिरिचुअल क्राइसिस’ हुन् । यी रहुन्जेल मनुष्यको आत्मा मुक्त हुँदैन । यीबाट मुक्ति सम्भव छ तर यो व्यक्तिको कर्म र धारणाले प्राप्त हुन्छ । यी कुरा मोटामोटी रूपमा किर्केगार्डका बाबु, माइकल पेडर्सन किर्केगार्ड पनि भन्दथे, तर यति व्यापक रूपमा होइन । पेडर्स, परम्परित चर्चका अनुयायी थिए । किर्केगार्ड त्यसका ठीक विपरीत । उनको महत्ता यसमा पनि स्थापित छवि उनी कट्टरताका घोर विरोधी थिए । अफिसियल चर्च वा ‘सिस्टम’ भन्थे उनी, जसमा त्यस बखतसम्म धेरै खराबीहरू आइसकेका थिए । किर्केगार्डले कोपेनहेगेनकै चर्च देखेर आलोचना गरेका थिए । कट्टर धार्मिकहरूले किर्केगार्डलाई त्यसैले सहेनन् ।

यी सबभन्दा माथि किर्केगार्ड जुन चिन्तनले प्रख्यात भए, त्यो उनको अस्तित्व–चिन्तन थियो । मनुष्य–अस्तित्वबारे सोरेनभन्दा अघि पनि चिन्तन गर्दै आए पनि उनी जति स्पष्ट, प्रखर र व्यापक रूपमा कसैले गरेको थिएन । ‘अस्तित्व’ आजको अर्थमा आफ्नो चिन्तनमा पहिलो पटक उतार्ने किर्केगार्ड नै मानिन्छन् । सात्र्र, हेडगेर, कामुजस्ता अस्तित्ववादीले पनि किर्केगार्डलाई अस्तित्ववादका प्रथम पुरुषका रूपमा स्वीकार गरे । यी सारा अस्तित्ववादी कसैले पनि आफूलाई ‘अस्तित्ववादी’ भनेर मानेनन् तर यिनको चिन्तन अस्तित्वमा आधारित हुनाले यिनलाई अस्तित्ववादी भनियो, जुन शब्द आज संसारभरि व्याप्त छ । हामीकहाँ पनि, माक्र्सवादपछि साहित्यमा सबभन्दा प्रभाव पार्ने चिन्तन, प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सबभन्दा प्रभाव पार्ने चिन्तन यही हुनुपर्छ । यही अस्तित्ववादलाई व्यक्तिको वर्चस्वताका साथ ईश्वरीय सत्ताकै समकक्ष राख्दै पहिलो पटक आफ्नो अस्तित्ववादको स्थापना गरेका थिए । व्यक्ति–अस्तित्वलाई उनी यति महत्त्व दिन्थे कि भन्थे मेरा लागि व्यक्तिकै सत्य छ भने पनि, त्यो मान्य हुनुपर्छ, त्यसका सामु हजारौंको मत पनि मान्न सकिँदैन, त्यो असत्य छ भने ।

किर्केगार्डको चिन्तनमा केही कुरा अत्यन्त महत्त्वपूर्ण छन्, अस्तित्व र ईश्वर, निराशा र एक्लोपन । साँच्चि भन्ने हो उनको अस्तित्ववाद यिनै चार कुरामा आधारित छ । पाँचौं मुक्ति हो तर त्यसलाई अस्तित्व वा व्यक्तिको (जसलाई उनले एक्जिस्टेन्ट भनेका छन्) कर्मको परिणामका रूपमा हेर्नु उपयुक्त होला भन्ने लाग्दछ ।

यस्तो दर्शनका जनक बन्न किर्केगार्डलाई केले उत्प्रेरित गर्‍यो होला ? यो धेरैले प्रश्नात्मक भएर सोचेका छन् । उनको वातावरण मनोविज्ञान कि उनको जीवनका केही घटनाहरू ? यसमाथि पनि केही चर्चा गर्नु सर्वथा उपयुक्त देखिन्छ ।

पितासँग उनको सम्बन्ध ‘प्रेम–घृणा’ भन्दा पनि ‘प्रेम–भय’ को रह्यो । भयले वितृष्णा जन्मायो त्यो पनि छ । माइकलले एउटा ‘कन्फेसन’ गरेका थिए जसमा उनको यौनिक कार्यको पनि उल्लेख थियो । भनिन्छ, त्यसपछि किर्केगार्डलाई केही वितृष्णा, उनी आफ्ना पिताका लागि बरु प्रार्थना गर्न थाले । धार्मिक पिताले दुई बिहे गरेका थिए । पहिली पत्नीको मृत्युको वर्ष दिनमै । यी दोस्री पत्नी, पहिली पत्नीकै नोकर्नी थिइन् । यस्तो लाग्दछ, माइकल पेडर्सनको, यी नोकर्नीसँग पहिलेदेखि नै सम्बन्ध थियो । एन भन्ने यी पत्नीले माइकल पेडर्सन किर्केगार्डसँग बिहे गरेको साढे चार महिनामै प्रथम सन्तान, किर्केगार्डकी दिदीलाई जन्म दिएको देखिन्छ । पिताको ‘कन्फेसन’ मा यो तथ्य पनि हुँदो हो जुन किर्केगार्डले पनि सुने ।

किर्केगार्डलाई ‘हन्यब्याक’ अर्थात् कुबडे भनेर जिस्क्याउँथे मात्र होइन, ‘द कोर्णायर’ भन्ने कोपेनहेगेनको एक पत्रिका उसको खोइरो खन्थ्यो । सिन्के खुट्टा, कुबडे मानिस आकाशमा तारा हेरिरहेको रूपमा कहिले चित्रित गथ्र्यो, कहिले एउटा ठूलो टोप लगाएको अनौठो रूपमा चित्रित गर्दथ्यो । उनका विरोधमा लेखहरू त कति लेखियो कति ? उनले आफ्नो समयको त्यस्तो प्रवृत्तिलाई जे लेखे त्यो आजका हामीलाई समेत काम लाग्ने हुन सक्छ :

एक मिथ्या विद्वताभाषी चल्तीको ‘फ्रेज’ ती टिप्छन्, जुन तिनले अखबार र किताबहरूबाट उद्धृत गरेका हुन्छन्, जुन तिनको प्रत्यक्ष ज्ञान र आन्तरिक अनुभवबाट आएको हुँदैन । बाँच्नु भनेको ज्ञान र कर्मभन्दा जानकारी बटुल्नु भयो । जानकारी बटुल्नु, नबुझेरै रहनु अनि एक निर्णय गर्छन् जुन ‘इन्डिभिजुअल प्यासन्ड अर कन्भिक्सन’ अनुरूप हुँदैनन् ।

डिजिटल इन्टेलिजेन्सी र ज्ञानको अन्तर बेलाबेला मेटिँदै गएको आजको समयमा, किर्केगार्डको यो गुनासो अत्यन्त अर्थपूर्ण छ । उनी भन्छन्— यसले के हुन्छ भने सारा संवादहरू ‘थ्रु द सेट रेस्पोन्सेज एन्ड अटोमेटिक रियाक्सन’ का रूपमा चलिरहेका हुन्छन् । उनी अझ व्यक्त गर्दछन्, ‘पिपुल न्यू, ह्वाट दे वेयर सपोन्ड टु से बट दे नो लङ्गर एटेच एनी रियल सिग्निफिकेन्स टु द वर्डस दे युज्ड ।’ एक साहित्यिक पत्रिकाको ‘द प्रेजेन्ट डे’ शीर्षकमा लेखिएको उनको यो लेख, प्रत्येक युगको वास्तविक र अलग प्रतिभालाई ‘मिथ्याकार’ अर्थात् ‘सुडो एकेडेमिक’ ठूला साहित्यकार र विद्वान् भनाउँदाहरूले दु:ख दिने प्रवृत्तिका विरुद्ध थियो । हुन त किर्केगार्ड, ‘प्रेस स्वतन्त्रता’ का पक्षपाती थिए । उनले आफ्नो अन्तिम समयतिर एउटा पत्रिका ‘द इन्स्टान्ट’ पनि निकालेका थिए, जुन ९ अंक निस्केर उनको मृत्युपछि बन्द भयो । उनैले यति दु:ख पाए । यो दु:ख, उनी स्कुल–समयदेखि पाउँदै आइरहेका थिए । सुरुमा प्राय: उनको शारीरिक अशक्ततालाई लिएर व्यंग्य गर्थे, पछि ‘अफिसियल क्रिस्चियानिटी’ को विरुद्ध उनले लेखेका रचना र कृतिहरूलाई लिएर गरियो ।

यी सब भए पनि किर्केगार्डमा व्यंग्य गरेर अर्कालाई नुहाइदिने सामथ्र्य थियो । यसले गर्दा उनका साथीहरू उनलाई हत्तपत्त जिस्क्याउन डराउँथे पनि । तैपनि उनी आफ्नो जीवनमा घोर आलोचनाका सिकार भए । उनी एकान्तप्रिय एक्लोपनका व्याख्याता बन्नमा उनको यो स्थितिको पनि हात छ भन्छन् । मृत्युपछि भने, उनको कदर हुन थाल्यो । तिनै खोइरो खन्ने ‘द कोर्सापर’ का सम्पादकले किर्केगार्डलाई ‘महान्’ भने ।

उनको लेखनमा व्यंग्य पनि तीव्रतम पाइन्छ । यही मन पर्ने हुनाले उनले आफ्नो एमए र पीएचडीको थेसिसको विषय ‘अन कन्सेप्ट अफ आइरोनी’ राखेका थिए । त्यसमा उनले सन्दर्भ सोक्रेट्सको दिएका थिए । पढ्नमा सुरुदेखि नै उनी तेज थिए । स्कुल–कलेजमा कला, अध्यात्मसम्बन्धी मात्र होइन, गणितहरूमा पनि ‘डिस्टिङ्सन’ ल्याउँथे । त्यसैगरी आफ्नो जीवनमा खर्चालु नै थिए । सुटेडबुटेड भएर हिँड्दथे, महँगो रेस्टुराँमा खान्थे, ओपेरा र नाटकहरू हेर्थे । उनले यस्ता सोखहरू सबै पूरा गरे, पिताकै समयदेखि पिताले नै बेहोर्ने गरी पनि एक सोखिन जीवन बिताए ।

यस्तो सजिसजाउ भएर कतै जाँदा, उनले एउटी १५ वर्षकी केटी भेटे, जसको नाउँ थियो, रेजिन ओल्सन । आकर्षित भए । भेट्न थाले । केही समयपछि यिनीहरूको ‘इन्गेजमेन्ट’ भयो, किनभने ‘रोजेना’ (किर्केगार्ड यही सम्बोधन गर्थे) पनि उनलाई प्रेम गर्थिन् । तर त्यो ‘इन्गेजमेन्ट’ विवाहमा परिणत हुन सकेन । एक दिन किर्केगार्डलाई लाग्यो, म यिनलाई सुख दिन सक्दिनँ । मेरो बाटो चिन्तनको हो, यिनको फरक छ । वर्ष दिनमै उनले सम्बन्ध तोडे । रोजेनाले धेरै सम्झाइन्, धेरै कोसिस गरिन् सम्बन्ध बचाउने । तर किर्केगार्डले मानेनन् । ‘रोजेना’ ले पछिसम्म सोरेनलाई माया गरिन्, निकै पछि भने उनले अर्को बिहे गरिन् ।

उनले रोजेनालाई छाड्न त छाडे तर त्यसले उनको एक्लोपनको बोधमा झन् वृद्धि गरियो । हुन त्यो निराशाले पनि उनीबाट केही लेखायो नै, तर जीवनका दृष्टिले त त्यो उनको एक असफलता नै थियो । उनले फेरि विवाह भने गरेनन् ।

एक दिन एउटा अनूदित फ्रेन्च नाटक हेर्न गए, ‘फस्र्ट लभ’ । नाटक त प्रेमकै थियो, तर हास्यले भरिएको । त्यो नाटकको विशद व्याख्या गरिएको छ ‘आइदर/अर’ मा । त्यसको हास्य–चेतको । भरिएको छ (डन क्विक्जोटबारे, उहिल्यैका राजा फिलिप–३ को भनाइ उद्धृत गर्दै) कुनै मानिस लगातार अट्टहास गरिरहेको छ भने भन्ठान्नू कि त्यो पागल हो, कि त्यो ‘फस्र्ट लभ’ हेर्दै छ वा हेरेर आएको छ ।

किर्केगार्डमा साहित्य–कलाको विशद ज्ञान र चाल थियो तर उनले यी सबलाई जीवनको विरोधासमा उनेका छन् । विरोधाभासका त उनी व्याख्याता नै भए । उनकै जीवन पनि विरोधाभासैविरोधाभासले भरिएको थियो । उनी भन्छन्— मृत्यु पनि एउटा विरोधाभास हो । तिमीलाई सोधिंदैन, तिमी कहिले जन्मिन्छौ, तिमीलाई सोधिंदैन, तिमी कहिले जान्छौ आदि विरोधाभास नै त हुन् । विरोधाभासमा कम्फ्युज, भ्रम आदि हुन्छ । एक पसलमा लेखिएको हुन्छ : ‘प्रेस इज डन हेयर ।’ तिमी लुगामा इस्त्री गराउन भनेर जान्छौ, तिमीलाई थाहा हुन्छ, होइन त्यो त इस्त्री बेच्नलाई भनेको रहेछ । हाम्रै किसिमले पनि हेरौं, ‘चमेलीको पसल’ लेखिएको पसलमा तपाईं एउटा माला किन्न भनेर जानुहुन्छ । तर, त्यो त चमेली भन्ने केटीको पसल भएर लेखिएको रहेछ, आदि । निराशा दुई किसिमका हुन्छन्, आदर्शसहित वा रहित । किर्केगार्ड भन्छन्— तर दुवै निराशा, आखिर निराशै हुन् ।

‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ’
समको यो प्रख्यात कविताको व्याख्या परीक्षामा गर्न पर्दा मैले लेखेको थिएँ, आखिर मर्न त दुवै मर्छन् । अहिले सोच्दछु समजीले पनि किर्केगार्डको यो भनाइ पढेका थिए कि ? त्यसैगरी किर्केगार्डको ‘सेल्भेसन अफ सोल’ पढेपछि देवकोटाले पनि किर्केगार्ड पढेका थिए जस्तो लागेको थियो, जब देवकोटाले लेखे :

अन्तस्करणको स्वतन्त्रता यो,
तर छ अहा अनमोल

पछिका वर्षमा त नेपाली लेखहरूले किर्केगार्ड धेरै पढे, यो मलाई थाहा छ । आजको समयमा पनि किर्केगार्डको महत्त्व झन्झन् बढ्दो छ । पूर्वेली केही लेखकले पनि पूर्वको प्राचीन चिन्तन र किर्केगार्डमा समानता खोज्ने प्रवास गरेको देखिन्छ । भनिन्छ किर्केगार्ड र रामानुजको विशिष्टाद्वैत र किर्केगार्डको आस्तिक–चिन्तनमा समानता छ । रामानुज पनि किर्केगार्डजस्तै फाइनाइट र इनफाइनाइटविथ भेद मान्दछन् । शंकरभन्दा फरक, उनको दर्शनमा जीव र ब्रह्मको अर्थात् ससीम र असीमको द्वैधता स्वीकार गरिएको छ । किर्केगार्ड त्यसैलाई फाइनाइट अर्थात् ससीम र इनफाइनाइट अर्थात् असीमको भेद मान्दछन् । रामानुज र किर्केगार्ड दुवै एकाकार भए पनि भेद हुनुलाई मान्यता दिन्छन् । किर्केगार्डको यो चिन्तनले उनलाई व्यक्तिको स्वतन्त्रताको समेत वकालत गरेको मानिन्छ । संसारमा व्यक्ति–स्वतन्त्रताको पक्षमा सबल चिन्तन दिने विचारकका रूपमा उनलाई लिइन्छ । यहाँ रामानुज केही फरक छन् । उनी जीवको स्वतन्त्र सत्ता यस मानेमा मान्दछन् कि जीव ब्रह्मसित जति एकाकार भए पनि ब्रह्माको सिर्जनशीलता प्राप्त गर्न सक्दैन आदि ।

अर्कातिर, किर्केगार्डको एक प्रसिद्ध पुस्तक ‘सिकनेस अन टु डेथ’ को नयाँ संस्करण छाप्ने ‘पेन्गुइन बुक्स’ ले किर्केगार्डको परिचय दिँदा लेखेको छ— ‘आज, किर्केगार्ड संसारको पोस्ट मोडर्न र त्यसबाहेकका दुवैथरी लेखक र चिन्तक–दार्शनिकहरूलाई राम्ररी आफूतर्फ आकर्षित गर्दै छन् ।’

यस्तो छ, किर्केगार्डको चिन्तनको विस्तृति ।

२ अक्टोबर, १९५५ को एक बिहान उनी घरबाहिर निस्कँदै थिए, कतै जानलाई । सन्चो थिएन केही दिनदेखि किर्केगार्डलाई । त्यस दिन घरबाहिर निस्कनासाथ उनी छातीको संक्रमणले गर्दा ढले । उनकै इच्छाको अस्पतालमा लगियो । त्यहीं लगभग डेढ महिनाको उपचारपछि ११ नोभेम्बर १८५५ मा राति ९ बजे सोरेन अबे किर्केगार्ड यस संसारबाट बिदा भए । उनी जीवनमा एक्लो ठान्दथे आफूलाई, जाँदा साँच्चिकै उनले धेरै आफन्तको साथ पाएनन् ।

किर्केगार्ड आफ्ना घोर आलोचक–निन्दकहरूबारे भन्दथे— यी अहिले मेरो तिरस्कार गरिरहेका छन्, हेर्नु म मरेपछि यिनैले मलाई आदर गरेर मान्नेछन् । किर्केलाई यो त थाहा थियो, भोलि उनीलाई मान्नेछन् । के कुराचाहिँ थाहा थिएन भने भोलि अर्थात् आज सोरेन किर्केगार्डलाई दुनियाँमा दुनियाँले अस्तित्ववादका प्रथम पुरुषका रूपमा मान्नेछन् । अस्तित्ववादका थालनीकर्ता लेखक–चिन्तक भनेर चिन्नेछन् ।

प्रकाशित : वैशाख २२, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?