कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

ज्यान स्याल्टरका मुहारहरू

श्रद्धाञ्जली
नेपालप्रेमी बेलायती चित्रकार ज्यान स्याल्टरका एक–एक मुहारचित्रले हामीलाई आफ्नो विविधता नियाल्न प्रेरित गरिरहेको हुन्छ ।
‘२०७२ को नयाँ संविधानसमेत आइसक्यो तर त्यो सामुदायिक विविधता दुई दशकअघिको भन्दा कमजोर भएको छ’
कनकमणि दीक्षित

काठमाडौँ — जातजातिको विविधताको देश नेपाल भन्ने त सबैलाई थाहै थियो । आधुनिक युगमा मानवशास्त्रीहरूले यसको चर्चा पनि गर्न थाले । तर विविधताको बुझाइ र वास्तविकतालाई कलाद्वारा प्रस्तुत गरिन्, ज्यान स्याल्टरले ।

ज्यान स्याल्टरका मुहारहरू

पहिलो पटक सन् १९६८ मा नेपाल आएकी ज्यानले १९७५ पश्चात् उपत्यकालाई नै आफ्नो घर बनाइन्, नेपाल चिन्ने र चिनाउने काम गरिन् । अन्य धेरै पश्चिमा जस्तै ‘नागरिकता नभएको नागरिक’ भइन्, बोरिस् लिस्सानोभिच्, लुड्विग स्टिलर, एलिजाबेथ हली र गट्ज् हागमुलरजस्तै ।

ज्यानले नेपाली अनुहारहरूलाई सिसाकलम स्केचमा उतार्न थालिन्, पहिलो अनुहार थियो स्थानीय बालक प्रेमलाल महर्जनको, जसलाई उनले धर्मपुत्रसमेत बनाइन् । त्यसपछि मुहारचित्रको सिलसिला सुरु भयो । सबै समुदायको गरिछाड्छु भन्ने हेतुले काम सुरु गरेकी होइनन् तापनि हिमाल, पहाड र तराईका जातजातिका ३०० नागरिकको स्केच तयार हुनपुग्यो । फोटोग्राफीमा नेपालको ‘डेमोग्राफिक विविधता’ नेपाली र विदेशीद्वारा कैद नगरिएका होइनन् तर पेन्सिल स्केचमा व्यक्तिको स्वभाव र मौलिकता अझै झल्किएको पाइयो ।

२०४६ को जनआन्दोलन तथा २०४७ को लोकतान्त्रिक संविधानले दिएको स्वतन्त्रता मार्फत विविध समुदाय आ–आफ्नो पहिचानको अभियान र संघर्षमा लागिपरे । संजोगले ज्यानको कलाले त्यो विविधता दर्साउँदै, झल्काउँदै यो अभियानलाई टेवा दियो ।

ज्यान भन्थिन्, ‘पोट्रेचरमा आत्मीयता हुनुका कारण कलाकार र ‘लाइभ सब्जेक्ट’ बीच एक खालको सम्बन्ध बस्न जान्छ ।’ महिला भएकाले महिला पात्रको पोट्ेरट उतार्नु उनलाई सजिलो भयो रे, किनकि पुरुष कलाकारले महिलालाई घण्टौं नियाल्दै तस्बिर कोर्नु सहज हुने भएन । उनी भन्थिन्, ‘सबैभन्दा लजालु थारू समुदायका हुन्थे, पहाड, हिमालका समुदायमा त्यति हिच्किचाहट हुँदैनथ्यो ।’

उनको ध्येय हुन्थ्यो सकेसम्म परम्परागत वेशभूषाअन्तर्गतको अनुहार उतार्ने तर यदाकदा उनका पात्रहरूको विचार अर्कै हुन्थ्यो । एक जना रानाथारू महिला आधुनिक पोसाकमै पोज गर्छु भनेर ढिपी कसिन् । ज्यानले पेन्टिङ गर्न बसिदिनुस् मात्र के भनेकी थिइन्, थाकखोला मार्फाका एक बूढाले हजाम बोलाएर आफ्नो लामो केश, दाह्री, आँखीभौं सबै खौरिएर सत्यानास पारे !

सुरुका दिनमा एउटा नेवार वृद्धाको स्केच गरेको सम्झिन्थिन् ज्यान, ‘अति मीठो मुस्कान र सौम्य मुहारले अनन्त मौन पीडालाई लुकाएको हुँदो रहेछ ।’


ज्यान सल्टरले सन् १९९० को सुरुआतताका तैलचित्रमा नेपाली अनुहारहरू उतार्न थालिन् । ज्यानका चित्रका प्रशंसक र उनका मित्र डा. हर्क गुरुङको शब्दमा ‘फेसेस् अफ् नेपाल’ (नेपालका मुहारहरू) पुस्तक तयार भयो । डा. गुरुङको ताप्लेजुङको घुन्सा हेलिकप्टर दुर्घटना (७ असोज, २०६३) मा मृत्यु भयो, ज्यानको १५ वैशाख, २०७५ मा इंग्ल्यान्डमा ।

ज्यानले ‘फेसेस् अफ् नेपाल’ मा लेखेकी छन् : ‘यी अनुहारहरूले नेपालको परम्परागत सुझबुझ र ज्ञान झल्काउँछ, साथै प्रकृतिप्रतिको झुकाव र संस्कृतिको गर्वले दिने आत्मबल ।’ कुनाकाप्चामा नेपाली मुहारहरू कोर्दै जाँदा ज्यानलाई थाहा थियो, आधुनिकीकरण र ‘विकास’ को वेगको कारण सांस्कृतिक विविधता ‘डाइलुट’ हुँदै छ । पहिचानको आन्दोलन भयो, २०७२ को नयाँ संविधानसमेत आइसक्यो तर त्यो सामुदायिक विविधता दुई दशकअघिको भन्दा कमजोर भएको छ ।

समाज बदलावको गति बढ्दै जाँदा ज्यानलाई ‘अलि बढी सामाजिक सन्देश’ दिने खालको मुहारचित्र कोर्न मन लाग्यो र तीन–तीन वर्ष लगाएर माइती नेपाल संस्थामा उद्धार गरिएका महिलाको चित्र प्रस्तुत गरिन् । उता काठमाडौं सहरका ‘सामुदायिक कुुकुर’ (बेवारिस भुस्याहा) लाई अमानवीय आम व्यवहारबाट बचाउने अभियान थालिन् १५ वर्षअगाडि, जो जारी छ ।

अन्तत: पार्किन्सन्स् रोगले च्याप्दै लगेपछि ज्यान हातको कुची त्याग्न बाध्य भइन् । ज्यान सल्टरका एक–एक चित्र जब हेर्छौं, ती पात्रबाट उनी हामीलाई नै नियालिरहेकी हुन्छिन् । सोधिरहेकी हुन्छिन्, ‘कसरी बचाउँछौ त तिमी तिम्रो विविधता ?’

स्नेही स्याल्टर सम्झँदा

ज्यानेट (ज्यान) सोनिया स्याल्टरको जन्म साउथ्याम्प्टन, इंग्ल्यान्डमा सन् १९३६ मा भएको थियो । युवा उमेरमा उनले अफ्रिका, अस्ट्रेलिया र पूर्वी एसियाको भ्रमण गरिन् । उनले बटुलेका धेरै रोचक र उल्लेखनीय अनुभवमध्ये प्रख्यात इन्डोनेसियाली चित्रकार अफान्दीसँग उनको भेट भएको थियो, जसले उनको कलामा प्रगाढ रचनात्मक प्रभाव पारेको थियो । सन् ७० दशकको मध्यबाट उनले नेपालमा बसोबास गर्न सुरु गरिन् । नेपालका विभिन्न भूभागको भ्रमण गर्ने क्रममा भेटिएका ‘असाधारण मानिस’ का अनुहारको सिसाकलमले कागतमा चित्र कोर्थिन् । ज्यानका कलाकृति नेपालमा सदियौंदेखि चलिआएको परम्परागत वेशभूषा र आभूषणको समकालिक अभिलेख हो ।

ज्यान भन्छिन्, ‘मैले चित्रमा उतारेका मानिसहरूले प्राकृतिक संसारसम्बन्धी उनीहरूको ज्ञान र बुझाइको हिसाबले आफ्नै सांस्कृतिक विशिष्टता र समृद्धि हिसाबले अझ धेरै कुराहरू प्रदान गर्न सक्छन् ।’ पछि उनले तैल रङ्गमा चित्रहरू निर्माण गर्न थालिन् जसले उनलाई विभिन्न ‘शैलीसम्बन्धी प्रचुर ज्ञान र आफूलाई व्यक्त’ गर्ने अपार अवसर प्रदान गर्‍यो । ज्यानले आफ्नो जीवनभरि २५० भन्दा बढी सिसाकलमले कोरिएका रेखाचित्र र तैलचित्र तयार पारिन् जसमा अधिकांश चित्रले नेपालका विविध जनजातीय समूहको अभिलेख गर्छन् । यीमध्ये धेरै चित्र ‘नेपालका अनुहारहरू’ (फेसेज अफ नेपाल) पुस्तकमा प्रकाशित भएका छन् । यो पुस्तकमा जनसंख्याविद् डा. हर्क गुरुङको सहलेखन छ ।

ज्यानमा आफू नजिकका मानिसप्रति अपार स्नेह र दया थियो । उनले नेपाली जीवनको अर्को अत्यन्त कहालीलाग्दो पक्षको चित्रण गर्दा अपूर्व संयम र सहानुभूति प्रदर्शन गरिन् । विदेशमा बेचिएका ५० भन्दा बढी नेपाली युवतीहरू, जसलाई माइती नेपालले उद्धार गरेको थियो, तिनलाई उनले अति भावपूर्ण शैलीमा चित्रण गरी ती पेन्टिङहरू ‘अल आवर डटर्स’ (सबै हाम्रा छोरीहरू) शृङ्खलामा संगृहीत गरेकी छन् । यस शृङ्खलाका ४५ थान कृतिहरू माइती नेपालसँग सुरक्षित छन् ।

पछिल्ला वर्षहरूमा ज्यानले आफ्नो अलग सोखमा भुस्याहा कुकुरहरूप्रति मानवीय व्यवहार जताउन थालिन् । सन् २००४ मा उनले काठमाडौं पशु आश्रम (काठमाडौं एनिमल ट्रिटमेन्ट सेन्टर) को स्थापना गरिन् जसले सहरमा उल्लेखनीय परिवर्तन ल्याउन सकेको छ । भुस्याहा कुकुरको संख्या नियन्त्रण गर्न, संख्या नियन्त्रण गर्ने विधिको रूपमा विष खुवाइदिने उपायलाई निर्मूल पार्न, कुकुर र मानिसहरूमा रेबिजको संख्या न्यूनीकरण गर्न र भुस्याहा कुकुरप्रति जनमानसमा रहेको नकारात्मक मनोवृत्ति हटाउन अहम् भूमिका निर्वाह गरेकी छन् ।

ज्यान स्याल्टरले नेपाली जातिको कलात्मक चित्रण गरेबापत सन् १९९७ मा राजा वीरेन्द्रबाट गोरखा दक्षिण बाहु पदक प्राप्त गरेकी थिइन् । पशु हितको लागि अग्रणी भूमिका निर्वाह गरेबापत सन् २०१० मा ह्युमेन सोसाइटी इन्टरनेसनलबाट प्रसिद्ध ‘असाधारण प्रतिबद्धता र उपलब्धि पुरस्कार’ प्राप्त गरेकी थिइन् । नेपालमा पशु हितका लागि गरेको सेवाबापत उनी नयाँ वर्षको सम्मान सूची–२०१३ मा सूचीकृत भएकी थिइन् । उनले बेलायती महारानी एलिजाबेथबाट एमबीई सम्मान प्राप्त गरेकी थिइन् ।

ज्यानका आफ्नै शब्दहरूले उनका कलाकृतिको सबैभन्दा उपयुक्त सार प्रस्तुत गर्छ, ‘यदि मेरा कृति नेपाली अनुहारहरूले प्रतिनिधित्व गर्ने समृद्ध र विविध संस्कृतिका लागि बृहत्तर मान्यता र सम्मान प्रदान गर्नमा कुनै प्रकारले योगदान गर्न सक्यो भने म गर्व गर्नेछु । मैले नेपाल र यहाँका मानिसबाट जति माया र सहयोग प्राप्त गरेँ, त्यसको तुलनामा यो एउटा तुच्छ उपहार मात्रै हो ।’

—इजावेला खड्का

प्रकाशित : वैशाख २२, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?