कृषिमा अमेरिकी सपना

इतिहास
‘मानौं, नेपाली किसानहरूले आफ्नो वरिपरि रहेका सबैभन्दा उत्कृष्ट, स्वस्थ र राम्रा बोका, राँगा वा गोरुबाट नश्ल सुधार्ने काम गरिरहेकै थिएनन्’ भनेजस्तो गरेर अमेरिकी सहयोग नियोगले भ्रमपूर्ण इतिहास बनाएको छ ।
दीपक अर्याल

काठमाडौँ — समृद्धि, उन्नति, प्रगति, विकासजस्ता थेगोहरू नयाँ होइनन् । यी कुनै खास समय, नेतृत्च वा राजनीति विचारधारासँग मात्र सम्बन्धित पनि छैनन् । राणा शासन, पञ्चायत वा प्रजातन्त्र सबैका निम्ति यो थेगो प्यारो नै थियो ।

तथापि नेपालका कुनै पनि घटनाक्रम, विकास संकथन, कृषि, प्रविधि, शिक्षा वा स्वास्थ्यका कुरा गर्दा २००७ सालअगाडि र पछाडिको तुलना गरिन्छ । अर्थात् हाम्रा तुलनाका आधार २००७ साल बन्यो र यो नै ‘आधुनिक वा पुरातन, खुला वा बन्द अथवा विकसित वा अविकसित’ को मान्यता र बुझाइको साक्षी बनिरह्यो । धेरैको ‘बुझाइ र व्याख्या’ २००७ सालपछि नेपाल सबै हिसाबले खुला भयो । विदेशीहरू आउन थाले, विदेशी सहयोग आउन थाल्यो, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन वा प्रविधिजस्ता अनेकौं विषयवस्तुहरू ०७ सालपछि जोडिए भन्ने छ, तर प्रकाशित केही सामग्री हेर्दा भने त्यो ‘व्याख्या’ले मात्र काम गर्दैन । कृषि क्षेत्रलाई मात्र आधार मानेर पुराना पत्रपत्रिका तथा पुस्तकहरू पल्टाउने हो
भने असिना–पानी, बाढी–पहिरो, खडेरी, खेती–पाती, बजारभाउका कुरा मात्र होइनन्, कृषि क्षेत्रमा अन्य मुलुकमा देखिएका नयाँ प्रविधि, प्रयोग, अनुसन्धान र विकासका कुरा गोरखापत्रले विसं १९५८ सालदेखि निरन्तर छापिरहेको थियो ।

आधुनिक खेतीका कुरा, विकास वा समृद्धि र आत्मनिर्भरता तथा आर्थिक उन्नतिका कुरा गर्दै कैयौं कृषि वा खेतीका पुस्तकहरू छापिने क्रम पनि २००७ सालपछि सुरु भएका होइनन् । कृषि शिक्षावली (१९७७), केसरको खेती (१९८७), फल विज्ञान (१९९४), व्यावसायिक खेतीबाट लाभ (१९९६), फलखेती (१९९९), सुन्तलाखेती (१९९९), सागखेती (१९९९) आदि केही उदाहरण मात्र हुन् । यो लेखले कृषिमा आधुनिकीकरण वा कृषिबाट उन्नति, प्रगति वा विकासका सपना नेपाली समाजले कसरी देख्यो भन्ने कुराको सांगोपांगो निक्र्योल गर्ने वा निष्कर्ष दिने चेष्टा गर्दैन तथापि केही संकेतहरू भने दिन्छ । खासगरी भारतमा ब्रिटिस राज चलिरहेका र नेपाली शासकहरू पनि ब्रिटिस सरकारसँग नजिक रहिरहेको सन्दर्भमा हाम्रा कृषिका प्रकाशन, समाचार वा कथाहरू ‘अमेरिकी कृषि क्रान्ति’ बाट किन र कसरी प्रभावित भइरहेका थिए भन्ने प्रश्न उब्जाउनेछ । नेपाल–अमेरिका सम्बन्ध औपचारिक रूपमा सन् १९४७ सालमा सुरु भएपछि कृषि, शिक्षा, स्वास्थ्य, प्रविधि आदि क्षेत्रमा अमेरिकी सहयोग सुरु भयो भनेर मान्ने हो भने कृषि क्षेत्रमा ‘नेपाल अमेरिकन प्रविधि’ बाट धेरै पहिले प्रभावित भइसकेको थियो अथवा कम्तीमा नेपालको सरकारी पत्रिकाले कृषि क्षेत्रमा
अमेरिकाले गरेको कामलाई आफ्नो आदर्श मानिरहेको थियो । यस अर्थमा अमेरिकन सहयोग, सहायता वा निर्भरताको आधार सन् १९४७ थिएन वा अमेरिकाको सहयोग/अनुदानपछि मात्र नेपालले शिक्षा, स्वास्थ्य वा कृषिमा ‘आधुनिकीकरण’ को सपना देखेको थिएन बरु अमेरिकी आर्थिक, प्राविधिक सहयोगको जग धेरै पहिले नै तयार भइसकेको थियो वा कुनै न कुनै रूपले नेपाली शासक वा पढे–लेखेको एउट तप्काले ‘विकास’ को अमेरिकी खाकालाई कुनै न कुनै रूपमा नेपाली समाजमा पस्किसकेको थियो ।

कृषिका समाचार : १९५८ वैशाखमा ‘पाल्पामा पानी नपरी मकै छर्न पाएनौं भनी दुनिया’ कराइरहेका थिए । वैशाख २० गते ‘बाग्लुंमा वर्शाद भै दुनियाले मकै छर्न लागेका’ थिए । भादगाउँमा जेष्ठ ‘४ गतेका ३ घडि दिन लपसि जस्तो असिना परि गहुवालि, व्यू समेत नोक्सान’ पारिरहेको थियो भने धनकुटामा ‘ठूलो वर्षाद भै भिजायाको भोटे केराउ जत्रो असीना परिरहेको’ थियो र गोरखामा ओखर जत्रो ठूलो असिनाले बाख्रा मारेको थियो । सोही समयमा ‘रिडिमा वर्षाद नहुनाले छरेका मकै उंम्रन नसकेको र छर्नुपर्ने मकै छर्न नपाई तेसै रहेको’ थियो भने आषाढ सुदी ७ मा ‘वीरगञ्ज मा वखत २ मा पानी परे को हुना ले दुनिञा ले वराबर खेती गर्न लागे का’ थिए । १९५७ साल ‘आषाढ मैह्ना भरमा ११.९८ ईञ्च पानि परेको’ थियो भने ‘१९५८ साल आषाढ मैह्ना भर ११.२३ ईञ्च पानी परेको’ थियो । यी सबै समाचारहरू वैशाख–श्रावण १९५८ का हुन् । गोरखापत्रमा प्रकाशित यस्ता समाचारको अर्थ तत्कालीन समयमा के थियो र यसको प्रभाव कति थियो यसै भन्न सकिंदैन । तर, मौसम वा कृषिका समाचार गोरखापत्रका लगभग सबै अंकमा समावेश हुन्थे भन्न गाह्रो छैन । यसलाई मौसमको समाचार मान्ने नै हो भने पनि १९५८ मार्ग सुदी (भाग १, संख्या ३१) मा गोरखापत्र ‘अंगूर खेतीका निम्ति कलमी’ रोप्ने कुरा सिकाउँछ र कृषिको कुरा गर्छ । त्यसो त यस सिकाइलाई ‘आधुनिक’ भन्न मिल्दैन तर अंगुर आफैंमा ‘आधुनिक’ फलका रूपमा नेपालमा भित्रँदै थियो भन्न सकिन्छ । भनिएको छ, ‘कलमी यस्वेला छाटनाले अंगूरदाखको झूपपा न मुशाले खान्छ न अरू पक्षीहरूले खान्छन् । वा कृष्न पक्षको द्वादशी त्रयोदशी चतुर्दशी औंशी परेवामा सार्नू यस्मा सार्नाले विरूवा चाडै बढदछन् ।’



१९५९ जेष्ठ सुदी ४ मा आलुखेतीका विषयमा कुरा गर्दै गोरखापत्र भन्छ, ‘पहिले आलु कात्तिक मङ्सीरै मा एकैठाउ धेरै आलु रोपनु जसै आलुको वोटा १र२ बित्तामा हुन्छन्, ति सबै मुन्टा काटी आलु रोपन लायक्को जमीन वनाई जो गर्नुपर्ने मर्मत् पु‍र्याइ १०/८ अंगुल को फरक गरी यकोटा मून्टा गाडी दिनु १०, ८ दीन भर्खर सारेका आलू का कलमी मर्न नपाउने हिसाबले बचाउनु १०/८ दीनपछी तेस्कलमी मा जराहाली बराबर वढन लाग्दछन्...।’ यति मात्र होइन, १९७२ मा कृषि व्यापार कार्यालयको स्थापना भएर सेयर खरिदका लागि आह्वान गरिन्छ र कम्पनीले कृषि कर्मबाट नाफा गर्ने उद्देश्य राख्छ । अर्थात् मुद्रण संस्कृतिको प्रारम्भिक चरणदेखि नै नेपाली समाजमा कृषिसँग जोडिएका विषयमा समाचार बन्न थालेको देखिन्छ । अमेरिका प्रभाव : कृषिको समाचार बन्दै गर्दा उन्नति र विकासका लागि ‘सिक्नुपर्ने वा जान्नुपर्ने’ कुरा भने अन्यत्रैबाट देखा पर्छन् । १९७४ चैत १९ गतेको एउटा समाचारमा अमेरिका र कृषिसम्बन्धी प्रयोगशालाका विषयमा गोरखापत्र लेख्छ, ‘केहि समय पहिले अमेरिकाको नाम कोही जान्दा पनी जान्दैनथे । वहाँ कोरा जङ्गली–असभ्य–मानिस् वसेका थिये । परन्तु जैले देखि पश्चिमीय मानिस (यूरोपियनहरू) को त्यहाँ प्रवेश हुनलाग्यो उहिलेदेखि त्यस् भूमिखण्डको वहुतै उन्नति हुनलाग्यो ।’

‘अमेरिकनहरूले थोरै समयमै प्रतिकूल अवस्थामा पनी वहुतै उन्नति गरेका हुनाले उनिहरूले प्रसंशा गर्नै पर्छ । यस् समय त्यस् देशको खेती दुनिञाका सब् देशका खेतीभन्दा बढे चढेको छ । त्यस् देशका कृषि यन्त्र ता सारा जगत्मा प्रसिद्ध छन् । विचार गर्नुपर्ने कुरो छ कि, अमेरिकना निवासीले अल्पसमयमै एक असभ्य–जङ्गली देशलाइ सभ्य र सुप्रसिद्ध बनाइ दिये ।’यसै समयमा मकैको खेती र मलखादलाई लिएर तयार भएको कृषि शिक्षावली (१९७७), आलु खेती, मेवा खेती, अंगुर खेती तथा भारतमा भइरहेका कृषि विषयका समाचारले निरन्तरता पाउँछन् । यसो गर्दा नेपाली सन्दर्भ, हावापानी, माटो वा मलखादको विषय पनि जोडिन्थ्यो । भारतको बम्बई प्रान्तमा इटालीबाट बीउ मगाई आलु रोपेको प्रसंग वा सुरत, पुना र महाबलेश्वरजस्ता ठाउँमा आलुको उपज राम्रो हुनुका कारण खुलाउँदै गर्दा नेपालमा यसको खेती किन गर्ने वा कसरी गर्दा उपयुक्त हुन्छ वा नेपाल र युरोपको खेती गर्ने तरिकामा के अन्तर छ भन्ने कुराको समाचार पनि बन्ने गथ्र्यो ।

‘युरोपको देशमा शरद्ऋतुमा जो वाहाका कमाइदार छन् ति जमीनमा हलो चलाउछन् खेतमा उम्रेको घासपातहरूलाइ उखेलि फेक छन् माटो बुरबुराउदो तुलाइ दिन्छन् फेरि तिनिहरू सर्दीका दिनमा गहिरो खनजोत गर्दछन् पहाडि देशमा नरंमाटो बाट जहा जमीन वसेको छ तहा वसन्त ऋतु लागे पछि ठाडो तेर्सो जोत्छन् पहेलो माटो रातोमाटोको जमीन यस्तै रीतले जोत्छन् मटिलो जमीन पनि सुकेपछि यहिरितले जोतेर ठीक गरि कमाउछन् ।’ मलमा पोटास मिसाउने, युरोपमा प्रयोग भइरहेका सल्फेट अमिनिया, सल्फेट पोटास, सुपर्फास्फेट आदिको प्रयोग गर्दै कृषि उब्जनी बढाउने र बाली–नालीको संरक्षण गर्ने कुरामा पनि गोरखापत्रको समाचार उत्तिकै सचेत छ । भलै गोरखापत्रको पहुँच कृषकसँग पुग्यो वा पुगेन त्यसमा शंका गर्न सकिन्छ तर सरकारी निकाय वा पढे–लेखेकाहरूले संसारलाई कसरी हेरिरहेका थिए र संसारबाट के सिकिरहेका थिए भन्ने कुराको अनुमान भने यस्ता समाचारहरूबाट गर्न सकिन्छ । त्यति मात्र होइन, परम्परागत रूपमा नेपाली कृषकहरूले गरिरहेको कामलाई पनि अमेरिकी उदाहरण दिंदै १९७९ को साउनको गोरखापत्र लेख्छ, ‘देशका खेतिको उन्नति बढाउन लाई र पशुहरूको अवस्था सुधारना लाई जुन प्रान्तमा असल जातका पशुहरू छन् ति पशुहरूको आफ्ना देशका पशुसंग मेल गराउनु पर्छ । यसो गर्नाले सजीलो हिसावसित असल जातका पशु निक्लने हुन्छन् । अमेरिका देशमा यस्तै हिसाबले असल जातका गाइ, भैसि, घोडा, कुकुर ईत्यादि पशुहरू उत्पन्न गराइरहेछन् रोजना ४० सेर अर्थात् १० पाथि दुध दिने गाइको संख्या वढाउदै ल्याइ रहेछन् ।’

मानौं, नेपाली किसानहरूले आफ्नो वरिपरि रहेका सबैभन्दा उत्कृष्ट, स्वस्थ र राम्रा बोका, राँगा वा गोरुबाट नश्ल सुधार्ने काम गरिरहेकै थिएनन् । वा मानौं यो बिल्कुल नयाँ तरिका हो र अमेरिकामा पहिलो पटक अपनाइएको विधि हो । सायद नेपालभित्रका रैथाने नश्लका जनावर मासिने र नेपाल बाहिरका नश्ल नेपाल भित्र्याउने कुराको प्रारम्भिक खाका यसै समयमा सुरु भएको थियो । त्यसैले नेपाल–अमेरिका सहयोगी कृषि नियोगले नेपाल–अमेरिका सहयोगका ६ वर्ष (२००८–२०१४) मा गरेका काम वा तालिमभन्दा निकै वर्षअगाडिका कुरा थिए । पछिल्लो समयमा स्थापना भएको कृषि नियोगको काम ‘प्राविधिक सल्लाह दिने, प्रजनन गराउने उन्नत पशु, खोप्ने ओखती तथा अरू–अरू ओखती, पराल हुने अन्नका बीउ र अरू प्रकारका सेवा दिएर कृषकलाई सहायता गर्ने’ थियो । यसरी सुरु भएको सहयोगको कार्यक्रममा आइपर्ने अपजस र गालप्रति पनि नेपाल सरकार र स्वयं राजा महेन्द्र सचेत देखिन्छन्, ‘विदेशी सहायतालाइ हामीले आफ्ना प्रयासका सट्टा कदापि नठानी तिनका पूरकका रूपमा लिनुपर्दछ, यसो भएमा हामी आफ्नो विकाशको जग बसाउने काममा अपेक्षाकृत धेरै चाँडो अघि बढ्न सकौंला ।’

नेपाल र संयुक्त राज्य अमेरिकाको कार्यसञ्चालक समितिबीच २३ जनवरी १९५१ मा ‘प्राविधिक ज्ञान र शिल्प तथा सापेक्षिक उद्योगिताको आदान–प्रदानमा पारस्परिक सहयोग गर्ने’ गरी यो सम्झौता भएको थियो । यस सम्झौताअनुसार अमेरिकाले स्वास्थ्य केन्द्र, आरा–मिल, भारी उद्योगका केन्द्र, खनिज सर्वेक्षण, शाखा–शिक्षक प्रशिक्षण, शिक्षा, ग्राम विकास, सिँचाइ, प्रौढ शिक्षा, औद्योगिक विकास, सडक निर्माण तथा मलेरिया नियन्त्रणजस्ता परियोजनामा हात हाल्यो । सन् १९५२ देखि नै मलेरिया नियन्त्रणका लागि मलेरिया नियन्त्रण प्रयोगशालाको स्थापना भयो र औषधि छर्कने काम सुरु गरियो । तर, कृषिको विकासका लागि मलेरिया उन्मूलन गर्नुपर्छ भन्ने कुराको निक्र्योल भने कम्तीमा विसं १९८२ तिर नै गरिएको थियो । खासगरी चन्द्रशमशेरको समयमा स्थापित कृषि कार्यकारिणी समिति वा डिपार्टमेन्ट अफ एग्रिकल्चर कार्यालयले सिंहदरबारमा कृषि फार्म खोलेपछि कृषि कार्यको उन्नति, कृषि शिक्षाको साथै कृषि विषयमा हलो, हैरो, पम्प आदि औजारको प्रयोग गर्न सिकाउने, बीजहरूको संग्रह, आरोपण र फलोत्पादनद्वारा नेपाललाई परमरमणीय समृद्धिशाली देश बनाउनका लागि वैज्ञानिक कृषकहरू तयार गर्ने ‘स्वर्णिम सपना’ हरूको सुरुवात भइसकेको थियो ।

यस अर्थमा हाम्रा कृषि योजना र विकास तथा यसले ल्याउने ‘समृद्धि’ को नारा, कृषिमा भएको नीतिगत परिवर्तन वा हस्तक्षेप अमेरिका–नेपालको सम्बन्धपछि वा कुनै खास परियोजनापछि मात्र उब्जिएका थिएनन् । बरु ती २००७ सालअगाडिकै ‘विकास, समृद्धि, उन्नति वा प्रगति’ का विस्तारित रूप मात्र थिए जुन वर्तमान पुस्ता र राजनीतिक दल तथा नेतृत्वको पनि ‘सपना’ बनिरहेको छ । र, सोही राणा वा पञ्चायती शासन व्यवस्थाका ऐतिहासिक खाका र योजनाहरूका आधारमा ‘समृद्धि, प्रगति र उन्नति’ को मार्गमा हिँड्ने प्रयास गरिरहेका छौं ।

प्रकाशित : वैशाख २९, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्

नाम–वतन नखुलेको डोब

कविता
कान्तिपुर संवाददाता

काठमाडौँ — धुलाम्य बाटोमा एउटा हातमा डन्डीबियोअर्काेमा थाङ्नाको भकुन्डो बोकेर सधैँझैँ आइपुग्यो ऊ

हरेक दिन पार गर्दै आएको
त्यही धूलोमा टाँसिएका
अनगिन्ती जुत्ताका डोबहरुले
त्यस दिन भने झस्काए उसलाई

छुट्टाछुट्टै ब्रान्डका
छुट्टाछुट्टै जुत्ता लगाएर
छुट्टाछुट्टै मान्छेहरुले
धूलोमा छाडेर गएका
छुट्टाछुट्टै डोबहरुसँग
भयभीत भयो ऊ

एउटा डोब देखाउँदै सानेले भन्यो–
‘यो मदनको जुत्ताको डोब हुनुपर्छ
त्यसको बाबा भरखर विदेशबाट आएका छन्’

अर्को डोब देखाउँदै बुद्धिले भन्यो–
‘यो नीरजको जुत्ताको डोब हुनुपर्छ
एक वर्ष भयो त्यसले जुत्ता किनेको’

सबै खुलेनन्–
ती कस–कसका डोब थिए
यद्यपि प्रस्ट थिए–
डोब छोड्ने जुत्ताका खुट्टा कसका हुन् ?
नेता, शिक्षक, जागिरे
सम्पन्न, विपन्न
हुनेखाने, हुँदा खानेका ।

उसका खुट्टाले जुत्ता धारण गर्ने
ऐतिहासिक अवसर पाएकै थिएनन्
अनभिज्ञ थियो ऊ
जुत्ता र त्यसका डोबहरुसँग

त्रस्त हुँदाहुँदै पनि
लोभ्याए जुत्ताका डोबहरुले उसलाई

अब
किन्नु थियो जुत्ता
पहिरिनु थियो खुट्टामा
र त्यसै गरी छोड्नु थियो
दोबाटोको धूलोमा डोबहरु
ताकि अरुले पनि
त्यसै गरी नियालून्
उसका पनि जुत्ताका डोबहरु ।

बोकेर रहरको थुम्को एउटा
वायुवेगमा घर पुग्यो ऊ
संघार पार गर्दै गर्दा
ठोक्किए उसका कानमा
सत्य संवाद
रहरहरु आकाशमा चराजस्तै उडे र बिलाए

आमा भन्दै थिइन् बालाई
‘साँझ घर फर्कंदा एक पोका नुन लिएर आउनू’
उसले देख्यो
बा कमिजको खल्तीबाट
रित्तो हात निकाल्दै
आमाको अनुहार हेर्दै भन्दै थिए–
‘आज एक छाकलाई पुर्‍या न’

उसलाई थाहा भयो–
जुत्ता खुट्टाले धारण गर्ने चीज मात्र होइन
यो असम्भव सपना पनि हो

पाउनेछैन उसले
छोड्न दोबाटोमा डोबहरु
उसले त बनाउनु छ
अब आफ्नै पैतालाका डोबहरु
र, पुग्नु छ कतै

यात्रा त आखिर खुट्टैले गर्ने हो ।

-शान्तिप्रिय वन्दना

प्रकाशित : वैशाख २९, २०७५ ०९:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्