१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अद्भुत अन्नपूर्ण फोटोयात्रा

दीपक परियार

काठमाडौँ — मोटर, धूवाँधूलो, कोलाहल छोडेर केही दिन घुम्न निस्कने योजना बुनिरहेकाका लागि अन्नपूर्ण सेन्चुरी पदयात्रा उपयुक्त रोजाइ बन्न सक्छ ।

अद्भुत अन्नपूर्ण फोटोयात्रा

एबीसी पुग्ने तीन पदयात्रा मार्ग छन् । हेमजा फेदी, वीरेठाँटी र म्याग्दीको तातोपानी एबीसी प्रवेश गर्ने तीन नाका हुन् । फेदी र वीरेठाँटीबाट पदयात्रा गर्दा एक हप्तामा पूरा गर्न सकिन्छ । तातोपानीबाट भने १० दिन लाग्छ । फेदीबाट पर्यटकीय गाउँ धम्पुस, तोल्का हुँदै लान्द्रुकमा पहिलो दिन बास बस्न पुगिन्छ । लान्द्रुकबाट दोस्रो दिन न्युब्रिज, झिनु हुँदै छोम्रोङ पुग्न सकिन्छ । वीरेठाँटीबाट प्रवेश गरे घान्द्रुक, झिनु हुँदै छोम्रोङ पुग्नुपर्छ ।

छोम्रोङबाट मोदीलाई दायाँ पारेर सिनुवा, बम्बु, दोभान हुँदै तेस्रो दिन हिमालयमा बास बस्नुपर्छ । हिमालयबाट देउराली, माछापुच्छ्ेर बेस क्याम्प हुँदै चौंथो दिनमा ४ हजार १ सय ३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पुगिन्छ । आधार शिविर चारैतिर हिमालैहिमालले घेरिएर थपक्क बसेको छ । अन्नपूर्ण प्रथम, दोस्रो, अन्नपूर्ण साउथ, माछापुच्छ्ेर, हिमचुली, गन्धर्वचुलीलगायत हिमाल आँखै अघि ठोक्किन्छन् । पाँचौं दिन बिहान एबीसीबाट हिँडेपछि बम्बु वा दोभानमा बास बस्न आइपुगिन्छ । त्यहाँबाट कस्सिएर हिँडे छैटौं दिन झिनु आएर बास बस्दा राम्रो । सातौं दिन बिहान झिनुको तातोपानीमा डुबेर थकान मेट्न सकिन्छ । त्यहीं दिन घान्द्रुक हुँदै पोखरा फर्किनु उत्तम हुन्छ । एबीसीसम्म पुग्न सबै मौसम उपयुक्त हुन्छ । यद्यपि बर्खा र हिउँदमा बाटो केही अप्ठेरो हुन्छ । छोम्रोङसम्म सुविधासम्पन्न होटल एवं लज भए पनि त्यसउता भने जम्मा २६ वटा होटल छन् । पर्यटनको मौसममा जसोतसो व्यवस्थापन गर्नुपर्छ । नेपालीका लागि करिब १० हजार रुपैयाँले मज्जाले एबीसी पुगेर फर्कन सकिन्छ ।

प्रकाशित : वैशाख २९, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?