मीरा राईका नाममा

खेल
भोजपुरको पहाडी गाउँबस्ती हुँदै अन्तर्राष्ट्रिय प्रतिष्ठाको नाम बनेकी अल्ट्रा–धावक नेपाली चेली मीरा राईसँगको अन्तरंग क्षण ।
महेश स्वाँर

काठमाडौँ — नेपाली अल्ट्रा धावक मीरा राईको काम र पहिचान आज बाहिरी विश्वमा फैलँदो छ । नेपालको नामलाई विश्वमा अझ उचो पार्ने इच्छामा मीराका कदमहरू अघि बढिरहेकै छन् ।

मीरा राईका नाममा

कान्तिपुर हाफ म्याराथुनको प्रमुख अतिथिबारे छलफल चलिरहँदा नेपाल पत्रिकाका (तत्कालीन) प्रधान सम्पादक प्रशान्त अर्यालले मीराको नाम प्रस्ताव गरेका थिए । कान्तिपुर कर्पोरेटका सहकर्मी शिशिर पछाईले मीरासँग सम्पर्क गर्ने प्रबन्ध तुरुन्तै गरिहाले ।

भोलिपल्ट बिहानै ११ बजे कान्तिपुर कर्पोरेटमा मीरा राई आइसकेकी रहिछन् । एकै छिनमा फुङ्ग परेको अनुहार अनि कपाल उडिरहेको मुद्रामा आइपुगिन् मीरा मेरै कार्यकक्षमा । उनी कुनै दृष्टिबाट पनि हङकङ, स्पेन, फ्रान्स, जर्मनीजस्ता मुलुकमा गएर अल्ट्रा–रनिङ गर्ने युवतीजस्ती देखिएकी थिइनन् । उनलाई अगाडिबाट हेर्दा अन्तर्राष्ट्रिय धावकजस्तो कुनै झल्को पाउन मुस्किल थियो । बरु हिमाली भेगकी एक सरल युवतीको हाउभाउ उनमा देखिन्थ्यो । उनले आफ्ना साथमा आएका प्रबन्धक रिचार्डलाई बस्न आग्रह गरिन् ।बस्नासाथै मीराले कुराकानी थालिन्, ‘जसरी म दौडिरहेकी हुन्छु, मेरो दौडाइ देखेर अन्य अल्ट्रा धावकसमेत अच्चमित हुन्छन् ।’ उनी थप्छिन्— भोजपुरका पहाडी भीरपाखामा हामी त पानी पिउँदै २/३ घण्टा उकाली–ओराली गथ्र्यौं । न चकलेट, न जुस, न कुनै डाइट † मात्र हावा र पानी खाएर डाँडाकाँडा नापिरहँदा कहाँबाट पैसा पाउनु ? अनि के खानु र सर ?उनको सरलपन र आफ्नो कुरा खुलेर प्रस्तुत गर्ने बानीले मलाई धेरै प्रभावित गर्‍यो । उनलाई जब मैले हाम्रो कार्यक्रममा आउन निमन्त्रणा दिएँ, उनले सहस्र यो प्रस्ताव स्विकारिन् । अझ अगाडि बढेर जब मैले उनलाई ‘कान्तिपुरको २३ औं वार्षिकोत्सवमा हाफ म्याराथुनको छैटांै संस्करणमा तपाईं प्रमुख अतिथि हुनुहुन्छ’ भनें, उनी आश्चर्यमा परेकी थिइन् । उनको अनुहार खुसीले उडिरहेको थियो । जब मैले यसअघिका प्रमुख अतिथिबारेमा उनलाई बताउँदै थिएँ, उनी झनै प्रफुल्लित हुँदै थिइन् । खुसीको स्वरमा उनी बोलिन्, ‘म एक नेपाली अल्ट्रा धावक हुँ जसका बारे नेपाल र नेपालीलाई कमै थाहा छ । नेपाली झन्डालाई विश्वसामु फैलाइरहेका बेला कान्तिपुरको यस संस्करणको प्रमुख अतिथि बन्न पाउँदा म गौरव गरिरहेकी छु ।’

हाफ म्याराथुनबारे सम्पूर्ण जानकारी गराएपछि मीराले भनिन्— कसरी, कति बजे आउने ? कि कान्तिपुरको गाडी भए पठाइदिनुपर्ला । तर, हामीले उनी उनको सधैंको साधन साइकलमा आइदिए बेस हुन्थ्यो भन्यौं । फागुन ७ गते बिहान पहिलो पटक हाम्रो मुख्य अतिथि कुनै प्रहरी इस्कर्टिङबिना साइकलमा सरर कान्तिपुर कम्प्लेक्स आइपुगिन् । जब हामीले उनको ५ मिनेटको भिडियो सार्वजनिक गर्‍यौं, अनि मात्रै उपस्थित आगन्तुकले मीराका बारेमा जानकारी पाए । अन्य पाहुनाहरूका साथ हाफ–कर्पोरेट रनको उद्घाटनका लागि झन्डा फहराउन अगाडि गएपछि मीरालाई देखेर सम्पूर्ण धावकहरू प्रफुल्लित भएका थिए ।

हाफ म्याराथुनमा भाग लिन आएका धावक–धाविका भन्दै थिए— ऊ मीरा दिदी... ।म्याराथुनका अघिल्ला तीन संस्करणमा प्रमुख अतिथिबारे यति धेरै चर्चा–परिचर्चा भएको मैले पाएको थिइनँ । मीरा दौडेर पछि फर्कंदै अन्य धावकहरूलाई ताली बजाएर हौस्याइरहेकी थिइन् जो आफैंमा एक नौलो प्रयास थियो । हुन त, युरोप–अमेरिकातिर म्याराथुन दौडने धावकलाई बाटा–बाटामा बसी ठूलो जमातले हौस्याइरहेको हुन्छ । यो मामलामा हामी भने केही भिन्न छौं । म र मीरा धावकहरूलाई हौस्याउने क्रममा एसबीआई बैंकको एक टिम युवायुवती कर्पोरेट रन सिध्याएर फर्केपछि सेल्फी खिच्दै थिए । त्यो भीडमाझ मीराले नरोकीकन १३ घण्टा ४५ मिनेट दौडेर नेपालका लागि गोल्ड मेडल जितेको बताएपछि सबै अचम्मित भए र सुरु भयो फोटो सेसन क्षण । मीरा भने खुसीपूर्वक सबैलाई आफ्ना उपलब्धिहरू सुनाउँदै थिइन् । उनले हाम्रो युवा जमातलाई साँच्चिकै हौसला प्रदान गरेकी थिइन् ।

अन्तमा मैले २९ वर्षीया मीरालाई उनको ‘ड्रिम–रेस’ का बारेमा सोधें । ‘म विश्वको सबैभन्दा च्यालेनजिङ रेसमा जान चाहन्छु जहाँ धावकले २४ घण्टाभन्दा बढी रातदिन दौडिनुपर्छ तथा जसको धावनमार्गमा ज्वालामुखी पहाडसमेत पर्छ ।’ उनले थपिन्, ‘बाटो–बाटोमा राखिएको चकलेट, जुस र अन्य शक्तिबद्र्धक खानेकुरा टिप्दै अघि बढ्ने हो । युरोपमा दौडिँदा त पानी, जुस, चकलेट दिनका लागि टोलटोलमा युवायुवती, वृद्धवृद्धा लामबद्ध बसेका हुन्छन् । र, खानेकुराका साथै दौडनेलाई हौसलासमेत दिन्छन् । थपडी बजाउँदै अघि बढ्न प्रोत्साहन गर्छन् । तर के छ र सर, आफू त पानी–हावा खाएर पिठ्युँमा चामलको बोरा बोक्दै २–३ घण्टा उकालो–ओरालो गरिन्थ्यो । तसर्थ यसपालि थुप्रै गोल्ड–मेडल जित्नु छ सर... ।’मीरा एक युवती, कुनै दूरदराज गाउँबाट आएकी । आज विश्वको ठूलो अल्ट्रा (हिमाली) रेसमा नेपालको नाम राख्न सफल हुनु सम्पूर्ण नेपालीका लागि गर्वको कुरा हो भन्दै म उनीसँग बिदा हुन्छु ।यसरी हाम्रो भौगोलिक विकटता कसैको लागि उपहार हुन सक्छ ।

- महेश स्वाँर

प्रकाशित : वैशाख २९, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?