कमब्याक तिर्खा

फिल्म
कुनै समय चक्लेटी नायिका निरुता सिंहलाई रोनाधोना चरित्रले फिल्मी दुनियाको चुलीमा पुर्‍यायो । पछि त्यही रोनाधोना चरित्रले उनलाई ओरालो लगायो ।
गोकर्ण गौतम

काठमाडौँ — अघिल्लो शनिबार निरुता सिंहलाई खिचापोखरीस्थित पिपुल्स प्लाजामा ‘टेक’ दिन भ्याईनभ्याई थियो, नाइँ नभन्नु ल ५ का लागि । पचास दशककी सर्वाधिक प्रिय अभिनेत्री निरुता पाँच वर्षपछि नेपाली फिल्ममा अभिनय गर्दै थिइन् तर उनको भूमिका ‘केमियो’ मा सीमित थियो ।

कमब्याक तिर्खा

जम्माजम्मी तीन सिन । सेटमै भेटिएकी नायिकालाई फुर्सद मिल्नासाथै सोधिहालें, ‘रोल त निकै छोटो रहेछ । तैपनि केले खेल्न अभिप्रेरित गर्‍यो ?’
उनी केही भावुक भइन् । सेटमा अलि पर रहेका हिरो दिलीप रायमाझीतिर हेरिन् । पर्तिरबाट उनलाई नियालिरहेका शुभचिन्तक र सुटिङ युनिटतिर नजर डुलाइन् । यतिबेलासम्म उनका आँखाका डिल भरिनै लागेका थिए ।

केही भन्न खोज्दै थिइन्, एक अधबैंसे पुरुष लिएर फिल्मका सहायक निर्देशक हामी नजिक आए । अनि, भन्न थाले, ‘दिदी, यो दाइ तपाईंलाई यहाँ देखेपछि दुई घण्टादेखि बाहिर कुरिरहनुभएको रहेछ । एउटा फोटो खिचिदिनुपर्‍यो ।’ निरुताको मुहारमा एकाएक मुस्कान नाच्यो । हर्षित भावमा भटाभट फोटो खिचाइन् । र, मतिर फर्केर भनिनँ, ‘उत्तर पाउनुभयो नि ?’ अनि थपिन्, ‘दर्शकको यतिबिघ्न मायाको ऋण तिर्ने भनेकै फिल्मबाट हो । त्यसैले सानो वा ठूलो भूमिका भन्ने नै हुन्न ।’ सँगै १२–१५ वर्षअगाडि एक चाउचाउ कम्पनीको सद्भावना दूतको रूपमा देश घुम्दा दर्शकबाट पाएको अथाह माया र प्रेमका रोमाञ्चक कथाहरू सुनाइन् । बल्ल उनको चेहेरा उज्यालियो । मेकिङ, व्यापार र संगीतको आधारमा संवत् पचासको दशकलाई नेपाली फिल्मको स्वर्णकाल मानिन्छ । त्यही युगकी ‘लिडिङ एक्ट्रेस’ हुन् निरुता । उतिबेला उनी निर्विकल्पजस्तै थिइन् । उनका सफलताका अनेक कथा र किस्सा छन् । अवसानका कारणहरू पनि उत्तिकै छन् ।

निरुताकै शब्दमा, तुलसी घिमिरे उनका ‘गडफादर’ हुन् । घिमिरेकै फिल्म दक्षिणाबाट निरुताको फिल्मी यात्रा थालनी भएको थियो । तर घिमिरेले उनलाई ‘डेब्यु’ गराउनुका पछाडि आफ्नै कारण छ । तीनताका नेपाली फिल्ममा निर्देशकद्वय घिमिरे र शम्भु प्रधानको अघोषित शीतयुद्ध थियो । घिमिरेले त्यसअगाडि कुसुमे रुमाल, लाहुरे, कोसेलीलगायतका फिल्ममा तृप्ति नाड्करलाई खेलाएका थिए । तृप्तिको क्रेज लोभलाग्दो थियो । तर, उनी एकाएक फिल्मबाट टाढा भइदिइन् । घिमिरे क्याम्पमा हिरोइनको अभाव खट्कियो । यता, स्वर्ग, सरस्वतीजस्ता शम्भु प्रधानका फिल्मबाट गौरी मल्ल जबर्जस्त स्थापित भइसकेकी थिइन् । गौरीको करिअर शिखरमा पुर्‍याउन शम्भुको योगदान अहम् छ । गौरीलाई त्यतिबेला ‘नेपाली मीनाकुमारी’ भनिन्थ्यो । रोनाधोना भूमिकामा निकै चर्चित । तैपनि घिमिरेले आफ्ना फिल्ममा गौरीलाई लिएनन्, शम्भुसँगको टकराव जो थियो ।

बरु घिमिरेलाई गौरीको काउन्टरमा हिरोइन ल्याउनुपर्ने बाध्यता थियो, सायद एक खालको ‘इगो’ पनि । यही पृष्ठभूमिले काम गरेको थियो, दक्षिणाबाट निरुताको डेब्युमा । यो फिल्ममा निरुताको खास ठूलो भूमिका होइन । हिरोलाई सहयोग गर्ने ठिक्कको चरित्र थियो । तर ‘सपना भई आँखामा आउने...’ गीत उनका लागि वरदान सावित भयो । यही गीतका कारण उनी दर्शकको आँखामा पनि आइन्, सपनामा पनि । अर्थात् तृप्तिको तिर्सना मेटिदिइन् निरुताले । घिमिरे क्याम्पको नयाँ स्थायी हिरोइनको रूपमा दर्ज भइन् । यता, निरुताको लोकप्रियता फराकिलो हुँदै गयो । उता, गौरीको दबदबा बिस्तारै खुकुलो हुन लाग्यो । भनिन्छ, नेपालमा साँचो स्टारडमको सुरुआत हिरोको रूपमा राजेश हमालले गरे, हिरोइनका रूपमा निरुताले । निर्माता र निर्देशक मात्र होइन, वितरक र हलवालाले समेत निरुतालाई खोज्न थाले । उनका फिल्ममा वितरकले पहिल्यै लगानी गर्थे । पोस्टरमा निरुतालाई राख्दा हलमा दर्शकको भीड लाग्छ भन्ने विश्वास गरिन्थ्यो । त्यसअगाडि हिरोइनको यस्तो क्रेज देख्न पाइएको थिएन । दर्पणछाया रिलिजपश्चात् त उनी पूरापूर ‘हटकेक’ बनिन् । दिलीप रायमाझी र उत्तम प्रधानसँगको उनको ‘केमेस्ट्री’ साँच्चै अद्भुत थियो ।

घिमिरेसँगै शिव रेग्मी र दयाराम दाहाल उसबेलाका नामी निर्देशक । तीनै निर्देशकको प्रिय बनिन्, निरुता । ती स्वर्णिम दिनहरू सम्झँदै भनिन्, ‘त्यतिबेला मेरै लागि नारी प्रधान रोलहरू लेखिन्थ्यो ।’ दर्पणछायासँगै आफ्नो मान्छे, ठूल्दाइजस्ता फिल्मले सय दिनको रेकर्ड राखे । चाँदनी, उपकार, बन्धकी, कर्तव्य आदि हिट फिल्मको सूची लामो हुँदै गयो । यी सबै फिल्मले उनलाई नेपालको पहिलो ‘लेडी सुपरस्टार’ बनायो नि:सन्देह । त्यतिबेलै उनी प्रतिफिल्म चार लाख रुपैयाँ पारिश्रमिक लिन्थिन् । जतिबेला फिल्मको बजेट ५० लाख मुस्किलले पुग्थ्यो । यसबाट पनि उनको क्रेज आकलन गर्न सकिन्छ ।

ख्याति यतिबिघ्न थियो तर बिस्तारै किनारा लाग्दै गइन् । कसरी ? जसरी उनलाई रोनाधोना चरित्रले चुलीमा पुर्‍याएको थियो, ओरालो झार्ने काम पनि त्यस्तै भूमिकाले गर्‍यो । घिमिरे, रेग्मी र दाहाल तीनै निर्देशकले उनलाई ‘क्राइङ मेसिन’ मा सीमित राखे । सायद उनी आफैं पनि त्यही चरित्रमै रमाउन थालिन् । दर्पणछायामा कलेज जाने युवतीको रूपमा उनमा परिवर्तन देखियो । दर्शकले रुचाए पनि तर फेरि दु:खी र हेपिएकी पात्रको शृंखला सुरु भयो, अजम्बरी माया, मलाई माफ गरिदेऊ आदि–आदि । उनको क्रेजमा भारी ह्रासचाहिं ‘लहना’ बाट सुरु भएको मान्न सकिन्छ । यही फिल्मबाट दिलीप र उत्तमको नियति पनि निरुताको भन्दा भिन्न रहेन । ‘दुई किनारा’ फ्लप भएपछि उनीप्रतिको विकर्षण थप बलियो भयो ।

यसबीचमा एउटी नायिका आकर्षणको अग्रभागमा पर्दै थिइन् । उनी अरू कोही नभएर निरुताको ‘हिरो’ फिल्मबाट अभिनय यात्रा सुचारु गरेकी रेखा थापा थिइन् । जसरी कुनै समय दक्षिणामा भूमिका सानो भए पनि गीतबाट निरुता ‘मार्क’ भएकी थिइन्, उसैगरी हिरोमा सानो चरित्र हुँदा पनि ‘तिम्रो मन त चक्कु छुरा...’ ले रेखालाई ख्याति दिलायो । जसरी करिअरकै सुरुआतबाट निरुताले तुलसी घिमिरेको साथ पाइन्, उसैगरी रेखाले सफल निर्माता छविराज ओझाको । जसरी निरुताको उदय र गौरीको सुस्तता संयोग मात्र थिएन, उसैगरी निरुताको विस्थापन र रेखाको प्रभाव । कतिसम्म भने, ओझाले बनाएको ‘अजम्बरी नाता’ मा निरुता मुख्य भूमिकामा थिइन्, रेखा सहायक । तर ‘लाइमलाइट’ मा आइन् रेखा । निरुता दमित र शोषित पात्र मात्र खेल्थिन्, रेखाचाहिं विद्रोही, हिरो र भिलेनमाथि नै जाइलाग्ने । अर्थात्, निरुताको हराउँदै गएको ‘एक्स फ्याक्टर’ दर्शकले साठीको दशकको सुरुआतमा रेखासँग पाइसकेका थिए । अर्थात् निरुता समयअनुसार बदलिन सकिनन् ।

बक्सअफिसमा निरुताको उपस्थिति निरन्तर फितलो हुँदै गयो । तैपनि आक्कलझुक्कल फिल्म खेलिरहेकी थिइन् । तर, सन् २००८ मा एकाएक मुम्बई गइन् । मुम्बई जानुमा निरुताको आफ्नै तर्क छ । उनी भन्दै थिइन्, ‘फिल्म क्षेत्रमा विकृति मौलाउन थाल्यो । जो पनि निर्देशक, निर्माता हुने । राम्रो फिल्म बनाउनेभन्दा हिरोइन च्याप्ने ध्याउन्नमा लाग्ने । मेरो चित्त दुख्यो । त्यसैले केही समय विश्राम लिने सोच आयो ।’ मुम्बईमा इन्टेरियर कोर्स गर्न थालिन् । बीचमा नेपाल आएर तीनवटा फिल्म खेलिन्, फ्लपै–फ्लप । बलिउडमा पनि एकाध विज्ञापन खेलिन् तर खास हैसियत बनेन । यता, केकी अधिकारी, प्रियंका कार्कीजस्ता हिरोइनको हालीमुहाली बढ्दै थियो । हरेकवर्षै दर्जनजति हिरोइन थपिन थाले । दूरी चाहेर वा नचाहेरै बढिरह्यो क्रमश: । केही भावुक हुँदै सुनाइन्, ‘मुम्बई हुँदा पनि म हरपल नेपाल र नेपाली फिल्मलाई मिस गरिरहेकी हुन्थें । अस्ति एयरपोर्टमा ओर्लनासाथ आँसु आयो ।’ यस पटक उनी एनएफडीसी अवार्डका लागि आएकी थिइन् । गत आइतबार नै फर्किसकिन् । यहाँ छँदा नाइँ नभन्नु ल ५ खेल्ने संयोग जुर्‍यो । दंग छिन् । फेरि उनलाई नेपाली फिल्ममा निरन्तर देख्न पाइन्छ त ? उत्साही हुँदै सुनाउँदै थिइन्, ‘किन नपाउनु नि ? म त सधैं सकारात्मक छु । तर यसको मतलब हिरोसँग रोमान्स गर्ने हिरोइनकै भूमिका हुनुपर्छ भन्ने होइन । मलाई मिल्ने भूमिका भए हुन्छ ।’

प्रकाशित : वैशाख २९, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?