डन्डीबियोमै खुम्चिएको डमरु

डमरु भनिने डम्बर डन्डीबियो खेललाई विश्वस्तरमा चिनाउने भनेर लागि परे पनि अन्तमा प्रतियोगिता जित–हारमा आएर टुंगिएको छ ।
सुशील पौडेल

काठमाडौँ — कथा वाचनलाई रोचक बनाउनका लागि अपनाइने केवल एउटा रूप हो, जानरा । ‘डमरुको डन्डीबियो’ लाई लेखक खगेन्द्र लामिछानेले बाबु र छोराबीचको कथालाई स्पोर्ट्स ड्रामा जानरामा रहेर वाचन गर्ने जमर्को गरेका छन् । त्यसका लागि लामिछानेले देशको मौलिक र लोपोन्मुख खेल डन्डीबियोको सहारा लिएका छन् ।

डन्डीबियोमै खुम्चिएको डमरु

जनमानसबाटै हराउँदै र बिर्सिंदै गएको डन्डीबियो खेललाई नै द्वन्द्वको मुख्य कारक बनाएर कथालाई सशक्त रूपमा भन्नु चानचुने काम पक्कै होइन । यस मानेमा लेखक लामिछाने र निर्देशक छेतेन गुरुङले एक अर्थमा दुस्साहस गरेकै हुन् ।


भर्खरै स्नातकोत्तर सकेर गाउँ आएको डम्बर (खगेन्द्र) को सपनाको स्पिड चढेको मोटरसाइकलको भन्दा तेज छ । ऊ डन्डिबियो खेललाई पुन:स्थापित गर्दै अन्तर्राष्ट्रियकरण गर्ने सपना बुन्दै छ । तर, जब ऊ आफ्नै बाबु योगेन्द्र (अनुप) सँग ठोकिन पुग्छ, सपनामा ब्रेक लाग्छ । योगन्द्र छोरालाई सरकारी जागिरमा होस् भन्ने चाहन्छ । त्योभन्दा बढ्ता डम्बर डन्डीबियोमा रुमल्लिएर आफूले जस्तै जीवन बर्बाद नगरोस् भन्ने ठान्छ । कुनै बेला योगेन्द्र पनि डन्डीबियो खेललाई त्यसरी नै सबैसामु चिनाउने भनी सरकारी अड्डा धाएको रहेछ । तर, केही सीप लागेनछ । सारा प्रयास खेर गएपछि उनको डन्डीबियोसगै वितृष्णा जागेको रहेछ । यस्तोमा सुरुआती चरणमा लागेको ब्रेकपछि डम्बरको सपनाले फेरि गति लिन सक्ला ? तर फिल्म उत्तराद्र्धमा पुग्दा मूल मुद्दाबाट विषयान्तर भएको भान हुन्छ ।


गाउँको स्कुलका हेडमास्टर समेत रहेका योगेन्द्र सार्वजनिक रूपमै डन्डीबियो खेल्नेका पिंडुलाका मासु झार्ने घोषणा गर्दैगर्दा डम्बरकै सपना चुनौती बनेर तेर्सिन्छ । पटकथाले डन्डीबियो खेलप्रति योगेन्द्रको घृणा र डम्बरको प्रेमलाई गहिराइसम्म छुन नसक्दा दुईबीचको टकराव वजनदार बन्न सकेको लाग्दैन । हो, हाम्रो समाजमा अझै पनि खेल्दा पढाइ बिग्रन्छ भनेर अभिभावकले छोराछोरीलाई खेल्न दिंदैनन् । तर, योगेन्द्रले त जीवन नै बिग्रन्छ झैं गरिरहनुमा खास ठूलो कारण खुल्दैन । जबकि कुनै बेला उनकै बुबाले डन्डीबियो खेलका लागि भनेर चौर नै दानमा दिएका हुन्छन् । अहिले त्यो चौरमा केटाकेटीहरू फुटबल खेल्छन् । फुटबल खेलेर पढाइ वा जीवन बिग्रेला भन्ने कसैको चिन्ता छैन ।


सबा दुई घन्टाको फिल्मले जति गहन यात्रा गर्नुपर्ने हो, त्यति हुन सकेको छैन । डमरुले डन्डीबियो खेल्न खोज्ने टिम सदस्य र उनीहरूका समस्याले डमरुको सपनामा पुर्‍याउने बाधाको आरोह–अवरोह सपाट लाग्छ । बालसखा मुखिया (बुद्धि) को डन्डीबियोप्रति सोचमा आउने युटर्न डम्बरलाई धेरै दु:ख नदिऊँ भन्ने टाइपमा सहज बनाइएको छ । र, गाउँमै चियादोकान खोलेर बसेका पण्डितको योगेन्द्रप्रतिको असहमति पनि उदेकलाग्दो छ । कुनै बेलासँगै डन्डीबियो खेल्ने साथी भए पनि अहिले भने ऊ योगेन्द्रले डन्डीबियो खेलाएर आफ्नो जीवन बर्बाद भएको ठान्छ र उसलाई बदला लिन छोरी निर्मला (लक्ष्मी) हतियार बनाएर लागिपर्छ । लक्ष्मी बिनाकारण बलिको बोको बन्दै गर्दा पनि किञ्चित दु:खमनाउ गर्दिन । कुनै एक संवादमा छोरीले बाबुलाई भनेकी हुन्छे, ‘बाबा, तपाईं त कस्तो फिल्मकै भिलेनजस्तो ।’ लाग्छ, फिल्मले दुवै बाबुछोरीलाई भिलेनको कर्तव्य निर्वाह गर्न खटाएको छ ।


डमरु भनिने डम्बर डन्डीबियो खेललाई विश्वस्तरमा चिनाउने भनेर लागि परे पनि अन्तमा प्रतियोगिता जित–हारमा आएर टुंगिएको छ । उनी डन्डीबियो खेलमै रुमल्लिन पुगेका छन् । ‘मैले ठूलो लडाइँ लड्दै छु’ भन्ने डमरु खेलकै नतिजामा भर पर्नु उसको सपनाको उद्देश्य पक्कै हैन । यस्तो लाग्छ, ऊ डन्डीबियो खेल्ने टिम निर्माणका लागि मात्रै गाउँ पसेको छ । टिम निर्माणमा गरेको संघर्ष, नयाँ नियम बुझाउन गरेको मिहिनेत र प्रतियोगितामा पाएको सफलतामै उसको चरित्रको ग्राफ समेटिएको छ ।


बरु डम्बरको सपना जान, अन्जानमा फिल्मकै अर्की पात्र जो बेलायतदेखि थेसिसका लागि भन्दै डन्डीबियोको रिसर्चमा भिडियो क्यामेरा बोकेर आएकी छे, उसमा सिफ्ट भएको छ । उसले डमरुले डन्डीबियो खेलका लागि गाउँमा गरेको तयारीदेखि खेलसम्मलाई खिचेर युट्युबमा राखिदिएकी थिई । यसैका आधारमा भिडियो भाइरल भएर डन्डीबियोले जाग्ने मौका पाएको थियो र अन्तरदेशीय डन्डीबियो प्रतियोगिता सम्भव हुन्छ । यस अर्थमा फिल्मको असली नायक उनै भएकी छन्  । अभिनय सन्तोषजनक रहेको फिल्मको छायांकनमा मिहिनेत झल्कन्छ । पृष्ठभूमि संगीतले खासगरी डन्डीबियो प्रतियोगिताको सनसनीलाई केही माथि उठाउन खोजे पनि यसको कोरियोग्राफीमा पर्याप्त अभ्यास नहुँदा खेल सनसनीपूर्ण बन्न भने सकेको छैन ।


तर पनि ‘डमरुको डन्डीबियो’ बन्नु तारिफयोग्य कदम हो । नवीन कथा, ग्रामीण सेटअप र इमानदार प्रस्तुति प्रशंसायोग्य कदम हुन् । व्यावसायिक सम्भावना न्यून भए पनि राष्ट्रिय महत्त्व राख्ने यस्ता विषयमा निजस्तरमा चालिने यस्ता कदम पक्कै सराहनीय हुन् । तर, ‘डमरुको डन्डीबियो’ निर्माणको प्रशंसा गरिरहँदा फिल्म नै भने सशक्त हुनबाट चुकेको छ । सबै असल प्रयास उम्दा हुँदैनन् भन्ने उदाहरण बनेको छ, ‘डमरुको डन्डीबियो’ ।

फिल्म
डमरुको डन्डीबियो
निर्देशक
छेतेन गुरुङ
कलाकार
खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, लक्ष्मी बर्देवा, बुद्धि तामाङ, अंकित खड्का, आशान्त शर्मा

प्रकाशित : जेष्ठ ५, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?