कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘फेसबुक छाड्न खोजें तर सकिनँ’

गोपनीयताको विषयमा वकालत गर्नेहरूले वर्षौंदेखि चेतावनी दिइरहेको भए पनि फेसबुक यसरी हाम्रो जीवनको भावनात्मक अंग बनेको छ कि यसले हाम्रो जासुसी गरेर तुच्छ तरिकाले पैसा कमाइरहेको छ भन्ने सत्यलाई पनि हामी दबाइरहेका छौं ।

काठमाडौँ — जब म कलेजमा पढ्थें तब मेरो मिल्ने साथी र मबीच ठूलो फाटो आयो । यो फेसबुकको कारणले थियो । ‘एलिसोनको इन्गेजमेन्ट भएजस्तो छ,’ हामी दुवैको एक साथीले मलाई म्यासेज गरे । ‘मैले फेसबुकमा देखेको जस्तो लाग्छ,’ उनले लेखेका थिए ।

‘फेसबुक छाड्न खोजें तर सकिनँ’

मैले यो कुरा पत्याइनँ, किनकि मलाई लाग्थ्यो उनको इन्गेजमेन्ट भएको भए फेसबुकमा पोस्ट गर्नुभन्दा अगाडि मलाई पक्कै थाहा दिन्थिन् । तर, जब फेसबुक खोलें तब देखें, उनले आफ्नो प्रेमीसँग इन्गेजमेन्ट भएको कुरा मलाईभन्दा पहिला सारा विश्वलाई भनिसकेकी रहिछन् ।


यो लगत्तै हामीबीच विवाद भयो । यस्तो कुरा दुनियाँलाई भन्नुभन्दा अगाडि मलाई थाहा नहुने भए हामी कस्तो साथी ? यस्तो कसले गर्छ ? एलिसोन र म फेरि बिस्तारै बोल्न त थाल्यौं तर हामीबीचको मित्रता पहिलेजस्तो भएन ।


सुरुआती दिनमा मलाई पनि फेसबुक असाध्यै राम्रो लाग्थ्यो । आफ्ना कलेजका पुराना साथीभाइसँगै एकैचोटि कुरा गर्न पाउँदा, आफ्ना साथीहरूको फोटो ट्याग गर्न पाउँदा, आफ्नो दैनिक जीवनमा भेटिएका मानिससँग जोडिन पाउँदा मलाई मज्जा लाग्थ्यो । तर, मैले मेरो आमाबुवाको पुस्तासँग भएको सामाजिकीकरणको सीप कहिल्यै सिकिनँ ।


अकाउन्ट खोलेको १२ वर्षमा मैले एक वर्ष मात्र फेसबुकबाट टाढा रहेर बिताएँ । त्यही एक वर्षमा मैले फेसबुक के हो र यसले हामीलाई कसरी प्रभाव पारेको रहेछ भन्ने महसुस गरें । पछिल्ला वर्ष सामाजिक सञ्जालहरू समय बिताउने गतिलो माध्यम भएको छ । क्याम्ब्रिज एनालिटिकाको डाटा विवादपछि सबैतिर सुनिने प्रश्न हो— अब किन नछाड्ने ? वा हाम्रो तथ्यांक अरू कम्पनीहरूलाई किन दिने ?


तर यो सजिलो छैन, किनकि फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनेको छ । तपाईंले फेसबुक छाडे पनि तपाईंको व्यक्तित्वको एक प्रति फेसबुकसँग पहिल्यै भइसकेको हुन्छ ।
तर, फेसबुक काम नलाग्ने चीज भएकाले विश्वव्यापी भएको होइन । फेसबुकबाट टाढिएको समयमा म केही छुटाएँ कि भनेर धेरै सोच्थें ।


अघिल्लो पुस्ताले सामाजिक सम्बन्ध बनाउन गर्ने भावनात्मक श्रमलाई फेसबुकले विस्थापित गरेको छ । हामीले बिर्सिसकेका होलाऔं (वा, कहिल्यै याद नगरेका पनि हुन सक्छौं) हाम्रा आमाबुवाले फोन नम्बर टिपिएका डायरी दुरुस्त राख्न कति मिहिनेत गर्थे ? आफ्नो घरमा आयोजित पार्टीमा छरछिमेकलाई बोलाउन घरघर चहार्थे, आफ्ना आफन्तलाई कति मिहिनेतसाथ फोन गर्थे, पत्रपत्रिकाका रोचक लेखहरू कसरी जम्मा पार्दै आफ्ना साथीहरूलाई पठाउँथे, प्रेम दिवसका शुभकामना कार्डहरू कसरी जतन गर्थे ।


मानिसको सम्पर्क लेखिएको भिजिटिङ कार्ड वर्णानुक्रमअनुसार मिलाएर राख्न कति दु:ख हुन्छ हामी सोच्दैनौं । तर, पहिलेका मानिसहरू यसमा धेरै मिहिनेत गर्थे किनकि यस्तो मिहिनेत जति बढी गर्‍यो उति बढी सामाजिक सम्पर्क हुन्थ्यो ।


जसरी सन् १९५० तिरका परम्परागत कार्यालयका कर्मचारी अल्छी हुन्थे त्यसरी नै फेसबुकले हामीलाई अल्छी हुने छुट दिएको छ । फेसबुक हाम्रो डिजिटल स्वकीय सचिव वा पति/पत्नी भएको छ । यसैले हामीलाई फलानोको जन्मदिनमा शुभकामना दिन नबिर्सिनू, आज फलानो पार्टी छ भनेर सम्झाउँछ । यदि कोही फेसबुकमा छ भने ऊकहाँ मेरो सीधा सम्पर्क हुन्छ मानौं कि कुनै स्विच अपरेटरले ऊसँग मेरो सम्पर्क गराउन तयारी अवस्थामा राखेको हो । मेरो बालबालिकाका लागि क्रिसमस उपहार किन्न एक कदम अगाडि छ यो, किनकि कस्तो उपहार किनेर छान्ने फुर्सद मेरो छैन ।


फेसबुकले प्रेम देखाउन गर्नुपर्ने श्रमलाई पनि नाफाको व्यापारमा परिणत गरेको छ ।


सायद क्याम्ब्रिज एनालिटीका र प्रयोगकर्ताको तथ्यांक संकलन गरी गरिने विज्ञापन मोडलको सबैभन्दा डरलाग्दो पक्ष यही हो । विषादी माकुरो र खतरनाक नोकरजस्तै फेसबुक तपाईंको घरभित्र भएको अपराधी हो । गोपनीयताको विषयमा वकालत गर्नेहरूले वर्षौंदेखि चेतावनी दिइरहेको भए पनि फेसबुक यसरी हाम्रो जीवनको भावनात्मक अंग बनेको छ कि यसले हाम्रो जासुसी गरेर तुच्छ तरिकाले पैसा कमाइरहेको छ भन्ने सत्यलाई पनि हामी दबाइरहेका छौं ।


जब हामी यो यथार्थ गहिरोसँग मनन गर्छौं तब हामीलाई साह्रै नमिठो अनुभव हुन्छ । त्यसैले डिलिट फेसबुक अभियान चलेको थियो । तर, फेसबुकजस्तै विकल्प कुनै पनि छैन र थोरैले मात्र आफ्नो फेसबुक लत छाड्न सकेका छन् ।


‘तपाईंको सबैभन्दा ठूलो प्रतिस्पर्धी को हो ?’ क्याम्ब्रिज एनालिटिका विवादको विषयमा अमेरिकी कंग्रेसमा उपस्थित फेसबुक मालिक मार्क जुकरबर्गलाई सिनेटर लिन्ड्से ग्राहमले सोधेका थिए । ग्राहमले कार कम्पनीको उदाहरण दिएर प्रश्न सोधे पनि जुकरबर्गलाई यसको उत्तर दिन गाह्रो परेको थियो । उनले जुकरबर्गलाई आफ्नो प्रश्न बुझाउँदै भनेका थिए— यदि कसैलाई फोर्डको गाडी मन पर्दैन भने उसले अर्को कम्पनीको गाडी किन्न सक्छ । तर, फेसबुक मन परेन भने त्यसको विकल्प के हुन सक्छ ? यसरी बुझाउँदा पनि जुकरबर्गले यसको प्रस्ट उत्तर दिएनन् । वास्तवमा गाह्रो प्रश्न के हो भने, फेसबुक के हो ? र, यसलाई छाड्न किन यति गाह्रो छ ?


फेसबुकसम्बन्धी विवाद गरिरहँदा फेसबुक आफैंमा के हो भन्न पनि गाह्रो छ ।


जब नयाँ प्रविधिको आविष्कार हुन्छ, सुरुमा हामी त्योभन्दा अगाडिको प्रविधि विस्थापित भएको भन्ने मात्रै बुझ्छौं । उदाहरणका लागि इमेलले हुलाकलाई विस्थापित गर्‍यो, इरिडिङले किताबलाई विस्थापित गर्‍यो र म्युजिक स्ट्रिमिङ सेवाले सीडी प्लेयर विस्थापित गर्‍यो ।


फेसबुक पनि त्यो श्रमलाई विस्थापित गर्‍यो जुन हामीले देखेका थिएनौं ।


फेसबुकको नाम आफैंले विद्यालयमा हुने फेसबुकको प्रतिनिधित्व गर्छ । हामी सबैलाई यसबारे थाहा नहुन सक्छ तर म तपाईंहरूलाई आश्वस्त पार्न चाहन्छु, त्यस्ता किताबहरू पनि हुन्थे जुन वर्ष–किताबको नाममा बाँडिन्थे । तर, फेसबुक फेसबुक मात्रै नभए वेब–जालो भएको छ । यो ठेगाना पुस्तिका पनि होइन र यहाँ स्टाटस अपडेट त गर्न सकिन्छ तर या ब्लग पनि होइन । यसबाट मानिसलाई सन्देश पठाउन त सकिन्छ तर यो छलफल कार्यक्रमजस्तो पनि होइन । केही समाचार संस्थाले योसँग सहकार्य गरे भन्दैमा यो प्रकाशनगृह पनि होइन । केही भिडियो उत्पादकहरूले भिडियो यसबाट सार्वजनिक गरे भन्दैमा यो टेलिभिजन च्यानल पनि होइन ।


सन् २००६ पछि फेसबुकले एक कलेजका विद्यार्थीका लागि मात्रै नभई सबैका लागि आफ्नो ढोका खुला गर्‍यो । लगत्तै, हामीहरूका आफन्तहरू पनि यसमा सम्मिलित भए । मलाई अहिले पनि सम्झना छ, भर्खरै फेसबुकमा आएकी मेरी साथीकी आमाले मलाई कसरी कुराकानी गरेकी थिइन्— उनी आफ्नो हरेक स्टाटस अपडेट र त्यसमा आएका एकएक कमेन्ट सुनाउँथिन् ।


जब धेरैभन्दा धेरै मानिसले मलाई फेसबुकमा जोड्न खोजे तब यसप्रति मलाई वितृष्णा जागिसकेको थियो । मैले फेसबुकमा भएको प्राइभेसी सेटिङहरू हेरें र मेरा फेसबुकमा भएका के–के जानकारी अरूलाई उपलब्ध छन् भनेर पनि खोजें । मैले ल स्कुलमा पढ्न जाने बेला फेसबुक चलाउन छाड्ने निधो गरेकी थिएँ तर सम्भव भएन किनकि त्यहाँ फेसबुक चलाउनु अनिवार्य थियो ।


कलेजमा हरेक कुराहरू फेसबुकको ग्रुप मार्फत संयोजन गरिन्थ्यो । कलेजको इभेन्ट, पार्टी, नोट आदानप्रदानसमेत यसैबाट हुन्थ्यो । कलेजको लाइब्रेरी होस् वा अपार्टमेन्ट फेसबुक सबैका लागि प्रिय थियो र लगातार चाहिने नचाहिने स्टाटस पोस्ट गर्नु विद्यार्थीको लागि सामान्य थियो ।


फेसबुकले मेरो सामाजिक जीवनमा महत्त्वपूर्ण भूमिका लिइरहेको भए पनि म भने डाटा गोपनीयता कानुन र नीतितर्फ आफ्नो ज्ञान अगाडि बढाइरहेका थिएँ । एक रिडिङ ग्रुपबाट हामीले यससम्बन्धी अध्ययन सुरु गरेका थियौं जसमा हामीलाई प्रोफेसर फिल मालोनले सघाएका थिए । उनले हामीलाई डाटा दलाली, कुकिज ट्र्याकिङ, लक्षित समूह निर्धारण गरिने विज्ञापन, धेरै डाटाको आधारमा गरिने अनुमान, निजी कम्पनी र सरकारी निकायको सर्वेलियन्सजस्ता डरलाग्दा विषयसँग परिचित गराए । प्रयोगकर्ताको तथ्यांक कहाँ जान्छ र यो कसरी प्रयोग हुन्छ भन्ने जानकारीले हाम्रो रिडिङ ग्रुपका साथीहरूको एउटै निष्कर्ष हुन्थ्यो : फेसबुक खत्तम भयो ।


जन्ममिति र जन्मस्थानको आधारमा कसरी सामाजिक सुरक्षा नम्बर अनुमान लगाउन सकिन्छ भन्नेबारे पढेपछि मैले आफ्नो फेसबुकमा अर्कै जन्ममिति राखें । र, आफ्नो हुँदै नभएको जन्मदिनमा ह्वारह्वार्ती शुभकामना पाएँ । त्यो बेलामा सबैले फेसबुक मार्फत आफ्नो जन्ममितिबारे बताउने चलन थियो ।


केही वर्षपछि फेरि मैले टिन्डर एकाउन्ट खोलें । मैले यहाँ पनि आफ्नो वास्तविक उमेर लुकाउन जन्ममिति फेर्नुपर्‍यो । मैले आफ्नो ५ वर्ष उमेर घटाएर टिन्डरमा राखेको जन्ममितिको मूल्य पछि चुकाउनुपर्‍यो, आफ्नो गोपनीयता त्यागेर ।


मेरो मनमा जीवनभरका लागि फेसबुकप्रति अविश्वास पैदा गराएका थिए फिल मालोनले । उनी इमेलका पनि खराब प्रयोगकर्ता थिए । कुनै इमेलको रिप्लाई आएन भने सोझै उनको कार्यालयमा भेट्न पुग्नुपथ्र्यो । उनी अर्को ठाउँमा गएपछि हामीसँग सम्पर्क टुट्यो तर उनले एक्कासि एक दिन फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाए । अहिले म फेसबुक मार्फत उनले के आर्टिकल पढिरहेका छन् भन्ने थाहा पाउँछु । फेसबुकबाटै उनका बालबच्चाका प्रशस्त तस्बिरहरू हेर्न र उनको परिवारले घुमेको ठाउँ थाहा पाइन्छ ।


फेसबुकबाट नाता तोड्नु कहिले मेरो वशको कुरा भएन । यो अवधिसम्म एक वर्ष मात्रै फेसबुक चलाउन छाडेको थिएँ, त्यो एकप्रकारको मेरो इच्छाअनुसार भए पनि फेसबुकले पोकेमन गो खेलको विषयमा मलाई केही अवधिका लागि प्रतिबन्ध लगाइएका कारणले भएको थियो ।


फेसबुक प्रयोग गर्दा वास्तविक नाम मात्रै राख्न पाइने सन् २०१५ को विवादबीच मैले फेसबुक अकउन्ट खोल्दा भेरिफाइड भएको नीलो चिह्न पाएँ । त्यसको केही घण्टालगत्तै फेसबुकले मलाई इमेल पठायो— बधाई छ तपाईं फेसबुकको भेरिभाइड प्रयोगकर्ता हुनुभयो ।


फेसबुकले पोकेमन गो नाम र फोटो राखेको भन्दै मलाई केही समय प्रतिबन्ध लगायो । उनीहरूले आखिर म को हुँ भन्ने थाहै नभई मेरो एकाउन्ट किन भेरिभाई गरिदिए जबकि मैले आफ्नो मेरो फेसबुकमा आफ्नो कार्यालयको इमेलसमेत राखेको थिइनँ ।


जब मैले मलाई किन भेरिफाइड गरिएको भनेर इमेल पठाएँ, त्यसको प्रत्युत्तर धेरैजसो प्रविधि कम्पनीले आफ्नो प्रेस सम्पर्कमा दिनेजस्तै अस्पष्ट थियो ।


मलाई पब्लिक फिगर भन्दै एकाउन्ट भेरिफाई गरिएको केही दिनपछि मैले फेसबुकसँग केही रमाइलो गर्ने निधो गरें । मैले मेरो फोटोमा पोकेमन गोको फोटो राखें र अहिल्लो नाम ए लिटरल र पछाडिको नाम साइडक राखें ।


मेरो नक्कली नामसँगै फेसबुकको भेरिफाइड चिह्न चम्किरहेको भए पनि म मेरा साथीहरूलाई जे मन लाग्यो त्यही लेख्न सक्ने भएको थिएँ । यो रमाइलो खेल त्यतिबेलासम्म मात्रै चल्यो जतिबेला मैले मेरो ट्वीटरमा आफ्नो फेसबुक प्रोफाइलको स्क्रिन सट राखें । फेसबुकका तत्कालीन प्रमुख सेक्युरिटी अफिसर एलेक्स स्ट्यामोसले मलाई ट्वीटरमा फलो गरे र म्यासेज गरे । उनले मलाई म्यासेजमा फेसबुकको कमजोरी पत्ता लगाइदिएकोमा धन्यवाद पनि दिए । तर, अर्को दिन मेरो एकाउन्ट लक गरियो र मसँग आफू ए लिटरल साइडक भएको प्रमाण मागियो ।


मेरा सम्पादकले मेरो नाम ए लिटरल साइडक भएको भन्ने प्रमाणसहित कागजपत्र बनाइदिन राजी त भए तर फेसबुकको नियमअनुसार मैले यसलाई प्रमाणित गर्न फोटो र जन्ममिति भएको कागजपत्र पेस गर्नुपर्ने थियो । अब, पोकेमनको फोटो भएको कागजपत्र बनाउनु कहाँ सम्भव थियो र ?


अन्तिममा मैले मेरो फेसबुक नचलाउने निधो गरें र छाडिदिएँ ।


सुरुआती हप्तामा मलाई निकै रमाइलो लाग्यो । फेसबुक नचलाउँदा मैले कसैको वाहियात स्टाटस र मेमे पढ्नु पर्दैनथियो । म चाहेको काममा व्यस्त हुन पाउँथें तर बिस्तारै केही असजिलोपनाको महसुस हुँदै गयो ।


म अन्य थर्डपार्टी सेवाहरूबाट पनि वञ्चित हुन थालें । फेसबुकबाट साइन अप गरेको कागजपत्र अपलोड गर्ने सेवा, कपाल काट्न समय बुकिङ गर्ने सेवाबाट वञ्चित भएँ । केही सर्भिसलाई पुन: इमेलबाट साइनइन गरी सुचारु गर्न सकिन्थ्यो तर केहीमा त्यस्तो कुनै विकल्प थिएन ।


पछि अझै धेरै समस्या आउन थाले । मैले चिनेका व्यक्तिका जीवनमा भएका ठूलाठूला घटनाहरू मैले थाहा पाउन छाडें । मैले साथीहरूले आयोजना गर्ने विभिन्न गेट टुगेदर र पार्टीहरूबारे थाहा पाउन छाडें । कसैको बच्चा जन्मिएको होस् वा फोटो होस् अन्तिममा मात्रै थाहा पाउने व्यक्ति बन्न थालें ।


फेसबुक चलाउँदा वास्तविक नाम राख्नैपर्ने नीतिविरुद्ध लडेका मेरा साथी डिया केयालीले एक अन्तर्वार्ता सकेर निस्कनै लाग्दा भने— तिमी मेरो पार्टीमा आउँछौं नि होइन ?
के पार्टी ? मैले सोधें ।


‘ओहो, सरी, तिमी फेसबुक चलाउँदिनौ भन्ने भुसुक्कै बिर्सेको ।’


फेसबुक चलाउन छाडेको एक वर्ष अवधिमा मैले धेरै यस्ता दु:खदायी क्षण सामना गरें । यसले मलाई मेरो साथीसंगतको सञ्जाल कति कमजोर रहेछ भन्ने महसुस पनि गरायो ।
यो मेरो कमजोरी पनि थियो किनकि फेसबुक चलाउन छाडें पनि म फोनमा कुराकानी गर्न मन पराउँदिनथिएँ । म इमेलको रिप्लाई गर्न पनि त्यति रुचाउने मान्छे होइन । यस्ता बानीका कारण मेरा साथीहरू यत्तिकै सम्पकीविहीन भइरहेका हुन्छन् ।


फेसबुकमा बिताएको १२ वर्षमा मैले धेरै व्यक्तिगत जानकारी बाँडेको छु । धेरै फोटोहरू राखेको छु । मैले साथी बनाएको छु, साथीहरूलाई ट्याग गरेको छु । फेसबुकमा धेरै अघि हालेको किशोरावस्थाको तस्बिरले मलाई धेरै वर्षपछि टिन्डरमा लज्जित बनाएको पनि छ ।


जब फेसबुकको एकपछि अर्को गर्दै प्राइभेसी विवादका खबरहरू आउन थाले त्यसपछि मैले फेसबुकमा पोस्टहरू कम गर्न सुरु गरें । कमेन्टहरू कम गर्न थालें, साथीका तस्बिर लिएर फेसबुकमा राख्न पनि बन्द गरें ।


अन्य धेरै प्रविधि पत्रकारहरूले जस्तै मैले पनि क्याम्ब्रिज एनालिटिकाको विवादपछि फेसबुकबाट आफ्नो जानकारी डाउनलोड गरेर हेरें । जसमा मैले कहिल्यै नसुन्ने ब्यान्डलाई पनि मैले लाइक गरेको थिएँ र अहिले भन्न पनि लाज लाग्ने फिल्मको पेजलाई मन पराउँछु भनेर पनि सेभ भएको रहेछ । तर, फेसबुक मेरोबारे एक जानकारीमा भने सही थियो— म लुगाको विज्ञापनमा धेरै लाइक गर्थें ।


मार्क जुकरबर्ग फेसबुक मेरो जीवनको छायाप्रतिजस्तै बनोस् भन्ने चाहन्छन् । उनी फेसबुकले हामीले टिपेर राख्ने सम्पर्क डायरी, परिवारको फोटो एल्बमलाई विस्थापित गर्न चाहन्छन् । र एकसाथ, हामीले आफ्नो सम्पर्क बढाउन गर्ने परम्परागत श्रमलाई पनि विस्थापित गर्न चाहन्छन् ।


हो, फेसबुकले यो सबलाई विस्थापित गरिसकेको छ तर उसको तरिका ठीक छैन । फेसबुक इभेन्ट, फेसबुक पेज, फेसबुक फोटो, फेसबुक भिडियो— यस्तै फिचरका कारण धेरैका लागि फेसबुक जीवनको अभिन्न अंग बनेको छ । झन्, कतिपय त फेसबुकमा देखाउनका लागि नै आफ्नो केकदेखि परम्परागत तरिकालाई समेत झकिझकाउ पारिरहेका छन् ।
सबै जना फेसबुकमा छन् किनकि सबैले फेसबुक नै चलाउँछन् । सबै जना फेसबुकमा भएकै कारण फेसबुकमा नभएका व्यक्तिहरूको समेत तथ्यांक संकलन भइरहेको छ । मलाई थाहा छ, म फेसबुक त्यति चलाउँदिनँ, मलाई फेसबुक मन पनि पर्दैन तर यसलाई सजिलै छाड्न पनि सकिंदैन ।


(‘द भर्ज’ मा प्रकाशित पत्रकार साराह जेङको निबन्धको अनूदित र सम्पादित अंश ।)

प्रकाशित : जेष्ठ ५, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?