कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

आग्रह–पूर्वाग्रह पर्तिर

पुस्तक
गंगा बीसी

काठमाडौँ — सबै मान्छेको आआफ्नो समय हुन्छ । समयसँग मान्छेको जीवन अभिन्न रूपमा गाँसिएको हुन्छ । समयको गति समान ढंगले बगेको हुन्छ, तर त्यही समय कसैका लागि अनुकूल र कसैका लागि प्रतिकूल भइदिन्छ । अनुकूल समयको मान्छेले खास याद गर्दैन, जब प्रतिकूल समय हुन्छ, मान्छे रन्थनिन्छ, सामना गर्छ ।

आग्रह–पूर्वाग्रह पर्तिर

त्यसबेला कुनै न कुनै रूपमा सुस्केरा निस्कन्छन् । लेख्नेहरूले ती सुस्केरा लेखेर राख्छन्, कसैका ती सुस्केरा हावामा उडेर जान्छन् । भोग्दा कठिन भएको समय सम्झनामा भने सुन्दर हुन सक्छ । शारदा शर्माको ‘त्यो समय’ धेरै पुरानो काल होइन । उनको करिब एक दशकअघिको उनको त्यो समय एकनासको छैन । सोचेभन्दा फरक । कल्पना गरेभन्दा कठिन । कहिलकाहीँ एक्लो पनि भइदिन्छ त्यो समय, कहिले दु:खपछि सुख भएर आउँछ । परिबन्दले रुनु, रमाउनु, कराउनु, हाँस्नुपर्ने बनाइदिएको छ । ‘त्यो समय’ को केन्द्रविन्दुमा उनी आफैं छिन् । अरू पात्रहरू वरिपरि घुमेका छन् । उनको वरिपरि नजिकका नातेदार र उनको काम गर्ने थलो, घुमेका ठाउँ जोडिएका छन् । कामको सिलसिलामा देश–परदेशको यात्रा जोडिने नै भयो । यात्रामा भेटिने ठाउँ, पात्र, परिवेश र प्रवृत्तिहरू लेखकका मुख्य सामग्री हुन् ।


शारदा शर्माको परिवारको आधा हिस्सा राजनीतिमा छ । त्यसकारण पनि उनको ‘त्यो समय’ मा राजनीतिले हस्तक्षेप गर्नु अन्यथा मान्न सकिँदैन । राजाले शासन आफ्नो हातमा लिएपछि उत्पन्न परिस्थितिले उनको घरपरिवारका साथै मनस्थिति नराम्ररी हल्लाइदिएको छ । उनले त्यस बेला बेपत्ता परिवारको पीडा भोगेकी छन् । माओवादीको १० वर्षे युद्धकालमा बेपत्ता भएका परिवारले हालसम्म भोगेजस्तै पीडा उतारेकी छन् । लेखकको घरमा राजनीति मजाले भिजेको छ, खासगरी उनका पति नरहरि आचार्य पूर्णकालीन राजनीतिज्ञ भएकाले उनी त्यसबाट भाग्न सक्ने ठाउँ नै रहेन । राजनीतिज्ञको परिवार अरूभन्दा फरक हुन्छ । राजनीतिज्ञले सोचे, भोगे र भनेभन्दा अझै ठूलो समयको सामना गर्नुपर्ने अवस्था आउँछ । राजाले शासनसत्ता आफ्नो हातमा लिएपछिको परिस्थितिको बयान लेखकको काँडाघारीको यात्रा थियो । त्यो कुरा राम्ररी ‘त्यो समय’ मा भेटाउन सकिन्छ ।


अरूभन्दा बढी रोचक पक्ष के भने तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको मनोविज्ञान यसमा छ । राजाले शासन लिएर उपचारका नाममा कोइराला भारतको नयाँ दिल्ली गएको बेला लेखकसँग भएको भेटले राम्रै स्थान पाएको छ । लेखक आफैंले खुलेरै लेखेपछि पत्याउन गाह्रो छैन । हुन त विराटनगरका कोइराला परिवार अरूभन्दा खुला र उदार हुन् । उनै कोइरालाको प्रतिविम्ब लेखकमाथि परेको हुनुपर्छ । शाही सरकारबाट नरहरि आचार्य जेल परेको बेला शारदाले दिल्लीमा कोइरालासँग भेटेको प्रसंग छ । शाही सरकारको जेलमा रहेका पतिलाई रिहा गर्ने चासोसाथ लेखक कोइरालालाई भेट्न पुग्छिन् । कोइरालाले लेखकलाई कुनै बच्चाझैं माया गर्छन््, अंगालो हाल्छन् । उनले त्यो प्रसंग उल्लेख गरेकी छन् । ‘उहाँ (कोइराला) ले सोध्नुभयो— लौ भन्नुहोस्, के गर्नुपर्छ मैले ? के चाहिएको छ ? मेरो हात कपाल सुम्सुम्याइरहनुभएको थियो बिस्तारै । उहाँको यो व्यवहार बडो अप्ठ्यारो लाग्यो मलाई । मभन्दा ३५ वर्ष जेठो हुुनुहुन्थ्यो बयोवृद्ध पुरुष । मलाई त मन परेन । प्रतिवाद गर्न सकिनँ, बडो अल्मलिइरहे ।’ कोइरालाले त्यतिबेला भनेको अर्को प्रसंग पनि त्यहाँ छ, ‘ज्यादै धेरै, म कति माया गर्छु भन्ने थाहै छैन तपाईंलाई ।’ अहिले गिरिजाप्रसाद कोइराला छैनन् । उनी जीवित भएको भए कस्तो मानेर यो प्रसंग पढ्ने थिए होलान् ?
कोइरालाले आफू निकट मान्छेहरूको दु:ख बुझेर आर्थिक सहयोग गरेको प्रसंग चल्थ्यो त्यतिबेला । दिल्लीमा कोइरालाले आकर्षक जागिर खाइरहेकी लेखकलाई पनि भारु बीस हजार ‘सहयोग’ दिएका रहेछन् । कोइरालाले पटकपटक के सहयोग गर्न सक्छु भनेपछि लेखकले प्रस्ताव अघि सार्छिन्, ‘हजुरले नरहरिजीलाई राजनीतिमा संरक्षण दिनुपर्छ । ऊ असल मान्छे हो, पार्टी सुधार्छु, देश बनाउँछु भन्छ— यी कुरामा हजुरलाई सहयोग गर्ने मान्छे हो ऊ, मैले भनें ।’ त्यतिबेला कोइरालाले ‘त्यो म गर्छु’ भने पनि दुई नेताबीच राम्रो सम्बन्ध कहिलै भएन ।


‘कोइराला भनेको कांग्रेस र कांग्रेस भनेको कोइराला’ अवस्थामा लेखकका पति नरहरि आचार्यले पार्टी महाधिवेशनमा कोइरालालाई चुनौती दिएका थिए । तर, कोइराला शारदालाई कतिपय भित्री कुरा भेटमा भनिरहन्थे । अर्को एउटा त्यस्तो प्रसंग छ । आफ्नो स्वास्थ्य र राजनीतिक उपचारका क्रममा दिल्लीमा उनले भने, ‘मैले यसपालि कहिलै अनुभव नगरेको एल्लोपन अनुभव गरें । लाग्यो— सबै आआफ्नो स्वार्थका निम्ति मलाई प्रयोग गरिरहेका छन् । एक्लो पो रहेछु म पूरै । आफ्नो पार्टीका, वरिपरिका मान्छेको व्यवहारबाट बडो दु:खी भए यसपालि । सायद त्यसैले बिरामीबाट तङ्ग्रिन सकिनँ ।’


कोइरालाको दिल्ली दौडाहामा माओवादीसँग भएको १२ बुँदे समझदारीले मुलुक गणतन्त्रउन्मुख भएको थियो । लेखकले आफ्नो सम्झना त्यस्ता केही प्रसंग उल्लेख गरेकी छन् ।
२०६१ माघ १९ मा नेपालमा तत्कालीन राजाले ‘प्रजातन्त्र हरण’ गरेको दिन हो । नरहरि आचार्य (जसलाई लेखक ‘बाबा’ सम्बोधन गर्छिन्) लाई शाही सरकारले पक्राउ गरी हिरासतमा लगेको थियो । आफन्त बेखबर थिए । दिल्लीबाट फर्केपछि बाबाको खोजीमा लेखक भौंतारिएको अनुभव मन छुने खालको छ । माओवादी युद्धमा बेपत्ता परिवारले भोगेको पीडासँग केही हदसम्म मिल्छ यो घटना । दिल्लीबाट फर्केपछि उनको घर मात्र होइन, मन पनि उदास थियो । ‘लागेको थियो— तिमीसँग (नरहरि आचार्य) भेट्न नपाए पनि घर आउनु भनेको आफैंमा सान्त्वना हुनेछ । होइन रहेछ, झन्झन् पोलिरहेछ मन, दन्किरहेछ आगो ।’ राजधानीका सुरक्षा निकायमा चहारेपछि उनले बाबालाई ककनी सशस्त्र प्रहरी क्याम्पमा भेटिन् । उनका बाबा त्यहाँ भएको थाहा पाएपछि उनी खुसी नहुने कुरै थिएन । ‘आफ्नो मान्छे थुनिएको थाहा पाएपछि त झन् फर्कन मन लागेन मलाई । आखिर घर भनेको के हो र ? आफन्त जहाँ छन्, त्यही त हो घर ।’ बन्दी प्रसंग दुवाकोटबाट आचार्य नछुटेसम्म आइरन्छ । अरू कांग्रेस नेताहरू अदालतमा रिट हालेर भकाभक छुटेका बेला नरहरि भने सबभन्दा पछि छुटे ।
शारदाको ‘त्यो समय’ लाई आधा राजनीति र आधा निजात्मक संस्मरण भने पनि फरक पर्दैन । अर्को पाटो उनको जागिर, छोरीहरू, आफन्त र सहकर्मीहरूको संगत, उठबस, मायाप्रेम, रिस राग पनि झल्किन्छ । राजाको कदमपछि नरहरि जेलबाट नछुटेसम्म, पहिलो संविधावनसभा निर्वाचन, चुनावी प्रचार, विजय उत्सवलगायतका विषयमा उनी राजनीतिमा होमिएको जस्तो देखिन्छ । यद्यपि उनले राजनीतिमा देखिएका विभिन्न प्रवृत्तिहरू निजात्मक ढंगले राखेकी छन् । राजनीतिक प्रसंगमा उनी इमानदार देखिन्छन् । उनीमा कुनै पूर्वाग्रह देखिँदैन । कतिपय विषयमा उनी नरहरिभन्दा फरक धारमा उभिन्छिन् । गिरिजाप्रसाद कोइरालासँग सभापतिमा प्रतिस्पर्धा नगर्न उनले सुझाव दिए पनि नरहरिले मानेका रहेनछन् । शाही शासन, १९ दिने जनआन्दोलन, माओवादी सरकार वार्ताका विषय सरसर्ती व्याख्या उनले गरेकी छन् । केन्द्रमा नरहरिजीलाई राखेर लेखेका दैनिकीमा उनले कतिपय स्थानमा पाठकका लागि चासो नहुने विषय हालेकी छन् । खासमा संस्मरण लेखन यस्तै हुनुपर्छ भन्ने छैन । राजनीतिमा उनको ज्ञान र प्रस्तुति सतहीजस्तो छ । गहिराइमा पुग्ने चेष्टा गरेकी छैनन्, सायद आवश्यक ठानिनन् कि ।


नरहरिलाई शारदाले यति धेरै माया गर्छिन् । लोग्ने–स्वास्नीबीच गुनासा नहुने कुरै भएन । ‘यही मान्छेसँग तीस वर्ष सँगै बस्ता मलाई कति गाह्रो भयो होला— ऊ मलाई पनि देख्तैनथ्यो, अझै कतिपय अवस्थामा । सँगै हिँड्यो मलाई पछाडि छाडेर कहाँ पुग्छ । म क्षमा गर्छु सजिलै उसलाई, मतदाताले गर्दैनथें नि ।’ पहिलो संविधानसभाको प्रसंग हो यो ।


आमा र दुई छोरीबीचका संवाद रमाइला छन् । उनका दुवै छोरीले अस्ट्रेलियाबाट उच्च शिक्षा लिए पनि नेपालमा जागिरका लागि दौडधुप गरेका छन् । छोरीको प्रेम प्रसंगलाई रमाइलो ढंगले उनले उतारेकी छन् । सन्तानको मनोविज्ञानलाई ध्यान दिएर उनीहरूलाई मार्गनिदेर्शन गर्नुपर्ने उनको निष्कर्ष झल्किन्छ । कतिपय मसिना सन्दर्भले शब्दको बोझ मात्र दिएको छ पुस्तकलाई । जस्तो एउटा वाक्य— अनामिकाले नीलो जिनको पाइन्ट, गुलाफी रङको हाइनेक स्वेटर र गलबन्दी लगाएकी थिई ।


जागिरको सिलसिलामा लेखक यौनकर्मीको अधिकारका लागि भारतको कलकत्ताको सोनागाछी रेड एरिया पुगेपछि अनुभूति मार्मिक रूपमा चित्रण गरिएको छ । ‘सोनागाछीका गल्लीमा घुमेर फर्कंदाको मेरो मनस्थितिले भने म बयान गर्न असमर्थ छु । बाटैमा सोचिहरेथें— रेडलाइट एरियाको गल्लीमा घुमिरहेका ती पुरुष र सडकमा हिँडिरहेका यी पुरुषमा के भिन्नता छ ? भद्दा शृंगार र अल्प पोसाकमा अनेक हाउभाउ गर्दै ग्राहकलाई आफूतर्फ तान्ने प्रयत्नमा लागेका यी मायालाग्दा स्वास्नीमान्छे र म आफैंमा के भिन्नता छ ?’ मानवता एउटै हो । जो जहाँ रहे पनि । मानवीय संवेदनाका कुरा हुन् यी । यही प्रसंगमा नेपाली यौनकर्मीले भनेको अर्को प्रसंग छ । ‘हामी यहाँ बजारमा नबस्ता हौं त तिमीहरू भलाद्मी र असल बनेर कहाँ निर्धक्क हिँड्न पाउँथ्यौ ? सडकमै दिउँसै बलात्कार गर्थे यी पुरुषले तिमीहरूलाई । घरका पत्नी तिमी, बजारका पत्नी हामी... तिमी पट्टी बाँधिएका कुकुर, हामी पट्टी नबाँधिएका कुकुर... तिमी र हामीमा यत्ति नै हो फरक... ।’ प्रवासको जागिर, अन्धकारमा नेपाल, फेरि काठमाडौंमा, घरमा चोरी, छोरीहरूसँग सिड्नीमा, दिल्लीमा गिरिजाप्रसाद, उन्नाइसदिने जनआन्दोलन, संविधानसभाको चुनाव, भुटानकी रानी र जागिरबाट राजीनामा शीर्षकहरू समेटिइएका छन् । शीर्षकमा उल्लेख भएभन्दा फरक विषयवस्तु त्यहाँ छन् ।


‘त्यो समय’ मा पाठकका लागि धेरै खुराक छन् । लेखकले चतुर ढंगले राजनीति, माया प्रेम, यौन, पीडा, आक्रोश, संघर्ष, मिलन–विछोड, मायामोह आदि विषय मिसमास गरेकी छन् । उनले आफ्नै घरपरिवार, साथी, कार्यालयको कुरा गरे पनि त्यसमा पाठकका लागि रुचिकर मसला पस्केकी छन् । लेखकको सबभन्दा ठूलो विशेषता नै उनी जहाँ पुग्छिन्, त्यहाको वस्तुस्थितिलाई अक्षरले चित्र उतार्छिन् । नितान्त व्यक्तिगत कुरा पनि पाठकका लागि सामग्री बनाउँछिन् । लेखनमा ‘परिवारवाद’ लाई प्रमुखताका साथ राखेकी छन् । लेखकले यो कृतिलाई ‘एउटा समयको अभिलेख’ भनेकी छन् । यसमा कम अभिलेख र बढी अनुभूति छन् । भाषामा सरल छ, बगेको छ । ‘त्यो समय’ पढ्दा ब्रेक लगाउनुपर्ने अवस्था खासै छैन । धन्य त्यो समय जसले जसले लेखकलाई राम्ररी खेलायो अनि यो संस्मरणात्मक कृति जन्मायो ।

प्रकाशित : जेष्ठ ५, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?