‘हो, म जीवितै छु’

९२ वर्षका महाथिर मोहमदलाई राजनीतिमा फर्कन अभिप्रेरित गर्ने राजनीतिक घटनाक्रम सेक्सपियरको नाटकभन्दा कम छैन ।
यो शक्ति संघर्षका लागि महाथिरले कुनै समय आफैंले मुद्दा लगाएर जेल हालेका शिष्य अनवर इब्राहिमले साथ दिए ।

काठमाडौँ — लेसियाका प्रधानमन्त्री महाथिर मोहमद जुलाई महिनादेखि ९२ पूरा भई ९३ वर्ष लाग्नेछन् । त्यसैले त दुनियाँले उनलाई कुनै एक देशको प्रधानमन्त्री मात्र नभई विश्वकै सबैभन्दा पाका निर्वाचित नेताको रूपमा चिन्न थालेको छ ।

‘हो, म जीवितै छु’

राजनीतिबाट संन्यास लिएर शान्त जीवन बिताइरहेका ९२ वर्षका वृद्ध नेतालाई पुन: राजनीतिमा फर्कन अभिप्रेरित गर्ने मलेसियाको राजनीतिक घटनाक्रम सेक्सपियरको कुनै नाटकभन्दा कम छैन । पाका नेता महाथिरले आफैंले हुर्काएको ‘यूएमएनओ’ पार्टी परित्याग गरी गत सन् २०१६ फेब्रुवरीमा नयाँ पार्टी स्थापना गरेसँगै त्यहाँको राजनीतिमा कुनै काथानक चलचित्रमा झैं ‘क्लाइमेक्स’ सुरु भएको थियो ।


उनी आफूले उत्तराधिकारीका रूपमा दीक्षित गर्दै मलेसियाको सत्ताको बागडोर सुम्पिएका निवर्तमान प्रधानमन्त्री नाजिब रजाकको मनोमानी र भ्रष्टाचारी प्रवृत्तिका कारण निकै क्रुद्ध थिए । त्यसैले नाजिबको सत्तालाई विराम लगाउँदै नयाँ राजनीतिक इतिहास सुरु गर्न उनी आफैंले कम्मर कसे ।


यो शक्ति संघर्षका लागि उनले कुनै समय आफैंले मुद्दा लगाएर जेल हालेका शिष्य अनवर इब्राहिमले साथ दिए । इब्राहिमले महाथिरले आफू माथि गरेको सम्पूर्ण दमन बिर्सिएर
आफ्नो गठबन्धनका नेता बनाउँदै संघर्षलाई नयाँ मोड दिएका थिए ।


नाजिब रजाक राज्य विकास कोषको अर्बाैं डलरको आर्थिक घोटाला काण्डमा मुछिएसँगै महाथिरको मन कुँडिएको थियो । त्यसपछि उनले आफ्नो नेतृत्वमा कुनैबेला मलेसियाको विकासको खाका कोरेको पार्टी त्याग गरी नयाँ पार्टी खोल्ने अभूतपूर्व र कठोर निर्णय लिएका थिए ।


मलेसियाको सार्वजनिक कोष दुरुपयोग गरिएर सो पैसा अमेरिका पुर्‍याइएको विषयमा अमेरिकाको न्याय विभागले पनि अनुसन्धान गरेको थियो । सो अनुसन्धानमा नाजिबको नेतृत्वमा साढे तीन अर्ब डलर अपचलन भएको र त्यसमध्ये ७३ करोड १० लाख डलर उनको व्यक्तिगत खातामा नै जम्मा भएको देखिएको थियो । त्यसपछि महाथिरले सत्तारूढ गठबन्धनका अध्यक्ष नाजिबको राजीनामा माग गर्दै आएका थिए ।


विभिन्न ४ पार्टी सम्मिलित विपक्षी गठबन्धनले महाथिरलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेको थिए ।
***

विपक्षी गठबन्धनका नेताका रूपमा चुनावमा विजयी हासिल गरेसँगै बिहानको ३ बजे गरिएको पत्रकार सम्मेलनमा निकै तरोताजा देखिएका महाथिरले भने, ‘हो, हो म अझै जीवितै छु ।’


६० वर्षअघि बेलायती उपनिवेशबाट स्वतन्त्र भएसँगै ‘बारिसान नेसनल’ गठबन्धनले गर्दै आइरहेको सत्ता सञ्चालन महाथिरको पछिल्लो विजयीसँगै तोडिएको छ ।


यसअघि डा. माहथिरले सन् १९८१ देखि २००३ सम्म मलेसियाको राजनीतिमा आफ्नो प्रभुत्व जमाए । सन् १९८१ मा महाथिरले सत्ता सम्हाल्नुपूर्व मलेसियामा संक्रमणकालीन अवस्था थियो । उनले सत्तारोहण गरेसँगै देशमा तीव्र औद्योगीकरण र आर्थिक विकास भयो । आफ्नो नेतृत्वकालमा मलेसियालाई एसियाका विकासशील राष्ट्रहरूको दाँजो उभ्याउन उनले पुर्‍याएको योगदानले उनलाई लोकप्रिय नेताका रुपमा स्थापित गर्‍यो । उनलाई त्यहाँका जनताले मलेसियाको विकासको प्रणयताका रूपमा सम्मान गर्छन् ।


‘आधुनिक मलेसियाका पिता’ मानिएका महाथिरको जन्म एलोर सितारमा भएको हो । उनी आफ्ना माता–पिताका नौ सन्तानमध्ये कान्छा हुन् । सानैदेखि तीक्ष्ण बुद्धि भएका उनी पढाइले चिकित्सक हुन् । चिकित्सक भए पनि उनलाई पछि मलेसियाको राजनीतिमा रुचि बढ्न थाल्यो र उनले मलेसियाको सबैभन्दा ठूलो पार्टी ‘युनाइटेड मले नेसनल अर्गनाइजेसन (यूएमएनओ)’ को सदस्यता लिए ।


तत्कालीन समयमा बेलायती उपनिवेशबाट मलेसियाको स्वतन्त्राका लागि उक्त पार्टी संघर्षरत थियो । १९५७ मा मलेसिया स्वतन्त्र भएसँगै उनी १९६४ मा पहिलो पटक संसद्मा प्रवेश गरे । एक कार्यकाल सांसद भएसँगै मलेसियाका प्रथम प्रधानमन्त्री टुन्कु अब्दुल रहमानसँग उनको मतभेद भयो र उनलाई पार्टीबाट नै निकालियो ।


राजनीतिमा चाख बसिसकेका महाथिर पार्टीबाट निष्कासित भए पनि हरेस भने खाएनन् । रहमान प्रधानमन्त्रीबाट हटेसँगै उनले पुन: पार्टीमा प्रवेश पाए र त्यसपछि भने उनलाई पार्टीमा शीर्ष स्थानमा पुग्नबाट राक्ने आँट कसैले गरेनन् । नभन्दै उनी १९८१ तत्कालीन प्रधानमन्त्री हुसैन अनलाई प्रतिस्थापन गर्दै मलेसियाको प्रधानमन्त्री नियुक्त भए ।


उनको कार्यकालको सुरुआत भने निकै विवादित रह्यो । उनले त्यसबेला आन्तरिक सुरक्षा ऐन लागू गर्दै विपक्षी दलका नेता तथा कार्यकर्ता र गैरमुस्लिम धर्मगुरुहरूलाई पक्रेर जेल हालेका थिए । उनले आफ्ना उपप्रधानमन्त्री अनवर इब्राहिमलाई १९९८ मा सरकारबाट निष्कासित गर्दै जेलसम्म हालेका थिए । उनले त्यसबेलाको आर्थिक संकटबाट देशलाई निकाल्न न अनवरलाई जेल हाल्ने निर्णय गर्न हिच्किचाए न अन्तर्राष्ट्रिय मुद्रा कोषले दिएको सुझावलाई लत्याएर नयाँ मौद्रिक नीति लागू गर्न खुट्टा कमाए । उनको त्यही जुझारुपन र सुझबुझपूर्ण निर्णयले मलेसियाको अर्थतन्त्रलाई पातालमा धस्सिन लागेको अवस्थाबाट उठाएर आकाशमा पुर्‍याइदियो ।


अनवर सकारबाट हटाइएसँगै आन्दोलित भएर आफ्ना समर्थनका साथमा सडक आन्दोलनमा उत्रिए । महाथिरलाई त्यसले खासै प्रभाव पारेन उनले अनवरलाई भ्रष्टाचारको आरोप लगाएर थुनिदिए । उनको निरंकुश शासन प्रणालीले गर्दा अमेरिका, बेलायत र अस्ट्रेलियासँग मलेसियाको सम्बन्ध चिसियो । तर उनले त्यसलाई पनि वास्ता गरेनन् र दृढ भएर देशको आर्थिक र औद्योगिक विकासमा लागि रहे ।


२००३ मा उनले प्रधानमन्त्रीबाट हटेसँगै अहमद अब्दुल बदावी प्रधानमन्त्री बने । त्यसपछि २००९ को चुनावपछि भने महाथिरले नै मलेसियाका दोस्रो प्रधानमन्त्री अब्दुल रजाक हुसैनका छोरा नाजिब रजाकलाई प्रधानमन्त्री बनाएका थिए ।


आफैंले उचाई दिएको पार्टीलाई सत्ताबाट हटाएसँगै उनले आफ्ना पुराना सहयोगी अनवर इब्राहिमलाई विश्वासमा लिएका छन् । इब्राहिमले पनि पहिलाका सबै आरोप–प्रत्यारोप बिर्सेर नयाँ ढंगबाट अगाडि बढ्ने उद्घोष गरेका छन् । इब्राहिमकी श्रीमती वान अजिजा वान इस्माइल अहिलेको सरकारमा उपप्रधानमन्त्री छिन् ।


इब्राहिमलाई त्यहाँका राजाले सम्पूर्ण पूर्ववत् अपराध र आरोपहरूबाट क्षमादान दिएसँगै उनी पुन: राजनीतिमा फर्किने बाटो खुलेको छ । उता रजाकलाई भने सरकार गठन भएकै दिन देश छोड्न प्रतिबन्ध लगाइएको छ ।


कुनै बेलाका प्रतिद्वन्द्वी अहिले महाथिरका मित्र हुँदै प्रधानमन्त्रीको उत्तराधिकारीका रूपमा अगाडि आएका छन् भने उनकै उत्तराधिकारीका रूपमा प्रधानमन्त्री बनेका रजाक सम्भवत: जेल जाने भएका छन् ।

(एजेन्सीहरूको सहयोगमा)
अनुवाद : स्वरूप आचार्य

प्रकाशित : जेष्ठ ५, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?