फुटबलले गुमाएको मणि

नेपाली फुटबल इतिहासका अभूतपुर्व खेलाडी हुन् मणि शाह । फुटबल खेल्नकै लागि जन्मिएका ‘गड–गिफ्टेड’ यी पूर्वकप्तानको सोमबार ५१ वर्षको अल्पायुमै निधन भयो ।
हिमेश वज्राचार्य

काठमाडौँ — फुटबलमा झगडाका अनौठा किस्साहरू धेरै सुनिन्छन् । एउटा यस्तै घटना हो, ठमेल–११ र थ्री–स्टारका खेलाडी–समर्थकबीच दशरथ रंगशालामा भएको झगडा । यो ०३८ सालअगाडिको घटना हो, अनि अवसर सहिद स्मारक लिग । दशरथ रंगशालाको मैदान युद्धभूमिमा परिवर्तन भएको थियो । त्यति बेलाको त्यो खेल र झगडा हेर्नेहरू अझै भेटिन्छन् । समस्या के छ भने झगडाको कारणलाई लिएर ठमेल समर्थक एकथरी सुनाउँछन् भने थ्री–स्टारका शुभेच्छुक अर्कोथरी । 

जे होस्, यो झगडाको ठूलै योगदान रह्यो, नेपाली फुटबलमा । यो झगडाले ठमेल–११ माथि प्रतिबन्ध लाग्यो । र, प्रतिबन्धसँगै जन्म भयो, नेपाली फुटबलमा सर्वाधिक सफल र लोकप्रिय क्लब— मनाङ–मस्र्याङ्दी । यो ठमेल–११ को अर्को रूप हो । नेपाली घरेलु फुटबलमा सुरुआती दिन व्यावसायिकता भित्र्याउने श्रेय यही क्लबलाई जान्छ । लिगमा मनाङ मस्र्याङ्दीले ‘डी’ डिभिजनबाट खेल्न सुरु गरेको थियो र प्रत्येक वर्ष माथि उक्लँदै ०४२ सालमा त ‘ए’ डिभिजन लिग नै जित्यो ।


अरू कतै सुन्न नपाइने फुटबलको अद्वितीय कथा हो, यो । यो कथाका प्रमुख नायक हुन्, उनै मणिविक्रम शाह । छोटोमा मणि शाह, मायाले भन्दा— मणि दाइ । मनाङ मस्र्याङ्दीको जन्म, त्यसले प्राप्त गरेको अहिलेको उचाइ, अनि प्रशस्त समर्थकहरूको संख्या, यसपछाडिका प्रमुख कारण हुन्, मणि । क्लबको पर्यायजस्तै रहे, उनी । कोही खेलाडी क्लबभन्दा ठूलो त हुन्न । मनाङ मस्र्याङ्दीभन्दा मणि पनि ठूला होइनन् । तर क्लबको इतिहासमा उनको उपस्थितिको आकार भने निकै ठूलो रह्यो ।

Yamaha


फुटबलको अर्को एक विश्वकपको सुरुआत धेरै नजिक छ, महिना दिन पनि छैन । पूरा विश्व विश्वकप फुटबल भनेपछि त्यसको पछाडि लाग्छ । नेपाल पनि किन अपवाद हुन्थ्यो र ? यहाँ पनि फुटबलको विश्वकप भनेपछि हुरुक्कै हुनेहरू धेरै छन् । यसको जग बसाउने काम भने सन् १९८६ को विश्वकपले गरेको थियो । मेक्सिकोमा भएको त्यो विश्वकप अर्जेन्टिनाले जितेको थियो र त्यसका कप्तान थिए, डिएगो म्याराडोना । नेपाली फुटबल प्रशंसकमाझ त्यो विश्वकपको निर्णायक छाप छ ।


टेलिभिजनको माध्यमबाट सर्वसाधारणले आफ्नै कोठमा हेर्न पाएको पहिलो विश्वकप । त्यही विश्वकप जित्ने अर्जेन्टिना र म्याराडोनामाथि नेपाली प्रशंसक दंग परे । पहिलो प्रेमजस्तै थियो, त्यो । त्यसैले त हो, अहिले पनि नेपालमा कुनै एक टिमका सबैभन्दा बढी समर्थक छन् भने त्यो अर्जेन्टिनाको हो । ठीक यही बेला हो, मनाङ मस्र्याङ्दीको वास्तविक उदयको समय । टिमका सबै पदाधिकारी र खेलाडी अर्जेन्टिनाकै समर्थक बने । अनि निर्णय भयो, क्लबले पनि अर्जेन्टिनाकै जस्तै जर्सी लगाउने, सेतो र आकाशे रंगको धर्सो–धर्सो भएको जर्सी ।


मणिले आफूलाई पनि म्याराडोनाकै रूपमा ढाले । उचाइ पनि उस्तै, हल्का पुड्को नै । कपाल पनि हल्का लामो, घुम्रिएको । म्याराडोना पनि ‘गड गिफ्टेड’ खेलाडी, मणि पनि ‘गड गिफ्टेड’ । दुवै प्राकृतिक रूपमै ‘लेफ्ट–फुटेड’ । गोल पनि गर्ने, गोलका लागि उत्तिकै राम्रो अवसर पनि सिर्जना गर्ने । अहिले दुवैका पुराना तस्बिर पल्टाएर हेर्नुपर्छ, साँच्चै दुवैमा धेरै समानता पाइन्छ । त्यसो त म्याराडोनाको यो रूप अरू धेरैले पछ्याए, तर त्यसमा एउटा के कमी थियो भने म्याराडोनाको जस्तो खेल थिएन ।


तर मणिमा त्यो पनि थियो । नेपालमा जन्मेर उनी मणि भए, अर्जेन्टिनामा जन्मेको भए, अर्को म्याराडोना नै हुन्थे । म्याराडोनालाई भर्खर टेलभिजनमा हेरेकाहरूले मणिलाई पनि त्यस्तै रूपमा पाए । र, जर्सीका कारण अर्जेन्टिनी टिमजस्तै देखिन्थ्यो मनाङ मस्र्याङ्दी । उनीहरूको खेल हेर्न दशरथ रंगशालामा दर्शकको ओइरो लाग्थ्यो । मैदानबाहिर पनि म्याराडोना र मणिमा उस्तै धेरै समानता पाइन्छ । मैदानबाहिर म्याराडोना उपद्रोही पाराका मान्छे हुन्, त्यसको बाक्लो झल्को मिल्थ्यो मणिमा पनि ।


मैदानमा म्याराडोना जसरी झेली पाराका थिए, मणि पनि कम थिएनन् । मणिले म्याराडोना पाराले हातले त गोल गरेनन्, तर सायद अरू धेरै गरे । विशेषत: साथी भनेपछि उनी ज्यानै फाल्थे । साथी खेलाडीलाई कसैले केही गर्‍यो भने सबैभन्दा अगाडि सरेर आक्रामक हुन्थे यिनै मणि । उता म्याराडोनाले केही खराब बानी पाले । यो बानी कति नराम्रोभन्दा यसले उनलाई धेरैपल्ट मृत्युको मुखमा पुर्‍याइसकेको छ । यता मणि पनि यस्तै निस्के । नतिजा नमजाको निस्कियो, नेपाली फुटबलले पाएका अहिलेसम्मकै सबैभन्दा राम्रा खेलाडी मणिले अन्तत: मृत्युको आत्मसात् गरे, यसै साता ।


कसैले पनि विवाद नगरे हुन्छ, मणि नेपाली फुटबलले पाएका अहिलेसम्मकै नम्बर १ खेलाडी हुन्, फुटबल खेल्नै जन्मेका । अनि ‘गड–गिफ्टेड’ । ५१ वर्षमै भएको उनको निधन साँच्चै अल्पायुमै थियो । उनले आफ्नो शरीर र स्वास्थ्यप्रति धेरै नै हेलचक्र्याइँ गरे । जति बेला उनी आफ्नो खेल जीवनको उत्कर्षमा थिए, अहिलेको ठमेलले पनि बिस्तारै आफ्नो रूप लिइरहेको थियो । त्यही ठमेलमा एक समय मणिले जे भन्थ्यो, त्यही हुन्थ्यो । ठमेलका ‘राजा’ थिए, उनी । सायद कसैलाई बिग्रनका लागि यस्तै–यस्तै कारण पर्याप्त हुन्छ । उनी मस्त मनमोजी पाराका थिए । साथीहरू कालधाराको उनको घरमा दिनहुँजस्तो पुग्थे । मोजमस्तीमा बितेका दिन थिए, ती ।


त्यसमाथि उनको नजिकको दोस्ती थियो, तत्कालीन राजकुमार दीपेन्द्र र अधिराजकुमार निराजन शाहसँग । एउटा तथ्य धेरैलाई थाहा नहुन सक्छ— दीपेन्द्र र निराजन फुटबल भनेपछि हुरुक्कै हुन्थो । सबैले जानेको तथ्य के थियो भने उनीहरू दुवैमा धेरै खराब बानी पनि धेरै थियो । विशेषत: निराजन अधिकांश समय नशामै हुन्थे । मदिरा उनलाई प्रिय थियो । यस्तै स्थितिमा उनीहरू धेरैपल्ट सातदोबाटोको एन्फा कम्प्लेक्समा पुगे । फुटबल खेले र खेलेको हेरे पनि । अधिकांश समय उनीहरूसँग मणि पनि हुन्थे । पछि मणिको दोस्ती पारस शाहसँग पनि राम्रै रह्यो । मणि खुलैरै राजतन्त्रको समर्थन गर्थे र राजा फर्कनुपर्ने धारणा राख्थे । यससँगै उनले राजपरिवारकै जस्तो बानी व्यहोरो पनि कायम राखे । समस्या त्यहीं थियो । तर, उनले यही दोस्तीमा टिकेर नेपाली फुटबलमा धेरै फाइदा लिन खोजेनन् अथवा सकेनन् पनि । भनिन्छ, केही साथी खेलाडी र पदाधिकारीबीच पनि घेरिएर रहे, जसको रुचि पिउनु र पिलाउनुमा बढी थियो ।


मणिलाई यी खराब बानीबाट जोगाउनुपर्नेमा उल्टै यो नै राम्रो भनेर भ्रम छर्ने तिनै थिए । पछि यिनीहरू हराए अथवा आपैंm सुध्रिए तर मणिले त्यति पनि गर्न सकेनन् । खास–खास साथीले मणिलाई लामो स्वार्थहीन साथ पनि दिए । उनको स्कुल पढ्दाका साथीहरूको एक समूह थियो, जसले उनलाई ठीक स्थितिमा राख्ने धेरै मद्दत गरेको थियो । फुटबलकै केही पुराना खेलाडी र पदाधिकारीले पनि उनलाई ‘हेल्थी लाइफ–स्टायल’ मा रहन बारम्बार अनुरोध गरे तर सकेनन् ।


श्रद्धाञ्जलीका लागि मणिको शव दशरथ रंगशालामा राखिएको थियो । यो त्यही मैदान थियो, जहाँ उनले आफ्नो वास्तविक परिचय बनाएका थिए । त्यही मैदानमा मणिको त्यो स्थिति देखेर कैयौंले आफूलाई रोक्न सकेनन् । धेरै रोए । यी रुनेहरू तिनै थिए, जसले मणिलाई सुधार्न खोजे तर असफल रहे । त्यहाँ मणिलाई यो हालतमा पुर्‍याउन बाटो खन्नेहरू पनि धेरै थिए तर तिनको आँखामा आँसु थिएन । गाँठी कुरा के भन्दा धेरैले उनको नाम, प्रसिद्धि र पहुँच प्रयोग गरे ।


पछिल्लो एन्फा चुनावमा पनि उनको त्यही नाम र छवि धेरै प्रयोग भयो । चुनावमा जितेमा मणिलाई यस्तो दिने उस्तो दिनेजस्ता धेरै पनि भनियो तर त्यस्तो केही भएन । भनिन्छ, यसै कारणले उनी दु:खी थिए, फेरि एकपल्ट उनको मनमा चोट थपिएको थियो । चोटहरूको शृङ्खलामा यो अर्को चोट थियो । तर, यो अन्तिम थियो । आफ्नै शरीरले उनलाई धोका दिन सुरु गरिसकेको थियो, यो धोका पनि थपियो, उनै उठ्नै सकेनन्, कहिल्यै पनि ।


यता मैदानमा पुराना दिन सम्झने हो भने ती साँच्चै गज्जब नै थिए । उनले धेरै लामो समय खेल्न सकेनन् तर जति खेले, धेरै राम्रो खेले । नेपालको राष्ट्रिय जर्सीमा उनले ६ गोल गरे । त्यसमध्ये सन् १९८७ मा ओलम्पिक छनोटका लागि थाइल्यान्डविरुद्ध बैंककमा पहिलो गोल गरे । त्यो खेल नेपाल २–१ ले पराजित रह्यो तर उनको त्यो गोलमा कायल हुने धेरै थिए । नेपाली टिमले निकै राम्रो खेलेको कोलकातामा भएको दोस्रो दक्षिण एसियाली खेलकुद पनि एक हो ।


सन् १९८७ को अवसरमा मणिले भुटानविरुद्ध दुई गोल गरे । दक्षिण एसियाली खेलकुदकै त्यसयताका दुई संस्करणमा उनले भारतविरुद्ध एक–एक गोल गरे । उनको सबैभन्दा प्रसिद्ध गोल भने भारतविरुद्ध ढाका दक्षिण एसियाली खेलकुदमा थियो । सन् १९९३ मा नेपालले फुटबलमा स्वर्ण जितेको थियो । निर्धारित समयको खेल सकिन लाग्दा नेपाल २–१ ले पछाडि थियो । ठीक त्यही बेला उनले फ्रिकिकबाट सुन्दर गोल गरे । युट्युबमा अझै त्यो गोल हेर्न सकिन्छ र भन्न करै लाग्छ— वाह कति सुन्दर गोल !


मणिको प्रसङ्गमा एउटा चर्चा बारम्बार दोहोरिने गर्छ र यो पुरानो घटना पनि दशरथ रंगशालाकै हो । अवसर थियो, राष्ट्रिय लिग । त्यसमा अर्जुन लामा खुबै चम्के, उनी छ
गोल गरेर ‘हाइएस्ट स्कोरर’ भए । उनले एक खेलमा ह्याट्रिक पनि गरे ।


ह्याट्रिकका यी तीनै गोलमा पास मिलाएका थिए, मणिले । पास पनि कस्तो सटीक भन्दा त्यसमा अर्जुनलाई गोल गर्न कुनै कठिनाइ नै भएन । अझ भनौं, त्यो गोलभन्दा त्यसका लागि उपलब्ध भएको पास राम्रो र निर्णायक थियो । अर्जुन कति धेरै कृतज्ञ भए भने उनले तेस्रो गोलपछि मैदानमै मणिलाई खुट्टामै ढोगे । साँच्चै यत्तिको मान्नैपर्ने खेलाडी थिए, उनी ।
मणिको निधनयता धेरैले लेखे, ‘नेपाली म्याराडोना’ रहेनन् । उनी वास्तवमै म्याराडोनाका ठूला प्रशंसक थिए, उनले जस्तै खेल्न खोजे । सायद खेल्ने समय उनलाई कसैले म्याराडोना भन्दा पनि खुसी लागेको थियो । जीवनको अन्त्यतिर भने उनी यो छविबाट निस्कन चाहन्थे । उनी नितान्त मणि नै मात्र हुन चाहन्थे । उनले भनेका थिए, ‘धेरैले मलाई नेपाली म्याराडोना भन्छन् । अहिले लाग्छ, मलाई मेरो खेलका लागि नै सबैले सम्झे राम्रो । मलाई मणि भनेर चिनेकै बेस ।’ जीवनले दिएका धेरै पाठपछि उनको यो नितान्त आफ्नो धारणा थियो । मणि वास्तवमै गज्जब पात्र हुन् । इतिहासबाट सिक्ने हो भने मणि यस्तै सिक्न सकिने पात्र हुन् । नेपाली फुटबलले एक युगमा एकैपल्ट पाएका राम्रा खेलाडी हुन् मणि जो अबको युगमा पनि सम्झनामा बाँचिरहन्छन् । हाद्र्धिक श्रद्धाञ्जली मणि दाइ !
twitter : @himeshratna

प्रकाशित : जेष्ठ ५, २०७५ ०८:०३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कुमार–गाथा

कुमारले यहाँसम्मको यात्रा तय गर्दा अनेक आरोह–अवरोहको सामना गरे, तर उनले कहिल्यै पछि हटेनन् । नतिजा, न्यु डायमन्ड अहिले नेपाली भलिबलको उत्कृष्ट मध्यको टोलीमा गनिन्छ ।
सुबास हुमागाईं

काठमाडौँ — आज भन्दा ११ वर्ष अगाडि जेठ ५ गतेकै दिन शिक्षक कुमार राईले न्यू डायमन्ड एकेडेमीमा छात्राहरूलाई पहिलो पटक प्रशिक्षण दिएका थिए । आजको दिनसम्म आइपुग्दा न्यू डायमन्डको छात्रा टोलीले नेपाली महिला भलिबल जगत्मा पृथक् पहिचान बनाइसकेको छ । दुई दशक शिक्षण पेसामै बिताएका कुमारले यहाँसम्मको यात्रा तय गर्दा अनेक आरोह–अवरोहको सामना गरे तर उनले कहिल्यै पछि हटेनन् । नतिजा, न्यू डायमन्ड अहिले नेपाली भलिबलको उत्कृष्टमध्येको टोलीमा गनिन्छ ।

विसं २०४७ सालदेखि शिक्षण पेसा अँगालेका कुमार राजधानीको एक विद्यालयमा अंग्रेजी पढाउँथे । उनी उक्त विद्यालयको निम्नमाध्यमिक इन्चार्ज पनि थिए । उनले विद्यालयमा छुट्टीपछिको समय भलिबल प्रशिक्षण दिने सोच बनाए । नियमित रूपमा प्रशिक्षण दिए । विद्यालयको आफ्नै छात्र र छात्रा भलिबल टोली पनि तयार भयो । २०६१ सालमा उक्त स्कुलकै आयोजनामा अन्तरस्कुल छात्र र छात्रा भलिबल प्रतियोगिता गरियो । दुवै स्पर्धाका विजेतालाई २०–२० हजार नगद पुरस्कार राखियो । तर, त्यसै कुरामा प्रशासनसँग सानो कुरामा असमझदारी भयो । कुरा बाझिएपछि उनले विद्यालय छाडे ।


विद्यालय छाड्नु उनलाई सहज निर्णय भने थिएन । भविष्यबारे केही नसोच्दै उनले एकै क्षणमा यो निर्णय लिएका थिए । ‘स्कुल छाडेपछि मैले बिदेसिने निर्णय लिएँ । बिदेसिने योजनामा दुबई जाने प्रक्रिया पनि अगाडि बढाइसकेको अवस्था थियो । तर, मित्र रूपेश खड्काले रोके । ‘उहाँकै सल्लाहमा अर्का मित्र देवीप्रसाद राईसँग मिलेर न्यू डायमन्डको स्थापना गर्ने निर्णय भयो,’ उनले सुनाए ।


माघ महिनामा विद्यालय छाडेका कुमारले फागुन महिनासम्म निकै सकसमा बिताए । ‘विद्यालय छाडेको थाहा पाएर विद्यार्थी र अभिभावक आएर स्कुलमा फर्कन आग्रह गरिरहे । तर, म कुनै हालतमा फर्कन्नँ भन्नेमा थिएँ । एक मनले शिक्षण पेसा छाड्न हुन्नजस्तो लाग्यो । साथीहरूको आग्रह मानेर नयाँ स्कुल खोल्ने निर्णय लियौं,’ उनले थपे । चैत अन्त्यमा स्कुल निर्माण सुरु भयो । वैशाख ५ गतेबाट केही टहरामै सीमित रहेर स्कुल सुरु गर्न सक्यौं ।


भलिबलकै कारणले पुरानो स्कुल छाडेका कारण कुमारले नयाँ स्कुलमा भलिबल राख्नैपर्ने थियो । स्थापनाको पहिलो वर्ष जम्मा ८० विद्यार्थी थिए । त्यसमध्ये छात्राको संख्या एकदम न्यून थियो । भलिबल खेल्न सक्ने छात्रा नभएका कारण छात्रको टोली स्थापना गर्ने निर्णय लिए । ‘विद्यालय खोलेको पहिलो वर्ष छात्र टोलीलाई नियमित प्रशिक्षण दियौं । केही समयपछि उपत्यकाका केही प्रतियोगितामा प्रतिस्पर्धा पनि गरायौं । कुनै प्रतियोगितामा पनि सफलता हात लागेन,’ कुमारले सुनाए, ‘छात्र टोलीमा अनुशासनको कमी पनि देखियो । त्यसैले छात्र टोलीबाट सुधार नआउने देखेपछि प्रशिक्षण बन्द गर्‍यौं।’


खेलकुदमा लगाव राख्ने कुमारलाई खाली समय खेलमै लगाउँदा स्वास्थ्य र दिमाग दुवै स्वस्थ रहने बुझाइ थियो । त्यसैले उनले अर्को वर्षबाट एथलेटिक्स गर्ने निर्णयमा लिए । ६३ सालभर एथलेटिक्समा ध्यान दिए पनि त्यसबाट अपेक्षाकृत नतिजा आउन सकेन । अन्तत: यात्रा भलिबलमै आइपुग्यो । ‘वर्षभर एथलेटिक्समा मिहिनेत गरे पनि निराशाजनक नतिजा आयो । छात्रहरूको भलिबलबाट त्यसअघि नै आजित भएकाले २०६४ जेठ ५ गतेबाट छात्रा भलिबल सुरु गर्ने निर्णय गरियो,’ उनले सुनाए ।


छात्रा भलिबल सुरु गर्ने निर्णय जति सहज थियो, अवलम्बन गर्न भने उत्तिकै कठिन । एक त कम विद्यार्थी, त्यसमाथि भलिबल खेल्न इच्छुक हुनेको संख्या । जसोतसो प्रशिक्षण सुरु गरे । तर, सहभागी विद्यार्थीमा हिच्किचाहट प्रस्ट रूपमा देखे । ‘सुरुका दिनमा विद्यार्थी खुलेर खेल्न सकेनन् । त्यसैले राष्ट्रिय खेलाडी कोपिला उप्रेतीलाई प्रशिक्षणमा निम्त्याए । उनले केही दिन आएर प्रशिक्षण दिएपछि खेलाडीको संख्या पनि बढ्दै गयो,’ राईले मुस्कानसहित सुनाए, ‘उनको जस्तै खेल प्रदर्शन गर्नुपर्ने भन्दै हौसला बढाए । उनले पनि लगातार प्रशिक्षण आएर ठूलो सहयोग गरिन् । नेपालको प्रतिनिधित्व गर्ने हुनुपर्छ भनेर सुरु गरेको यात्रा अहिले यहाँसम्म आइपुगेको छ ।’


हाल न्यू डायमन्डबाट खेल्न सुरु गरेका तीन खेलाडी विभागीय टोली एपीएफमा आबद्ध छन् । एपीएफले गत वर्ष भएका आठ ठूला प्रतियोगितामध्ये सातवटाको फाइनलमा न्यू डायमन्डलाई पराजित गरेको थियो । न्यू डायमन्डले भने एउटा मात्र फाइनल जित्न सक्यो । यद्यपि प्रशिक्षक राई खेलाडीको प्रदर्शन देखेर खुसी छन् । ‘आफ्नो प्रयासबाट आफ्नै लगानीमा टोलीलाई यहाँसम्म ल्याएका छौं । लगातार विभागले उत्कृष्ट खेलाडी लगे पनि हाम्रो टोलीले प्रदर्शनमा एकरूपता ल्याएको छ । स्तरीय खेलाडी उत्पादन गर्नु हाम्रो मुख्य लक्ष्य हो र त्यसमा हामी प्रगतिपथमा अगाडि बढिरहेका छौं,’ उनले भने ।


न्यू डायमन्डकी कप्तान ललिता नाथले टोलीबाट खेल्न थालेको ७ वर्ष पुगिसक्यो । ७ कक्षा पढ्दा सुरु गरेको भलिबलले अहिलेसम्म आइपुग्दा फड्को मारेको उनको बुझाइ छ । यसको सम्पूर्ण श्रेय उनी प्रशिक्षक राईलाई दिन्छिन् । ‘कुमार सर नहुने हो भने न्यू डायमन्डको कल्पना पनि गर्न सकिन्न । उहाँ हाम्रो लागि सबैथोक हुनुहुन्छ । मैदानमा छँदा प्रशिक्षक र बाहिर हाम्रो अभिभावक नै हो । घरपरिवारलाई खेल्न दिन विश्वास दिलाउनेदेखि टोलीको सम्पूर्ण प्रशिक्षण उहाँले नै सम्हाल्नुभएको छ,’ उनले थपिन् ।


प्रशिक्षक राई टोलीले घरेलु भलिबलमा राम्रो प्रदर्शन गरे पनि आफ्नो लक्ष्य प्राप्त गर्न भने अझै धेरै बाँकी रहेको बताउँछन् । उनले कम्तीमा पनि नेपालको महिला भलिबललाई एसियाली स्तरसम्म सहजै खेल्न सक्ने बनाउने सोचेका छन् । यसका लागि उनले अहिले न्यू डायमन्ड मार्फत नयाँ प्रतिभा खोजेर राष्ट्रको सेवामा लागेका हुन् । ‘अन्य विद्यालयमा छुट्टी भएपछि शिक्षकहरू अन्य काम गर्न लाग्छन् । मैले राष्ट्रको सेवा गर्न आफ्नो खाली समय सुम्पिएको हुँ । विभागले भएका खेलाडीलाई खेलाउने हो । यसले पूर्ण रूपमा खेल विकास नहुन सक्छ,’ राईले आफ्नो योजना सुनाए, ‘हामीले ग्रासरुटबाट राम्रो खेलाडी उत्पादन गर्ने योजना बनाएका हौं । तल्लो स्तरबाट राम्रो खेलाडी आयो भने लामो समय उनीहरूले देशको सेवा गर्न सक्छन् ।’


राष्ट्रिय टोलीकी महत्त्वपूर्ण सदस्यको रूपमा आफूलाई स्थापित गराइसकेकी १७ वर्षीया प्रतिभा माली न्यू डायमन्डले धेरै आशा गरेकी खेलाडी हुन् । गत वर्ष माल्दिभ्समा व्यावसायिक लिग खेलेकी उनले नेदरल्यान्डमा पनि प्रशिक्षण गर्ने मौका पाइन् । प्रशिक्षक राईकै कारण आफू र न्यू डायमन्ड यहाँसम्म आइपुगेको बताउने प्रतिभा अझै सुधार गर्नुपर्ने कुरामा जोड दिइरहेकी छन् । ‘विदेशमा प्रशिक्षण गर्दा धेरै सिक्ने मौका मिल्यो । अब क्लब र राष्ट्रिय टोलीबाट अझै धेरै सफलता हासिल गर्नु छ । हामीले घरेलु प्रतियोगितामा स्तर वृद्धि गरे मात्र अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता मिल्छ । सम्बन्धित निकायले खेलको विकास र पूर्वाधार निर्माणमा साथ पुर्‍याउनुपर्ने बेला भइसकेको छ,’ उनले भनिन् ।


नेपाली भलिबलमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएकी प्रतिभा कुनै दबाब नरहेको दाबी गर्छिन । आफूले सकुन्जेल यसै क्लबबाट खेल्ने बताउने प्रतिभालाई प्रशिक्षक राईको पनि निरन्तर साथ रहेको छ । राई आफू भने प्रतिभाको खेलमा अझै निखार आउन बाँकी रहेको तर्क गर्छन् । ‘उनको खेल अझै धेरै सुधार्नु छ । मैले १९ वर्ष हुँदा उनलाई एसियाली स्तरको खेलाडी बनाउने लक्ष्य राखेको छु । त्यसका लागि उनले खेलप्रतिको लगाव कायम राख्नुपर्छ,’ राईले सुनाए ।


जेठ ५ बाट सुरु भएको न्यू डायमन्डको यात्रालाई उनीहरूले पृथक् ढंगले मनाउने गरेका छन् । ‘भलिबलको जन्मोत्सव’ का रूपमा न्यू डायमन्डले ११ औं जन्मोत्सवको अवसर पारेर खुला छात्रा भलिबलको आयोजना गर्दै छ । विद्यालयस्तरको जो कोहीले सहभागी जनाउन पाउने यस प्रतियोगिताले नयाँ प्रतिभाको खोजमा मद्दत पुग्ने उनको बुझाइ छ । गत वर्ष जेठ ८ गते सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरको थियो । न्यू डायमन्डको प्रतियोगिताको फाइनल त्यसै दिन राखिने प्रशिक्षक राईले बताए ।


विद्यालयमा पढ्ने ९ जनाबाट स्थापित न्यू डायमन्डको भलिबल प्रशिक्षण अहिले ३२ खेलाडीमा आइसकेको छ । अहिले देशभरका विभिन्न स्थानबाट उनलाई आवाससहितको भलिबल प्रशिक्षणका लागि प्रशिक्षार्थीको नाम आउन थालेको छ । भर्खरै न्यू डायमन्डकी कृपा अधिकारीले नेपाली सेनाको अधिकृतमा खुला छनोट मार्फत नाम निकालिन् । एकेडेमीमा भलिबलभन्दा पढाइलाई मान्यता दिइने उनको दाबी सिद्ध भएपछि उनलाई प्रश्न उठाउनेको मुखमा बिर्को लागेको छ । अब चुनौती छ त न्यू डायमन्ड एकेडेमीलै अर्को स्तरमा पुर्‍याउने ।
दशकअघि सुरु भएको एकेडेमी अब प्रशिक्षार्थीको संख्या थेग्न नसक्ने भइसक्यो । नयाँ विद्यार्थी त परै जाओस्, अहिलेकै विद्यार्थी थेग्न नसक्ने अवस्था आइसकेको छ । कक्षा २ देखिका विद्यार्थी प्रशिक्षणमा आउन इच्छुक छन् तर स्थान अभावका कारण सम्भव छैन । भविष्यमा सम्भावना बोकेका यस्ता खेलाडीलाई निराश बनाउनुपर्दा राई आफैं अहिले केही गर्न सक्ने अवस्थामा छैनन् । राष्ट्रिय स्तरको प्रतियोगितामा क्लबले सहभागिता जनाउन नपाउने नियमले रुष्ट राई सरकारबाट धेरै आशा राख्दैनन् । उनको चाहना खेलकुदको विकासमा डट्ने संस्थालाई सरकार र सम्बन्धित निकायले सकरात्मक ढंगले हेरोस् भन्ने छ । सहयोग नगरे पनि निरुत्साहित नगरोस् भन्ने उनको माग छ ।
@SubasTheOne

प्रकाशित : जेष्ठ ५, २०७५ ०८:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT