को थिए लिगलिग कोटका घलेहरू ?

घले भनेको गुरुङभित्रको एउटा थप थर हो भन्नेजस्तो बुझाइ आम बन्दै गएको छ तर घलेहरू छन् मगरमा, तामाङमा र बराममा पनि । ती हुन्— तत्तत् समुदायका मुखिया, अगुवा, राजा अर्थात् एउटा पद ।
तामाङ, थकाली र गुरुङहरूको जातीय मूल नशो एकैतिर थिएछ भन्ने संकेत दिने सामग्रीमाथि आँखा चिम्लन गाह्रै छ ।
यादव देवकोटा

काठमाडौँ — लर्सघाको घले राज्य जैन खानले कब्जा गर्नुअघिसम्म लर्सघादेखि साम्रीँसम्म राज्य गर्थे घलेहरू । लिगलिगकोट चाहि घटनाक्रमहरूले आधुनिक नेपालको जगको रूपमा देखिए पनि लिगलिगका घलेहरू को थिए भन्नेबारे सामान्य विमर्श पनि भएको पाइन्न ।

इतिहासप्रतिको नेपाली समाजको अरुचि त जानिन्छ नै, तर आफैं हुर्किई आएको जराले चुसेको माटोको यथार्थ पनि देखाउन चाहेको छैन सत्ता इतिहासले । यता, घलेहरूको आन्तरिक राज्य मेटिएको केही जोर शताब्दीपछि बेलायती साम्राज्यको घाम अस्ताउन नदिन आफैंलाई अचानो बनाउन पछि हटेनन् । र, त्यही कारण दिइएको भिक्टोरिया क्रसले घले र बारपाक चर्चामा आए । घलेहरू भनेको गुरुङ भित्रको एउटा थप थर हो भन्नेजस्तो बुझाइ आम बन्दै गएकै छ, तर घलेहरू छन् मगरमा, तामाङमा र बराममा पनि । ती हुन्— तत्तत् समुदायका मुखिया, अगुवा, राजा अर्थात् पद ।

Yamaha

घले राज्य
तमु भाषामा क्ले (घले) ले मालिक, संरक्षक, अधिपति भन्ने अर्थ जनाउँछ । क्ले एउटा पद हो छुट्टै जात होइन (तमु, टेकबहादुर–तमुजातिको पुरानो इतिहास, पृ ३३) भने तामाङ भाषामा राजालाई ‘ग्ले’ भनिन्छ (तामाङ, अजितमान–तामाङ जातिको मौखिक इतिहासको अवशेषहरू, पृ ३६) । ख्होल–सों–थर (क्होलसोँथर) मा च्यन वंशका ख्होलच्यन राजा भएपछि आफुलाई राज्यको मालिक अर्थात् ख्ह्ले घोषणा गरेर रजाइँ गरे । यही सुरुवाती शब्द ख्ह्ले अपभ्रंशित हुँदै क्ले र त्यो पनि नेपालीे भाषामा परिवर्तित भएर घले भएको देखिन्छ (गुरुङ, डी.बी.–तमु क्योए दे प्यक्ष्या, पृ २४६) । तामाङ घले समुदायबाट नेपालको पहिलो निर्वाचित संसद र दोस्रो संविधानसभामा प्रतिनिधित्व नै भएको थियो ।


गण्डकीप्रस्रवण क्षेत्रमा काठमाडौं उपत्यकाका शासकहरूको प्रभुत्व छुटेपछि त्यहाँ स्थानीय घले राजाहरूले रजाइँ गर्न थाले (गुरुङ, जगमान–गण्डकीप्रस्रवणक्षेत्रको सांस्कृतिक सम्पदा, पृ १५) । पछिबाट पाल्पा राज्य एउटा बलियो रैथाने राज्यको रूपमा मात्रै विकसित भएन, त्यसले काठमाडौं उपत्यकामा समेत हमला गरी पूरै उपत्यकालाई पटकपटक त्राहिमाम पारिदियो, जसलाई मगर राजा भनेका छन्, उपत्यकाका शासकहरूले । समयक्रममा लसर्घादेखि साब्रीँसम्म घले राज्यहरू थिए— कतै कविला राज्यको रूपमा त कतै रजौटा र स्थानीय सामन्तका रूपमा, आफ्नै सिक्का नभएको, स्थायी सेना पनि नभएको । लसर्घा आलमदेवीमा किलो गाडिएको घले राज्य मगरहरूको थियो । कालीगण्डकी आसपास, पाल्पा, बल्ढ्याङगढी, रुद्रपुरगढी, देउचुली, पश्चिम नुवाकोट, सतौंकोट, कास्की, ढोर, लिगलिगकोट, गोर्खा तल्लो/माथिल्लो कोट, ताकुकोट घले मगरहरूको रजस्थल थियो भने गोर्खा माझकोट खड्का मगरको । क्होल, याङजाकोट, घान्द्रुक, बह्रा (बारपाक), सिक्लेस, सिम्जुङ, अजिरकोट, सिरानचोक, लमजुङकोट, खरिमैधी, मान्वु, लम्प (लाप्राक), स्र्यातान, अठारसयखोला, मनुँ (मनाङ), बसेरीलगायतका स्थानमा गुरुङ (तमु) घलेहरूको रज थियो । चरङगे, साब्रीँ, रुबीनाला, कटुञ्जे, सल्यान (कहिले मगर, कहिले तामाङ), धादिङ, झार्लाङ, सेर्तुङ, सेरजोङ, गतलाङ, किमताङ, बुङताङ, जिलिङलगायतका स्थानमा तामाङ घलेहरूको । ताकुकोट (कहिले बराम, कहिले मगर), बाहकोट, गैह्राथोक लगायतका गोर्खाका स्थानीय पाखाहरूमा बरामहरू रजौटा थिए । खास प्रमाणहरू नदिइए पनि गोर्खा बारपाकमा सुरत स्यार्तान (स्याङ्तान) ग्ले (राजा) थिए भन्ने वणर्न तामाङ पुर्खाहरूले पुस्तौंदेखि निरन्तर आजसम्म पनि विश्वास र गर्वका साथ बताउँदै आएका छन् (घिसिङ, कुयाङ लामा–घिसिङ राजा : ताल्च्यो दरबार एवं वंशावली, पृ २१) र गोर्खाका राजा राम शाहले राज्य विस्तारका क्रममा तामाङ राज्य बारपाक र स्यार्तानमा आक्रमण गर्ने थाहा पाए (तामाङ, रवीन्द्र– प्राचीन तामाङ राज्य, पृ ८४) ले बारपाकका राजा चांग्या र मन्त्री सुर्तानको नाम र सिरान्चोकदेखि भच्चेकसम्मको स्यार्तान इलाकामा परेको स्यार्तान शब्दका कारण तामाङहरूले ती राज्यहरूलाई तामाङ दाबी गरेको बुझ्न सकिन्छ ।


तर तामाङ, थकाली र गुरुङहरूको जातीय मूल नशो एकैतिर थिएछ भन्ने संकेत दिने सामग्रीमाथि आँखा चिम्लनै भने गाह्रै छ । तामाङ भाषामा ग्रोङ वा रोङले गुरुङ बुझाउँछ । प्राचीन तामाङ क्षेत्रमा गुरुङलाई छुट्टै जाति भनेर लिइँदैन । गणेश हिमालदेखि दक्षिण, बुढीगण्डकीदेखि पूर्व, त्रिशूली गंगादेखि पश्चिम र दक्षिण, यी दुई नदीको दोभानदेखि माथिको क्षेत्रमा तामाङहरू गुरुङलाई छुट्टै जाति मान्दैनन्, तामाङभित्रकै एउटा उपथर ग्रोङ समूहको रूपमा लिइन्छ (तामाङ, अजितमान, उही, पृ ४०) र गुरुङहरू आफूलाई तमु भन्छन्, थकालीहरू आफूलाई तामाङ भन्छन्, तामाङहरू आफ्नो गुरुलाई तमु गुरु भन्छन्, भाषाशास्त्रीहरूका अनुसार तामाङ र गुरुङ भाषाबीच ६५ प्रतिशत समानता छ (तामाङ, परशुराम–तामाङ जाति, पृ ३१) लाई बल पुग्ने गरी जगमान गुरुङ लेख्छन्— गुरुङजस्तै तामाङका पुरुषहरूले भोटो, कछाड र भाङ्ग्रा लगाउँछन् भने महिलाहरूले गुन्यु, चोलो र घलेक लगाई मजेत्रो ओढ्छन् । थकाली, गुरुङ र तामाङहरूको भाषा, धर्म र संस्कृतिमा समानता पाइन्छ । वास्तवमा बसाइँसराइको क्रममा थाक खोलामा थोरैलाई छोडेर ठूलो हूल मनाङ उपत्यकातिर लागेको र त्यसमध्ये एउटा हूल दक्षिणतिर लागेको र अर्को हूल पूर्वतिर लागेको देखिन्छ । थाकखोलामै बसिरहेकाहरू थकाली, मनाङबाट दक्षिणतिर ओर्लेको समूह गुरुङ र पूर्वतिर लागेको समूह तामाङ हुन् । थकालीहरूले आफ्ना भाषामा आपसमा कुराकानी गर्दा आफूलाई तामाङ नै भन्छन् । यसैगरी गुरुङहरूले आफूलाई आफ्नो भाषामा तमु भन्दछन् । तामाङहरूले तामाङकै रूपमा परिचय गराइरहेकै छन् । अत: जातिवाचक शब्द तामाङ एवं तमु र भाषा, संस्कृतिको आधारमा थकाली, गुरुङ र तामाङ एउटै ओदानका तीनवटा खुट्टाजस्ता हुन् (गण्डकीप्रस्रवणक्षेत्रको सांस्कृतिक सम्पदा, पृ २२) ।


थपमा, आजको दिनमा तमु जातिलाई चिनाउन प्रचलनमा रहेको गुरुङ शब्द पनि आएको छ मगर भाषाबाटै भनेर गुरुङले ‘तमुवानको ऐतिहासिक बृत्तान्त’ मा लेखेका छन्— वर्तमान स्याङ्जा जिल्लामा पर्ने तत्कालीन गह्रौं राज्यअन्तर्गत गुरुङदी थुम अवस्थित छ । गुरुङदीका निवासीहरू गुरुङ कहलाएका थिए । गुरुङदीबाट गुरुङ र मगरको पुर्खा छुट्टिएको वंशावली पाइएको छ । मगर भाषामा गुरुङ शब्दले धुरी मारेर पक्का गरी छाएको घरको छानाजस्तो ठाउँ भन्ने अर्थ लाग्छ भने गुरुङदीले धुरी मारेर पक्का गरी छाएको घरको छानाजस्तो ठाउँबाट बगेको पानी भन्ने जनाउँछ । मगरहरूमा गुरुङछाने थापा, गुरुङछाने राना आदि थरहरू पाइन्छ । गुरुङहरूमा केप्छैं, कोम्छैं थरहरू छन् भने मगरमा केप्छाकी, क्रोम्छाकी थरहरू छन् । गोरखाको भुम्लिचोक इलाकामा त राना गुरुङहरू पनि रहेका छन् (पृ ३,४,५) ।


यसले एक समय गण्डकीपानीढलोमा चलेको घले व्यवस्था एउटा सजातीय सत्ता अभ्यास थियो, बरु बसाइँसराइ, भूगोल, भाषा, प्रतिस्पर्धा, आपसी खिचातानीले ती आपसमा मात्रै हैन जातीय रूपमा समेत विभाजित परिचय बोकेर उभिएछन् भन्ने देखिन्छ । कहिलेबाट, त्यो बेग्लै प्रश्न हो ।


लसर्घाको घले राज्य जैन खानले कब्जा गरे । कास्की, रजस्थल, क्होलका घले राज्य जगातीखान शाहीले कब्जा गरे । लमजुङको घले राज्य जसवम (यशोब्रह्म) शाहीले, लिगलिग, तल्लो/उपल्लोकोट, सिरानचोक, अजिरकोटको घले राज्य र माझकोटको खड्का राज्य द्रब्य शाहले कब्जा गरे । बारपाक, स्यार्तान, अठारसयखोला, सल्यान, बसेरी, चरङगे, खरिमैधी, धादिङका घले राज्यहरू राम शाहले र राम शाहपछि पुन घले मुखिया थापेर बसेका धादिङ, कटुन्जे, बसेरी, साम्रीँका घलेराज्यहरू नरभूपाल शाहले कब्जा गरे (सं.योगी, नरहरिनाथ–गोरखा वंशावलीका विभिन्न पृष्ठहरू) । उता नुवाकोट, रसुवातिरका तामाङ घलेहरूको रज काठमाडौं उपत्यकाले कब्जा गरेको थियो ।

लिगलिगकोटको राज्य
लिगलिगकोटलाई द्रव्य शाहले अधीनमा लिनुअघि त्यहाँ घलेहरूको रजाइँ थियो । दसैंको टीकाको दिन दौडने र सबैभन्दा पहिले कोट पुग्ने त्यो वर्षको त्यहाँको प्रमुख हुने नियम थियो । दौड चेपेदेखि लिगलिगसम्म हुन्थ्यो । केहीले चोरकोटेबाट दौड हुने लेखे पनि चोरकाटे भुसुण्डीखोला कटेर जानुपर्ने र त्यो सिरानचोकको अधीनस्थ पर्ने भएकाले अर्को राज्यको भूगोलबाट लिगलिगमा दौड चलाउने कुरामा संगति देखिंदैन । भुसुन्डी पानीढलोले लिगलिग र सिरानचोकलाई छुट्याउँथ्यो भने दरौंदी पानीढलोले लिगलिग र गोरखा । निमेल खोलाले गोरखा र बारपाक । सजातीय राजा थाप्न हतारिएका खस, क्षत्रीहरूबाट अघि सारिएका लमजुङे द्रव्य शाहले लिगलिगको कविला घले राज्य मासेर कविला शाही राज्य खडा गरेपछि विस्तारित भएको शाही राज्यले गोर्खा हुँदै एउटा आकार ग्रहण गरेर आजको नेपालको स्वरूप ग्रहण गरेको छ ।


‘यशोब्रह्म शाहले पोंजोको घले राजालाई मस्र्याङ्दी किनारमा मारेपछि घलेका सन्तान कोही भाइ गोर्खा, कोही भाइ नेपाल (काठमाडौं) तर्फ भागी गए । गोर्खा गएकाहरूले लिगलिगकोट, गोर्खा उपल्लोकोट, बारपाक र स्यार्तानमा रजाइँ गरी बसे । लिगलिगकोटका घलेहरू बडादसैंका दिन चेपे र मस्र्याङ्दीका संगम चेपेघाटमा भेला भई चाड मानी टीका लगाई भोज भत्यारा खान्थे । त्यसपछि सबै एकैचोटि दगुरेर जसले सबैभन्दा पहिले कोटमा पुग्न सक्यो त्यसैलाई सबैले टीका दिई त्यस वर्षको राजा मान्थे । यसरी लिगलिगमा वर्षैपिच्छे राजा फेरिने चलन थियो (गुरुङ, जगमान–गुरुङ जाति तथा संस्कृति, पृ ६,७,८,९) ।’


त्यसबखत जातीय बहुलता नपुगी अल्पसंख्यकले शासन गर्ने सम्भावना थिएन नै । लमजुङबाट पराजित भएर आएकाहरूले रातारात लिगलिग, माझकोट, बारपाकमा शासन गर्ने कुरा सम्भव छैन । बरु पछिका दिनहरूमा खसान, इस्मा, कास्की, पाल्पालगायतबाट विविध कारण पलायन भएका खस, क्षत्री, दलितहरूको आवादी बढ््दै गएको देखिन्छ भुसुन्डी खोला पानीढलो र चेपे पानीढलो आसपासमा । एकातिर परम्परागत मगर प्रशासन र अर्कातिर आप्रवासी गैरमगरहरूबीच एकअर्कालाई अस्वीकार गर्ने क्रम बढ्दै जाँदा साम, दाम, दण्ड, भेदको खेलले खस, क्षत्रीहरूले गोर्खाली मगरहरूलाई मगरकै हातमा तरबार भिराएर पराजित गरायो र सत्तामा पुगे । गंगाराम रानामगर अरूको तरबार भिरेर मगर हराउन जाने द्रव्य शाह, गणेश पाँडे प्रभृत्तिका एक जना युद्धवीर थिए, त्यसमा मिसिएका थिए मुरली खवासमगरसहितका थापा, वुषाल, राना, मास्की थरका मगरहरू पनि । यसले तत्कालीन दरौंदी र चेपे पानीढलोबीचका खड्कामगर र अन्य मगरबीच खिचातानी रहेको देखिन्छ, जसको लाभको भाग द्रव्य शाहको पोल्टामा पर्‍यो ।


लिगलिग र माझ तथा उपल्लोकोट द्रव्य शाहअधीनस्थ भएपछि गणेश पाँडेको नेतृत्वमा सिरानचोक जितिएको, त्यहाँ पराजित भएका सिरानचोकेहरू भागेर बारपाक गएको तथा त्यसपछि गुरुङथोक (पोखरीथोक) हुँदै सिरानचोकको बाटो भएर अजिरकोटमा हमला गरिएको, अजिरकोट बारपाकको अधीनस्थ रहेको हुनाले बारपाकीलाई अजिरकोटमा हराएपछि उनीहरू बारपाक फर्किएको गोर्खा वंशावली, गोर्खा राजवंशावली सहितका सामग्रीमा उल्लेख छ ।


‘लिगलिगको प्रतियोगितामा भाग लिइरहेका राजसदस्यहरूमध्ये समर घले शाहको कुटिल चालबाट उम्किएर समर्थकहरूको एउटा समूह बनाएर खोर्ला भन्ने स्थानमा गई स्वतन्त्र राज्य बनाएर बसेको र खोर्लाका राजा चंकेल घले बारपाक आएर समस्या समाधान गरेपछि त्यहाँ राजा भएर रजाइँ गरेका थिए (गुरुङ, डी.बी–तमु दिग्दर्शन, पृ २६०)’ चाहिँ किन पनि खण्डित हुन्छ भने बारपाक एकैचोटी राम शाहको पालामा मात्र कब्जा भएबाट त्यो पहिल्यैबाट बलियो राज्य थियो, उसको अधीनमा सिरानचोक, अजिरकोटसमेत रहेकाले लिगलिगबाट भागेर गएकाले उता गएर रातारात त्यति बलियो राज्य बनाएको कुरा आ–आफ्ना डम्फुको भिन्नाभिन्नै स्वरजस्तो मात्रै देखिन्छ ।

बारपाकका चांग्याको थपौलो राजा (योगी, नरहरिनाथ–इतिहास प्रकाशमा सन्धिपत्रसंग्रह, पृ ६७८) हुनाले गोर्खा माझकोटमा खड्का राजाले बारपाक राज्यको प्रतिनिधित्व गरेको संकेत गरे पनि बारपाकमा गुरुङ घले राजा रहेको सन्दर्भमा माझकोटमा खड्कालाई प्रतिनिधित्व दिएको कुरा विश्वसनीय देखिंदैन भने माझकोटमा द्रव्य शाहसँग पन्ध्र दिनसम्म लडाइँ हुँदाको बखतमा समेत बारपाकबाट कुनै सहयोग गरेको संकेत नपाइनुले यो कुरामा संगति देखिंदैन । गोर्खामा मारिएका मानसिंह खड्कामगरकी विधवा गर्भवती भएकाले वच्चा जन्मेपछि सालनालसहितको वच्चा बुझाउने सर्तमा बचिन् र उम्केर भाग्दै काठमाडौं आई प्रताप मल्लको शरणमा परिन् । पछि उनबाट जन्मेको सन्तानहरू रक्तकाली–नरदेवी क्षेत्रमा बसोबास गरे । विसं १९०३ को कोतपर्वपछि ती मगरका सन्तानहरू ज्यान जोगाउन काठमाडौंबाट भागेर नुवाकोट सामरीभञ्ज्याङ पुगे । मानसिंहका दरसन्तानहरू अहिले पनि ती रानीलाई देउतीबज्यै भनेर सम्झने गर्छन् (रानामगर, भाइकाजी–गोरखा मगरहरू, पृ १७,१८) ।


प्रसंगवश, राम शाहले बारपाकीलाई निमेलमा निशस्त्र भई छलफल गर्ने भनेर बोलाए र बारपाकी आउनुअघि नै बालुवामुनि हतियार दवाएर बारपाकी आउनासाथ हतियार झिकी चांग्यासहित बारापाकी घलेलाई काटी निमानीखोला (निमिलखोला/निमेलखोला) मा तरबार पखाले । त्यसरी निमेलखोलामा घले काटेको तरबार पखालेको हुनाले डाँगे घलेहरूले पंक्तिकारको गाउँ नजिकको निमेल खोलाको पानी पिउँदैनन् । राजाको रगत वगेकाले खोलाको पानी नपिउने चलन तामाङहरूमा पनि छ । ह्यावेङ (ह्यापिङ ?) खोलाको पानीमा बाञीवा ग्लेको रगत बगेकाले तामाङहरूले पिउँदैनन् (तामाङ, अजितमान–तामाङ जातिको मौखिक इतिहासको अवशेषहरू, पृ ६६) । कालु शाहीलाई घनपोखराका फचुन घलेले खुदीखोलाको वगरमा मार्दा खोलामा रगत मिसिएको हुनाले खुदीखोलाको पानी पिइन्न (गुरुङ, इन्द्रबहादुर–तमु सांस्कृतिक दिगदर्शन, पृ ४६५) । गण्डकी क्षेत्रमा मुख्यत: मगर, गुरुङ समुदायमा प्रचलित घाटु नृत्य तिनै कालु शाहीका गर्भे छोरा परशुराम शाही (पश्रामु राजा) को कथामा आधारित छ ।


निमेलमा मारिएका बारपाकी राजा चांग्याका छोरा भाङ्गे घलेले खारभञ्ज्याङ दाउन्नेखोला नजिक सुलिकोटमा राज्य चलाएको र उनलाई छत्र शाहको पालामा घ्याम्पेसाल नजिकमा तीखण्ड हुनेगरी गिँडिएको थियो ।


द्रव्य शाहले जितेपछि पनि लिगलिगमाथिको छिनाझम्टी सकिएन । पटकपटक चौबिसीहरूले लिगलिगमाथि हमला गर्नुले त्यसबखत सामरिक महत्त्वको थलोको रूपमा लिगलिग नाका थिएछ भन्ने देखिन्छ । पृथ्वीपति शाहको पालामा समेत लमजुङेले चौबीसीहरूसित बल मागेर लिगलिग, लकाङ, धुवाकोट, देउराली कब्जा गरी ९ वर्षसम्म अधीनमा लिँदा ११ पटक लडाइँ खोल्दा पनि गोर्खाले लिगलिग फिर्ता लिन सकेन । त्यसपछि बाह्र वर्षमाथि असी वर्षमुनिका सारा गोर्खाली जम्मा गरेर रातिको समयमा गई लिगलिगकोटको गढीमा आगो लगायो र लिगलिग फिर्ता लियो । फेरि लमजुङेले लिगलिगकोट चार वर्ष लिए । गौरेश्वर पन्थ, वलि पाध्याय कडरियाले जालपूर्वक लिगलिग पुन गोर्खामै फिर्ता ल्याए (सं योगी, नरहरिनाथ–गोर्खा वंशावली,पृ ६४) ।

घले राज्यअघिको लिगलिग
लिगलिगकोटमा घलेहरूले कहिलेबाट शासन गर्न सुरु गरे त्यसको स्पष्ट किटान गर्न गाह्रो छ । यसका लागि हेर्नुपर्छ लिगलिगसहित रजाइँ प्रकरण ।


सिँजाका राजा जितारी मल्ले विसं १३४४/४५/४६ मा बर्सेनि नेपालखाल्डोमा आक्रमण गरी उत्पात मच्चाएको र उनका छोरा आदित्य मल्ले विसं १३८४ मा नेपालखाल्डोमा हमला गर्दा पहिले नुवाकोट हमला गरेको उल्लेख हुनुले यो समयमा सिँजा र नेपालखाल्डोको बीचमा पर्ने गोर्खा सिँजा अधीनस्थ थियो भन्ने देखिन्छ । विसं १३७८ र विसं १३९४ मा आदित्य मल्लले गोर्खाको ताघवाई गुम्बामा वस्नेहरूको सुरक्षाका लागि आफ्ना भारदारहरूलाई आदेशपत्र लेखेबाट यसबेलासम्म पनि गोर्खा सिँजा (खस) राज्यकै अधीनमा रहेको देखिन्छ । जितारी मल्लले खसतिर पारेको गोर्खालाई विसं १५२४ तिर यक्ष मल्ल (भक्तपुर) ले नेपालखाल्डोको अधीनमा लगेको देखिन्छ । यक्ष मल्लपछि नेपालखाल्डोमा मल्ल राज्य विभाजित भयो र कमजोर भयो । यही मौकामा विसं १५८१/८२ मा दुई पटकसम्म पाल्पाली राजा मुकुन्द सेनले काठमाडौं उपत्यकामा हमला गरी हाहाकार मच्चाएका थिए । विसं १६०३ मा समेत उनले काठमाडौंमा आक्रमण गरेको र विसं १६०६ मा काठमाडौं खाल्डोका राजाहरूले आपसमा पाल्पाली सेनवंशी ‘मगर’ हरूको हमलाको त्रास व्यक्त भएको कुरा थप रोचक पनि छ । यसले कम्तीमा विसं १६०३ सम्म गोर्खा पाल्पाको अधीनमा रहेको देखिन्छ (पन्त, दिनेशराज–गोरखाको इतिहास,पृ १६–२२ ) ।


मुकुन्द सेनपछि उनको ठूलो राज्य टुक्रियो । उनका छोराहरूले आफ्नो सबै राज्य थाम्न नसकेपछि गोर्खा सेनहरूबाट छुट्टिई स्थानीय शासकको अधिकारमा आएको देखिन्छ (पन्त, उही, पृ २४) । पाल्पाका राजा मुकुन्द सेनले नेपालखाल्डो हान्न जाँदा लिगलिगमा दलसुर घले मगरलाई प्रशासक बनाएका थिए (थापा, नरबहादुर (नरु)– किराँत मगर इतिहास) ।
यसले लिगलिगलगायत गोर्खाको इलाका सत्रौं शताब्दीको सुरुवातसम्म पाल्पालीहरूको अधीनमा रहेको, रैथाने रजौटाका रूपमा स्थानीय भेगमा फरकफरक मुखियाहरूको प्रशासन चलेको देखिन्छ । त्यो स्वतन्त्र राज्य नभएर थपौलो रजौटाको रूपमा क्रियाशील भएको, बरु पाल्पाली राज्य कमजोर भएपछि रैथाने रजौटाहरूले आफूलाई स्वतन्त्र राज्यको रूपमा व्यवहार गर्ने प्रयास गरेको हुन सक्छ ।

लिगलिगका घलेहरू
लिगलिगको राज्य गुरुङको थियो कि मगरको भन्नेमा दुवै जातिका नाममा लेखिएका सामग्रीहरू परस्पर विरोधी छन् । दुवैले लिगलिगलाई आ–आफ्नो राज्य दाबी गरेका छन् । दाबी गर्नु बेग्लै कुरा हो, संगतिपूर्ण दाबी मुख्य कुरा हो । त्यसका लागि गण्डकी क्षेत्रको संस्कृति, रहनसहन, आवादी, परम्परा, रैथाने नदी–भूगोलको नामकरणलाई सिरानी हाल्नुको विकल्प छैन, कम्तीमा अहिलेलाई ।


आजको दिनमा प्रचलित गण्डकी शब्द आएको देखिन्छ मगर भाषाको गनडीबाट । गन या गान अर्थात् सागजस्तो हरियो वर्ण भएको र डी अर्थात् पानी, खोला, नदी । यी अर्थ आउँछन् नै मगर भाषाबाट । गण्डकीप्रस्रवणक्षेत्रमा जति पनि नदी, खोलाहरूको नाम प्रचलनमा छ, तिनमा डि या दि प्रत्यान्त शब्द रहेको पाइन्छ (तमुवानको ऐतिहासिक वृत्तान्त, पृ २) । होस्याङदी, भुरुङदी, लुङ्दी, चरौंदी, ज्ञादी, तमादी, भल्याङदी, सरङ्दी, छाङछाङदी, गराङदी, मोदी, ह्वाङदी, हुग्दी, ग्वादी, अर्माडी, छाब्दी । थपमा गोसाइँकुण्डबाट आएको छ, त्रिशूली गण्डी । मनास्लु, गणेश हिमालबाट आएको छ, बूढीगण्डी । थोराङ्बाट दोर्दी, मस्र्याङदी, रुपिनालाबाट दरौंदी । अन्नपूर्णबाट आएको छ– मादी, ईदी, रुदी । तीनशिरेबाट सेतीगण्डी, सार्दी, मर्दी, सरौदी । लिगलिगकै अमबलमा पर्छन् दरौदी, भुसुन्डी, मादी, मस्र्याङ्दी । त्यहाँबाट निकै परसमेत छ हुङडीखोला । तनहाङ (तनहुँ), डयाम्बुले (दमौली), गरहाङ (गर्हौं), मालिहाङ (वालिङ), टानसिङ (तानसेन), विरमचोक (विरेनचोक) हरू राखिएकै मगर भाषामा ।


कोट, कोतको अर्थ पूजाआजा गर्ने ठाउँ हुन्छ (बुढामगर, हर्षबहादुर–मगर जाति र उनका सामाजिक संस्कार, पृ ४५) मगर भाषामा । गण्डकीप्रस्रवणक्षेत्रका बस्तीहरूमा रहेका विभिन्न इष्टदेवीका मन्दिरमा मगर पुजारी रहेको पाइन्छ । कोट या कोत अरूका जातका लागि फरक अर्थको रहे पनि मगरका लागि पूजाआजा गर्ने ठाउँ हुन्छ । नभन्दै रुकुम रुन्मा मैकोटका राँगी पुनहरूले महाअष्टमीमा साँढे चढाएर कोटपूजा नामबाट कुलपूजा मान्छन् (श्रीसमगर, मीन–मगर जातिको चिनारी, पृ ४८) । गण्डकीप्रस्रवणक्षेत्रका आलमदेवी लसर्घामा मास्की राना, गह्रौंकोटमा बराल राना, भीरकोट–सारु थापा, घिरिङ–दिश्वा थापा, खिलुङ–सारु थापा र सिंजाली थापा, कास्कीकोट–फेवाली राना, पश्चिम नुवाकोट–सारु राना, सतौंकोट–पुलमी, सराङकोट–चुमी थापा, ढोर रजस्थल–दर्लामी राना, ताकुकोट–राना मगर, लमजुङकोट–दूध राना र छार आले, गोर्खा तल्लोकोट–मास्की राना र भुसाल राना, उपल्लोकोट–गरौंजा थापा, गोर्खा कालिका–पुलामी र अस्लामी मगर, सल्यानकोट–सारु मगर पुजारी रहेको पंक्तिकारको अध्ययनमा देखिएको छ ।


जहाँ गुरुङहरूको घना बस्तीे छ— मुस्ताङ, मनाङ, गोरखा उपल्लो थलो, कतै भेटिन्न कोत वा कोटहरू । ती भेटिएका छन् मगर संस्कृतिको प्रभाव क्षेत्रमा । यो वेग्लै कुरा हो कि क्वे शब्दले कोट या कोत नै जनाउँछ गुरुङ भाषामा । यसले गण्डकी पानीढलोमा भेटिने कोटहरू मगर राज्य थिए भन्ने तर्कमा बल दिन्छ । (संस्कृतिका ज्ञाता जगमान गुरुङले पंक्तिकारसँग आफ्नो गाउँ योँजुुँक्वे (याङजाकोट) बाट तल गुरुङहरूमा पनि क्वे (कोट) संस्कृति रहेको मत राख्नुभएको कुरा यहाँ छुटाउन मिल्दैन) नभन्दै यहाँका सबै कोटहरूमा मगरहरू पुजारी छन् । ‘लिगलिगकोट मगरात क्षेत्रमा पर्छ । गण्डकी संस्कृति नै मगर संस्कृतिको क्षेत्र हो (जगमान गुरुङसँग पङ्क्तिकारले २० वैशाख, २०७५ मा गरेको रेकर्डेड कुराकानी)’ ले पनि लिगलिगका घले मगर थिए भन्ने जनाउँछ ।


गुरुङहरूको मूल थलो लमजुङ भएको र पृथ्वीनारायण शाहको समयमा ती राज्यहरू बृहत् नेपालमा गाभिइनसकेकोले उनको सेनामा खस र मगरको तुलनामा गुरुङहरू धेरै नहुनु स्वाभाविक हो (गुरुङ, जगमान–नेपालको एकीकरणमा गुरुङहरूको भूमिका, पृ १२) । द्रव्य शाहसँग लमजुङबाट आएका केही गुरुङहरूको संख्यात्मक विवरण भेटिन्छ पनि, इतिहासमा ।


थपमा, गोरखाको चोरकाटे, फिनाम, छेवेटारमा अहिले नै पनि कुमालहरूको सघनबस्ती छ गुरुङ, मगरको तुलनामा । थप्नैपरेन, कुमालहरू पहिल्यैदेखि नदीका घाँटीहरू ताकेर बसोवास गर्थे माटोको भाँडा बनाउने परम्परागत पेसाका कारण । गोर्खाका कुमालहरूको अध्ययनले उनीहरू शताब्दीऔं अघिदेखि त्यही भूमिका रैथाने रहेको देखाउँछ । बरु सत्ता, समय, अभाव, उत्पीडनले उनीहरूको आवादीको जमिन सत्ताधारी टाठाबाठाको हातमा उम्कदै गएको देखाउँछ । गुरुङहरूको जति पनि न्हेंज (पैत्रिकथलो) को विवरण भेटिन्छ, त्यसमा कास्की, मुस्ताङ, मनाङ, लमजुङ र उपल्लो गोर्खाका नाम भेटिए पनि बारपाक तलको भेग गुरुङहरूको पैत्रिक थलोको विवरणमा नभेटिनुले पनि यो भेगमा पछि मात्रै गुरुङ आवादी विस्तार भएको र लिगलिग मगरकै प्रशासनिक इलाका रहेको बुझ्न सकिन्छ ।


बरु, बरामहरू गोर्खामा शाहवंशको अभ्युदय हुनुभन्दा पहिल्यैदेखि बसोबास गरिरहेको पाइन्छ । साम्दोको ताघवाई गुम्बालाई आदित्य मल्लले विसं १३७८ मा लेखेको पत्रमा ‘बराम चल्या भाष् पसा भई’ अर्थात् ‘बराम हिँडेको बेलामा यो भाकापत्र पठाइएको’ उल्लेख भएबाट बरामहरू गोर्खामा रैथानेकै रूपमा रहेको देखिन्छ । यता बरामभित्र पनि छ घले थर । गाँठी र चनघलेहरू घलेवंशी बरामहरू हुन् (बराम, भद्रकुमारी–बराम जातिको संस्कृति, पृ १३५) ।


छँदैछ, लिगलिगमा घलेबारी, जहाँ बसेका छन् मगरहरू अहिले पनि । लिगलिगकोटका घलेहरू मगर भएको थुप्रै आधारहरू देखिन्छन् । त्यहाँका रैथानेहरूले, जानकारहरूले, लिगलिगका मगरबाहेकका अन्य जातका बूढापाकाहरूले समेत लिगलिगका घलेहरू मगर भएको आफूले आफ्ना पुर्खाहरूबाट सुनिआएको बताउने गर्छन् (पंक्तिकारको स्थलगत अध्ययन) ।


भोजविक्रम बूढामगरले आफ्नो पुस्तक ‘मगर जातिको राजनीतिक इतिहास’ मा आँपपीपल गाविसका पूर्वप्रधानपञ्च ७३ वर्षीय गेहेन्द्रबहादुर रानामगरसित गरेको कुराकानीलाई आधार मानेर लेखेका छन्—लिगलिग मुकुन्द सेनको राज्यअन्तर्गत नै थियो । उनको मृत्युपछि उनका छोराहरूले राज्य चलाउन नसकेपछि दौडेर जित्ने व्यक्तिलाई राजा बनाउने चलन सुरु भएको थियो (पृ ९४) । द्रव्य शाहले लिगलिग जितेपछि घलेहरू त्यहाँबाट लघारिए । केही च्याङली, धादिङ, धनकुटा, उदयपुर पुगे । नभन्दै पञ्चायतकालमा उदयपुर डुम्रेका दानबहादुर घलेमगर जिल्ला पञ्चायत उपसभापति भए थिए (पृ ५९) ।


लिगलिगमा ‘घले’ थर भएका मगरहरूको बोलबाला थियो । दसैंको टीकाको दिन लिगलिगको तल्लो कोटबाट दौडेर सबैभन्दा पहिले जो व्यक्ति माथिल्लो कोटमा पुग्न सक्दछ, त्यसैलाई नै त्यस वर्षको निमित्त त्यस क्षेत्रको मुखिया या नेता बनाउने चलन थियो । सबै मगर युवाहरू दौडमा सहभागी हुने तरखरमा रहेको मौका छोपी आफू पनि दौडमा सहभागी हुने बहाना गरी राजकुमार द्रव्य शाहले आफ्ना सहयोगीहरूको मद्दतले सर्वप्रथम लिगलिगको तल्लोकोटमा आफ्नो अधिकार स्थापित गरिदिए । यसबाट लिगलिगको माथिल्लो कोटमाथि पनि अधिकार स्थापित गर्न तिनलाई कुनै कठिनाइ भएन (आचार्य, बाबुराम–नेपालको संक्षिप्त वृत्तान्त, पृ ९१) ।


...
अठारसयखोला अम्बल तल निकै पछि मात्रै गुरुङहरू मनाङ, लमजुङबाट गएका रहेछन् भनेर सोच्नपर्ने केही तथ्यहरूलई छोड्न सकिन्न । डिल्लीजंग तमुले आफ्नो पुस्तक तमु जातिको लुकेको इतिहासमा लेखेका छन्— गोरखा जिल्लाको तमु क्ले (घले) हरू मनाङ ‘फु’ गाउँबाट गएका हुन् । पचास–साठी वर्षअघिसम्म पाप्रो (बारपाक), लाप्रो (लाप्राक) तिरका तमुको अर्घु गर्दा नार गाउँका बोन लामा गएर मात्र गथ्र्यो । बारपाक गाउँमा अर्घु गर्दा एकथरी क्लेले नार गाउँको र अर्कोथरी क्लेले लमजुङ माझागाउँको लामाले गर्ने परम्परा रहेछ (पृ ४९) ।
कास्की खिलाङबाट नेचु (कृजु) लामिछाने गुरुङको एक परिवार गोरखाको सिम्जुङ गएर त्यहाँ गढीकोट खडा गरेर बसेछन् । अजिरकेटदेखि अलिकति माथि भच्चेकको डाँडा छ । सिम्जुङे उमरा सै गुरुङका जेठा छोराले सिम्जुङ गाउँ बसाली त्यहाँका उमरा भएर बसे । माहिला छोराले चेपेनदीको बायाँपट्टि अपुनथुम खडा गरेर त्यहाँको मुखिया भएर बसे (गुरुङ, जगमान–गुरुङ चोलाका स्वामी हर्कधर, अन्नपूर्ण पोस्ट, १५ वैशाख २०७५) । नभन्दै बारपाक, लाप्राक, सौरपानीतिरका गुरुङहरूले सिरानचोक, घ्याच्चोक, सिम्जुङतिरको मान्छेलाई नु र नुब्ल्या (पश्चिमेली) भन्ने गर्छन् (तमु, टेकबहादुर–तमु जातिको पुरानो इतिहास, पृ ४३) ।


यसले गोरखाको तल्लो भेगमा फैलिएका गुरुङहरू निकै पछि मात्रै त्यहाँ गएर प्रशासन क्षेत्र बनाई बसेको, बरु त्यस्तो गर्दा रैथाने, बराम र मगरहरू त्यहीँ निम्छरो भएको देखिन्छ । लिगलिग आसपासको क्षेत्रमा रहेको मगर प्रभुत्व, त्यहाँवरपरका नदीहरूको मगर बोलीका नाम, स्थानहरूको मगर भाषामै नाम हुनुले समेत लिगलिग मगरको रजस्थल थियो भन्न सकिन्छ ।

Twitter:@gaunkomanchhey

प्रकाशित : जेष्ठ ५, २०७५ ०८:१६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गणतन्त्रमा नबदलिएको व्यवहार

राजाकालीन, सम्राटकालीन चेतना, व्यवहार, चरित्र नेपाली समाजमा आरोपित गरेर आफूलाई नवसम्राटको रवाफमा अभ्यस्त गराउन चाहने प्रवृत्तिले नेपाली समाजको स्थिति परिवर्तन हुन्छ कि हुँदैन ?
यादव देवकोटा

काठमाडौँ — दृश्य एकसडक विस्तारबाट पीडित भएकाहरूले मुआब्जा माग गर्दै र सम्पदाप्रेमीले कला संस्कृति र सम्पदामाथि अतिक्रमणको विरोध गर्दै गरेको प्रदर्शनमा सरकारले गत बुधबार गरेको दमन शाहीकालीन दमनको दृश्यभन्दा कुनै पनि तवरले भिन्न थिएन ।

धुलो र धुवाँले नागरिकले श्वाससमेत लिन नसकेका बेला धुलाम्य सडकमा एक बाल्टी पानी खन्याउन जाँगर नदेखाउने सत्तामा आसिनहरूले ज्येष्ठ नागरिकको बाहुल्य भएको प्रदर्शनमा पानीको फोहरा वर्षाएर, लाठीचार्ज, धरपकड गरेर गणतन्त्र र राजतन्त्रको सत्ता चेतना बीचको दूरीलाई कटौती गरेर आफूहरू गणतन्त्रको नयाँ सम्राट भएको सन्देश दिएका छन् । र भुल्नु हु‘दैन, समाजवाद उन्मुख वामपन्थी भनिएकाहरू सत्तामा भएका बेला, गणतन्त्रका लागि जनयुद्धको नेतृत्व गरेका गृहमन्त्री भएका बेला यो सब भइरहेको छ । तिनलाई, तिनका सहस्र अनुयायीहरूलाई थाहा छ, नयाँ सम्राटहरूको विरोध गणतन्त्रको विरोध हो, समाजवादी यात्राको विरोध हो, अग्रगमन, परिवर्तनको विरोध हो । तिनले जे गर्छन्, त्यही गणतन्त्र हो, त्यही समाजवाद हो, परिवर्तन हो र त्यही नै क्रान्ति पनि हो । र त्यही मात्रै सबै थोक हो ।

यहीँनेर थपौं, सडकका किरमिरे धर्सा कोरिनु अघि नै बसोबास गरिरहेका उपत्यकाका रैथाने मानिस सडक मिचेर बसेका मानिसको सूचीमा पारिएका मात्रै छैनन्, तिनले नियमपूर्वक पाउनुपर्ने मुआब्जासमेत पाउनसकेका छैनन् । र गणतन्त्रमा आफ्नो घरजग्गा मिचेर तन्काइएको बाटोले खाएको जमिनको न्यायपूर्ण क्षतिपूर्ति देऊ भनेर नागरिकले भन्नुपर्ने अवस्था आफैंमा सम्राटहरूको शासनभन्दा भिन्न कसरी छ भनेर बुझ्नै सकिन्न । किन पनि भने सत्तामा आसिन पात्र को छ र व्यवस्थाको नाम के छ भन्ने कुरालाई मात्रै गणतन्त्र मान्नेहरू आलोपालो सत्तामा रहेपछि गणतन्त्रका आधारभूत मान्यता, चेतना, सत्ता व्यवहार दोयम बनिदिन्छ र सत्ताधारीलाई आफ्ना पूर्वजको सत्ताचरित्रको उत्तराधिकारी बन्ने भूत सवार हुन्छ । यहीँनेर गणतन्त्रको भविष्यका लागि मानक तयार गर्नुपर्ने उत्तरदायित्व फजुल आकांक्षा लागिदिन्छ, सत्तासीनहरूका लागि ।

गणतन्त्रले सडक विस्तार किन आवश्यक छ, कहाँबाट, कति र कसरी सडक अघि बढाउने भनेर नागरिकसँग संवादको बाटो हैन, नागरिकको सहभागिता सहितको विस्तारको बाटो हैन– फौजी तागतको बलमा मध्यरातमा नागरिकका घरमाथि बुल्डोजर दौडाउँछ ? त्यसरी अधिग्रहण गरिएकाहरूले पनि क्षतिपूर्ति पाउँदैनन् र सडकमा निम्त्याइन्छन् ? बदलामा सत्ताबाट क्षतिपूर्तिको रकमबाट पानीको फोहरा र लाठीचार्जको उपहार पाउँछन् ? यसमा साँच्चै सार्वजनिक सडक मिचेर, सडकको मापदण्डलाई अटेरी नै गरेर घर–टहरो बनाएका, जमिन मिचेकाहरू कति छन्– त्यसको सूचनासमेत नागरिकले पाउँदैनन् । नियम मिच्नेहरू र नियममा मिचिएकाहरू घालमेल पारिन्छन् र आरोपित गरिन्छन्, उस्तै बनाएर गणतन्त्रमा पनि । गणतन्त्रमा सम्राटगिरी कति भयावह छ भने राजतन्त्रमा समेत नगरिएको पूरातात्त्विक बस्ती, सम्पदामा फौजी तागत थोपरेर डोजर लगाइन्छ । खोकनाको बस्ती, रानीपोखरी, सोह्रखुट्टे पाटीहरूमाथिको बुल्डोजर गणतन्त्रका सम्राटहरूको चेतना विम्ब पनि हो ।

दृश्य दुई
राजतन्त्र कालका केही दृश्य अझै पनि होलान्, मिडियाका श्रव्यदृश्य शाखाका भण्डारमा, जहाँ विष्णुवतार सम्राट अश्वबग्गी, रिसल्ला, कारगेडको घेरासहित सडकमा सवार हुनु निकै अघिदेखि सडकमा कफ्र्यु लगाउँथे र सडक सुनसान पार्थे । ती सवार गाडीले सडक चुमेका बेला नागरिकका पाइतालाले सडक छुनु पनि अपराध हुन्थ्यो, अपवित्र हुन्थ्यो र नागरिकको सडक यात्रा वर्जित थियो । त्यसलाई राजकीय यात्राको लेपन लगाएर नागरिकका असन्तोषमाथि नियमको फोहरा फालिन्थ्यो र तेजोवध गरिन्थ्यो । यताका दिनमा दृश्य फेरिएको छ । विष्णुवतार सम्राटले पुर्खाको नासो श्रीपेच ‘जनता’मा सुरक्षाको जिम्मा छोडेर नागार्जुनतिरको वानप्रास्थ यात्रा रोजेको केही हिउँद नगुजँ्रदै सडकमा नयाँ सम्राटहरूको उदेकलाग्दो प्रहसन मञ्चन हुनथालेको छ । नारायणहिटीबाट विदा भएको सम्राटतन्त्र शीतल निवासतिर सरुवा भएको देखिँदैछ ।

बिहीबार मात्रै गणतन्त्र कालका दोस्रो र गणतान्त्रिक संविधान जारी भएपछिको पहिलो राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवास महाराजगन्जबाट अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र वानेश्वरसम्म राजकीय सवारी गर्नुभयो । सडकमा नागरिकका पाइतालाहरूको घर्षण बन्देज गरियो । उसै पनि झुत्रेझाम्रे मानिसको पाइतालाको सडकमा घर्षणको कर्कशलाग्दो आवाज कम्ती दिग्दारलाग्दो र अप्रिय हुँदैन, शासकहरूका लागि । एकातिर नागरिकलाई सडकमा खुट्टा राख्न निषेध र अर्कोतिर सडकमा सवारी साधनको अत्यासलाग्दो लाम खडा गरेर महामहिम भण्डारी राणाकालीन दरबार शीतल निवासबाट प्राग्कालीन दरबारको खण्डहरमाथि खडा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र वानेश्वरस्थित संघीय संसद भवन जाँदा विष्णुवतार सम्राटको सिंहदरबारस्थित पञ्चायतकालीन पञ्चायत हल (संसद) मा जाँदाको भन्दा रत्तिभर भिन्न तामझाम आयोजना गरिएको थिएन, सडकमा ।

अश्वबग्गी, रिसल्ला, कारगेडहरूको लाम लगाएर महामहिम भण्डारी वानेश्वर सवारी हुँदाको घडी देशमा गणतन्त्र चल्दै थियो कि सम्राटतन्त्रको विषालु हावा ? गणतन्त्र चल्दै थियो भने सडकमा नागरिकको यात्रा किन बन्देज गरियो ? तिनको पाइतालाले टेकेको जमिनमा राष्ट्रपतिको सवारी गरिँदा अपवित्र हुन्छ भनेर ? कि महामहिम राष्ट्रपति सवार हुने सडकमा नागरिकको हिँड्ने स्तर नमिलेर ? घन्टाैं अघिदेखि सडक खाली गराएर सुनसान सडकमा यात्रा गर्नुपर्ने तुजुक देखाएर महामहिमले आफूलाई झुत्रेझाम्रेभन्दा विशिष्ट देखाउन खोज्नुभएको ? कोही शासक या प्रशासक नागरिकमाथि आफ्ना अहम् थोपरेर विशिष्ट हुन्छ कि उसको देशकाप्रति अभिव्यक्त कर्मका आधारमा ? हिजो यस्तै चमक–धमक देखाउने रामवरण यादव आज नागरिकको चासो बाहिर किन छन् र सत्ताको तागतमा तयार गरिने विशिष्टताले नागरिकको मनमा किन स्थायी जमिन तयार गर्न सक्दैन भनेर बुझाउन नागरिकले कतिवटा ज्ञानेन्द्रलाई दरबारबाट गलहत्याउनुपर्छ ? जर्ज अरवेलले ‘एनिमल फार्म’मा उल्लेख गरेको सबै समान छन्, तर केही अरुभन्दा विशेष रूपले समान छन् भन्ने समाजवादी चरित्र हाम्रा नवसम्राटहरूमा घटित भएको हो ?

राष्ट्रपति या विशिष्ट पदाधारीहरूको सुरक्षामा यथोचित प्रबन्ध गरिनुपर्छ भन्नेमा विमति हुनै सक्दैन । तर यो त्यही देश हो, जहाँ प्रहरी कार्यालयमा बलात्कारीलाई पीडितसँग मिलापत्र गराइन्छ । बलात्कारपछि निर्मम कुटपिट गरेर मरणासन्न अवस्थामा फाल्ने कानुनका छिद्रहरू समात्दै प्रमाण अभावको शीर्षकमा खुलेआम छाती खोलेर विचरण गर्छन् । अनि यो देश यही हो, विद्यालय तहको परीक्षा दिन बसेकी छात्रा सुरक्षाकर्मीद्वारा यौनलाभ लिने क्रममा मारिन्छिन् । तर यी यावत् घटनाक्रममा महामहिमको एउटा विज्ञप्ति पनि खर्च हुँदैन । मामुली मानिसको सुरक्षा नखोसे विशिष्टहरूलाई सुरक्षा नै पुग्दैन जस्तो गरिएकैले हो, बोक्सीको आरोपमा किशोरी घन्टौं कुटिँदा पनि सुरक्षाकर्मीको उपस्थिति हुँदैन ।

बलात्कारका यावत घटनाको सुइँकोसम्म सुरक्षा निकायले पाउँदैन । देशलाई विशिष्टहरूको सुरक्षा, मनितो, चाकरीले यति कामयावी बनाएको छ कि महिनौंअघि बलात्कारबाट हत्या गरिएकी बालिकाको शव अस्पतालको शवगृहमा पडिरहेकामा कुनै अतिरिक्त संवेदना जाहेर हुनसकेको छैन ?

पञ्चायतको गाउँफर्क अभियानको विरासत र उत्तरादायित्वले होला, सिंहदरबारलाई गाउँ–गाउँ पुर्‍याउने नारा फलाकिएको त छ, तर त्यसको परिणाम कस्तो देखिएको छ भने गाउँ–गाउँमा नयाँ सम्राटहरूको विगविगी बढेको छ । युवतीलाई बोक्सी करार गर्न कुटपिट गर्ने पीडक छुटाउने मेयर आफूलाई प्रश्नभन्दा माथिका मानिस सम्झाउनेगरी अन्तर्वार्ता दिन्छन् । ठूला सम्राटका साना अनुयायीहरू सामाजिक सञ्जालमै सम्राटहरूमाथि प्रश्न गर्नेहरूको तेजोवध गर्न कुनै कसर बाँकी राख्दैनन् । सरकारी अखडामा तिनै अनुयायीलाई नरिझाए लाइसेन्स, सरुवा, बढुवा, कामकाज केही नहुने अवस्था देखिन्छ । तिनका विद्यार्थी संगठनहरूले कहिल्यै फलानो सार्वजनिक स्थिति यसकारण खस्कियो, त्यसैले हामी अब अनुगमन, दबाब, विरोध गरेर सार्वजनिक विद्यालयको पढाइ, सिकाइ स्तर बढाउन लाग्छौं भनेको कहिल्यै सुनिँदैन । बरु फलानो निजी स्कुलले यसो गर्‍यो, हामी ठिक पार्छौं भनेर धम्की दिएर त्यसबापत आफ्ना नेताका, आफ्ना बच्चा त्यहाँ भर्ना गराउने र चन्दा असुल्ने बाहेक अरु गरेको देखिँदैन । यिनै पार्टी सम्बद्ध सेयर दलाल संघ, जग्गा दलाल संघ, यातायात व्यावसायी संघ हामीले भनेको फलानो माग पूरा नभए हामी हडताल गरिदिन्छौं भनेर आफ्ना तुजुकको सार्वजनिक प्रदर्शन गर्नलागेको देखिन्छ र त्यसलाई अनुमोदन गर्न गणतन्त्रको सत्ता सदैव तयार देखिन्छ । यसले सम्राट चरित्रको हुकुमी महत्त्वाकांक्षालाई तलसम्म विस्तार गर्न गम्भीरतापूर्वक काम गरिरहेको जनाउ दिन्छ । के हामी यसरी नै जाने हो, समाजवादमा ? कहाँ पुगेर रोकिन्छ, हाम्रो यो नवसम्राट यात्रा ?

टुङ्ग्याउनु अघि
दिवंगत मदन भण्डारीले ठिकै भनेका थिए, ‘एकजना राजा रहने कुराले त्यत्रो कुनै आपत्ति गर्दैन । तर सामन्तवाद, दलाल, नोकरशाही पुँजीवाद र साम्राज्यवादको शोषण रहिरह्यो भने राजा नरहे पनि वास्तवमा हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैन ।’ त्यसमा केही हरफ थपौं, मदन भण्डारीका अनुयायी त उस्तै भइगए, तिनकी जीवनसाथी नै देशको प्रमुख भएका बेला राजाकालीन, सम्राटकालीन चेतना, व्यवहार, चरित्र नेपाली समाजमा आरोपित गरेर आफूलाई नवसम्राटको रवाफमा अभ्यस्त गराउन चाहने प्रवृत्तिले नेपाली समाजको स्थिति परिवर्तन हुन्छ कि हुँदैन ? ‘वामपन्थी’ घटकको गठजोडको यस्तो यात्राले नेपाललाई कहिले समाजवादको घोषणा गरेर संसारकै नमुनायोग्य समाजवाद हेर्ने टिकट बेच्न टिकटघर खोल्छ ?

ट्वीटर : @gaunkomanchhey

प्रकाशित : चैत्र १९, २०७४ ०८:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT