फ्रान्सेली पाखुरामा नेपाली कविता

माधव घिमिरे

काठमाडौँ — भर्खर नेपाल घुमेर आफ्नो देश फर्किएँ । यो भ्रमणले मलाई नेपालप्रति गहिरो प्रेममा पार्‍यो । भ्रमणका बेला मैले अनुभव गरेका कुराहरू फेरि अनुभूत गर्न मन लाग्यो र तिनका बारेका नेपाली कवि वा लेखकहरूले के कसरी लेखेका रहेछन् भनेर खोजें ।

फ्रान्सेली पाखुरामा नेपाली कविता

त्यसक्रममा मैले त्यहाँ अनुभूत गरेका सुन्दरताका बारेमा तपाईंका कविताहरूमा प्रचुर मात्रामा व्यक्त भएको पाएँ । म तपाईंको कविताका केही अंश आफ्नो पाखुरामा ट्याटु गर्न चाहन्छु । के तपाईं मलाई कविताका यी अंश नेपाली भाषामा पठाइदिन सक्नुहुन्छ ? त्यसको ट्याटु बनाउन सम्भव हुन्छ हुँदैन मलाई थाहा छैन तर एकपल्ट कोसिस गर्न चाहन्छु ।’


आफ्नो फेसबुक पेजमा आएको यस्तो सन्देश पढेर कवि सुमन पोखरेल चकित भए । किनभने आफूले कहिल्यै नचिनेको व्यक्तिबाट अचानक अनौठो, यसअघि नभोगेको खाले अनुरोध आएको थियो । सन्देश पठाएकी थिइन्— फ्रान्सको पेरिसकी एन्ड्रिया फर्नान्डिजले ।


पोखरेलको उत्सुकता र एन्ड्रियाको अनुरोधको सिलसिलामै दुवैबीच इमेल मार्फत थप कुराकानी भयो । उनको अनुरोधमा पोखरेलले आफ्ना कविताका उनले चाहेको अंशलाई किताबबाट फोटो खिचेर पठाइदिए । अनि, रंगमञ्च र यस्तै अरू सिर्जनात्मक गतिविधिसँग जोडिएकी, भ्रमणकी सोखिन र ‘कन्टेन्ट प्रोडक्सन’ मा काम गर्ने ३० वर्षीया एन्ड्रियाले आफ्नो दाहिने पाखुरामा ती कवितांशको ट्याटु खोपाउने रहर पूरा गरिन् ।


यो जानकारी पोखरेलबाट पाएपछि थप कुरा बुझ्न चाहँदा उनै मार्फत एन्ड्रियासँग सम्पर्क भयो । नेपाली कविताकै ट्याटु बनाउन किन मन लागेको भन्ने जिज्ञासामा उनले रोचक उत्तर दिइन् ।


आफ्नो पाखुरामा ट्याटुका रूपमा नेपाली कवितांश खोपाउनुपर्ने उनको कारण यस्तो रहेछ :
‘हामी गत अप्रिलदेखि मेको पहिलो हप्तासम्म नेपाल घुम्न आएका थियौं । मेरा प्रेमीको घर फ्रेन्च एल्प्सको नजिकै छ, त्यसैले हिमाली भेगसँग हाम्रो विशेष लगाव छ । लामो हिंडाइपछि शान्त वातावरणमा मन्दमन्द चिसो बतासबाट छोइनु, घमाइलो बिहानलाई ताप्नु र अँगेनाका वरिपरि बसेर आगो ताप्नुजस्ता स–साना चीज जीवनका सबैभन्दा अमूल्य प्राप्ति हुन् । त्यसैले हामी मनास्लु क्षेत्र घुम्नका लागि नेपाल आएका थियौं । हामीले त्यहाँ यथेष्ट मात्रामा त्यस्तै मनमोहक र सौम्य वातावरण अनुभव गर्न पायौं । जाडोले भित्रसम्म छुन्थ्यो, प्रकृति पूर्ण रूपमा प्राकृतिक थियो, जताततै रहस्यमयी सुन्दरताले भरिएको ।


घर फर्किएपछि आफूले त्यहाँ भोगेको आनन्दलाई फेरि अनुभूत गर्नका लागि मलाई नेपालका बारेमा, नेपालका संस्कृतिहरूका बारेमा पढ्न मन लाग्यो र मैले नेपाली कविताहरू खोजें । यस क्रममा मैले एउटा वेबसाइटमा संवेदनाले भरिएका कविताहरू भेट्टाएँ, ती सुमन पोखरलेका रहेछन् । त्यसपछि ती कविता नेपालीमै लेखेर आफ्नो पाखुरामा ट्याटु बनाउने इच्छा लाग्यो र उहाँलाई फेसबुक मार्फत भेटें र सम्पर्क गरें । पहिले त उहाँले ट्याटु बनाउनेजस्तो कुरामा हतार नगर्न र तीभन्दा उपयुक्त अरू पंक्ति खोज्न सल्लाह दिनुभयो । तर, मलाई उहाँका तिनै हरफ उपयुक्त लाग्यो ।’


पोखरेलले पठाइदिएको फोटमो उल्लेख ‘खोरम्पा’ कवितासंग्रहको एउटा अंश अनि ‘व्यस्तता’ कविताको अर्को अंश गरी तीन पंक्ति मिलाएर खोपाएकी छन् । ‘नेपाल भ्रमणका क्रममा गरेको अनुभूति ती कविताले दुरुस्तै व्यक्त गरेको पाएँ’ एन्ड्रियाले म्यासेन्जरमा भनिन्, ‘फरक कविताका अंश भएकाले पछि यी हरफलाई इन्भर्टेड कमाले छुट्याउने विचार गरेकी छु अनि उहाँ (कवि पोखरेल) को हस्ताक्षर पनि खोपाउने विचार छ । हस्ताक्षरको फोटो मागेकी छु ।’


मेला लागिरहेथ्यो कुहिराहरूको
त्यो डाँडा र त्यसको वरिपरि
प्रेम बोकी हिँड्ने बतासका स्पर्श


पाखुरामा खोपिएको ट्याटुमा रहेको यो कवितांशले आफूलाई सधैँ नेपाल अनुभूत गराइरहने उनले बताइन् । ‘यसले अरूलाई पनि मेरो पाखुरामा नेपाल देखाउनेछ भन्ने लागेको छ’ उनले भनिन्, ‘अर्को वर्षतिर फेरि नेपाल घुम्न आउने मन छ, अब आउँदा भिजिट गर्नुपर्नेमा सुमन पोखरेल पनि थपिएका छन् ।’


विराटनगर बसेर कविता र चित्र सिर्जना अनि अनुवाद साहित्यमा सक्रिय पोखरेलको फेसबुकले ‘भेरिफाइड’ गरेको पेजमा आफ्ना रचना र अनूदित रचना प्रकाशित भएका विभिन्न
पत्रिकाका लिंकसमेत समेट्ने गरेका छन् । अंग्रेजी, हिन्दी र उर्दूका राम्रा रचना नेपालीमा अनि नेपाली धेरै रचनाहरू ती भाषामा उनले अनुवाद गरेका छन् । विभिन्न ठाउँमा प्रकाशित उनका अंग्रेजीमा अनूदित कविता मन पराएर नाम चलेका धेरै लेखकले तिनका अंश आफ्नो लेखमा उद्धृत गरेका छन् ।


‘द हिन्दु’ मा प्रकाशित रनिङ अन पोयट्री : द वुन्डेड वल्र्ड शीर्षकको कवितासम्बन्धी लेखमा डा. श्रीविद्या शिवकुमारले पोखरेलको कविता ‘हरेक बिहानबाट’ को अंश उद्धृत गरी लेख सुरु गरेकी छन् । त्यही कविताको अर्को एक अंशबाट सुरु गरेर मीनाक्षी मोहनले मन्ना बहादुरको एउटा पुस्तकको समीक्षा गरेकी छन् । पोखरेलको कविता ‘वर्षात्मा बुद्धको मूर्तिसामु’ को एउटा हरफ उद्धृत गरी अतुला गुप्ताले ‘डेक्कन हेराल्ड’ मा प्रकाशित इन्भाइरोन्मेटल राउन्ड अप शीर्षकको आफनो लेख सुरुआत गरेकी छन् ।


यसैगरी मोना मेहताले ‘स्पिकिङ ट्री’ मा प्रकाशित दक्षिण एसियाली सम्पदासम्बन्धी लेख पोखरेलकै कविता ‘खोजिरहेछु एउटा हृदय’ लाई उद्धृत गरी सुरु गरेकी छन् । यस्तै ‘साइकोलोजी टुडे ‘मा प्रकाशित ‘हु वान्ट्स टु बी नर्मल’ शीर्षकको आफ्नो लेखमा एमेली टी ट्रोस्कियान्कोले पोखरेलको कविता ‘निर्णय गर्नुअघि’ को अन्तिम अंशलाई उद्धृत गरेकी छन् । विभिन्न देशबाट प्रकाशित हुने चर्चित पत्रिका र म्यागेजिनहरूमा पनि पोखरेलका थुप्रै कविता छापिएका छन् ।


नेपाली सर्जकहरू ‘अनलाइन’ मा जान सके उनीहरूका सिर्जनालाई अन्तर्राष्ट्रिय पाठकले पढ्ने र मन पराउने रहेछन् भन्ने उदाहरण देखिएको अग्रज साहित्यकार प्राडा अभि सुवेदीको बुझाइ छ । अनलाइनमा भएका कवितालगायत सिर्जनाहरू अनेक किसिमले प्रयोग गर्नु, सेयर गर्नुले थप पाठकहरूसम्म पुग्न मद्दत हुने उनले बताए ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?