कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘एकनासे रोलले गर्दा विश्राम लिएँ’

काठमाडौँ — साढे चार दशक लामो फिल्मी यात्रामा डेनी डेन्जोंग्पाले भिन्नभिन्न चरित्रलाई पर्दामा उतारेका छन् । एकरसका भूमिकाको अफरको बाढी आउन थालेपछि उनले निकै थोरै फिल्म खेल्ने गरेका छन् ।

‘एकनासे रोलले गर्दा विश्राम लिएँ’

त्यसैले पछिल्लो समय उनी मुम्बईमा कम, जन्मथलो सिक्किममा बढी बस्ने गरेका छन्, जहाँ उनको ब्रुअरी व्यवसाय पनि छ । फिल्ममा काम नगरेका बेला उनी चित्रकारिता, पदयात्रामा रमाउने गर्छन् । प्रस्तुत छ, नेपाली दर्शकश्रोताबीच उत्तिकै प्रिय तर सञ्चारमाध्यममा हत्तपत्त नआउने ७१ वर्षीय अभिनेतासँग एउटा भारतीय अनलाइनले गरेको अन्तर्वार्ताको अनूदित र सम्पादित अंश :

निकट विगतमा तपाईं ‘जय हो’ र ‘ब्याङब्याङ’ (सन् २०१४), ‘बेबी’ (२०१५) र ‘नाम शबाना’ (२०१७) मा देखिनुभएको छ । तर, फिल्ममा मुख्य भूमिकामा नदेखिनुभएको धेरै भएन ?
मलाई दमदार भूमिकाहरूमा देखिरहन अभ्यस्त भएकाले तपाईंले यस्तो सोच्नुभएको हुन सक्छ । तर ‘बेब’ मा म धेरै दृश्यमा थिएँ । अनि हामीले सुटिङ पनि स्क्रिप्ट अनुसारै गर्‍यौँ । यसो भन्दाभन्दै पनि, मेरा फिल्महरूबीच ग्याप बढी भएकै हो । तर त्यो समयमा ‘बाइस्कोपवाला’ को सुटिङ गर्दै थिएँ । त्यसपछि म ‘मणिकर्णिका : द क्वीन अफ झाँसी’ मा आबद्ध भएँ । ‘मणिकर्णिका’ ले कथाको भव्यताका कारण समय निकै लियो । त्यो अझै सकिएको छैन ।

राम्रा स्क्रिप्ट, चाखलाग्दा चरित्र नपाएर पनि तपाईं फिल्ममा कम देखिनुभएको सत्यलाई मान्नुहुन्छ ?
विगतमा आएका धेरै अफर उस्तै थिए । त्यस्ता खाले भूमिका मैले अगाडि नै निर्वाह गरिसकेको थिएँ । धेरै नयाँ निर्देशकमा मेरो छवि ८० र ९० को दशककै फिल्ममा मैले निर्वाह गरेका चरित्रहरूको जस्तो छ । त्यो अति पट्टयारलाग्दो थियो र म केही भिन्न काम गर्न चाहन्थेँ । त्यसैले मैले ‘बाइस्कोपवाला’ र ‘मणिकर्णिका’ मा काम गर्न रोजेँ ।

‘बाइस्कोपवाला’ मा खेल्न केले लोभ्यायो ?
यो फिल्म रवीन्द्रनाथ टैगोरको कथा ‘काबुलीवाला’ मा आधारित छ । सानो छँदा मैले विमल राय निर्देशित ‘काबुलीवाला’ हेरेको थिएँ, जसमा बलराज साहनी मुख्य भूमिकामा हुनुहुन्थ्यो । यसको कथा निकै भावुक छ, जुन एउटी सानी केटी र मुख्य पात्रबीचको सम्बन्धको वरिपरि घुम्छ । त्यो फिल्मले ममा साँच्चै हलचल पैदा गरिदिएको थियो । ७० कै दशकमा म ‘काबुलीवाला’ कै कथामा खेल्न चाहन्थेँ र कपीराइटको विषयलाई लिएर विमल रायसँग अनुरोध गरेँ पनि, तर त्यो समय मैले यो कुरालाई टुंगोमा पुर्‍याउन सकिनँ । त्यसैले जब ‘बाइस्कोपवाला’ को अफर आयो, म उत्साहित भइहालेँ ।

‘मेरे अपने’ हुँदै तपाईंले अभिनय सुरु गर्नुभएको ४७ वर्ष भइसकेको छ । यसो पछाडि फर्केर हेर्दा यो यात्रा कस्तो लाग्छ ?
साँच्चिकै रोचक । बलिउडमा प्रवेशताका म एलियन जस्तै थिएँ, (हाँस्दै) किनकि म अरूभन्दा भिन्न देखिन्थेँ । प्राय: निर्माता/निर्देशकले यस्ता विषयमा फिल्म बनाउँथे, जसमा म फिट हुँदिनथेँ । कसोकसो मैले गुलजार साहबको ‘मेरे अपने’ मा अभिनय गर्ने मौका पाएँ । त्यसपछि बीआर इशाराले मलाई ‘जरुरत’ (१९७२) मा लिनुभयो । अन्तत: बीआर चोपडाले ‘धूँद’ (१९७३) मा अनुबन्ध गर्नुभयो, जसले मलाई स्टार बनाइदियो । त्यसपछि मान्छेहरूले मप्रति चासो राख्दै गए । अनि फिल्ममेकरहरूले ‘लस्ट एन्ड फाउन्ड’ कथामा फिल्म बनाउन थाले । त्यस्तो धेरै फिल्म मनमोहन देसाईले बनाउनुभयो, जुन निकै हिट भए । म तिनमा फिट हुन सकिनँ, किनकि म कसैको छोरो अथवा दाजुभाइ जस्तो लाग्दिनथेँ । त्यसैले मैले त्यस्ता धेरै अफर स्वीकार गरिनँ । त्यसपछि एनएन सिप्पीले ‘फकिरा’ (१९७६) अफर गर्नुभयो । रमाइलो कुरा, त्यो फिल्ममा शशि कपुर र म दाजुभाइ बनेका थियौँ । ‘फकिरा’ गोल्डेन जुबिली हिट भयो । अनि मलाई बोध भयो— पब्लिकले तपाईंलाई एक चोटि स्वीकार गरिसकेपछि जुन रोलमा पनि रुचाउन थाल्ने रहेछ । त्यसयता मैले जोसुकैको दाजुभाइ वा बाउ भएर खेलेँ (हाँसो) ।

अभिनेताका रूपमा तपाईंले पाउन बाँकी केही छ जस्तो लाग्छ ?
सफल हुन मैले लेखेरै ल्याएको छु । तैपनि, कहिलेकहीँ आफूले चाहेको रोल पाइनँ भन्ने लाग्छ । २००७ मा ‘फ्रोजन’ खेलेँ, जुन भिन्न खालको सिनेमा थियो र यसले राम्रो विषयको उठान गरेको थियो । यसले (भारतका) दुइटा नेसनल अवार्ड जित्यो, धेरै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा निकै प्रशंसित पनि भयो । तर, व्यावसायिक रूपमा सफल हुन सकेन । म रुचिकर रोलहरूको पर्खाइमै थिएँ, ‘बाइस्कोपवाला’ पाएँ, जुन त्यस्ता फिल्महरूमा पर्छ, जसमा सामान्य तर भिन्न कथा छ र यो राम्ररी बनाइएको पनि छ । यो फिल्म रुचाइनेमा म आशावादी छु ।

१९७१ मा फिल्म यात्रा सुरु गरे पनि तपाईं १९८० मा यो क्षेत्रलाई छोड्न चाहनुहुन्थ्यो । फेरि २००३ मा फेरि विश्राम लिन चाहनुहुन्थ्यो । किन बेलाबेला विश्राम लिन खोज्नुभयो र फेरि केले मानसिकता बदल्नुपर्ने बनायो ?
जब आफ्ना रोलहरूबाट उच्चाट लाग्यो, मैले विश्राम लिएँ । वास्तवमा म अभिनयलाई छोडेरै केही फरक काम गर्न चाहन्थेँ । म धेरै चोटि यो चरणबाट गुज्रिएँ । ७० को दशकमा धेरै फिल्ममा काम गर्दै थिएँ । त्यहीबीच यो रुटिन कामबाट अचानक यति दिक्क लाग्न थाल्यो, नयाँ फिल्म साइन गर्नै छोडिदिएँ । राजेश खन्नालाई लिएर एउटा हरर फिल्म ‘फिर वही रात’ (१९८०) निर्देशन गरेँ । त्यसपछि दुई वर्षका लागि विश्राम लिएँ, फिल्म क्षेत्रदेखि हैरान भएर । ट्रेकिङमा निस्किन थालेँ, पेन्टिङ सुरु गरेँ । यी कामले मलाई अत्यधिक सन्तुष्टि दिए । सिनेमा कलाको महँगो स्वरूप हो, जबकि पेन्टिङका लागि केही रंग र एउटा ब्रस भए पुग्छ । मन नलागे तपाईं यो कामलाई पन्साउन र र लगत्तै फेरि सुरु गर्न पनि सक्नुहुन्छ । मैले आफ्नो आत्मालाई पछ्याएँ । भाग्यवश, जब मैले फेरि फिल्ममा काम गर्न थालेँ, दर्शकश्रोताले पूर्ववत् स्विकारे ।

‘फिर वही रात’ अझै पनि हिन्दीका केही उत्कृष्ट हरर फिल्महरूमा पर्छ । तैपनि तपाईंले अर्को फिल्म किन निर्देशन गर्नुभएन ?
स्थापित निर्माता/निर्देशकहरूबाट अभिनयका लागि धेरै अफर आउँदा मसँग पनि केही स्क्रिप्ट थिए । ती फिल्म सुटिङका क्रममा मैले आफूसँग रहेका विषयहरूबारे पनि निर्माताहरूसँग छलफल गरेँ । तर, उनीहरू ती विषय कि हलिउड फिल्मका लागि उपयुक्त रहेको कि त त्यति व्यावसायिक नरहेको भन्दै पन्सिए । अभिनयका लागि राम्रा अफरहरू पाइराखेकाले मैले यतै मन दिएँ । फेरि, मलाई धेरैजसो मान्छेले झैँ गर्नका लागि मात्रै निर्देशनमा हात हाल्नु थिएन । कुनै दिन निर्देशनबारे त्यस्तै सोचाइ आए म पक्कै फरक फिल्म बनाउँछु ।

तपाईंले पर्दामा केही निकै अविस्मरणीय खलपात्रको रोल खेल्नुभएको छ । अचेल नायकहरू नै नकारात्मक चरित्रमा देखिने गरेको पृष्ठभूमिमा तपाईं यसलाई बलिउडमा भिलेनहरूको अन्त्यका रूपमा हेर्नुहुन्छ ?
म पनि यस्तै सोच्छु । म सम्झन्छु, धेरै वर्षअघि, मैले बलिउड प्रवेश गर्नुअघि नै, धरमजी (धर्मेन्द्र) ले ‘आई मिलन की बेला’ (१९६४) मा ग्रे सेडवाला चरित्र निर्वाह गर्नुभएको थियो । त्यसमा राजेन्द्र कुमार र सायरा बानु पनि हुनुहुन्थ्यो । धरमजी त बेस्ट सपोर्टिङ एक्टरको मनोनयनमा पनि पर्नुभएको थियो । त्यसताका नायकहरूले नकारात्मक भूमिका खेल्दैनथे । ७० र ८० को दशकमा भिलेनहरू नायकहरूपछि निकै महत्त्वपूर्ण चरित्र बने । कथाहरूमा तिनको भूमिकालाई लार्जर द्यान लाइफ बनाइएको हुन्थ्यो । उनीहरू लाउड हुन्थे, चटके जस्ता हुन्थे, उदेकलाग्दा संवाद बोल्थे, तैपनि दर्शकश्रोतामा यसको गहिरो प्रभाव पथ्र्यो । त्यति बेला प्राण साहब हुनुहुन्थ्यो, अनि प्रेम चोपडा । त्यसपछि म आएँ । अनि अमरीश पुरी, अमजद खान, रञ्जित, गुलशन ग्रोभर, शक्ति कपुर ... सबैको आफ्नो भूमिका थियो । तर, जब नायकहरूले नै ग्रे क्यारेक्टर खेल्न थाले, भिलेनले गर्ने काम बिस्तारै घट्दै गयो । अहिले, यदि विश्वसनीय र युक्तिसंगत तरिकाले फेरि भिलेनको रोल लेखियो भने हामी अझै त्यस्तो भूमिका गर्न सक्छौँ ।

धेरैजसो कलाकारका सन्तानहरू आफ्नै अभिभावकका पाइला पछ्याउने गर्छन् । तपाईंका छोरा रिन्जिन पनि बलिउडमा डेब्युको तयारी गर्दै छन् कि ?
रिन्जिन आफूलाई प्रशिक्षित गरिरहेको छ । उसले कताकति अफरहरू पनि पाउँदै छ, तर आफ्ना लागि के ठीक वा बेठीक होला भनेर उसैले निश्चय गर्नुपर्नेछ । न्युकमरले एउटा गलत फिल्मबाट अभिनय यात्राको सुरुआत गर्दा त्यसले धेरै वर्षसम्म उसको करिअरमा असर पार्न सक्छ । रिन्जिन लाठे भइसकेको छ र आफ्ना बारे सोच्न सक्छ । उसलाई लन्च गर्न मैले फिल्म बनाइदिनु वा मेरा साथीहरूको गुहार माग्नुको के अर्थ ? उसले आफ्नै योग्यताको बलमा आफ्नो लक्ष्यप्राप्त गर्नुपर्छ ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?