कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सदावहार साहित्य

पुस्तक
पछिल्लो समय पूर्वीय समाज पाश्चात्यमोहबाट आक्रान्त छ । यसले पूर्वीय ज्ञानमा गर्व गर्न दिएको छैन । ‘अमर पुस्तक’ विश्वको प्राचीन सभ्यतातिर चियाउने झ्याल हो । यसमा अटाएका किताबले पाठकलाई विवेक र विचारका निम्ति उत्प्रेरित गर्छन् नै ।
राजकुमार बानियाँ

काठमाडौँ — भारतीय लेखक मनोज दासले अमर पुस्तकको सूची बनाए, ‘वेद’, ‘उपनिषद्, ‘पुराण, ‘रामायण’, ‘महाभारत’, ‘पञ्चतन्त्र’, ‘जातक’ र ‘अर्थशास्त्र’ राखेर । त्यसमा नेपाली पुनर्लेखक मोहनकुमार दाहालले अतिरिक्त किताब थपिदिए, ‘श्रीमद् भगवद् गीता’ । मनोज र मोहनको त्यही संयुक्त मसीको कसीमा उभिएको किताब हो, ‘अमर पुस्तक’ ।

सदावहार साहित्य

मनोजले साढे चार दशकपहिले नै लेखेको किताब रहेछ, ‘बुक फरएभर’ । उडिया र अंग्रेजी भाषाका यी सिद्धहस्त कहानीकारले किन पूर्वीय सभ्यताका आदिम किताबलाई नै अजम्बरीको पगरी दिए भन्ने विचार–विमर्शको छुट्टै पाटो छ । तर, हजारौं वर्षपहिलेदेखि पढिँदै–सुनिँदै आएका यी लोकप्रिय पुस्तकहरू अझै पनि सान्दर्भिक, जीवन्त र बहुमूल्य सम्पदाका रूपमा छँदैछन् ।
सबभन्दा रोमाञ्चक कुरा— लेखन कला र मुद्रण प्रविधिको विकास भइनसकेको समयका यी श्रेष्ठ किताब श्रुति परम्परा हुँदै अहिलेसम्म कसरी आइपुगे ? मुद्रणमै मात्र भर परिन्थ्यो भने पुस्तकका बैरीहरू सलबलाएका बेला यिनको अस्तित्व के हुन्थ्यो ? गुरुले शिष्यलाई अनि पिताले पुत्रलाई हजारौं वर्षसम्म कण्ठाग्र गराउने त्यही अटुट परम्पराले नै यिनलाई दीर्घजीवन दिएको हो ।


यस्ता सदावहार, अविस्मरणीय र अद्भुत किताब हुँदाहुँदै पनि बजारको चमकदमक र ग्ल्यामरस विज्ञापनका कारण पुस्तकप्रेमीहरू अलमलिन सक्छन् । हीरा–पुस्तक भनेर कुँडाकर्कट उठाउन सक्छन् । तैपनि यी किताबको रापताप कहिल्यै सकिएन । अहिलेसम्म जति पनि किताब लेखिएका छन्, सबैजसो यिनकै ज्ञानगंगावरिपरि प्रज्वलित छन् ।


पूर्वीय ज्ञानको अतीतको महान् झलक यिनैमा छ । यिनले पाठकलाई कथाको महासंसारमा लैजान्छन्, मनोहर वाक्य र विचार अनि चमत्कारी उक्ति दिन्छन् । आदिम देशहरू घुमाइदिन्छन्, महापुरुषलाई भेटाइदिन्छन्, ज्ञानगुन दिन्छन् अनि कतिपयलाई भाषा र भावका बादशाह पनि बनाइदिन्छन् ।


‘अमर पुस्तक’ को सूचीमा परेको ‘वेद’ लाई संसारकै पुरानो पुस्तक मानिएको छ । सृष्टिमा मानिस उत्पन्न भएसँगै आएको भनिएको वेदको लिखित संस्करणलाई जर्मन विद्वान् एच जेकोवी र बाल गंगाधर तिलकले ६ हजार वर्ष पुरानो मानेका छन् । यसमा मतैक्य भने छैन । कतिपय त यसलाई सत्ययुग, त्रेतायुग, द्वापरयुग र कलियुग गरी ३८ लाख ९३ हजार १ सय १७ वर्ष पुरानो ग्रन्थ पनि भन्छन् ।


खासमा ‘वेद’ ऋषिमुनिहरूको अनुभव–वृत्तान्त हो । आनन्द के हो ? सत्य के हो ? ईश्वर के हो ? आदि प्रश्नको माध्यमबाट निष्कर्ष निकालिएको छ यसमा । देवहरूको स्तुति, पदार्थविज्ञान, परमात्माको गुण, कर्म, स्वभाव, रीतिरिवाज आदिको वर्णन छ । थोरै शब्दमा धेरै भन्ने विशेष कला छ यसमा । वेद चारवटा छन्, ऋक्, यजु:, साम र अथर्व । ऋग्वेदको आयुर्वेद, यजुर्वेदको धनुर्वेद, सामवेदको गन्धर्ववेद र अथर्ववेदको स्थापत्यवेद उपवेद हुन् ।


विद्वान्हरू ‘उपनिषद्’ लाई वेदकै हाँगा मान्छन् । वेदका विचार र सारलाई नै व्याख्या गरिएको छ यसमा । उपनिषद्को संख्या कुल मिलाएर १ सय ८ हुन आउँछ । उपनिषद्को मुख्य सन्देश हो, आफूले आफूलाई चिन्नु र बुझ्नुपर्छ । आफूलाई चिन्नु र बुझ्नु मुस्किल पनि छ । चिन्नेले बुझ्दैन । बुझ्ने ल्याकत सबैमा हुन्न ।


उपनिषद्का कथाहरूले प्राचीन शिक्षा पद्धतिको अनुहार देखाउँछन् । नवयुवकहरूले जंगलको बीचमा ऐकान्तिक भएर चिन्तन, मनन, योग र कठोर शारीरिक मिहिनेत गरेका शब्दचित्र देखिन्छन् । नचिकेताको कथा पनि उपनिषद्मै छ । यमराजले नचिकेतालाई भनेका रहेछन्, ‘शरीर मात्र मर्ने हो, आत्मा त अमर छ ।’


वेदकै विस्तार हो, ‘पुराण’ । यसका पात्र देवीदेवता नै छन् । दार्शनिक र वैज्ञानिक विचार छन् यसमा । १८ पुराणमध्ये सबभन्दा लोकप्रिय छ, भागवत पुराण । कसैकसैले महापुराण पनि भन्छन् यसलाई । यसमा श्रीकृष्णको जीवनका अनेक कथावली छन् । श्रीस्वस्थानी व्रतकथा पनि लघु पुराणकै नाम हो । स्वस्थानी नेपाली समाजमा लोकप्रिय छ भने गरुण पुराणको बेलाबखत चर्को आलोचना सुनिन्छ । यसलाई महर्षि वेदव्यासले दुई हजार वर्षपहिले लेखेको मानिएको छ । यसमा वेदका जटिल व्याख्यालाई सरल भाषामा रूपान्तर गरिएको छ । कतिपय प्राचीन प्रसंग पनि नूतन नै लाग्छन् । उपपुराण २४ वटा छन् ।


वाल्मीकिकृत ‘रामायण’ लाई विश्व साहित्यकै अग्रगन्य महाकाव्य मानिएको छ । यसलाई आआफ्नो कल्पनाको रंग भरेर विभिन्न भाषामा आफ्नो देश र समाज अनुकूल बनाउने क्रम अद्यापि जारी छ । रामायणका महानायक हुन्, श्रीराम । श्रीराम आदर्श राजा थिए र उनको शासनकालमा प्रजा धेरै सुखी थिए भन्ने लोकविश्वास छ । आजको लोककल्याणकारी राज्यको अवधारणाको स्रोत ‘रामराज्य’ नै हो ।


डाँकु रत्नाकर मरा–मरा (हत्या) भन्दाभन्दै हृदय परिवर्तन भएर राम–राममा परिणत भएपछि वाल्मीकि भएको कथा पनि छ । रामकथा–रामायणलाई विश्वको पहिलो कविता मानिएको छ भने वाल्मीकिलाई आदिकवि ।


‘महाभारत’ का लेखक वेदव्यासलाई मानिएको छ । तर, उनले लेखन्दास राखेर लेखाएका रहेछन् । आशुलेखक गणेश अर्थात् हिजोआजका ‘घोस्ट राइटर’ । गणेशले ससर्त लेखेका रहेछन्, व्यासले धाराप्रवाह बोल्न नसके नलेख्ने । महाभारतमा १८ पर्व र एक लाख श्लोक छन् । यसको मूलकथाभित्र अनेकौं कथा र उपकथा छन् । दर्शन, राजनीति, इतिहास, मनोविज्ञान र समाजको विस्तृत व्याख्या छ यसमा ।


श्रीमद् भगवत् गीताको संक्षिप्त नाम हो, ‘गीता’ । महाभारतको युद्धमा श्रीकृष्णले अर्जुनलाई दिएका उपदेशात्मक वचन भगवत् गीताका नामले प्रसिद्ध छ । गीतामा १८ अध्याय र सात सय श्लोक छन् । तर, यो आफैंमा स्वतन्त्र रचना होइन । यो पाठ ‘महाभारत’ को भीष्म पर्वको २३ देखि ४० अध्यायमा रहेकाले सम्भवत: मनोज दासले ‘बुक फरएभर’ मा छुट्टै शीर्षकमा नराखेका हुन सक्छन् । यद्यपि ‘गीता’ को ओज र तेज स्वतन्त्र रचनाजत्तिकै छ ।


गीताको मुख्य सन्देश हो, निष्काम कर्मयोग । गीतामा वेद, वेदान्त, पुराण, महाकाव्यहरूको सार छ । त्यसैले यसलाई ‘पञ्चम वेद’ पनि भन्न्ने चलन छ । कर्मयोग सिद्धान्तले के भन्छ भने मनुष्यले हरेक क्रियाकलाप ईश्वरमा समर्पित गर्नुपर्छ र कामको परिणाम ईश्वरेच्छामा छाड्नुपर्छ ।


लेखपढमा पटक्कै ध्यान नदिने राजकुमारहरूलाई विष्णु शर्माले सुनाएको बुद्धि र चतुर्‍याइँको कथासंग्रह हो, ‘पञ्चतन्त्र’ । यसमा बोल्ने पशुपन्छीका माध्यमबाट बुद्धिमत्ता के हो र जीवनका विविध परिस्थितिलाई कसरी चिन्ने भनेर बुझाइएको छ । मानवोपयोगी कथाहरू छन् यसमा ।


बुद्धले आफ्ना शिष्यहरूलाई सुनाएको नैतिक सन्देशले भरिएका शिक्षाप्रद कथाहरू छन्, ‘जातक’ मा । जातक कथा बौद्ध ग्रन्थ त्रिपिटकको सुत्तपिटक अन्तर्गत खुद्दक निकायको दसौं भाग हो । कुल ४ सय ५७ जातक छन् । जातकको मोटामोटी अर्थ हुन्छ, जन्म वा जन्मसन्बन्धी । हरेक जातकमा एक वा एकभन्दा बढी कथा छन् । तिनले जीवनलाई राम्ररी बुझ्ने र असल जीवन जिउने प्रेरणा दिन्छन् ।


चाणक्य (कौटल्य) ले लेखेको ‘अर्थशास्त्र’ लाई राजा, राजकुमार, कूटनीतिज्ञ, राजनीतिकर्मी र प्रशासकहरूका लागि लेखिएकाले संविधान नै मानिएको छ । खासमा राजनीति, कानुन, कूटनीति, समाजशाीत्र र अर्थशास्त्रको प्याकेज छ यसमा । इसाको दुई–तीन सय वर्षअघि लेखिएको भनिएको यो पुस्तक अलौकिकभन्दा लौकिक अर्थात् दुनियाँदारीको कुरा छ । खासमा चाणक्यले व्यावहारिक सुझावहरू दिएका छन् । जस्तो : छलको सहारा कस्तो बेला कसरी लिनुपर्छ र कहिले अर्को प्रकारको व्यवहार गर्नुपर्छ ?


पछिल्लो समय पूर्वीय समाज पाश्चात्यमोहबाट आक्रान्त छ । यसले पूर्वीय ज्ञानमा गर्व गर्न दिएको छैन । आफ्नै ज्ञानको धरोहरलाई नाकाबन्दी गर्नसमेत पछि परेको छैन । ‘अमर पुस्तक’ विश्वको प्राचीन सभ्यतातिर चियाउने झ्याल हो । यसमा अटाएका किताबले पाठकलाई विवेक र विचारका निम्ति उत्प्रेरित गर्छन् नै ।


र, पक्कै पनि प्रत्येक किताबको सम्बन्ध आफ्नो समयसँग हुन्छ । यी पुस्तकलाई अहिलेको डिस्कोर्समा नभई तत् समयको साहित्यका रूपमा हेर्नु मनासिब हुन्छ । यिनलाई माक्र्सवाद खोइ ? नारी अधिकार खोइ ? यौनिक अल्पसंख्यक खोइ ? आदि कोणबाट हेर्नु अत्तो थाप्नु मात्रै हो । पुस्तकप्रेमीका लागि यी पुस्तक अहिले पनि असल साथी हुन सक्छन् ।


‘अमर पुस्तक’ पूर्वीय ज्ञान सम्पदामाथि सरल भाषा लेखिएको परिचयात्मक किताब हो । आकार सानै भए पनि यसको महत्त्व ठूलो छ । यसमा समावेश भएका कथाहरूले नीति शिक्षामा जोड दिएका छन् । प्राचीन ज्ञानको भण्डार, वैभव र भव्यताको गरिमा र प्रभाव देखाउँछन् । किताबका नाम सुनेका तर नपढेका या मूलस्रोतमा पहुँच नभएका जुनसुकै उमेर समूहका पाठक यसबाट लाभान्वित हुन सक्छन् । सिकाइ संस्कृतिमा टेवा दिने यस्ता पुस्तकलाई पाठ्यक्रममै राख्न सके सुनमा सुगन्ध हुन्छ ।


पुनर्लेखकले मूल किताबमा नभएका कैयन उपयोगी तथ्य, सुरुचिकर कथा र जानकारी समावेश गरेका छन् । तर, उनले थप्ने क्रम नराकेको भए पुस्तकमा अझ धेरै ज्ञान र सूचना राख्न सकिन्थ्यो । पुस्तक थप बलियो हुन सक्थ्यो । अर्को शब्दमा ‘अमर पुस्तक’ स्वयं अमर हुन सक्थ्यो ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?