कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

लिभरपुलको लय र रियलको राज

डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड र लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा शनिबार भिड्दै छन् ।
राजु घिसिङ

काठमाडौँ — लिभरपुलले एक अंकले आर्सनललाई उछिन्दै इंग्लिस प्रिमियर लिग २०१६—१७ मा चौथो भएर युरोपेली च्याम्पियन्स लिगको ढोका खोलेको थियो । त्यस बेला ब्राजिली फिलिप काउटिन्हो एन्फिल्ड क्लबको हिरो थिए । उनको सटीक पास, ड्रिब्लिङ र पेनाल्टी क्षेत्रनजिकबाट गोल गर्ने खुबी वास्तवकै लोभलाग्दो थियो ।

लिभरपुलको लय र रियलको राज

अविश्वसनीय रूपमा नेयमरले कीर्तिमान मूल्यमा स्पेन छाडेपछि बार्सिलोनाले काउटिन्होमाथि नजर गाढ्यो । जति प्रयास गरे पनि बार्सिलोनाले उसलाई सिजनपूर्व भित्र्याउन सकेन । अन्तत: काउटिन्हो जनवरी ट्रान्सफरमा १४ करोड २० लाख पाउन्डमा एन्फिल्डबाट नुक्याम्प पुगे ।


ठूलो रकमै भए पनि क्लबको मुख्य खेलाडीलाई बिक्री गरेकोमा व्यवस्थापक यर्गेन क्लोप र लिभपुलको समर्थकले खुबै आलोचना गरे । च्याम्पियन्स लिगमा ५ गोल गरिसकेका कोउटिन्होको स्पेन बसाइसराइसँगै लिभरपुलको प्रदर्शन कमजोर हुने अनुमान गरिएको थियो । यसबीच समर ट्रान्सफरमै मोहम सलाह लिभरपुलको पहिलो इजिप्सियन खेलाडी भइसकेका थिए । अघिल्लो सिजन १९ गोल गरेका उनलाई लिभरपुलले ३ करोड ६९ लाख पाउन्डमा अनुबन्ध गरेको थियो । यिनै सलाहसँगै ब्राजिलका रोबर्टो फिरमिनो र सेनेगलका साडियो मानेले लिभरपुलको अग्रपंक्ति सम्हालिरहेका छन् ।


अघिल्लो सिजन काउटिन्होसँग आकर्षक समन्वय गर्दै फिरमिनो चम्किएका थिए । त्यसैले काउटिन्होले बार्सा रोजेसँगै फिरमिनोको पनि त्यस्तो दिन नदोहोरिने अनुमान गरिएको थियो । तर यो सिजन (२०१७–१८) अन्त्यतिर आइपुग्दा काउटिन्होबिनाको लिभरपुलको गरिएको भविष्यवाणी गलत सावित भएको छ । यसबीच जनवरी ट्रान्सफरमै लिभरपुलले साउथह्याम्पटनबाट भर्जिल भान डिक भित्र्याउन कीर्तिमान ७ करोड ५० पाउन्ड बुझायो । अघिल्लो संस्करणको लिग च्याम्पियन चेल्सीमाथि ५ अंकको अग्रता लिंदै लिभरपुल आउने सिजनका लागि च्याम्पियन्स लिगमा छनोट भयो । औसतको टिम लिएर पनि क्लोपको टिमले च्याम्पियन्स लिगको फाइनल यात्रा तय गर्‍यो । लिभरपुलले शनिबार मध्यरात उपाधिका लागि डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।


स्पेनी महारथी रियल म्याड्रिड युरोपेली फुटबलकै सबभन्दा सफल क्लब हो । रियल कीर्तिमान १२ पल्ट युरोपेली च्याम्पियन भएको छ । लिभरपुल युरोपमा सर्वाधिक सफल इंग्लिस क्लब हो र उसले पाँचपल्ट उपाधि जितेको छ । उसले पछिल्लोपल्ट सन् २००५ मा च्याम्पियन्स लिग जितेको थियो । उसको पछिल्लो सफलतालाई ‘इस्तानबुल आश्चार्य’ को रूपमा चर्चित छ किनभने उसले इटालीको फाइनलमा एसी मिलानविरुद्ध पहिलो हाफमै ३–० ले पछाडि परेको स्थितिबाट खेल ३–३ मा टुंग्याउँदै टाइब्रेकरमा ट्रफी कब्जा गरेको थियो । त्यसको दुई वर्षपछिको फाइनलमा भने उसलाई मिलानले हराएको थियो ।


सन् १९८१ यता युरोपेली प्रतियोगिताको फाइनलमा अपराजित रहेको रियलले चार वर्षयता तीनपल्ट च्याम्पियन्स लिग जितेको छ । लिभरपुलले २०१४–१५ मा पनि च्याम्पियन्स लिग खेल्यो तर उसको त्यो यात्रा बिर्सनलायक थियो । त्यसमा उसलाई रियलले ३–० ले हराएको थियो । चेल्सीलाई पाँच वर्षअघिको फाइनलमा जर्मन महारथी बायर्न म्युनिखले हराएको थियो । त्यसयता महादेशीय क्ल्ब फुटबलमा पहिलो फाइनल खेल्ने क्लब बन्दै छ, लिभरपुल । पछिल्लोपल्ट युरोपेली च्याम्पियन हुँदा प्लेमेकर स्टेभेन जेरार्ड, जाभी अलोन्सो र डिटमर हमान लिभरपुलका मुख्य खेलाडी थिए । त्यस बेलाका व्यवस्थापक राफा बेनिटेज त्यसभन्दा अहिलेको टिमलाई बलियो मान्छन् । अहिले मोहमद सलाह, रोबर्टो फिरमिनो र साडियो माने लिभरपुलको अग्रपंक्तिमा छन् । उनीहरू नै मर्सिसाइड क्लबका मुख्य हतियार हुन् । रियलको उपाधि ह्याट्रिक गर्ने अभियानमा उनीहरू बाधक बन्न सक्छन् । च्याम्पियन्स लिगमा सलाह र फिरमिनोले १०–१० र मानेले ९ गोल गरेका छन् । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो ३३ वर्षको भए पनि रियलका मुख्य खेलाडी यिनै हुन् । उनी यो सिजन पनि च्याम्पियन्स लिगका सर्वाधिक (१५) गोलकर्ता हुन् । लिभरपुलमा अग्रपंक्तिका सबै खेलाडीको योगदान रहे पनि रियलका रोनाल्डोको तुलना अरूसँग गर्न मिल्दैन ।


गत वर्ष इटालियन महारथी युभेन्टस्लाई ४–१ ले हराएर रियल च्याम्पियन्स लिगको उपाधि रक्षा गर्ने पहिलो टिम भएको थियो । त्यसमा रोनाल्डोले दुई गोल गरेका थिए । २०१६ को फाइनलमा एट्लेटिको म्याड्रिडविरुद्ध पनि पेनाल्टी सुटआउटमा निर्णायक प्रहार गरेका उनले २०१४ मा उही छिमेकी टिममाथि अतिरिक्त समयमा गोल गरेका थिए । त्यसैले फ्रान्सेली व्यवस्थापक जिनेदिन जिदानले फाइनलमा फेरि एकपल्ट रोनाल्डोकै प्रदर्शन प्रभावशाली हुने विश्वास व्यक्त गरेका छन् ।


बढ्दो उमेरसँगै रोनाल्डो मिहिनेती खेलाडीबाट ‘अर्थोडक्स फरवार्ड’ मा परिणत भएका छन् । उनले यो सिजन दोस्रो हाफमा मात्र गोलको लय समाते । अहिलेसम्म ४४ गोल गरेका छन् र लिभरपुलका मुख्य फरवार्ड सलाहले पनि उति नै गोल गरेका छन् । त्यसैले विश्वकप वर्ष भए पनि यसपालि च्याम्पियन्स लिगको फाइनललाई बेलुन डि’अरका सम्भावित विजेताको प्रतिस्पर्धाको रूपमा पनि लिइएको छ । यस्तोमा सलाहले रोनाल्डोलाई उछिन्ने प्रयास गर्नेछन् तर उनले रोनाल्डोको अहिलेसम्मको गोलको संख्यालाई भेटाउन भने अझै १३ सिजन हरेकपल्ट यसपालिजस्तै गोल गर्नैपर्छ ।


योर्गेन क्लोप विश्व फुटबलमा कहलिएका ट्याक्टिसियन हुन् । बोरुसिया डर्टमुन्डलाई बैंकको कालो सूचीबाट उकास्न उनकै मुख्य हात थियो । सत्र वर्षको कोचिङ करिअरमा उनले अर्को जर्मन क्लब मेन्ज पनि सम्हालेका थिए । उनले मेन्ज र डर्टमुन्डकै शैलीमा लिभरपुललाई च्याम्पियन्स लिगको फाइनल पुर्‍याएका हुन् । फ्रान्सेली लिजेन्ड जिदानले भने प्रशिक्षक भएयता च्याम्पियन्स लिगको उपाधि गुमाएका छैनन् । यिनै जिदान र उनका खेलाडीको अनुभवसँग क्लप अलि डराएका छन् । तर फुटबलमा अनुभव नै निर्णायक बन्ने कुरामा भने उनी विश्वास गर्दैनन् । फुटबलमा हरेक कुरा सम्भव हुने उनी तर्क गर्छन् ।


लिभरपुलले च्याम्पियन्स लिगको छनोटमै कठिन प्रतिद्वन्द्वीको रूपमा जर्मन क्लब होफेनहेम पाएको थियो । होफेनहेमको चुनौती पार गरेपछि क्लोपको औसत टिम पनि यो सिजन युरोप र इंग्ल्यान्डमा चम्किएको हो । लिभरपुलले समूह चरणमा स्पार्टा मस्कोलाई ७–० ले हराएको थियो । सेभियाविरुद्ध ३–० को अग्रता लिएर पनि ३–३ मा खेल टुंगिँदा भने क्लोपलाई तनाव नै भएको थियो । पोर्टोलाई उसैको घरमा ५–० ले पराजित गरेको लिभरपुललाई पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीविरुद्ध क्वाटरफाइनलको दोस्रो लेगमा भाग्यले साथ दिएको थियो । सेमिफाइनलको दोस्रो लेगमा रोमाको पक्षमा ४–२ हँुदा लिभरपुलको डिफेन्स उदांगिएको थियो ।


रियलले समूह चरणमा टोटेनहमभन्दा पछाडि परे पनि नकआउटमा पीएसजी, युभेन्ट्स र बायर्नलाई हराएर फाइनलमा स्थान पक्का गरेको हो । क्वाटरफाइनलको दोस्रो लेगमा युभेन्ट्ससँग म्याड्रिडमै रियल भाग्यले बचेको थियो । घरेलु ला लिगामा च्याम्पियन बार्सिलोनाभन्दा १७ अंकले पछाडि परे पनि जिदानको जागिर च्याम्पियन्स लिगकै यात्राले जोगाइदियो । उनी लगातार पाँचौं वर्ष पनि युरोपेली उपाधि स्पेनी क्लबकै बनाउन चाहन्छन् ।


जिदान काउन्टर अट्याकको शैलीमा रियलको ह्याट्रिक जित चाहन्छन् भने क्लोप सबभन्दा ठूलो स्तरको सफलता हात पार्ने अभियानमा छन् । फाइनल यात्रासम्मका खेललाई हेर्ने हो भने दर्शकको प्रिय टिम लिभरपुल नै हो । उसको आक्रामक खेल लोभलाग्दो हुने गर्छ । अघिल्लो सिजन लोभलाग्दो खेलिरहेको युभेन्ट्सलाई रियलले एकतर्फी फाइनलमा ४–१ ले हराएको थियो । त्यसैले राम्रो खेलिरहेको टिमले नै जित्छ भन्ने होइन । पछिल्ला ६ फाइनलमा रियल हारेको छैन भने क्लोपको टिमले पछिल्ला ५ फाइनलमा सफलता पाएको छैन ।
च्याम्पियन्स लिगमा कीर्तिमान १ सय २० गोल गरेका रोनाल्डोसहित गारेथ बेल र इस्कोलाई भर्जिल भान डिक नेतृत्वको लिभरपुल डिफेन्सले रोक्ने प्रयास गर्नेछन् । रियलका मार्सेलो, सर्जियो रामोसले सलाह, फिरमिनो र मानेलाई असफल पार्ने कोसिस गर्नेछन् । मिडफिल्डमा ल्युका मोडरिच र टोनी क्रुज खेल नियन्त्रण गर्न चाहन्छन् भने उनीहरूलाई अवसर नदिई अगाडि दबाब दिने योजनामा छन्, जेम्स मिल्नर, जोर्डन हेन्डरसन, जर्जिनियो विज्नाल्डम ।


फाइनल नजिकिँदा युक्रेनी राजधानीका होटलमा महँगी चुलिएको र टिकटको कालोबजारी भइरहेको समाचार आइरहेको छ । ६१ देखि ३९३ पाउन्ड मूल्य तौकिएको टिकट कालोबजारीमा ४,४११ पाउन्डमा बिक्री भएको बताइन्छ । यति चर्को अवस्थामा ठूला उपाधि आत्मसात् गर्न नपाएका लिरपुलका खेलाडीलाई किभमा सफलता हात पारेर युरोपेली फुटबलको लिजेन्ड बन्ने अवसर पनि छ । तर, जिदान सर्वाधिक सफल भएर पनि आफ्नो टिम सफलताको भोको भएको दाबी गर्दै इतिहास कोर्न चाहन्छन् ।
Twitter: @rghising

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?