च्याम्पियन सन्दीप लामिछाने

सन्दीपको पहिलो खेलकै भारतीय क्रिकेट इतिहासकार बोरिया मोजुमदारदेखि हर्सा भोग्ले, डिन जोन्स, माइकल भोन, रसिद खानलगायतले प्रशंसा गरे ।
विश्वकै महँगो क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग खेल्ने पहिलो नेपाली खेलाडी बन्ने मौका पाएका सन्दीप लामिछानेले आफ्ना तीनै खेललाई स्मरणीय बनाए ।
विनोद पाण्डे

काठमाडौँ — अम्बती रायडुको कप्तानीमा भारतको यू–१९ क्रिकेट टोली ‘काठमाडौं क्लास’ का लागि नेपाल भ्रमणमा आएको थियो । रायडुसँगै भारतीय यू–१९ टोलीमा अर्का प्रतिभाशाली खेलाडी थिए सुरेश रैना । सन् २००३ मा नेपाल आएका भारतीय यू–१९ टोलीमा अन्य खेलाडी यस्ता थिए जो अहिले पनि स्थापित छन् ।

च्याम्पियन सन्दीप लामिछाने

नेपाल आउनुअगाडि रायडुले भारतको यू–१९ बाट इंग्ल्यान्डमा युथ एकदिवसीयमा दोहोरो शतक प्रहार गरिसकेका थिए । उनलाई भारतको भविष्यको रूपमा हेरिएको थियो । रैना टोलीका उपकप्तान थिए । उनले पनि भारतको भविष्यको क्रिकेट संकेत गरिसकेका थिए । एतिहासिक भ्रमणका क्रममा भारतले नेपालसँग तीन एकदिवसीय शृंखला खेलेको थियो । नेपाली क्रिकेटका लागि त्यसको महत्त्व कति छ भने त्यसयता नेपाल र भारतका बीच कुनै पनि स्तरमा द्विपक्षीय शृंखला भएको छैन । नेपालले केही अघिमात्र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाए पनि भारतसँग खेल्ने अवसर पाइहाल्न त्यत्ति सजिलो छैन ।

भारतको उक्त भ्रमण त्यतिबेला भएको थियो, जतिबेला अहिलेका चर्चित क्रिकेटर सन्दीप लामिछाने १–२ वर्षका मात्र थिए । समय महान् छ । तिनै रायडु र रैनाले यो वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) मा धुम मच्चाइरहँदा एउटा कलिलो केटो उनीहरूको अगाडि आइपुग्यो । ती अरू कोही नभएर सन्दीप लामिछाने थिए । सन्दीप समावेश दिल्ली डेयरडेभिल्ससँग उत्रिनु केही अगाडिसम्म रायडु ‘ओरेन्ज क्याप’ धारी थिए । अर्थात् जारी सिजनको आईपीएलमा सर्वाधिक रन बनाउने सूचीमा उनी अगाडि थिए ।

रायडु र रैना दुवै चेन्नई सुपर किंग्सका खम्बा हुन् । यसै टोलीका कप्तान महेन्द्रसिंह धोनी २०१२ मा नेपाल भ्रमणमा आएका थिए, भारतलाई विश्वकप जिताएको अर्को वर्ष । त्यत्तिखेरसम्म पनि सन्दीप नेपाली क्रिकेटमा देखिएका थिएनन् । उनी त्यत्तिखेर आफ्ना अभिभावकसँग भारतको हरियाणामा बाल्यकाल बिताइरहेका थिए । भलै क्रिकेटको उनको नशामा थियो । र, नेपाल आएर क्रिकेट खेल्ने उनको एउटा अबोध निर्णयले अहिले भारत नै हल्लाइदियो ।

ट्वान्टी–२० संरचनाका उत्कृष्ट ब्याट्सम्यानमध्येका एक रैनाको विकेट लिएपछि सन्दीपको लोकप्रियताले थप उचाइ लिइसकेको थियो । दिल्ली डेयरडेभिल्सले ११ खेल खेलिसकेपछि उनले पालो पाएका थिए, जति खेर दिल्ली प्रतियोगिताबाटै बाहिरिसकेको थियो । आईपीएल इतिहासमै दिल्ली कमजोर देखिंदै आएको छ । दिल्लीले निकै राम्रो खेलेर ३–४ खेलअगाडि नै प्ले अफमा पुगेमा वा इतिहासलाई निरन्तरता दिंदै प्ले अफ दौडबाट चाँडै बाहिरिएमा मात्रमा आईपीएलमा सन्दीपको ‘डेब्यु’ पालो आउँथ्यो ।

दिल्लीको दुर्भाग्य वा एक नेपाली खेलाडीको भाग्य, पराजयको शृंखलापछि सन्दीपले मौका पाए । त्यसमा उनले आफूलाई अब्बल साबित गरिदिए । उनले त्यो बेला समय पाएका थिए, जति खेर उनका धेरै समर्थकले सन्दीपले आईपीएलमा खेल्ने आशा गुमाइसकेका थिए । लोकप्रियताका लागि मात्र सन्दीपलाई लिएको आरोप उनीहरूले दिल्लीलाई लगाइरहेका थिए । हुन पनि दिल्लीले सामाजिक सञ्जालमा सन्दीपलाई भरपूर उपयोग गरेको थियो । सन्दीप यसमा अवसर कुर्नभन्दा पनि बढी उत्साही भएकोमा समस्या देख्छन् ।


दिल्लीको सिजन समाप्त हुनु ३ खेलअगाडि सन्दीपले पालो पाएका थिए । अन्तत: रोयल च्यालेन्जर बेङ्लोरसँग दिल्लीको फिरोज शाह कोटला मैदानमा एतिहासिक ‘डेब्यु’ को क्षण आयो । आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बन्न पाएको मौकालाई सन्दीपले स्मरणीय बनाए । उनले दोस्रो ओभरमै पार्थिव पटेललाई एलबीडब्लुको धरापमा पर्दै विश्व क्रिकेटको सबैभन्दा महँगो लिगमा आफ्नो धमाकेदार इन्ट्री गरे । उनले मोइन अली, विराट कोहली र एबी डी भिलियर्स जस्ता विश्वका कहलिएका ब्याटस्म्यानको ब्याटलाई बाँधेर राखेजस्तै बनाइदिए ।


‘बेङ्लोर’ ले सन्दीपको खेल जीवनमा फेरि एक अर्को तरङ्ग ल्याइदियो । जनवरीको अन्तिम साता बेङ्लोरमै आईपीएल २०१८ का लागि अक्सन भएको थियो, जहाँ सन्दीपलाई दिल्लीले न्यूनतम २० लाख भारुमा अनुबन्ध गरेको थियो । त्यतिखेर सन्दीप नेपाली टोलीसँग विश्व क्रिकेट लिग डिभिजन २ का लागि दुबईमा अभ्यास गर्दै थिए । सन्दीपको खेल यात्रालाई यहाँसम्म पुर्‍याउन विश्वकप विजयी अस्ट्रेलियाका कप्तान माइकल क्लार्कको ठूलो हात छ । क्लार्कको टेस्ट ‘डेब्यु’ पनि बेङ्लोरमै सानदार शतकका साथ भएको थियो । सन्दीपले आईपीएलमा डेब्यु गर्ने भएपछिको खबर र गरिसकेपछि सबैभन्दा बढी उत्साहित हुने र भावुक हुने सम्भवत: तिनै क्लार्क थिए । बेङ्लोरसँग सन्दीपको पहिलो खेलपछि टेलिभिजनमा अन्तर्वार्ता लिनेमा उनै क्लार्क थिए । उनीहरू दुवैले हङकङको कावलुनबाट अस्ट्रेलियासम्मको यात्रालाई स्मरण गरेका थिए । सन्दीपको खेलपछि क्लार्क बधाईको हकदार बनिरहेका थिए ।


सन्दीपको पहिलो खेलले नै विश्वव्यापी चर्चा बटुलिसकेको थियो । भारतीय क्रिकेट इतिहासकार बोरिया मोजुमदारदेखि हर्सा भोग्ले, डिन जोन्स, माइकल भोन, रसिद खानलगायतको प्रशंसाले सन्दीपको मनोबललाई उच्च बनाइसकेको थियो । सन्दीपले आईपीएल खेल्ने १३ औं देशको खेलाडीको रूपमा आफूलाई उभ्याएका थिए । टेस्ट राष्ट्रबाहिर यसअघि नेदरल्यान्ड्सका रायन डेस्काथे तथा अफगानिस्तानका रसिद खान, मोहम्द नाबी र मुजिब उर रहमानले मात्र मौका पाएका थिए । यही सूचीमा नेपाली युवा लेग स्पिनरको नाम थपिएको थियो ।

अमित मिश्राजस्ता अनुभवी लेग स्पिनर तथा लेग ब्रेक बलर एवम ब्याटिङ अराउन्डर राहुल टेबाटिआ भएकाले दिल्लीमा सुरुआती दिनमा सन्दीपको सम्भावना देखिएकै पनि थिएन । त्यसमाथि विदेशी खेलाडीको कोटाबाट खेल्नुपर्ने हुनाले कतै सन्दीप ‘डगआउट’ कै अनुभव बटुलेर आउने होइनन् भन्ने स्थिति पनि देखिएको थियो । एउटा टिमले ४ वटा मात्र विदेशी खेलाडी खेलाउने पाउने नियमले सन्दीपलाई थिचिरहेको थियो । ग्लेन म्याक्सवेल, जेसन रोय, क्रिस मोरिस, लिएम प्लुन्केटस, डानियल क्रिस्टियन, कोलिन मुनरोसँग सन्दीपको विदेशी खेलाडीको कोटामा प्रतिस्पर्धा थियो । अर्को कमजोर फिल्डिङ र ब्याटिङले पनि सन्दीपको ‘डेब्यु’ प्रतीक्षा लम्बाइरहेको थियो । सन्दीपको खास खुबी बलिङ थियो, जसको उनलाई प्रतीक्षा थियो ।


बेङ्लोरसँग सन्दीपको प्रदर्शन यस्तो रह्यो कि दिल्लीले चेन्नईसँगको खेलमा ३ विदेशी खेलाडीमात्र उतार्दा त्यसमा एक उनी नै थिए । सन्दीपले विदेशी खेलाडीको कोटाको बारलाई छलाङ मारिसकेका थिए । हुन त दिल्लीले हारेर गुमाउनु केही थिएन, त्यसैले टोलीले सन्दीपजस्तै युवा खेलाडी अभिषेक शर्मालगायतलाई मौका दिएको थियो । कोहली र डी भिलियर्सलाई जस्तै चेन्नईसँगको खेलमा पनि सन्दीपले सेन वाटसन, रैना, साम बिलिङ्स, धोनीलाई खासै चलमलाउन दिएनन् । धोनीको ओठे भाव बुझ्न खोज्दा उनी रैना र बिलिङ्सलाई सन्दीपको बलमा सम्हालिएर खेल भनेको जस्तो देखिन्थ्यो । यदि त्यही थियो भने १७ वर्षे सन्दीपको उदाउँदै गरेको क्रिकेट जीवनमा त्यो ठूलो ‘कम्प्लिमेन्ट’ थियो । हुन त सन्दीप केही अघिसम्म त्यही खेलाडी हुन् जतिखेर आफू प्लेइङमा नपर्दा दिल्लीले पुनेमा गएर चेन्नईसँग खेल्दा धोनीसँगको फोटो समाजिक सञ्जालमा राखेका थिए ।

आईपीएलको २ खेलले नै सन्दीपको बलिङलाई धोनीको सम्मानको हकदार बनाइसकेको थियो । यही खेलमा उनले स्टाइलिस बलर हुँदै १ लाख भारु नगद पाएका थिए । त्यसयता उनको जीवनशैली नै स्टाइलिस बलरको परिभाषामा रूपान्तरित भएको छ ।


मुम्बई इन्डियन्सले लामो समय भुल्ने छैन सन्दीपको बलिङलाई । उनकै ३ विकेटमा दिल्लीले अन्तिम खेलमा मुम्बइलाई पराजित गरेपछि राजस्थान रोयल्स प्ले अफमा पुग्यो । दिल्लीले त्यो खेल जित्न नसकेको भए मुम्बई प्ले अफ पुग्थ्यो र राजस्थान बाहिरन्थ्यो । त्यसैले राजस्थानले पनि सन्दीपलाई बिर्सिहाल्ने स्थिति छैन । सन्दीपले २ ओभर बलिङ पूरा नगर्दै सूर्यकुमार यादव, किइरन पोलार्ड र क्रुनाल पाण्डेको विकेट लिइसकेका थिए, जसले खेल नै पल्टाइदिएको थियो । सन्दीपले प्रत्येक खेलसँगै खारिएको प्रदर्शन गर्दा उनका प्रशंसकहरू दिल्लीलाई नै गाली गरिरहेका थिए ।

सन्दीपलाई अझ पहिले खेलाएको भए उनको विकेट यति पुग्थ्यो, दिल्ली यति खेल जित्दै फाइनल पुग्थ्यो भनेर हिसाब लगाइरहेका भेटिन्थे ती प्रशंसकहरू । हुन पनि हो सन्दीप आएपछि दिल्लीले ३ मध्येको २ खेल जितेको थियो, जबकि त्यसअघिका ११ खेलमा रिकी पोन्टिङको प्रशिक्षणमा रहेको दिल्लीले ३ खेलमा मात्र जित्न सकेको थियो । त्यही प्रदर्शनले दिल्लीलाई यस पटक पनि पुछारमै झुन्डायो । जे होस्, आईपीएल सन्दीपलाई एउटा अवसर थियो । सन्दीपकै भाषामा उनले त्यो अवसरमा नेपाललाई चिनाउने प्रयास गरे । आईपीएलबाट आफूले धेरै सिकेको र अझै सिक्न बाँकी रहेको जनाउँछन् । उनी अरू नेपाली खेलाडी पनि आइपीएलमा पुगेको हेर्न चाहन्छन्, जसले नेपाली क्रिकेटको दायरालाई विश्व क्रिकेटमा अझ फराकिलो बनाउने उनको बुझाइ छ ।


दिल्लीबाट सन्दीपले १ नम्बर जर्सी लगाएर खेलेका थिए । सन्दीप खासमा २५ नम्बर जर्सी लगाउँथे, आफ्नो भान्जीको नाममा । तर, दिल्लीका दक्षिण अफ्रिकी बलर कागिसो राबाडा पनि २५ नम्बरकै लगाउँथे । अनि सन्दीपले १ नम्बर रोजेका थिए । त्यसमा उनको प्रतिक्रिया थियो, ‘म एक नम्बर बलर हुन चाहन्छु ।’ सन्दीपले जति मौका पाए त्यसमा आफूलाई १ नम्बरजस्तै प्रमाणित गरे । आफूले पाए जति अवसर सदुपयोग गरेको उनी पनि ठान्छन् । तर असाधारण प्रदर्शन गरेको उनी मान्दैनन् । त्यसो हुन्थ्यो भने उनी आफूले प्रत्येक खेलमा ४–५ विकेट लिन सक्नुपथ्र्यो भन्छन् । जे होस्, उनले च्याम्पियन प्रदर्शन दिएका थिए । पारस खड्का, क्लार्क उनको च्याम्पियन शैलीको प्रशंसा गरिरहेका थिए ।


चार वर्षयता सन्दीपको क्रिकेट यात्रा परिकथाजस्तै छ । सेयर कोरोबारको ‘बुलिस ट्रेन्ड’ जस्तै, उकालो लागेको लाग्यै । अन्तर्राष्ट्रिय ट्वान्टी–२० को कुनै अनुभवबिनै उनले आईपीएलको रोमाञ्चक यात्रा गरेका हुन् । अझ उनले जति क्रिकेट खेलेका छन् त्यसमा कुनैमा पनि पावर प्लेमा बलिङ गरेका थिएनन् । दिल्लीबाट खेल्दा उनले तीनै खेलमा नयाँ बल लिएर बलिङ गरे । डेढ वर्षअघि सातौं राष्ट्रिय खेलकुदको फाइनलमा त्रिभुवन आर्मी क्लबसँग खेल्दा उनी एपीएफको प्लेइङ ११ मा अटाएका थिएनन् । यसै वर्ष भएको एभरेस्ट प्रिमियर लिगमा एउटा खेलमा ललितपुर प्याट्रियट्सले हार बेहोर्दा उनको बलिङमाथि दोष लगाइएको थियो । नेपाली राष्ट्रिय टोलीबाट खेल्न लागेको उनले दुई वर्ष मात्र भएको छ । नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउने क्रममा उनले पछिल्ला दुई प्रतियोगिता विश्व क्रिकेट लिग डिभिजन २ र विश्वकप छनोटमा ३० विकेट लिएका थिए । नामिबियामा भएको डिभिजन २ मा १७ विकेट लिंदै उनी म्यान अफ द सिरिजमा चुनिएका थिए । जबकि उनले घरेलु प्रतियोगितामा एकदिवसीय राष्ट्रिय क्रिकेट नै खेलेका छैनन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघलाई निलम्बन गरेको दुई वर्ष भइसक्यो । घरेलु राष्ट्रिय प्रतियोगिता नभएको चार वर्ष भइसक्यो । उनी नेपाली क्रिकेटसँग जोडिएकाहरूले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने दोहोर्‍याइरहन्छन् ।


२०१६ को आईसीसी यू–१९ विश्वकप सन्दीपको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । बंगलादेशको त्यो प्रतियोगितामा उनले विश्वकपको दुर्लभ ह्याट्रिकसहित १४ विकेट लिएका थिए । उनले आफ्नो पहिलो प्रतियोगितामै बल निकै प्रयोग गरेका थिए । बल राम्रोसँग घुमाएका थिए । भेरिएसनहरू गरेका थिए । गत वर्ष उनले सिंगापुरमा एसिया क्षेत्रको विश्वकप छनोटमा आफ्नो बलिङलाई नयाँ गति दिए, गुगलीको भरपूर प्रयोग गरे । त्यहाँ उनले २४ विकेट लिएका थिए । सबै खाले प्रतिस्पर्धामा नेपाली खेलाडीले एकै प्रतियोगितामा लिएको यो सबैभन्दा बढी विकेट हो । नेपाली टोलीका प्राविधिक विश्लेषक रमन सिवाकोटीका अनुसार १२–१३ विकेट उनले गुगलीमै लिएका थिए । अस्ट्रेलियन महान् सेन वार्न र आदिल रसिदका प्रशंसक सन्दीपले उनीहरूको खेल हेर्दै यो कला सिकेका थिए । सन्दीप अक्सनमा पर्न अघि दिल्लीमा ट्रायल दिन गएका थिए, जहाँ उनले यही गुगलीबाट प्रशिक्षकलाई प्रभावित तुल्याएका थिए ।


दिल्लीमा सन्दीपले मौका पाउँदै गर्दा दुई ठूला खबर आएका थिए । एउटा सन्दीप आईसीसीको विश्व ११ टोलीमा छानिएका थिए । उनले इंग्ल्यान्डको लर्डसमा आउँदो साता वेस्ट इन्डिजविरुद्ध हुने च्यारिटी खेलमा सहभागिता जनाउनेछन् । पहिलो पटक नेपाली खेलाडीले आईसीसीको विश्व ११ मा अवसर पाएका हुन् । अर्को पल्सर स्पोर्टस अवार्डमा सन्दीप वर्षको उत्कृष्ट युवा खेलाडीमा चुनिएका थिए । हुन त सन्दीप वर्षको उत्कृष्ट खेलाडी र पिपुल्स च्वाइसको विधामा पनि थिए । वर्षको उत्कृष्ट खेलाडीको पुरस्कारमा उनलाई उनकै कप्तान पारस खड्काले उछिने । तर, पारस आफैं भन्दै थिए, ‘मलाई केही आश्चार्य लागिरहेको छ, किनेभने यो अवार्ड जित्न सन्दीप लामिछाने हकदार थिए ।’


रायडुको नेतृत्वमा आएको भारतीय टोलीविरुद्ध नेपाल शक्ति गौचनको कप्तानीमा उत्रिएको थियो । शक्ति त्यतिबेला नेपाली ब्याटिङका आधार थिए । पछि उनी बलिङमा मात्र केन्द्रित भए र नेपाली क्रिकेटको प्रमुख बलरमा रहिरहे । अहिले शक्ति खेल जीवन संन्यासको संघारमा छन् । भन्नु परेन, पछिल्लो दुई वर्षयता शक्तिको स्थान अरू केही होइन सन्दीपले नै लिएका छन् ।

twitter: @dearbinod

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?