कैलालीदेखि कोंकणसम्म
काठमाडौँ — साँझको सवा पाँच बजेको छ । महाराष्ट्रको रत्नागिरीस्थित आँपको राजा मानिने अल्फान्सोको एउटा घना बगैंचामाथि हल्का बादल छ । पात र हाँगाहरूलाई कसैले नहल्याएसम्म रूखका पात सररर गरेको आवाज मात्र सुनिन्छ । यसैबीच एक हूल बाँदरहरू आइपुग्छन् ।
भारतका विभिन्न सहरका घर, फ्ल्याट, पसल र कोठीको पहरेदारी गर्दै आएका नेपालीहरू पछिल्लो समय दुई हजार किलोमिटरको दूरी तय गरेर आँपको सुरक्षामा खटिन थालेका छन् । ती कामदारहरूको कष्टकर जीवनमाथि भारतीय अंग्रेजी दैनिक ‘द हिन्दुस्तान टाइम्स्’ मा प्रकाशित रितिका रेवथी सुब्रमन्यनको स्थलगत रिपोर्ट :
र, अब लडाइँ सुरु हुन्छ । रूखभन्दा करिब चालीस फिटको दूरीमा रहेका ६५ वर्षीय नरबहादुर विश्वकर्मा गुलेली सोझ्याएर तयारी अवस्थामा बस्छन् । र, उनले एउटा ढुंगा हान्नासाथ बाँदरहरू भाग्छन् । अहिलेका लागि अल्फोन्सो जोगियो ।
आँपको सुरक्षा (स्थानीय मराठी भाषामा रखवालदारी) गर्न बर्सेनि नेपालबाट आउने ७० हजारभन्दा कामदारमध्येका एक हुन् विश्वकर्मा । यिनीहरूको काम भनेको आँपको रूखमा फूल लागेदेखि फल बजारमा नपुगेसम्म सुरक्षा दिनु हो । गुलेली, डोरी, ढुंगा, हँसियाजस्ता हतियारले सुसज्जित यी पहरेदारहरूले प्रत्येक वर्ष करिब ७ महिना महाराष्ट्र राज्यको तटीय क्षेत्रमा पर्ने रायगढ, रत्नागिरी र सिन्धुदुर्गमा बिताउँछन् । यिनीहरूमध्ये अधिकांश भारतसँगको सीमावर्ती जिल्ला कैलालीबाट करिब दुई हजार किलोमिटर दूरी पार गर्दै यहाँ आइपुगेका हुन् ।
स्थानीय किसानहरूका अनुसार ’९० को दशकको अन्त्यदेखि अल्फान्सोले आकर्षक भाउ पाउन थालेपछि नेपालीहरूको पहिलो समूह आएको थियो । ‘सन् २००० पछि, जब अल्फान्सोले आकर्षक मूल्य पाउन थाल्यो र साथै निर्यात बढ्यो अनि किसानहरूले पनि आँपलाई बिग्रन र चोरी हुनबाट जोगाउन अतिरिक्त खर्च गर्न थाले,’ कोंकण आँप बागवानी धनी तथा विक्रेता सहकारी संघका अध्यक्ष विवेक भिन्डेले बताए ।
त्यसअघि किसानहरूले स्थानीयहरूबाटै काम चलाउने गरेका थिए । ‘तर, गाउँका युवाहरू खेतमा काम गर्न छाडेर ठूला सहरहरूमा पलायन हुन थालेपछि त्यो क्रम रोकियो’ रत्नागिरी जिल्लाका कलेक्टर एमएन कुम्बलेको अनुभव छ ।
त्यसमाथि नेपालीहरू काम भनेपछि हुरुक्कै । धेरै सुविधाहरू पनि नचाहिने । घाइते भएका बेला न बिमा, न न्यूनतम ज्यालाको सीमा नै । आपसी सहमतिमा जति ज्याला दिए पनि हुने । यदि केही कारणवश आँपमा क्षति पुगेको खण्डमा उनीहरूले पाउने भनेको रकम घट्दा पनि चित्त बुझाउने । यति सन्तोषी भएका कारण पनि नेपालीहरूको माग बढेको हो ।
करिब छ महिनाको आँपको सिजनमा बागवानी मालिकले दुई जना रखवालदारका लागि (प्राय: जोडी बनाएर काम गर्छन्) भारु पचास हजारदेखि एक लाखसम्म खर्च गर्छन् । ‘यस अवधिमा एक जना नेपाली कामदारले करिब २ हजार बाकस बराबर आँपको रखवाली गर्नेदेखि टिप्ने र प्याकिङसम्मको काम गर्छ, जसको बजार मूल्य भारु २० लाखभन्दा बढी हुन्छ । त्यसैले मालिकका लागि भारु एक लाखसम्म खर्च गर्नु खासै ठूलो कुरो भएन,’ भिडेले बताए ।
पुराना र अनुभवी रखवालेदारहरू त एजेन्टको समेत काम गर्छन् । असोज–कात्तिक (अक्टोबर) तिर बगैंचा मालिकले तिनै एजेन्टहरूलाई फोन गर्छन् र त्यो वर्ष चाहिने कामदारहरूको संख्या बताउँछन् । ‘मालिकको मागअनुसार नै छिमेकी र आफन्तहरूलाई यहाँ लिएर आउँछौं,’ विगत चारवर्षदेखि कोंकण आइरहेका ३२ वर्षीय किरन घर्ती सुनाए । किरणले गत वर्ष जोडीका रूपमा काम गराउन आफ्नो १६ वर्षीय भाइ (काकाको छोरा) महेश घर्तीलाई समेत लिएर आएका थिए ।
कुनै आधिकारिक तथ्यांक नभए पनि कैलालीदेखि कोंकणसम्मको यात्रा तय गर्ने नेपालीहरूको संख्या बर्सेनि बढ्दो छ । आँप उत्पादकहरूका अनुसार एक दशकअघिसम्म करिब हजारको संख्यामा नेपालीहरू आउने गरेकोमा अहिले ७० हजार नाघेको छ । नेपालीहरूको बढ्दो संख्यासँगै कैलालीको नजिकको उत्तरप्रदेशको पलियाबजारबाट महराष्ट्र, रत्नागिरीको पवाससम्म निजी बससमेत चल्न थालेका छन् ।
‘दस वर्षअघिसम्म एक्लाएक्लै काम गर्न आउँथे । र, उनीहरूलाई खाना पकाउने लगायतका काम गर्ने फुर्सदै हुँदैनथ्यो । जसले गर्दा भएको कमाइको ठूलो हिस्सा खानामै खर्च हुन्थ्यो,’ श्रम आप्रवासनको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था अजीविका ब्युरोका स्थानीय प्रतिनिधि दीपक पराड्करले बताए । ‘त्यसैले उनीहरूले आफूसँगै महिलाहरू र भर्खरका नातेदारहरूलाई लिएर आउन थाले । तर, मालिकले यसैमा श्रम शोषणको गर्ने मौका छोपेर पहिलो पटक आउनेलाई कम ज्याला दिँदै आएका छन् ।’
एक जोडीले एउटा रखवालदारले पाएको ज्यालाको डेढ गुणा मात्र पाउने गर्छ । त्यसैले आजभोलि यस किसिमको जोडी प्रथा कोंकण क्षेत्रमा निकै प्रचलित छ । सुरुमा परिवारको पुरुष सदस्य मात्रै आउने गरेकोमा समयक्रममा त्यो दायरा फराकिलो भएर आफ्नो श्रीमती र परिवारका अन्य साना सदस्यहरूलाई समेटिन थालेका छन् । एक जना अनुभवी कामदार बिरामी परेको खण्डमा ती साना सदस्यहरूले सहयोग गर्ने गर्छन् ।
केटाकेटीहरू आउनु भनेको आफ्नो पढाइ खेर फाल्नु मात्र भएको एक स्थानीय शिक्षकको भनाइ छ । ‘प्राय: ६ देखि १० वर्षका केटाकेटी आउने गरेका छन् । उनीहरू यहाँ आएपछि हामीहरूलाई सम्पर्क गर्छन् । ‘उमेरअनुसार कक्षामा राख्छौंं,’ स्थानीय सरकारी प्राथमिक विद्यालयका शिक्षक मंगेश हट्करले जानकारी दिए । उनले भने, ‘हाजिरीमा उनीहरूको नाम चढाउँदैनांै । पुराना पुस्तकहरू र दैनिक खाजा भने दिन्छौं । उनीहरू प्राय:जसो असारमा घर फर्किने गरेका छन् ।’
यहाँको जीवन त्यत्तिकै कष्टकर पनि छ । कामबाट आराम भन्ने हुँदैन । र, बस्ने–खाने सुविधा सन्तोषजनक छैन । कामदार र तिनका परिवारहरूमध्ये केही रूखमुनि छाप्रोमा र केही भने रूखकै हाँगामा टाँड बनाएर बस्ने गर्छन् । केहीका लागि भने बगैँचामा कोठा पनि उपलब्ध छ । तर, हजारभन्दा बढी रूखको हेरचाह गर्नुपर्ने भएकाले उनीहरूले कोठामा गएर आराम गर्ने मौका बिरलै पाउँछन् ।
आफ्नो ठाउँमा रोजगारीको अवसर पर्याप्त नभएको र भारुको सटही दर १.६ नेपाली रुपैयाँ हुनुजस्ता कारणले असुविधा हुँदाहुँदै पनि नेपालीहरूलाई रत्नागिरीतर्फ डोर्याउने गरेको छ । ‘यहाँको आम्दानीबाट हरेक वर्ष विवाह वा घरको मर्मतजस्ता केही न केही महत्त्वपूर्ण काममा टर्दै आएको छ,’ आफ्ना स्कुल जाने उमेरका तीन वटा छोराछोरासहित श्रीमान्को साथ लागेर विगत चार वर्षदेखि कैलालीदेखि कोंकण यात्रा तय गर्दै आएकी २८ वर्षीया सीमा विश्वकर्माले बताइन् । भारु नोटमा रहेको महात्मा गान्धीको तस्बिरतर्फ संकेत गर्दै उनले भनिन्, ‘मजबुरीका नाम महात्मा गान्धी ।’
कष्टकर जीवन
१६ वर्षीय टपेन्द्र थापा, विगत छ महिनादेखि आफैंले बनाएको बाँसको झुप्रोमा बस्दै आएका छन् । उनका लागि बिजुली, पानी र शौचालयजस्ता केही सुविधा छैन । रत्नागिरीको रुन गाउँमा आठ एकड क्षेत्रफलमा फैलिएको आँपको बगैंचाको बीचमा छ उनको त्यो छाप्रो । त्यो बगैंचाको सुरक्षाको जिम्मेवारी टपेन्द्रकै हो । त्योभन्दा पर हरिया मैदान छन् जुन रात पर्दै गएपछि अँध्यारोमै हराउँछन् । त्यो अँध्यारोमा उनको कानमा ठोकिने भनेको बाँदरहरूको चिच्याहट मात्र हो ।
कोंकणमा टपेन्द्रको यो पहिलो वर्ष हो । आठ कक्षा पढ्दापढ्दै घरबाट भागेका उनी करीब एक वर्ष पुनाको एउटा चाइनिज रेस्टुराँमा काम गरेर गत डिसेम्बरमा रत्नागिरी आइपुगेका हुन् । उनले आफूसँग ल्याएको भनेको केही कपडा, एउटा मोबाइल फोन र केही नगद मात्र हो । ‘मलाई अँध्यारोसँग डर लाग्दैन । बाँदरबाहेक चोर र जँड्याहाहरू पनि बगैँचामा छिर्न सक्छन् । त्यसैले सधैं चनाखो रहनुपर्छ,’ उनले भने । त्यसैले उनी राति आँपको रखवाली गर्छन् भने दिउँसो काठको क्यारेट बनाउने र बजार पठाउनका लागि आँप प्याकिङ गर्ने काम गर्छन् ।
उनका जोडी हुन् किरण घर्ती । जो चार वर्षदेखि ओहोरदोहोर गर्दै आएका छन् । मराठी भाषा फर्रर बोल्न सक्ने अनुभवी किरणले आजभोलि स्थानीयहरूका विवाहलगायतका कार्यक्रममा समेत निम्तो पाउने गरेका छन् । ‘सुरुमा मैले पनि सहयोगीकै काम गर्थे । भाषा पनि बुझ्दिनथे । सबैले मसँगको कराएको जस्तो लाग्थो,’ किरणले हाँस्दै भने, ‘तर, अहिले म आँपको आकार हेरेर नै पाकेको नपाकेको छुट्याउन सक्छु । पहिलो वर्ष ३९ हजार भारु हात परेको थिएँ तर अहिले ५४ हजार पाउँछु ।’
सानै उमेरमा बुबा बनेका किरणको आम्दानीको अन्य स्रोत भने कैलालीमा भएको धान खेत मात्र हो । ‘यहाँ बस्दाखेरि हामीहरू निकै कम खर्च गर्छौं,’ किरणले भने, ‘आफैं खाना पकाउँछौं । त्यसैले खर्च भनेकै खानामा मात्र हो ।’
नेपाली कामदारहरूका लागि वैशाख र जेठमा विशेष रमाइलो हुन्छ । यति बेला बिहेको समय भएकाले उनीहरूले हप्तामा दुईवटाभन्दा बढी निम्तो पाउने गर्छन् । ‘यो वर्ष रुन गाउँमा मात्र नौवटा बिहे भयो । हामीसँग परिचित नेपाली रखवालदारहरू समूहमा आए र मिठोमिठो भोजन गरेर गए । विशेषगरी उनीहरूले मासु खाए,’ गत वैशाखमा आफ्नो भाइको बिहे गराएका पराड्करले भने ।
धेरै दिनसम्म कुनै बिहे परेन भने जीवन साह्रै पट्यारलाग्दो र नीरस हुने रखवालदारहरूसमेत स्विकार्छन् । टेलिफोनको नेटवर्कसमेत राम्रो नभएका कारण उनीहरूलाई समय कटाउन धौ–धौ पर्ने गर्छ । ‘त्यस्तो बेलामा घरको निकै याद आउँछ,’ टपेन्द्र भने । ‘कहिलेकाहीँ म मोबाइलमा भएको गीत सुन्छु र बाँकी समय सोच्यो र सपना देख्यो,’ अर्को वर्षको तयारीका लागि मराठी भाषा सिक्दै गरेका टपेन्द्रले बताए ।
असुरक्षित श्रम
गएको वैशाखमा ६० वर्षीया कौशिला सुनार बगैंचामा आएका बाँदरहरूलाई धपाउन दौडिँदा लडिन् । उनको घुँडाबाट रगत बग्न थाल्यो र पछि सुन्नियो पनि । ‘जति जे भए पनि काममा बाधा पर्न भएन अनि नातिनातिनालाई चार दिन स्कुल नपठाएर भए पनि मेरो साटो काममा खटाए,’ उनले भनिन्, ‘हाम्रा लागि डाक्टरहरू छैनन् । नजिकको गाउँमा रहेको स्वास्थ्य चौकीमा आफ्नै खर्चमा उपचार गर्नुको विकल्प छैन । मलाई बचेका बाँकी हप्ताका लागि बाँदर धपाउन सक्ने गरी ठीक हुँदिनँ भन्ने निकै चिन्ता परेको थियो ।’ आफ्ना श्रीमान्, दुई छोरी र चार नातिनीका साथ कौशिला आँपको पहरेदारी गर्दै आएकी छन् । रत्नागिरीमा आउनुअघि उनले करिब एक वर्ष पुनामा घरेलु कामदारका रूपमा काम गरिन् ।
नेपाली कामदारहरू नियमितजसो चालीस फिट अग्लो रूखमा चढेर भए पनि बाँदरहरूलाई धपाउने गर्छन् । तर, त्यस्तो जोखिम मोले पनि उनीहरूको श्रमको कदर भने छैन । नजिकको स्वास्थ्य चौकी पनि करिब तीस किलोमिटर टाढाको लन्जा गाउँमा पर्छ । त्यसैले केही चोटपटक लागेर उपचारका लागि त्यहाँ जानु भनेको पूरै दिनको ज्याला गुमाउनुसरह नै हुन्छ ।
महिला कामदारहरूको पीडा त झनै कहालीलाग्दो छ । उनीहरूलाई महिनाबारी भएका बेला थप असहज हुने गरेको छ । ‘हामी सबै खुला ठाउँमा बस्ने भएकाले शौचालयको कुनै सुविधा छैन,’ २८ वर्षीया सीमा विश्वकर्माले बताइन् । उनीहरू नुहाउन र कपडा धुन नजिकैको खोलामा जान्छन् । र, प्राय:जसो त्यही पानी पिउन पनि प्रयोग गर्छन् ।
‘के गर्नु आफ्नो ख्याल आफैंले राख्नुपर्छ । कसैले कसैका जिम्मेवारी लिएर साध्य छैन,’ पहिलो पटक यहाँ आएकी सरिताले थपिन्, ‘सुरुमा बाँदर धपाउन गाँठो पारेको डोरी प्रयोग गरेको त आफैंलाई चोट लाग्यो, त्यसपछि गुलेली र ढुंगाले धपाउने गरेको छु ।’
गाउँका मुखिया मधुकर जाधवका अनुसार केही वर्षअघिसम्म बगैँचाका मालिकहरूले नेपाली कामदारहरूको विवरणसहितको कागजात स्थानीय प्रहरीलाई बुझाउने गरेका थिए । ‘तर, पछिल्लो तीन वर्षयता त्यस्तो अभिलेख राख्ने काम रोकिएको छ जसले गर्दा उनीहरूको समस्याको सुनुवाइ हुँदैन र कुनै सहयोग पनि पाउँदैनन्,’ जाधवले थपे, ‘यदि कुनै ठूलै दुर्घटना भएको खण्डमा र मालिकलाई त्यो कामदार चाहिन्छ लागेमा मात्र जाने बेला केही अतिरिक्त रकम दिन्छन्, अन्यथा मालिकले चोटपटकको खर्च बेहोर्नुपर्छ भन्ने कुनै सम्झौता र बाध्यता छैन ।’
सेन्टर अफर माइग्रेसन एन्ड लेबर सोलुन्ससकी निर्देशक अमृता शर्माले कुनै बहिष्कृत समुदायजस्तो नेपाली कामदारहरूको अवस्था निकै नै जोखिमपूर्ण रहेको भन्दै चिन्ता व्यक्त गरिन् । ‘सुरक्षित काम गर्ने र बस्ने वातावरण त परको कुरा भयो । यसका बारेमा उनीहरूको सरकारले समेत चासो दिएको छैन । कामको खोजीमा यति टाढा आइपुगेका आफ्ना नागरिकहरूलाई राज्यको नीति तथा कार्यक्रमले पनि समेटन सकेको छैन ।’
भावानुवाद : सुरेशराज न्यौपाने
‘ठूलो दुर्घटना निम्तिन सक्छ’
– रितिका रेवथी सुब्रमन्यन
नेपाली कामदारहरूका बारेमा कसरी थाहा पाउनुभयो ?
मेरो कार्यक्षेत्र श्रमिक र श्रम आप्रवासन भएकाले गुजरात, मुम्बईलगायतका ठूला सहरमा काम गर्न आउने श्रमिकहरूमाथि चासो राख्ने गर्छु । अफिसमा सँगै काम गर्ने एक जना साथीले, जसको रत्नागिरीको घरमा छ आँपको रखवाली गर्न विगत पन्ध्र वर्षदेखि नेपालीहरू आउने गरेको प्रसंग सुनाए । त्यो सुन्नासाथ ममा कौतूहल जाग्यो ।
त्यहाँ पुग्दा के देख्नुभयो ?
करिब तीन हप्ताको तयारी पछि हामीहरू त्यहाँ पुग्यौं । त्यहाँ रहेका केही नेपालीहरू त मराठी फर्रर बोल्दा रहेछन् । निकै नै मिलनसार र इमानदार पनि । तर, चार दिनको बसाइका क्रममा देखिएका दृश्यहरूले भने मलाई भित्रैदेखि हल्लायो ।
किन ?
भारतले बर्सेनि करिब ३० अर्बभन्दा बढीको अल्फान्सो आँप निर्यात हुने गर्छ । तर, त्यही आँपको सुरक्षामा खटिएका मानिसहरूको अवस्था देख्दा निकै दु:ख लाग्यो । श्रम सुरक्षा भन्ने नै रहेनछ । महिलाको अवस्था त झनै कष्टकर थियो । शौचालयसमेत छैन । चोटपटक लाग्यो भने उपचार व्यवस्था छैन । ज्याला पनि निश्चित छैन । कुनै सम्झौता छैन । तर, त्यस्तो अवस्थामा पनि काम गर्नुपर्ने उनीहरूको बाध्यता रहेछ । उनीहरूसँग कुराकानी गर्दा आफ्नो ठाउँमा रोजगारी नभएको र कमजोर आर्थिक अवस्थाका कारण आउन बाध्य भएको बताए ।
कसरी सुधार्न सकिन्छ ?
उनीहरूलाई आउन रोक्नेभन्दा पनि श्रमलाई सुरक्षित बनाउनुपर्छ । केही न केही लिखित सम्झौता गर्नुपर्छ । उनीहरूको अभिलेख राख्नुपर्यो, औपचारिक सम्झौता हुनुपर्यो । सामाजिक सुरक्षाको ग्यारेन्टी हुनुपर्छ । त्यसका लागि नेपाल सरकारले पनि सम्बन्धित निकायसँग सम्पर्क गर्नुपर्ने हुन्छ ।
त्यो नहुँदा नि ?
स्थानीय भाषा सिकेर जति नै घुलमिल भए पनि स्थानीयहरूसँग कहिलेकाहीँ खटपट पर्ने गरेको रहेछ । केही वर्षअघि एक जनालाई त बलात्कारको आरोपसमेत लगाइएको रहेछ । त्यसैले यही अवस्था रहने हो भने भविष्यमा ठूलो दुर्घटना निम्तिन सक्छ । त्यसैले समयमै नेपाल सरकारले ध्यान दिनुपर्छ ।
(नयाँदिल्लीस्थित कान्तिपुर संवाददाता सुरेशराज न्यौपानेसँगको कुराकानी)