कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

स्कुल थरीथरीका !

पुस्तक अंश
म पढ्न बस्थें । मेरो मन उडेर अन्त कतै जान्थ्यो । म मनलाई पढाइतिर डोहोर्‍याउन खोज्थें । उसले निहुँ खोजेर मलाई सोध्थ्यो– कुन विषय, कसरी र कति पढ्दा कति माक्र्स आउँछ ? परीक्षा नियन्त्रण कार्यालयले मेरो माक्र्स बताएको भए पो मैले उसलाई जवाफ दिन सक्थो !
मोहन मैनाली

काठमाडौँ — शिशु क्लासदेखि १० क्लाससम्मका परीक्षामा कहिल्यै फेल भएको थिइनँ । सात कक्षासम्म पढाइ हुने प्रणामी मिडिल स्कुलमा मेरो कक्षामा पढ्नमा मलाई जित्ने कोही थिएन । आठ कक्षादेखि पोखरी हाई स्कुल गएपछि पनि वार्षिक परीक्षामा तेस्रोभन्दा तल झरिनँ ।

स्कुल थरीथरीका !

२०३६ सालमा एसएलसी परीक्षा दिएँ, राम्रै गरेको थिएँ । त्यसैले म र मेरो पढाइलाई चिन्ने सबै जना म पास हुने कुरामा ढुक्क थियौँ । तैपनि एसएलसी परीक्षामा म फेल भएँ । कक्षामा तेस्रो हुने म मात्र होइन मेरो कक्षामा सधैँ पहिलो हुने गंगा फेदापे र दोस्रो हुने देवेन्द्र कन्दङ्वा पनि फेल भए । त्यतिबेला अहिलेजस्तो रिजल्ट हुनेबित्तिकै आफ्नो नम्बर इन्टरनेटमा हेर्न पाइँदैनथ्यो । अलि पहिलेसम्म रेडियो नेपालले एसएलसी पास हुनेको नम्बर र डिभिजन भन्ने गरेको थियो । तर, विद्यार्थी धेरै भएर हो कि, केही वर्षयता यसो गर्न छाडेको थियो । को–को पास भए भनेर हेर्ने एक मात्र उपाय गोरखापत्र दैनिक पढ्नु थियो जुन पत्रिका मेरो स्कुल र मेरो ठाउँमा कहिल्यै पुग्दैनथ्यो ।

केही समयपछि स्कुलमा मार्कसिट आइपुग्यो । हाम्रो स्कुलबाट पास हुने तीन जनाले पास भएको मार्कसिट पाए । फेल हुनेले फेल भएको । हामी तीन जनाले भने मार्कसिट पाएनौँ । हामी न फेल भएका थियौँ न पास भएका । हाम्रो परीक्षाफल रोकिएको पनि थिएन ।

हामी फेल भएको ३४ वर्षपछि, २०७१ साल चैत ६ गते सुरेशराज न्यौपानेको ‘ब्याच नं. १००’ शीर्षकको लेख कान्तिपुर कोसेलीमा छापियो । त्यस लेखमा सुरेशले मैले एसएलसी दिएकै वर्ष एसएलसी दिएका, एसएलसीमा सर्वाेत्कृष्ट नतिजा ल्याउने बुढानीलकण्ठ हाई स्कुलका विद्यार्थीका बारेमा लेखेका थिए ।

त्यस लेखले मलाई मेरो स्कुलको पढाइ सम्झन अनि सर्वाेत्कृष्ट नतिजा ल्याउने स्कुल र मेरो स्कुलका बीचमा, यी दुई स्कुलका विद्यार्थीका बीचमा तुलना गर्न हुटहुटी लगायो । सुरेशले लेखेका थिए, ‘...उत्कृष्ट दस स्थान अर्थात् बोर्डमा पर्ने १४ विद्यार्थीमध्ये ११ जना त बुढानीलकण्ठ स्कुलबाट थिए । बुढानीलकण्ठबाट परीक्षा दिएका ६८ जनामध्ये ६२ प्रथम श्रेणी र ६ जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका थिए । विद्यालयको पहिलो एसएलसी ब्याच... काठमाडौँभरि नै निकै हल्लीखल्ली भयो । जताततै त्यसैको मात्र कुरा ।’

हाम्रो गाउँमा पनि एसएलसीको त्यस वर्षको नतिजाबारे चर्चा भएको थियो तर हामी विद्यार्थीले परीक्षा राम्रो गरेको भनेर होइन । सुरुमा, हामी फेल भएको भनेर । पछि, हामी फेल/पास केही पनि हुन नसकेको भनेर !

बुढानीलकण्ठ स्कुल खोल्न राजा महेन्द्रले जोड गरेका रहेछन् । म पढेको स्कुल खोल्न मेरै गाउँका शिक्षाप्रेमी देवीप्रसाद उप्रेतीले बल गरेका थिए । डब्लुटी बिर्रेलको ‘ब्रिटिस एड टु नेपाल’ शीर्षकको लेखका अनुसार, बुढानीलकण्ठ स्कुल र होस्टल बनाइदिन राजा महेन्द्रले अनुरोध गरेपछि बेलायत सरकारले सहयोग गरेको रहेछ । दस वर्षसम्मका लागि प्रधानाध्यापक, लेखापाल र केही शिक्षकको तलब, एक तिहाइ विद्यार्थीलाई छात्रवृत्ति, शिक्षक तालिम र उपकरण पनि बेलायतले दिएको रहेछ ।

मेरो स्कुल खोल्न देवीप्रसादको अनुरोधमा गाउँलेले पैसा, जग्गा र श्रमदान गरेका थिए । पोखरी स्कुलको स्वर्ण महोत्सव स्मारिकाका अनुसार, मेरा बुबाले २०१६ सालमा १,५०० भारतीय रुपैयाँ दान गर्नुभएको रहेछ । मेरो स्कुलको व्यवस्था थिएन । नयाँ शिक्षा योजना लागू भएपछि विज्ञान प्रयोगशालाका लागि केही उपकरण सरकारले दिएको थियो ।

बुढानीलकण्ठ स्कुलको सजावट र रङ्गरोगनका लागि पनि बेलायतले सहयोग गरेको रहेछ । मेरो स्कुलको भुइँ हप्तैपिच्छे पोत्न हामीले गोबर खोज्नुपथ्र्याे, स्कुलभन्दा अलि तलको पोखरीबाट पानी ल्याउनुपथ्र्याे र भुइँ पोत्नुपथ्र्याे । एक पटक स्कुलको भित्ता रङ्गाउन निकै टाढाबाट कमेरो बोक्नुपरेको थियो । मैले पढेको मिडिल स्कुलको भवन बनाउनचाहिँ हामी विद्यार्थीले तीन घण्टा टाढाबाट सकीनसकी काठ बोकेर ल्याएका थियौँ ।

बुढानीलकण्ठ स्कुलमा देशभरबाट छानिएका उत्कृष्ट विद्यार्थी पढ्दा रहेछन् । उनीहरू होस्टलमा बस्दा रहेछन् । मेरो स्कुलमा सामान्य योग्यता पुगेका हामी जो कोही पढ्थ्यौँ । हामी र हाम्रा प्राय: सबै शिक्षकले स्कुल छुट्टी हुनासाथ घर गएर काम थालिहाल्नुपथ्र्याे । बुढानीलकण्ठ स्कुलमा बेलायती सञ्चालकले विशिष्ट शैलीको शैक्षिक पद्धति लागू गरेका रहेछन् । त्यहाँको शैक्षिक वातावरण अन्तर्राष्ट्रिय स्तरको रहेछ । शिक्षकहरू दक्ष र तालिम प्राप्त रहेछन् । शिक्षक र विद्यार्थी दुवै होस्टलमा बस्ने हुनाले उनीहरूबीच सधैँ सम्पर्क/सम्बन्ध हुँदोरहेछ । त्यहाँका एक जना शिक्षकले भनेका रहेछन्— पहिलो १४ वर्षमा मैले एक दिन पनि बिदा लिइनँ ।

मेरो स्कुलको के कुरा गरौँ † जसोतसोको शैक्षिक पद्धति । उस्तै शैक्षिक वातावरण । हामीलाई पढाउने शिक्षकमध्ये कसैले तालिम पाएभैँm लाग्दैनथ्यो । स्कुल छुट्टी भएको घण्टी लागेदेखि अर्काे दिन स्कुल लागेको घण्टी नबजेसम्म शिक्षक र विद्यार्थीबीच आक्कलझुक्कल मात्र भेट हुन्थ्यो ।

शिक्षकहरू स्कुलमा कत्तिको नियमित आउँथे होलान् ? दस कक्षा पढ्दाको कुरा सम्भँmदा अहिले पनि आङ जिरिंग हुन्छ । हेड सर शिव सिटौला आफ्नै घर पायक पर्ने स्कुलमा गए । अंग्रेजी पढाउने परशुराम खापुङ आफ्नो गाउँको निमाविलाई मावि बनाउन आफ्नै गाउँ गए । गणित पढाउने बीएस्सी सर गंगा ओली पढाउने पेसा छाडेर झापा झरे । नेपाली पढाउने गोपाल संग्रौला एकवर्षे बीएड पढ्न काठमाडौँ गए । पिसकोर स्वयंसेवक भएर आएका जिम मुर्थाले आठ र नौमा विज्ञान र ऐच्छिक गणित पढाएथे । उनी आफ्नो समय सकिएर अमेरिका फर्किए । हेड सरबाहेक अरू कुनै सरको उपयुक्त सट्टाभर्ना भएन ।

धन्न, हामीभन्दा अघिल्लो ब्याचमा एसएलसी दिएका तेजमान कन्दङ्वा आफ्नो जाँच सकिएपछि हामीलाई पढाउन राजी भए र हामीले विज्ञान, गणित, ऐच्छिक गणित पढाउने शिक्षक पायौँ । नत्र आपैँm विद्यार्थी आपैँm शिक्षक हुनुपथ्र्याे । ठाउँ गुणको अब्बल दर्जाको पढाइ एउटै विषयको मात्र थियो— पूर्वव्यावसायिक (पशुपालन) ।

बुढानीलकण्ठका बारेमा सुरेशले लेखेका छन्, ‘प्रत्येक चार जना विद्यार्थीका लागि २–४ आना जग्गा छुट्याइन्थ्यो । त्यो जग्गामा के उत्पादन गर्ने भन्ने जिम्मेवारी तिनै विद्यार्थीको हुन्थ्यो ।’ यस मामलामा भने हामी बुढानीलकण्ठका विद्यार्थीभन्दा समृद्ध थियौँ । हाम्रा लागि खेती गर्न कता हो कता धेरै जग्गा थियो । खासमा हामी विद्यार्थी कम थियौँ, किसान बढी थियौँ । बिहान बेलुकै पशुपालनमा व्यस्त हुनुपरेकाले व्यावसायिक शिक्षाको प्रयोगात्मक पढाइ राम्रै हुन्थ्यो ।

‘पुस्तकालय र पुस्तकप्रति रुचि जगाइन्थ्यो । विद्यालय परिसरभित्र पूरै दुनियाँ बुझ्ने र हेर्ने अवसर थियो । खेलकुदमा रुचि राख्नेलाई इंग्लिस प्रिमियर लिग र सिनेमामा रमाउनेका लागि हप्तामा एक पटक अंग्रेजी सिनेमा देखाइन्थ्यो,’ सुरेशले लेखेको बुढानीलकण्ठको यो वर्णन पढ्दा मैले लोभले थुक घुटुक्क निलेँ । मेरो स्कुलमा पुस्तकालय भनेर एउटा कोठा त थियो तर त्यो कोठा खुलेको मलाई सम्झना छैन । हामी विद्यार्थीले त्यहाँका एउटै किताबको एउटै पन्ना पल्टाएको याद छैन । त्यहाँ किताब नै थिए कि थिएनन्, त्यो पनि थाहा छैन । टेलिभिजन, भिडियो र सिनेमा हाम्रा लागि आविष्कार भएकै थिएनन् । त्यसैले यिनका बारेमा हामीले सुन्न पनि पाएका थिएनौँ, हेर्नको कुरै छाडौँ ।

अहिले लाग्छ, बुढानीलकण्ठका विद्यार्थीले स्कुलको पुस्तकालयमा पढेका दसांश पुस्तक मात्रै मैले स्कुलमा हुँदा पढ्न पाएको भए मैले पछि लेखेका किताब अलि गतिला हुन्थे कि ? स्कुलमा हुँदा श्रव्यदृश्य माध्यमका बारेमा सुनेर (हेर्न पाउनु पर्दैनथ्यो !) कान पवित्र पार्न पाएको भए मैले पछि बनाएका टेलिभिजन रिपोर्ट र भिडियो डकुमेन्ट्री झन् राम्रा हुन्थे कि ?

बुढानीलकण्ठ स्कुल र मेरो स्कुल बसेको ठाउँका बीच पनि आकाश–पातालको अन्तर थियो । बुढानीलकण्ठ स्कुल त्यतिबेलाको शक्तिको केन्द्र राजदरबारबाट १० किलोमिटर पनि टाढा छैन । मैले पढेका बेला मेरो स्कुलबाट नजिकको मोटर पुगेको बजार धरान आइपुग्न ४/५ दिन पैदल हिँड्नुपथ्र्याे ।

कुन ठाउँ सत्ताको केन्द्रबाट कति टाढा छ भन्ने कुराले धेरै फरक पार्छ । बुढानीलकण्ठ स्कुलमा ४ कक्षामा भर्ना गराउने विद्यार्थी छान्न हरेक वर्ष २५ जिल्लाका विद्यार्थीबीच प्रतिस्पर्धा गराइन्थ्यो । यसो गर्दा एउटा जिल्लाले हर तीन वर्षमा एक पटक एक जना विद्यार्थी बुढानीलकण्ठ स्कुलमा पढ्न पठाउन पाउँथ्यो । मैले एसएलसी दिएका साल बोर्डमा नवौँ स्थानमा आएका लोक सुब्बा मेरो छिमेकी जिल्ला पाँचथरका हुनुपर्छ । उनी त्यस्तै जिल्लास्तरीय परीक्षाबाट छानिएर बुढानीलकण्ठ पुगेको हुनुपर्छ । लोक सुब्बाको घर पाँचथर सदरमुकाम छेउ भएर उनले यो अवसर पाएका हुन् कि ? तर, मेरो स्कुल र मसँग पढेका विद्यार्थीलाई यस्तो हुन्छ भन्ने कुरा थाहै थिएन । यस्तो खबर मेरो जिल्लाको सदरमुकामबाट १३ कोस टाढाको मेरो स्कुलमा पुग्दै पुगेन । त्यसैले हामीले र हामीभन्दा पछि पढ्ने विद्यार्थीले त्यो छनोट प्रक्रियामा भाग लिन पनि पाएनौँ ।

मैले एसएलसी दिएको वर्ष बुढानीलकण्ठ स्कुलबाट एसएलसी दिएका परीक्षार्थीमध्ये कोही हामीजस्तै गरी न फेल न पास भएका भए उनीहरू अथवा उनीहरूको स्कुल तुरुन्तै परीक्षा नियन्त्रण कार्यालय पुग्न सक्थे । परीक्षार्थीमाथि अन्याय भएको कुरा दुनियाले थाहा पाउँथ्यो । र, उनीहरूले तुरुन्तै न्याय पाउँथे ।

तर, हामी पोखरी स्कुलका विद्यार्थी ? हाम्रो स्कुल ? राजाका अगाडि बाबा की दुहाई † कसले, कहाँ, कसरी, के भनेर उजुरी गर्ने ? हामी विद्यार्थी र हाम्रो स्कुलले सोच्न सक्ने कुरै थिएन । त्यसैले, हामी तीनै जनाले एक्जाम्टेड परीक्षाका लागि फर्म भर्‍यौँ । हाम्रै स्कुलबाट परीक्षा दिएर फेल भएका केही विद्यार्थीले उनीहरू फेल भएका केही विषयको मात्रै जाँच दिन पाए । तर, हामी स्कुलका सबैभन्दा जान्ने, पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीले त्यो मौका पाएनौँ किनभने हाम्रो मार्कसिट नआएकाले हामी सबै विषयमा शून्य मार्क ल्याएर फेल भएका ठहरियौँ !

म अर्काे वर्षको जाँच दिन पढ्न थालेँ । पास हुने योग्यता नपुगेको, यो विषयमा यति अंक ल्याएर फेल भइस् भनी जाँचकीले बताउनुपर्ने योग्यतासमेत नभएको विद्यार्थीमा पढ्ने सुर र जाँगर कहाँ हुनु ? फेल भएको विद्यार्थीको मनोदशा कस्तो हुँदोरहेछ, त्यस्तो विद्यार्थी फेरि फेल हुने सम्भावना कति बढ्दो रहेछ भन्ने कुरा मैले त्यस वर्ष राम्ररी थाहा पाएँ ।


म पढ्न बस्थेँ । मेरो मन उडेर अन्त कतै जान्थ्यो । म मनलाई पढाइतिर डोहोर्‍याउन खोज्थेँ । उसले निहुँ खोजेर मलाई सोध्थ्यो— कुन विषय, कसरी र कति पढ्दा कति माक्र्स आउँछ ? परीक्षा नियन्त्रण कार्यालयले मेरो माक्र्स बताएको भए पो मैले उसलाई जवाफ दिन सक्थेँ †
अघोरै निराश र थकित भएर पढेजसो गरेका बेलामा, एसएलसी परीक्षाको रिजल्ट भएको चार महिनापछि मेरो स्कुलले मलाई खबर पठायो— तँ एसएलसी पास भइछस् । चारित्रिक प्रमाणपत्र लिन आइज !

म र देवेन्द्र दोस्रो श्रेणीमा पास भएका रहेछौँ । गंगा प्रथम श्रेणीमा । स्कुलका लागि यो कति ठूलो कुरा थियो भने यसअघि मेरो स्कुलबाट १८ वटा ब्याचले एसएलसी दिँदा एक जना पनि विद्यार्थी प्रथम श्रेणीमा पास भएको थिएन † यसपछि फेरि अर्काे विद्यार्थी प्रथम श्रेणीमा पास हुन अर्काे १० वर्ष पर्खनुपर्‍यो ।

यस्तो चमत्कार हुनुमा मेरा गाउँका शिक्षक हेम पाठकको हात छ । एसएलसीमा हामी केही पनि पास नभएको खबर फैलिएको केही समयपछि उनी शिक्षक पेसा छाडेर पढ्नका लागि काठमाडौँ आएका थिए । परीक्षा नियन्त्रण कार्यालय गएर उनले हाम्रो रिजल्टबारेमा बुझेछन् । त्यहाँका हाकिमले हामीले जाँचै दिएका थिएनौँ होला भनेपछि उनले परीक्षाको हाजिर कपी मागेर हेर्न लगाएछन् । त्यसपछि परीक्षा नियन्त्रणका कर्मचारीले हाम्रा सबै विषयका नजाँचिएका उत्तर पुस्तिका भेटेछन् । त्यसपछि उत्तर पुस्तिका जाँचिएछ र हामी पास भएछौँ ।

यो परिणाम बेलैमा आएको भए हामी विद्यार्थी, अभिभावक र स्कुल सबैले उत्सव मनाउँथ्यौँ । हामी विद्यार्थी एसएलसीको कठिन ढोका पार गरेको खुसियाली मनाउँदै, आफूले चाहेको विषय पढ्न क्याम्पस भर्ना हुनेथियौँ । तर, त्यसो नभएकाले एकै वर्ष एसएलसी पास गरेका बुढानीलकण्ठ स्कुलका ६२ जना अमृत क्याम्पसमा र ६ जना त्रिचन्द्र क्याम्पसमा उत्साहका साथ पढ्दै गरेका बेला हामी यसै हल्लिएर बसिराखेका थियौँ ।
स्कुलले हामीलाई हामी पास भएको श्रेणी खुलाएर चारित्रिक प्रमाणपत्र दियो । मार्कसिट आइसकेको थिएन । परीक्षा नियन्त्रण कार्यालयले मार्कसिट बनाउन समय लाग्ने भएकाले हामी पास भएको श्रेणी खोलेर पठाएको पत्रका आधारमा चारित्रिक प्रमाण दिइएको रहेछ । विद्यार्थीहरू तुरुन्तै काठमाडौँ गएर, उहीँबाट मार्कसिट निकालेर क्याम्पस भर्ना हुन पाऊन् भनेर स्कुलले यसो गरेको थियो ।

चारित्रिक प्रमाणपत्र दिएको तीन हप्तामा स्कुलले मार्कसिट पनि दियो । यति ढिलो भर्ना देऊ भनेर क्याम्पस जान मेरो मनले मानेन । क्याम्पस पढेर के के जाती बन्ने मेरो सपना भताभुङ्ग भइसकेको थियो । मेरो घरबाट तीन घण्टा टाढाको तेह्रथुम क्याम्पसले मलाई ढिलो भए पनि भर्ना दिन्छु भनेको थियो । उसले मेरो दया लागेर त्यसो भनेको पक्कै होइन होला । क्याम्पसमा विद्यार्थी कम भएर हो कि जस्तो लाग्छ । तर, मैले त्यही वर्ष पढिहाल्न हतार गरिनँ । एक पटक उत्साह मरिसकेपछि यही विषय पढ्छु र यही पेसा गर्छु भनेर कहिल्यै सोचिनँ । जे पढ्छु सकेसम्म राम्रो पढ्छु, जे काम गर्छु सकेसम्म राम्रो गर्छु भन्ने मात्र सोचेँ ।

बुढानीलकण्ठ र मेरो स्कुलका बीचमा तुलना गर्दा म बुढानीलकण्ठ स्कुल खोल्न पहल गर्ने राजा महेन्द्रका कवि चोला मविवि शाहको कविताको एउटा पंक्ति सम्झन्छु :
कहीँ छ सुनको थाली, कहीँ छ पात खाली
सक्दिनँ देख्न भन्छिन्, सन्तान थरीथरीका,
गर्छिन् पुकार आमा...।
तर, म आफूलाई शिक्षाका मामलामा विशेषाधिकार प्राप्त विद्यार्थी सम्झन्छु । म एसएलसी पास त भएँ । मसँगै एसएलसी दिने साढे बैसट्ठी प्रतिशत परीक्षार्थी फेल भएका थिए । मैले स्कुल त पढ्न पाएको थिएँ । मेरो उमेरका र मभन्दा पछिका कति नेपालीले मैले जस्तो स्कुलमा पनि पढ्न पाएका थिएनन् । आज पनि कतिले पढ्न पाएका छैनन् ।

नेपालका धेरै ठाउँमा मैले यस्ता शिक्षक पनि भेटेको छु, जसलाई संसारका सबैभन्दा निकृष्ट शिक्षकभन्दा हुन्छ होला । यस्ता स्कुल पनि देखेको छु जसलाई संसारका सबैभन्दा साना र दयनीय स्कुल भने हुन्छ होला । यस्ता विद्यार्थी पनि भेटेको छु, जसलाई संसारका सबैभन्दा ठगिएका विद्यार्थीभन्दा हुँदो हो । अहिले सार्वजनिक स्कुलमा पढ्ने विद्यार्थीले मैले पाए जत्तिको स्तरको शिक्षा पाएका छैनन् जस्तो लाग्छ । पैसा कमाउन निजी क्षेत्रले चलाएका स्कुल र सरकारले चलाएका स्कुलबीचको खाडल निकै ठूलो छ । मैले स्कुल पढेका बेला देशको संविधानले वर्ग समन्वय भन्थ्यो अनि विभिन्न वर्गबीच बुढानीलकण्ठ र मेरा स्कुलका बीचको जस्तो खाडल बनाउँथ्यो । अहिले मेरो संविधानले समाजवाद भन्छ अनि निजी र सरकारी स्कुलका त्यस्तै खाडल बनाउँछ ।

बुढानीलकण्ठ मविवि शाहले भनेको सुनको थाली थियो । मेरो स्कुल मविविले भनेको खाली पात त होइन, सुनको थाली र खाली पातका बीचको, अल्मुनियमको कुच्चिएको थालचाहिँ होला । अहिले सोच्दा मलाई लाग्छ— मेरो देशलाई उनले बनाएको सुनको थालीभन्दा कुच्चिएको, आल्मुनियमको थाल पो उपयोगी भएछ । किनभने, सुरेशले लेखेको लेखका अनुसार, मैले एसएलसी दिएका वर्ष बोर्डमा आएका सुनको थालीका ११ जना विद्यार्थीमध्ये तीन जना मात्र नेपालमा रहेछन् । बाँकी सबै विदेश । यसको अर्थ हो, उनीहरूमा देशले गरेको लगानीबाट देशले फाइदा पाएनछ । जनताले लगानी गरेको कुच्चिएको आल्मुनियमको थाल (मेरो स्कुल) बाट त्यस वर्ष एसएलसी दिने हामी सबै नेपालमै छौँ । अहिलेसम्म राज्यमा आश्रित छैनौँ । राज्यबाट आार्थिक सहायता/चन्दा/पुरस्कार लिने हैसियतमा पुगेका छैनौँ । देशका लागि अरू केही गर्न सकेनौँ होला, तर राज्यलाई थोरबहुत कर त बुझाएका छौँ ।

(आगामी हप्ता सार्वजनिक हुने मैनालीको ‘देखेको देश’ बाट)

प्रकाशित : जेष्ठ १९, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?