३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सहजै रारा

फोटो
विमल खतिवडा

काठमाडौँ — पहिले रारा तालसम्म पुग्न कठिन थियो । लामो पैदल हिँड्नुपथ्र्यो । अहिले तालदेखि चार किमि तलसम्म मोटरबाटो पुगेको छ । मानिसहरू गाडी रिजर्भ गरेर जाने गरेका छन् । कति मोटरसाइकलमै हुइँकन्छन् ।

सहजै रारा

मोटरमा रारा पुग्न काठमाडौंबाट तीन दिन लाग्छ । काठमाडौंबाट जहाजमा नेपालगन्ज र त्यहाँबाट फेरि ताल्चा विमानस्थलमा झरेर पनि रारा पुग्न सकिन्छ । ताल्चाबाट करिब २ घण्टा पैदल हिंडेपछि ताल आउँछ । यात्रा सहज भएसँग रारामा चहलपहल बढ्न थालेको छ । १ सय ६७ मिटर गहिरो ताल समुद्र सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा छ । तालमा २ वटा होटल छन् । भीड लाग्दा टेन्ट टांगेर सुत्नुपर्छ ।

विश्वमै कंही कतै नपाइने स्नो ट्राउट (असला) जातको माछा यही तालमा पाइन्छ । रारा वरिपरि मनहोहक हरियाली छ । ताललाई फन्को मार्न ५ घण्टा लाग्छ । तालबाट पैदलयात्रामा रारा मुर्मा होमस्टे १० मिनेट र मुर्मा गाउँ पुग्न आधा घण्टा लाग्छ । होमस्टेमा मुर्मा गाउँका स्थानीयद्वारा उत्पादित फापर, जौ, आलु, कोदो, सिमी, सिस्नु, लोकल चामल, कुखुरा, महबाट बनाएका परिकारको स्वाद लिन सकिन्छ । तालको पश्चिमतर्फ रहेको मुर्मा टप पुग्न मुर्मा गाउँ हुँदै तालबाट करिब २ घण्टा पैदल हिँड्नुपर्छ । समुद्र सतहबाट ३ हजार ७ सय ७० मिटर उचाइमा रहेको यो ठाउँबाट तालको पूरै भाग देख्न सकिन्छ । मुर्मा टपबाट साइपाल, अपि, सिस्ने, कान्जिरोवा, कोइकी, चंखेलीलगायतका हिमाल देख्न सकिन्छ । मौसम खुल्दा तालमा चाँदीझैं टल्किने हिमालले सबैको ध्यान खिच्छ ।

रारा पुग्नुअघि बाटोमा देखिने मनमोहक फाँट, घर र डाँडापाखाले यात्रामा रौनक ल्याउँछ । कर्णाली प्रदेशको रहनसहन कला संस्कृतिले सबैको ध्यान खिच्छ ।








प्रकाशित : जेष्ठ १९, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?