१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ट्रम्पको खेलमा किमको चाल

अहिलेको घटनाक्रमले उत्तरको सबैभन्दा नजिक रहेको चीन पनि आश्चर्यमा परेको दक्षिण कोरियामा रहेका कूटनीतिक स्रोतहरू बताउँछन् ।

काठमाडौँ — सन् २०१२ मा उत्तर कोरियाका तत्कालीन नेता किम जोङ द्वितीयलाई राजकीय सम्मानका साथ समाधिस्थ गरेको केही महिनापछि म जेम्स किम नाम गरेका व्यक्तिको प्योङयाङस्थित कार्यालयमा थिएँ ।

ट्रम्पको खेलमा किमको चाल

उनी कोरिया युद्धका योद्ध तथा कुनै बेला उत्तर कोरियामा राजनीतिक बन्दी बनाइएका इसाई थिए । उनी पोङयाङ विज्ञान तथा प्रविधि विश्वविद्यालयका संस्थापक हुन् । त्यसैले पनि उनको भेट किम जोङ द्वितीयसँग भएको थियो । हामीबीच कुराकानीका क्रममा उनले शोक कार्यक्रममा सरिक हुँदा प्रिय नेताका २९ वर्षीय छोरा किम जोङ उनसँग भएको भेटबारे चर्चा गरे ।

त्यतिबेला सबैलाई किम परिपक्व नभइसकेकोले आफ्नो बाबु र हजुरबुबाजस्तै शक्तिलाई आफू केन्द्रित बनाएर राख्न सक्दैनन् भन्ने लागेको थियो । उनले माध्यमिक तहको अध्ययन स्विट्जरल्यान्डमा गरेका थिए । उनलाई बास्केटबल खेल्न मन पथ्र्यो र माइकल जोर्डनका ठूला प्रशंसक थिए । केहीलाई उनी आफ्नो बाबुभन्दा भिन्न हुन्छन् कि भन्ने पनि लागेको थियो ।

के उनले त्यहाँको अर्थतन्त्रलाई खुला गर्छन् र छिमेकी देश दक्षिण कारिया र चीनका जनताले झैं त्यहाँका बासिन्दाले पनि समृद्धिको स्वाद चाख्न पाउँछन् ? यो प्रश्न सबैको मनमा थियो । उनले आफ्ना सैन्य कमान्डरहरूलाई पनि आणविक हतियार बनाउन रोक लगाउँदै, उत्तरप्रति विश्वमा रहेको सशंकित भावलाई हटाउँछन् भन्ने पनि थियो ।

आफ्नो विश्वविद्यालयको कार्यालयको कोठमा बसेका जेम्सलाई भने यी सबै सोचहरू अर्थहीन लागेका थिए । ‘किम वंश’ को शासनलाई कायम राख्न किम जोङ उनलाई नेता मानेर देश चलाउने जिम्मा भने चीनसँग राम्रो सम्बन्ध भएका उनका काका जाङ सोङ थाएककाले लिन्छन् भन्ने तर्क जेम्सको थियो । उनी भन्थे, ‘किम त कलिलो मन भएका बच्चा हुन् ।’

जेम्स किमको परिवारलाई राम्रोसँग चिन्दथे । तर, युवा नेताका बारे भने उनको बुझाइ गलत थियो । किमले छिट्टै उत्तरको सम्पूर्ण शक्ति आफ्नो हातमा लिए, आणविक कार्यक्रमलाई झनै तीव्रता दिए र आफ्ना शासन व्यवस्थालाई चुनौती हुन सक्ने जाङको गोली हानी हत्या गर्न लगाए । यस्तै आफ्ना सौतेनी भाइको पनि विषाक्त सुई घोचेर मलेसियाको क्वालालम्पुरमा हत्या गराइदिए । केही समयअघिसम्म पश्चिमाको नजरमा आलाकाँचा रहेका किम एकाएक सन्का तानाशाहका रूपमा चित्रित हुन थाले ।

शासन गर्न थालेका ६ वर्षपछि उनीप्रति रहेको धारणामा पुन: परिवर्तन आउँदै छ । किमसँग छलफल गरेका केही विदेशीहरू उनी उत्तरलाई सशंकित भएर हेर्ने नजरमा परिवर्तन गर्ने काममा व्यस्त रहेको बताउँथे । जर्मनका अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका प्रमुख थोमस बाचले किमलाई २०१८ को ग्रीष्मकालीन ओलम्पिकअघि भेटेका थिए । उनले उक्त भेट निकै फलदायी र स्पष्ट रहेको प्रतिक्रिया दिएका थिए । थोमसले आफूलाई किमले विस्तारपूर्वक प्रश्नहरू राखेको र सबै विषयमा राम्रो जानकार रहेको बताएका थिए ।

त्यसपछि किमले दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसँग गत अप्रिलमा एतिहासिक भेट र वार्ता गरे । तत्पश्चात् दक्षिण मात्र नभएर अमेरिका पनि कोरियन प्रायद्वीप आणविक अस्त्रमुक्त क्षेत्र हुनेमा आशावादी भएको छ । त्यसको बदलामा अमेरिकाले उत्तरलाई सुरक्षाको प्रत्याभूति दिनुका साथै कूटनीतिक सम्बन्ध विस्तारमा पनि सघाउनेछ । त्यसैले धेरैलाई अहिले लाग्न थालेको छ, किम तार्किक व्यक्ति मात्र होइनन् उनी कुशल वार्ताकार पनि हुन् जो काम फत्ते गर्न तत्पर छ ।

उत्तरकोरियाको वचनबाट धेरै पटक धोका पाइसकेका केही अमेरिकी भने अझै पनि किमको यो परिवर्तनलाई आत्मसात् गर्ने पक्षमा छैनन् । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने जुन–१२ मा उत्तरका नेता किमसँग हुने भनिएको ‘वान–टु–वान’ एतिहासिक शिखर वार्तामा सहभागी हुन सिंगापुर जान तयार रहेको बताइएको छ ।

अहिलेको घटनाक्रमले उत्तरको सबैभन्दा नजिक रहेको चीन पनि आश्चर्यमा परेको दक्षिण कोरियामा रहेका कूटनीतिक स्रोतहरू बताउँछन् । यो वर्षको सुरुआत पोङयाङ अमेरिकासँग भिड्न लगभग तयार रहेका भइसकेको थियो । दक्षिणको पूर्वसरकारले उत्तर पतन भएको हेर्ने अभिप्राय: देखाएकाले पनि किम केही सशंकित भएर आणविक कार्यक्रमलाई झन् तीव्रता दिएका थिए ।

उत्तरसँग हाल ३० आणविक हतियार रहेको दाबी अमेरिकी जासुसी संस्थाहरूले गरेका छन् । ती हतियारहरू बमका रूपमा अमेरिकासम्म मार हान्न सक्ने क्षेप्यास्त्रहरूमा फिट हुन्छन् । प्योङयाङले जतिसुकै उत्तेजित भाषण गरे पनि तत्कालीन राष्ट्रपति बाराक ओबामाले कहिल्यै त्यसमा प्रतिक्रिया जनाएनन् । किमले ओबामा सरकारलाई धेरै चिढ्यायो तर अमेरिकाले धैर्य राख्यो र केही बोलेन । त्यो धैर्यले जन्माएको परिस्थितिलाई ट्रम्पले विरासतमा पाए । २०१६ को निर्वाचनपछि ओबामाले ट्रम्पलाई उत्तर नै उनको कार्यकालको सबैभन्दा ठूलो कूटनीतिक समस्या हुने जानकारी दिएका थिए ।

अमेरिका र पूरै विश्वले उत्तरमाथिको आर्थिक प्रतिबन्धलाई झन् सशक्त बनाउँदै लगेका थिए भने चीनले अर्कोतर्फ प्योङयाङलाई सक्दो सहयोग दिइरहेको थियो । ट्रम्पले सार्वजनिक रूपमा नै किमको खिल्ली उडाउँदै उनलाई ‘रकेट म्यान’ भनेर संयुक्त राष्ट्रसंघलाई सम्बोधन गर्दा भने । ट्रम्पले उत्तरलाई ध्वस्त बनाउने धम्की दिए । त्यसको प्रतिक्रियामा किमले ट्रम्पलाई ‘पागल बूढो’ भनेर सम्बोधन गरे ।

अमेरिकी प्रशासनले उत्तरलाई हमला नै गरेर उसको आणविक हतियारलाई ध्वस्त पार्ने योजना पनि बनायो । कोरियन प्रायद्वीपमा अर्को युद्ध अकाट्य रहेको देखिन थाल्यो । त्यसबाट लाखौं मानिस हताहत हुने तय थियो । तर, कसैले नसोचेको भयो— युद्ध टर्‍यो र वार्ता सुरु भयो ।
किमले फेरि कसैले नसोचेको काम गरे । आणविक हतियारलाई तनाव भइरहेको बेला उनले ग्रीष्मकालीन ओलम्पिकलाई अवसरका रूपमा लिए । दक्षिण कोरियाको प्योङच्याङमा उनले खेलाडी मात्र नभई आफ्ना विश्वस्त पात्रहरू प्नि पठाए र मुनसँग वार्ताको वातावरण निर्माण गर्न लगाए । दक्षिणलाई प्रयोग गरेर वार्ताको सन्देश ट्रम्पसम्म पनि पुर्‍याए ।

किमको नीतिमा आएको परिवर्तनले सियोल र वासिङ्टनमा रहेका ठूला–ठूला पण्डितहरूको दिमाग चक्रायो । किम कहाँबाट सञ्चालित भइरहेका छन् ? के उनी साँच्चै आफ्ना आणविक हतियार छोडेर निसस्त्रीकरणको बाटोमा अगाडि बढ्छन् ? के नयाँ प्रतिबन्धले उत्तरलाई धेरै नै गाह्रो परेकै हो त ? यी प्रश्नहरूको उत्तर अहिले पनि खोजिँदै छ ।

धेरैलाई नयाँ कडा आर्थिक प्रतिबन्धले उत्तरलाई गलाएको विश्वास गर्छन् । तर, केहीलाई भने प्रतिबन्धले त्यति ठूलो भूमिका खेलेको जस्तो लाग्दैन । जे भए पनि किमले आफ्नो बहिनी किम यो जोङको नेतृत्वमा ओलम्पिकमा भाग लिन टोली पठाए । किमकै बहिनी जोङ मार्फत मुनले उत्तरले आणविक हतियार त्याग गरे आर्थिक प्रतिबन्ध खोल्ने र अमेरिकाको पनि सहयोग लिएर सामान्य सम्बन्धतर्फ अगाडि बढ्न आफू तयार रहेको सन्देश पठाए । जोङले पनि उत्साहित हुँदै आफ्नो दाइ ट्रम्पसँग भेट्न इच्छुक रहेको प्रतिक्रिया दिइन् ।

किमलाई ट्रम्पले उनको प्रस्ताव मान्छन् या मान्दैनन् भन्नेमा के लागेको थियो भन्ने त अहिले भन्न सकिँदैन । तर, न्युयोर्कको घरजग्गा व्यापारका राजाले आफ्ना सुरक्षा सल्लाहकारहरूको कुरा सुनेनन् र भेट्न तयार भए । अहिलेसम्म कुनै पनि अमेरिकी राष्ट्रपतिले कहिल्यै नगरेको काम– उत्तर कोरियाको शासकसँग वान–टु–वान वार्तालाई ट्रम्पले नकार्न सकेनन् ।

ट्रम्पले वार्ताको सफलताका लागि किमले आफूसँग भएको सम्पूर्ण आणविक हतियार त्याग्नुपर्ने सार्वजनिक रूपमै बताउँदै आएका छन् । उनको
प्रशासनका मानिसहरू झन् बढी विषय केन्द्रित भएका छन् । उनीहरू उत्तरले प्रमाणित नै गरेर पुन: प्रयोग गर्न नमिल्ने गरी आणविक हतियारहरू नष्ट गर्नुपर्ने बताउन थालेका छन् ।

दक्षिण कोरियालीहरू किमले साँच्चि नै कोरियन प्रायद्वीपलाई परमाणु हतियाररहित क्षेत्र बनाउन चाहेकोमा विश्वास गर्छन् । तत्कालीन सीआईएका प्रमुख तथा हालका विदेशमन्त्री माइक पोम्पेओसँग प्योङयाङमै भएको गोप्य वार्तामा किम दक्षिण कोरियामा रहेका २८ हजार सेनालाई त्यही रहन दिन सहमत भएको बताइएको छ । अमेरिकी सेनालाई प्रायद्वीपमा रहन सहमत हुनुले उत्तरको नीतिमा परिवर्तन आएको र किममा आफ्ना बाबु वा हजुरबुबामा भन्दा वास्तविकतालाई बुझ्न सक्ने क्षमता धेरै रहेको स्पष्ट हुन्छ ।

त्यसो भए किमले के चाहन्छन् त ?
सियोलमा रहेका स्रोतका अनुसार ट्रम्पसँगको वार्तामा किमले अमेरिकासँग शान्ति सम्झौता गर्दै कोरियन युद्धको औपचारिक अन्त्य गर्नेछन् र त्यसउप्रान्त हुने वार्ताहरूका लागि लक्ष्य निर्धारण गर्नेछन् । यस्तै वासिङ्टनसँग सामान्य कूटनीतिक सम्बन्ध विस्तारका लागि पनि सम्झौता प्रस्ताव गर्नेछन् । त्यससँगै किम अमेरिका र दक्षिणका सैनिकबीच हुने संयुक्त सैन्य अभ्यासलाई केही शान्त भएको देख्न चाहन्छन् । यद्यपि उत्तरले अमेरिका वा दक्षिणसँग तत्कालका लागि कुनै पनि आर्थिक सहायताको प्रस्ताव नराख्ने दक्षिणका अधिकारीहरू बताउँछन् । उनीहरूको अनुसार आर्थिक प्रतिबन्ध फुक्का भएसँगै त्यहाँ विदेशी लगानी भित्रिनेमा उत्तरलाई विश्वास छ ।

उत्तरका पहिलाका बोली, व्यवहार र नीतिहरूका कारण अमेरिका र दक्षिणका पनि केही अधिकारीहरू अझै सशंकित छन् । तर, ट्रम्प भने कुनै पनि हालतमा किमलाई भेटेर कोरियन युद्धको अन्त्य गर्ने पक्षमा छन् । ट्रम्पलाई व्यक्तिगत रूपमा आफ्ना सेनाहरू कोरियन प्रायद्वीपमा बसेको चित्त बुझेको छैन ।

यस्तै ६ वर्षपहिले सत्ता सम्हाल्दा नम्र ठानिएका किमले गरेका कामहरू प्रश्न गर्न सक्ने उत्तरमा कोही पनि छैनन् । कसैलाई उनको शक्तिमा अझै शंका लाग्छ भने किमको काकाको चिहानलाई गएर हेरे उनीहरूको भ्रम टुट्छ ।

–बिल पावेल
(न्युजविकबाट अनूदित)

प्रकाशित : जेष्ठ १९, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?