कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वकपमा नजर

फुटबल
युरोपेली च्याम्पियन्स लिगको समाप्तिसँगै फुटबलमा विश्वकपको माहोल सुरु भएको छ ।
राजु घिसिङ

काठमाडौँ — युरोपेली च्याम्पियन्स लिगको फाइनलसँगै क्लब फुटबलको झन्डै दस महिना लामो सिजन सकियो । त्यसयता फुटबलप्रेमीको ध्यान विश्वकपतिर मोडिएको छ । १४ जुनदेखि रुसमा एक महिना चल्ने विश्वकपका लागि छनोट भएका ३२ टिम अन्तिम तयारीमा व्यस्त छन् ।

विश्वकपमा नजर

अर्जेन्टिनी प्लेमेकर लियोनल मेसी र पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो विश्व फुटबलकै सर्वकालीन महान् खेलाडी हुन् भन्ने सावित भइसकेको छ । तर, फुटबलको सबभन्दा ठूलो र महत्त्वपूर्ण प्रतियोगिता मानिएको विश्वकपमा भने उनीहरूले सफलता पाएका छैनन् । त्यसैले अन्तर्राष्ट्रिय फुटबलमा उनीहरूको हैसियतलाई लिएर प्रश्न तेर्सिने गरेको छ, उनीहरूको करिअर विश्वकपको उपाधि नजित्दै सकिने हो त ? यसपालि पनि विश्वकप जित्न नसकेको यी दुईको करिअर लिजेन्डहरू पोर्चुगलका युसेवियो, डच योहान क्रयुफ, फ्रान्सेली मिसेल प्लाटिनी, हंगेरीका फ्रेन्स पुस्कास, जर्मन कार्ल हेन्ज रुमनिंगे, ब्राजिलका जिकोको जस्तै हुनेछ ।

जोहानेसबर्गमा विश्वकप २०१० को फाइनलमा नेदरल्यान्डसमाथि १–० को जित निकाल्दै स्पेन पहिलोपल्ट विश्वकप च्याम्पियन भएको थियो । त्यस बेला सबै खेलमा एक गोलको जित हात पारेको स्पेनी टिमका लागि फाइनलको अतिरिक्त समयमा गोल गर्ने खेलाडी थिए, आन्द्रेस इनिस्टा । ३४ वर्षीय यी जेन्टलमेन रुसमा पनि विश्वकप खेल्दै छन् । स्पेनी स्वर्णिम पुस्ताका इनिस्टाले फेरि विश्वकपको उपाधि जितेर पो अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिने हो कि ? उनी युरो २००८ र २०१२ तथा विश्वकप २०१० को उपाधि विजेता स्पेनी टिमका महत्त्वपूर्ण खेलाडी हुन् ।

डिफेन्डिङ च्याम्पियन जर्मनीलाई एउटा यस्तो फरवार्ड आवश्यक छ, जसले मिरोस्लाभ क्लोजको अभाव खट्किन नदियोस् । त्यसैको उसको उपाधि रक्षाको अभियान निर्भर छ । तर, जर्मनीको जुनियर टिमले पनि गत वर्ष कन्फेडेरेसन्स कप जितेको थियो । त्यसैले उसलाई ‘गोल मेसिन’ को अभावमा कमजोर मान्न सकिंदैन । नम्बर १ गोलकिपर म्यानुएल नोय चोटमुक्त भएर फर्किएकाले जर्मन टिमलाई आत्मविश्वास बढाएको छ । उसका भरपर्दा मिडफिल्डर मार्को रिउस पनि टिममै छन्, जसले चोटकै कारण विश्वकप २०१४ र युरोपियन च्याम्पियनसिप गुमाएका थिए ।

अरू टिमलाई चिन्ता चोटकै छ । अर्जेन्टिनाका फरवार्ड सर्जियो एगुइरो मैदानमा फर्किइसकेका छन् । तर, ब्राजिली स्टार नेयमर र इजिप्टका मोहम्मद सलाह विश्वकपमा खेल्नेमा अझै शंका गरिएको छ । नेयमरले प्रशिक्षण गर्न थालेका छन् । सलाह पनि विश्वकपमा तयार हुने आशा गरिएको छ । यी दुईलाई लिएर यतिचाहिं निश्चित छ कि उनीहरू खेल्न नसक्ने नै भयो भने पनि त्यसलाई लिएर दुवै टिमले समाचार बाहिर ल्याउने छैनन् । किनभने मैदानमा उत्रिन नसके पनि नेयमर र सलाहको उपस्थितिले पनि टिमलाई टिमलाई ऊर्जा दिने गर्छ ।

विश्वकै सबभन्दा महँगा खेलाडी नेयमरले चोट लाग्नुअघि फ्रान्सेली क्लब पीएसजीका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका थिए । ब्राजिलका लागि पनि निरन्तर राम्रो लयमा खेलिरहेका उनले चोटकै कारण घरेलु भूमिमा चार वर्षअघि भएको विश्वकपको सेमिफाइनल गुमाएका थिए । त्यसमा जर्मनीले ब्राजिललाई ७–१ ले हराएको थियो, जुन नतिजालाई विश्व फुटबलकै भूकम्प पनि भनिन्छ ।

सलाहले यो सिजन इंग्लिस प्रिमियर लिग र च्याम्पियन्स लिगमा लिभरपुलका लागि उत्कृष्ट प्रदर्शन गरे । प्रिमियर लिगका यी सर्वाधिक गोलकर्ताले यो सिजन क्लब फुटबलमा ४४ गोल गरे, जुन गत वर्ष रोमाबाट लिभपुल सरुवा हुँदा अनुमान पनि गरिएको थिएन । निरन्तर गोल गरेपछि उनलाई मेसी र रोनाल्डोसँग पनि तुलना गर्न थालिएको छ । त्यसैले पनि विश्वकपमा उनको देश इजिप्टको खेल धेरैले प्रतीक्षा गरिहरहेका छन् । तर, च्याम्पियन्स लिग फाइनलमा सर्जियो रामोसको धरापमा परेपछि उनी आफैं मैदानमा ओर्लन सक्नेमा आशा मात्र गरिएको छ ।

ब्राजिलले भेट्रान डिफेन्डर ड्यानी आल्भेसलाई चोटकै कारण गुमाइसकेको छ । तैपनि यसपालि ब्राजिली टिमलाई बलियो मानिएको छ । अर्जेन्टिनाले पनि नम्बर १ गोलकिपर सर्जियो रोमेरो गुमाउने पक्का भइसक्यो । हुन त मेसीकै शब्दमा पनि अर्जेन्टिना उपाधिको दाबेदार होइन तर आशा गरिएको टिम हो । क्लब फुटबलमा चम्किएका खेलाडीको कागजी सूची हेर्ने हो भने यसपालिका शक्तिशाली टिम हुन्, फ्रान्स र बेल्जियम । तर, विश्वकपमा सफलता हात पार्नका लागि मैदानमै खेल्नैपर्छ । त्यसका लागि इतिहासको तथ्यांकले पनि आत्मविश्वास भर्ने काम गर्छ ।

रुसका ११ सहरका १२ रंगशालामा हुने ६४ खेलमा ब्राजिल, अर्जेन्टिना, फ्रान्स, जर्मनी, स्पेन, इंग्ल्यान्ड, बेल्जियमजस्ता ठूला टिमलाई कमजोर मानिएका अफ्रिकी र एसियाली देशहरूले पनि चुनौती दिने प्रयास गर्नेछन् । युरोपको सानो देश हो आइसल्यान्ड, जोसँग तीन लाख ५० हजार मात्र जनसंख्या छ र उसले पनि पहिलोपल्ट विश्वकपमा यसैपालि प्रतिस्पर्धा गर्दै छ । पनामाको पनि पहिलो विश्वकप यात्रा रुस नै हुँदै छ ।

विश्वकपमा छनोट भएका ३२ देशलाई आठ समूहमा विभाजन गरिएको छ । तर, अर्को अर्थात् नवौं समूह पनि चर्चित भएको छ, जुन समूहका टिमले भने रुसको यात्रा गर्ने छैनन् । विश्व फुटबलमा शक्तिशाली मानिएका तर यसपालि छनोटमै असफल भएका इटाली, नेदरल्यान्ड्स, चिली र अमेरिकालाई समूह ‘आई’ पनि भनिएको हो ।

चारपल्टको विश्वकप विजेता इटालीले ६० वर्षयता पहिलोपल्ट विश्वकप खेल्ने अवसर गुमाएको हो । पछिल्लोपल्ट सन् २००६ मा विश्वकप जितेको इटालीलाई यसअघि सधैं उपाधिको दाबेदार मानिन्थ्यो । यसपालि इटालीलाई प्लेअफमा रोक्दै स्विडेनले भेट्रान गोलकिपर जियानलुइजी बुफोनलाई पनि लगातार छैटौंपल्ट विश्वकप यात्रा गर्ने अवसरबाट वञ्चित गराइदियो ।

सधैं लोभलाग्दो खेल्ने तर अभागी टिमको परिचय बनाएको छ, नेदरल्यान्ड्सले । उसले उत्कृष्ट खेल देखाएर पनि २०१० को फाइनलमा स्पेनसँग हार बेहोरेको थियो । डच टिम विश्वकप २०१४ मा तेस्रो भयो । त्यसपछि बूढा खेलाडीमै भर पर्दा उसले विश्वकपमा स्थान बनाउन सकेन । छनोटको अन्तिम खेलमा ट्रिनिडाड एन्ड टोबागोकोसँग हारेपछि अमेरिका पनि सन् १९९० यता पहिलोपल्ट विश्वकपको यात्रा तय गर्न सकेन । अमेरिकालाई राजनीतिक रूपमा सबभन्दा ठूलो दुश्मनको देश जानुपर्ने भनेर खेल हारेको आरोप पनि लाग्यो तर, वास्ताविकता भने छनोटमा भोगेको असफलता नै थियो ।

गत वर्ष यसैबेला चिली फिफा वरीयताको चौथो स्थानमा थियो । त्यस बेला चिलीलाई विश्वकपमा छनोट हुन गाह्रो नहुने अनमुान गरिएको थियो, जति बेला अर्जेन्टिना भने छनोटबाटै बाहिरिने डर बढेको थियो । चिली लियोनल मेसीको टिमलाई लगातार दुईपल्ट फाइनलमा हराएर कोपा अमेरिका च्याम्पियन भएको थियो । तर, अर्तुरो भिदाल, एलेक्सिस सान्चेज, क्लाउडियो ब्राभो, एडुआर्डो भारगासजस्ता उत्कृष्ट खेलाडी समावेश दक्षिण अमेरिकी च्याम्पियन चिली विश्वकपको छनोटमै असफल भयो ।छनोटमा ठूला टिमको असफलता, स्टार खेलाडीहरूको चोटका बाबजुद पनि विश्वकपले करोडौंको ध्यान तानेको छ ।

प्रकाशित : जेष्ठ १९, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?