कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

मनमगन रुमी

पठन
सरस्वती प्रतीक्षा

काठमाडौँ — ओशोले रुमीका कविताहरुले ‘सेल्फ हिप्नोटाइज’ गर्ने हुनाले उनका पूरा कविताहरू कहिल्यै छिचोल्ने आँट नै नगरेको बताएथे । म भने त्यही हिप्नोटिज्मलाई समेत प्रेम गर्ने अघोर कविताको पाठकमा रूपान्तरण हुँदै थिएँ ।

मनमगन रुमी

आजकल गायक दीपक बज्राचार्यको गीत निकै हिट छ– मन मगन, आफैं मन मगन । केही महिनाअगाडि मात्र रिलिज गरिएको ‘मनमगन’ गीत मैले युट्युबमा सयौंचोटि हेरें हुँला । पप जनराको गीतमा गितार र ड्रम सेटसँगै जब धिमे बाजा, बादल, बाँसुरीको फ्युजन गरियो, तब ‘मनमगन’ साँँच्चै नै सबैको मनमनको गीत बन्यो । धिमे बाजाको तालमा नाच्ने डेढ सयभन्दा बढी कलाकार, कुमारी जात्रा, पुलुकिसीको भव्यता, नेवारी संस्कृतिको छनक दिने पहिरन र प्रस्तुुतिका कारण पनि ‘मनमगन’ गीत सुन्दा मात्र होइन, हेर्दा पनि उत्तिकै मनमोहक लाग्छ ।

संजोग कस्तो भने एकातिर आफ्नै माटोका गायकको मनमगन गीतमा झुमिरहँदा अर्कोतिर त्यही समयमा म अर्का मनमगन कवि रुमीका कविताहरूको नशामा पनि झुम्दै थिएँ । त्यसो त ओशोले रुमीका कविताहरूले ‘सेल्फ हिप्नोटाइज’ गर्ने हुनाले उनका पूरा कविताहरू कहिल्यै छिचोल्ने आँट नै नगरेको बताएथे । म भने त्यही हिप्नोटिज्मलाई समेत प्रेम गर्ने अघोर कविताको पाठकमा रूपान्तरण हुँदै थिएँ । त्यसो त रुमीसम्म पुग्ने अनेकन बाटाहरू हुन सक्छन् । मचाहिं टर्कीका लेखक एरिफ सफाकको बाटो हुँदै पुुगें ।

एलिफका जादुयी औंलाहरू
कहिलेकाहीँ पुस्तकपसलबाट कुनै–कुनै पुस्तक यत्तिकै किनिन्छ । किन्नुको खास कारण नै हुँदैन । खगेन्द्र लामिछानेको ‘फूलानी’ र जे कृष्णमूर्तिको ‘द बुक अफ लाइफ’ सँगै एलिफ सफाकको ‘द फोर्टी रुल्स अफ लभ’ किनेकी थिएँ । अगाडिका दुईवटा किताबहरू त आफ्नो गम्भीर रोजाइमा लिएकी थिएँ । एलिफको किताबचाहिं रमाइलो सेल्फहेल्प मार्काको किताब होला भनेर उठाएकी थिएँ । कहिलेकाहीं हल्काफुल्का किताब पढ्नुको आफ्नै खालको मज्जा जो हुन्छ । हल्का सोचेर लिएको किताबमा गम्भीर ध्यान जाने कुरै भएन । त्यसैले किताब किनेर ल्याएको लगभग दुई वर्षसम्म छुँदा पनि छोइन ।

कुमार नगरकोटीको अघिल्लो वर्ष प्रकाशित संस्मरणात्मक किताब ‘दोचा’ मा पोथी परेवालाई उनले नाम दिएका छन् ‘लेडी किम्या’ भनेर । उक्त ‘किम्या’ नाम फोर्टी रुल्स अफ लभबाट लिइएको हो भन्ने थाहा पाएपछि एलिफको किताबप्रतिको चासो थोरै बढेको थियो । सोही बीचमा मेरो उपन्यास ‘नथिया’ निस्कियो र नथियासँगै एक प्रकारको व्यस्तताले गाँजिरह्यो । नथियाको व्यस्तता अलि कम भएलगत्तै एक दिन अनायासै फोर्टी रुल्स अफ लभ निकालेर पढ्न सुरु गरें । आफूले सोचेको हल्काफुल्का सेल्फहेल्पको किताबसम्बन्धी अनुमान र अनुमानको पूर्वाग्रह पहिलो पानाबाटै भत्कियो ।

झन्डै चालीस वर्ष वरपरकी एला रुबिन्सटाइनको जिन्दगीको नमिलेको गणितबाट सुरु हुन्छ किताब । घरमा बस्दाबस्दा दिक्क भएर उनी जागिर खान सुरु गर्छिन् र उनको भागमा आइलाग्छ कुनै नवोदित लेखकको पाण्डुलिपि पढेर रिपोर्ट लेख्ने काम । एजेड जहारको उपन्यासको पाण्डुलिपि स्विट ब्ल्यास्फेमी अर्थात् मीठो ईश्वरनिन्दा । उक्त किताबसँगै २००८ मा बाँचिरहेकी एउटी युरोपियन महिला र तेह्रौं शताब्दीको कवि रुमीको जीवनकथा सँगसँगै अगाडि बढ्छ । जादुयी भाषामा किताब लेखिएको त छ नै, सँगसँगै एक्काइसौं शताब्दी र तेह्रौं शताब्दीको दुईवटा कथाहरूलाई लेखकले यसरी अगाडि बढाएकी छन्, एउटा पाठक एकसाथ दुईवटा समयको गन्ध थाहा पाउन सफल हुन्छ, स्वाद चाख्न सफल हुन्छ । अल्छी लाग्ने, पट्यार लाग्ने भनेजस्तो कतै कुनै ठाउँ नै हुँदैन । प्रेमका चालीस नियमहरू प्रेमका साधारण नियम निस्कन्नन्, बल्कि ती त सुफी मार्गले देखाएका गहन नियम निस्कन्छन् । पाण्डुलिपि पढ्दै गर्दा पाण्डुलिपिमा उल्लिखित हरनियमसँगै एलाको जिन्दगीमा परिवर्तन आउन सुरु हुन्छ । एउटा निश्चित र सुरक्षित जिन्दगीको लय भत्काएर एउटी साधारण गृहिणी नपत्याउँदो गरी अन्त्यमा असाधारण निणर्य गरेर घर छोडेर निस्कन्छे, त्यो पनि एउटा अनिश्चित र असुरक्षित भविष्यका खातिर ।

मानसिक रूपान्तरणको यस्तो चाखलाग्दो कथाले मलाई लठ्ठ त बनायो नै । त्योभन्दा बढी उत्सुकतता र कौतूहल जगाएर छोड्यो कवि रुमीको सन्दर्भमा । रुमीको जीवनीलाई आख्यानमा पस्केकी सफाकको किताब सुफिज्मलाई संसारमा अझ लोकप्रिय बनाउन सफल उच्च दर्जाको किताब हो भन्ने रहस्य बल्ल पो मेरोसामु उद्घाटित भयो ।

केही वर्षअगाडि र्‍यान्डम रिडर्सको एउटा कार्यक्रममा राजन गोदारजीले प्रस्तुुत गर्नु भएको सुफी मार्गसम्बन्धी कार्यपत्र पढ्नुबाहेक सुफीहरू को हुन् ? उनीहरूको दर्शन के हो ? त्यसको विस्तुत ज्ञान थिएन । एलिफको किताबले उतिबेला राजनजीले भनेको ‘सुफी मार्ग मुस्लिम रहस्यवाद हो’ लगायत सुफीहरूले अपनाउने कादिरिया, जिलालिया, नक्सबन्दिया, मौलावियाजस्ता परम्पराहरूको चित्र दिमागमा पुन: ताजा भएर आयो ।

मौलाविया परम्पराको सुरुआत फारसी कवि रुमीबाट भएको मानिन्छ, जसलाई मौलवी भनेर पनि बोलाइन्थ्यो । चक्करदार नाच, कविता र संगीतको सम्मिश्रणसँगै मनमगन शैलीमा डुब्नका लागि प्रचलित छ मौलाविया । धन्य हुन् एलिफका ती जादुयी औंलाहरू, जसले रुमीको जीवनकथालाई उपन्यासमा जादुयी ढंगले पस्किन सफल भयो । फोर्टी रुल्स अफ लभ पढिसकेपछि मैले जसरी नै रुमीका कविताहरू खोजीखोजी नपढ्ने पाठक सायदै कोही भेटिएला !

रुमी अर्थात् एक रहस्यमयी धागो
पूरा नाम जलालुद्दिन मोहम्मद रुमी । एक पटक होइन, दुई–दुई पटक जन्मे उनी यस धर्तीमा । पहिलो पटक सन् १२०७ मा ताजिकिस्तानमा जन्मे । पहिलो जन्ममा उनी पनि आफ्ना पिताजस्तै एक मुस्लिम धार्मिक गुरु थिए । ३७ वर्षसम्मको उमेर उनको पहिलो जन्मले नै धान्यो, आफ्नी आमाको गर्भले दिएको जन्म । ३७ वर्षपछिको उमेरचाहिं उनी आफैंले आफैंलाई जन्म दिन सफल भए, जब सन् १२४४ मा सुफी सम्स तबरेजसँग उनको भेट भयो । रुमीको बारेमा एउटा चर्चित कहावत नै छ—मौलवी हरगिज न शुद मौलाए रुमता गुलामे–शम्स तब्रेजी न शुद अर्थात् त्यो बेलासम्म कसैको मनमा रुमीको राज कायम थिएन, जतिबेलासम्म उनी सुफी सम्स तबरेजको भक्त थिएनन् । सम्स तबरेज र रुमीको भेट इतिहासकै एउटा अलौकिक र निर्णायक भेट मानिन्छ । भेटलगत्तै चालीस दिनसम्म एउटै कोठाभित्र रहे दुवै जना । ती बन्द चालीस दिनहरूले रुमीको चेतनाका सबै ढोकाहरू खोलिदिए । एउटा कट्टर धार्मिक गुरु चालीस दिनपछि कोठाबाट निस्कँदा एउटा फकिरमा रूपान्तरण भइसकेका थिए । सम्सले उनको शरीरको नशा–नशामा यसरी सुफियाना रगत बगाइदिए कि त्यसपछि समाजको कुनै पनि मूल्य, मान्यता र आदर्श उनका निम्ति तगारो बन्न सकेनन् । धार्मिकबाट आध्यात्मिक बन्दाको त्यो क्षणमा तत्कालीन समाजले उनलाई बौलाएको भन्नसमेत पछि परेन । पथभ्रष्ट भएको आरोप त झन् कतिकति !...

यस्ता बहिरी कुराले छुँदै छोएन रुमीलाई । उनी त सम्ससँगको मित्रताको यस्तो सम्मोहनमा थिए कि जब सम्स उनको जिन्दगीबाट गायब भए, त्यही औडाहामा उनलाई खोज्न निस्के दमास्कास र खोजिरहे निरन्तर । एक दिन अचानक उनलाई तत्त्वबोध भयो— सम्स त उनीभित्रै छन् । बाहिरी दुनियाँमा उनलाई खोज्नुको कुनै अर्थ छैन । समाहितताको त्यो आभाससँगै रुमीले जीवनका कविताहरू लेख्न थाले । प्रेमका कविताहरू लेख्न थाले । मनमगन भएर लेखिरहे, बस् लेखिरहे ।

३७ देखी ६७ वर्षसम्मको उमेरमा सुफियाना रंगमा लेखनमा वेग मारे रुमीले । यसबीचमा लगभग ३ हजार वटा गीत, गजल २ हजारवटा रुबाइया रचे । ‘दिवान ए सम्स तबरेज’ जस्तो महत्त्वपूर्ण रचना गरे । सबैभन्दा महत्त्वपूर्ण कृति अर्थात् आध्यात्मिक महाकाव्य ‘मसनवी’ दिए संसारलाई । छ खण्डमा बाँडिएको मसनवीमा २६ हजार कविता छन्, जुन ‘फारसी भाषामा लेखिएको कुरान’ अथवा ‘पर्सियन कुरान’ को रूपमा चर्चित छ । मसनवी उनले आफ्ना शिष्य हुसामलाई डिक्टेट गराएका थिए । रुमीले अधिकांश लेखन फारसी भाषामै गरे । यसका अलावा अरबी, तुर्की र ग्रीक भाषामा पनि लेखे ।

यसमा कुनै शंका छैन कि रुमी एक रहस्यवादी कवि हुन् । सुफी परम्परा र सोच प्रधानता रहेको उनका सबै रचनाले मान्छेलाई आफैंभित्रको यात्रा गर्न प्रेरित गर्छन् । यति हुँदाहुँदै पनि उनलाई सुफी कविको दायरामा मात्र बाँध्न नहुने थुप्रै अध्येताको जिकिर छ । अरूका रचनाहरू पढ्दा लेखक एक यस्ता धागोजस्ता लाग्छन्, जसले कहिले कुन समाज, कहिले कुन परिवेश, कहिले कुन समय, कहिले कुन घटना र कहिले कुन दुर्घटनासँग जोड्छन् । एक लेखकको रूपमा रुमीचाहिं यस्ता धागो हुन्, जसका रचनाहरूले पाठकलाई कतै केही कुरासँग जोड्छ भने स्वयंसँग जोड्छ । आफंैलाई आफैंसँग जोड्छ ।

उनका कविताहरू खोजीखोजी अंग्रेजीमा अनुवाद गर्ने र पिंजडाभित्र थुनिएका उनका कविताहरूलाई मध्यपूर्वबाट पश्चिमतिर पुर्‍याउने कोलम्यान बाक्र्स आफंै पनि चकित छन्, अहिलेको विश्वमा रुमीका कविताहरूको क्रेज देखेर । तेह्रौं शताब्दीको एउटा कविको कविताका किताबहरू एक्काइसौं शताब्दीको बेस्ट सेलर हुनु चानचुने कुरा हुँदै होइन । बाक्र्सद्वारा अनूदित रुमीका किताबहरू ‘द इसेन्सिएल रुमी’, ‘रुमी : द बुक अफ लभ’, ‘द सोल अफ रुमी’, ‘द बिग रेड बुक’ जस्ता किताबहरू २० लाख प्रतिभन्दा बढी बिक्री भइसकेका छन् र २३ अन्य भाषामा अनुदूति छन् ।
रुमीले लेखेको महाकाव्य ‘मसनवी’ लाई फारसी भाषाको कुरान भनिएता रुमी मानवता र प्रेमका कवि हुन्, जो सबै धर्म, सम्प्रदाय र आस्थाभन्दा धेरै माथि छन् । त्यसैले त १७ डिसेम्बर अर्थात् रुमीको पुण्य तिथिको दिनमा आज पनि कोन्यामा रहेको उनको चिहानमा हजारौंले श्रद्वापूर्वक शिर झुकाउने गर्छन् । आफ्नो समयमा धपक्क बलेर समयसँगै निभ्दै जाने थुप्रै कविहरूको भीडमा रुमी एक यस्ता अपवाद हुन्, जो समयसँगै दिन दुई गुना र रात चौगुना चर्चित भइरहेछन् ।

सम्स तरबेजसँगको अनौठो किस्सा
रुमी एक रहस्यवादी कवि त हुन् नै । त्योभन्दा कैयांै गुणा रहस्यमय लाग्छ सम्स तबरेजसँगको उनको सम्बन्ध । कतिले उनीहरूलाई गुरु शिष्य मानेका छन् । कतिले आध्यात्मिक साथी मानेका छन् । चालीस दिनसम्म बन्द कोठाभित्र रहँदा सम्सले रुमीलाई बाहिरी दुनियाको कसैसँग पनि नबोल्ने आदेश दिएका थिए र त्यो आदेशलाई माने पनि रुमीले । चालीस दिनपछि कोठाबाट निस्कँदा एउटा साधारण धार्मिक गुरुले धार्मिक गुरुको पगरी खोलेर फ्याँके र मनमगन शैलीमा संगीतको तालमा झुम्दै नाच्न थाले ।

केही समयको बसाइपछि सम्स कोन्या छोडेर दमास्कस गए । रुमीले आफ्ना छोरा सुल्तान मार्फत सम्सलाई लिन पठाए र फेरि उनीहरू आफ्नै दुनियाँमा हराए । ५ डिसेम्बर, १२४८को रात अचानक फेरि सम्स गायब भए र त्यसपछि उनलाई कहींकतै भेटिएन । कतिले भन्छन्, फकिर स्वभावका सम्स आफ्नै मजमर्जीले गायब भए । कतिले भन्छन्, रुमीकै छोरा अलाउद्दिन र उनका साथीहरूले मिलेर सम्सको हत्या गरे । रुमी नामको किताबबाट सम्स नाम हटाइदिने हो भने त्यो फगत एक कोरा किताब मात्र हुन जान्छ । सम्सको गायबीपछि रुमीले उनलाई यादहरूको एक–एक तख्तामा समेटे । आफ्नो अनुभव र अनुभूतिको दिव्यतामा समेटे । आफ्ना एकएक शब्दहरूमा घोलेर सम्सलाई यसरी पोखे कि सधैंसधैंका लागि कालजयी बनाइदिए ।

कट्टर मुसलमानहरू रुमी र सम्सबीचको सम्बन्धलाई एक समलैंगिक धब्बा भनेरसमेत आरोप लगाउँछन् । आफ्नो अनुशासित धार्मिक पितालाई पथभ्रष्ट बनाएर मनमगन शैलीमा बाँच्ने अराजक बनाएकोमा रुष्ट रुमीकै आफ्नै छोरा अलाउद्दिनलगायत थुप्रै उनीहरूको सम्बन्धको खिलाफमा देखिन्थे ।

साराका सारा आरोपहरू एकातिर, सम्सप्रतिको रुमीको प्रेम र समर्पण अर्कोतिर । भनिन्छ, सम्स र रुमीको जस्तो भेट कुनै एक शताब्दी वा सहस्राब्दीमा हुँदैन, यो त एक आध्यात्मिक चक्रमा एक पटक मात्र हुन्छ । एक आध्यात्मिक चक्र बराबर लगभग बाह्र हजार वर्ष हुने विश्वास जो गरिन्छ । रुमी मरेर पनि हामीमाझ शब्दहरूमा जीवित छन् भने सम्सकै कारणले जीवित छन् । सम्स जीवित छन् भने रुमीकै कारणले जीवित छन् । मित्रताको हरपराकाष्ठा नाघ्ने मित्रताको यति नै बलियो अर्को कथा कमै मात्र सुन्न पाइन्छ ।

अमेरिकामा ‘रुमी मुद्रा’ चल्छ
मुसलमान लेखक नै भए पनि आफ्नो पुस्तक ‘सटानिक भर्सेस’ को कारण कट्टरपन्थी मुसलमानहरूको फतवाको सिकार भए सलमान रुस्दी । इरानका शासक अयतुल्ला खोमैनीले रुस्दीको शिर काटेर ल्याउनेलाई इनाम दिने घोषणा गरे । एकातिर बंगलादेशी लेखक तसलिमा नसरिनले ‘कुरान आतंकवादको जड हो’ भनिरहँदा सलमान रुस्दी भन्छन्, ‘यो समय दुनियाँका धेरै मुसलमानहरूको मृत्यको कारण अमेरिकी डा्रेन होइन, बल्कि उनीहरूको मृत्युको कारण स्वयं मुसलमानहरू नै हुन् । सिया सुन्नीहरूमाथि आक्रमण गरिहरेछन् । सुन्नी सियाहरूमाथि आक्रमण गरिरहेछन् । यो समय मुसलमानहरूमाथि सबैभन्दा बढी अत्याचार मुसलमानहरूबाट नै भइरहेछ ।’

रुस्दीले जे भने पनि यथार्थ के हो भने अमेरिका विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र हुँदाहँुदै पनि इस्लाम र हरइस्लाम अनुहारसँग डराउँछ, आतंकित हुन्छ । ओसामा विन लादेन र उनको समूह अल कायदाले ११ सेप्टेम्बर, २०११ मा अमेरिकामा आक्रमण गरेपछि त झन् ‘इस्लाम फोबिया’ ले ग्रस्त छ अमेरिका । विश्वविदितै छ, अमेरिका इस्लाम आतंकवादलाई घृणा गर्छ । वहाबीवाद र सलाफीवादलाई घृणा गर्छ । इस्लामसँग जोडिएका अलकायदा, अल–सबाब वा बोको हरामलाई घृणा गर्छ । दिनार, रियाल वा दिरहम मुद्रासँग समेत सशंकित हुन्छ ।

यति हुँदाहुँदै पनि अमेरिका कुनै मुस्लिम मुद्रासँग डराउँदैन भने त्यो हो रुमी मुद्रा । रुमीको काव्यिक मुद्रा अमेरिकामा निकै लोकप्रिय छ । अहिलेको समयमा अमेरिकामा सबैभन्दा बढी पढिने कविहरूको अग्रपंक्तिमा आउँछन् रुमी । उनका कविताका किताबहरू अमेरिकामा लाखौं प्रति बिक्नु त्यसैको एक उदाहरण हो ।

त्यसो त मध्यपूर्व वा अमेरिकामा मात्र सीमित छैनन् रुमी । सारा विश्व रुमीको कविताको रसास्वादन गर्छ । एनमेरी सिमेलका अनुसार ‘पर्सियन कवि भए पनि ट्रिमिङ गरेर चटक्क मिलाइएका पर्सियन बगैंचाजस्ता हुँदैनन् रुमीका कविताहरू । बरु टर्कोम्यान स्टाइलका पेन्टिङजस्ता छन् रुमीका कविताहरू, जहाँ आकस्मिक गतिहरू, अजिबका फूलहरू, झाडीहरू, ठूलासाना जनावरहरू सबसबको कोलाज हुन्छ ।’ सिर्जनात्मक प्रतिभाको हिसाबले सेक्सपियर, बिथोवेन र मोजार्टसरह नै विश्वप्रसिद्घ छन् रुमी ।

सुफी दर्शनमा एक प्रचलित कथन छ— वी निड टु डाई बिफोर वी डाई अर्थात् हामीहरू मर्नुभन्दा अगाडि नै मर्न जरुरी छ । यहाँनेर मृत्युको अर्थ शरीरको अल्पायु मृत्यु पक्कै होइन । सुफीहरूका अनुसार मर्नुभन्दा अगाडि मर्नु भनेको उच्च तापक्रममा गहना पग्लेझैं ठीक त्यसरी पग्लेर सकिनु हो, जसले मान्छेलाई नयाँ स्वरूप र अवतार प्रदान गर्छ ।

यी र यस्ता गहिरा कुराहरू रुमी कवितामा यसरी पोख्छन्, मानौं तिनका प्रत्येक हरफहरूमा पाठकले आफ्नो दिल धड्केको महसुस गर्छ । एकदमै गहन र जटिल सत्यहरूलाई पनि एकदमै सरल र सुन्दरतापूर्वक पस्कने खुबीका कारण नै आज आठ सय वर्षपछि पनि रुमी उत्तिकै ताजा र चुम्बकीय कवि लाग्छन् ।

भनिन्छ, रुमीलाई पढ्न र पढेपछि बुझ्न बेकाबु हुन जरुरी छ । जन्मबाटै आमाको दूधभन्दा बढी आदर्शको क्याप्सुल खाएर हुर्केका हामीहरूमध्ये कति जनासँग होला सबै बाहिरी कृत्रिमता फुकालेर बेकाबु हुने आँट ?

पृष्ठभूमिमा दीपक बज्राचार्यको मनमगन गीत र हातमा मनमगन कवि रुमीका कविताहरूको किताब । यस्तो बेलामा मैले जसरी नै सुफियाना शैलीमा हरपाठकले सोच्दो हो– मदिरामा के नशा छ ? खास नशा त हर लय भत्काएर बेकाबु हुँदै जिन्दगी बाँच्नुमा पो छ ।

प्रकाशित : जेष्ठ १९, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?