१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

उदार लोकतन्त्रको पतन !

समीक्षा
गेजा शर्मा वाग्ले

काठमाडौँ —  बहुलवादी समाज तथा उदार लोकतन्त्रको जन्मभूमि अमेरिका, युरोपका समृद्ध देशबाटै जनआकांक्षा पूरा गर्न नसकेको भनी आलोचना भएपछि लोकतान्त्रिक प्रणाली प्रतिरक्षात्मक भएको छ । ती देशमा लोकप्रियतावादी, दक्षिणपन्थी, राष्ट्रवादी र अतिवादीहरूले निर्वाचनमा पाएको अस्वाभाविक सफलताले लोकतन्त्रको भविष्यमाथि प्रश्नचिह्न खडा भएको छ ।

उदार लोकतन्त्रको पतन !

सन् १९९० मा शीतयुद्ध अन्त्य, सोभियत संघमा कम्युनिस्ट शासनको पतन भई लोकतन्त्रको स्थापना तथा जर्मनीमा बर्लिनको पर्खाल भत्किएपछि विश्वबाटै कम्युनिस्ट तथा सबै प्रकृतिका अधिनायकवादको अन्त्य भई लोकतन्त्रको विजय भएको घोषणा गरिएको थियो । अमेरिका, युरोपका राजनीतिशास्त्री तथा उदार लोकतन्त्रमा विश्वास गर्ने दलहरूले सोभियत संघ तथा पूर्वी युरोपमा कम्युनिस्ट शासन पतन भएपछि विश्वव्यापी रूपमै लोकतन्त्रको विजय भएको घोषणा गर्दै ठूलो विजयोत्सव मनाएका थिए । अमेरिकी राजनीतिशास्त्री तथा बहुलवादी लोकतन्त्रका प्रवक्ता फ्रान्सिस फुकुयामाले कम्युनिस्ट शासनको पतनलाई इतिहासको अन्त्यसँग तुलना गर्दै सन् १९९२ मा ‘द इन्ड अफ द हिस्ट्री एन्ड द लास्ट म्यान’ नामक पुस्तक प्रकाशित गरेपछि लोकतान्त्रिक आन्दोलन अभूतपूर्व सफलताको दिशातर्फ उन्मुख भएको थियो ।

तर, अधिनायकवाद र सर्वसत्तावादको अन्त्य भई लोकतन्त्रको विजयोत्सव मनाएको ३ दशक पनि नबित्दै उदार लोकतन्त्र र वहुलवादी समाजको जननी मानिने अमेरिका, युरोपमा नै लोकतान्त्रिक प्रणालीमाथि गम्भीर संकट सिर्जना भएको नयाँ विचारले विश्वको राजनीति तरंगित भएको छ । लामो समयदेखि लोकतान्त्रिक प्रणालीको आरोह–अवरोहबारे गहन अनुसन्धान गर्दै आएका हार्वर्ड विश्वविद्यालयका प्राध्यापकहरू स्टेभिन लिभित्स्की र डेनियल जिबलटद्वारा लिखित ‘हाउ डेमोक्रेसिस डाई : ह्वाट हिस्ट्री रिभिल्स अबाउट आवर फ्युचर’ नामक पुस्तकमा लोकतन्त्र पतनोन्मुख भएको निष्कर्ष सार्वजनिक भएपछि उक्त तरंग सिर्जना भएको हो ।

लिभित्स्की र जिबलटले केवल लोकतन्त्र पतनोन्मुख भएको निष्कर्ष मात्रै निकालेका छैनन्, यदि समयमै उक्त चुनौतीहरूको यथोचित सम्बोधन गरिएन भने लोकतान्त्रिक प्रणालीकै अवसान हुने भविष्यवाणीसमेत गरेका छन् । इतिहासको अन्त्य भएको घोषणा गरेका उनै फुकुयामालगायत उदार लोकतन्त्रप्रति आस्थावान राजनीतिशास्त्रीहरूले समेत अहिले अमेरिका, युरोपलगायत विश्वव्यापी रूपमै उदार लोकतान्त्रिक प्रणालीमाथि गम्भीर चुनौती सिर्जना भएकोमा चिन्ता व्यक्त गर्दै पतनोन्मुख लोकतन्त्रको उद्धार गर्न आह्वान गरेका छन् ।

लोकतन्त्रका चुनौती
लिभित्स्की र जिबलटले मात्रै होइन, लोकतन्त्रबारे ३ दशकदेखि गहन अध्ययन–अनुसन्धानमा संलग्न स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक ल्यारी डाइमन्डले पनि सन् २०१५ मा ‘डेमोक्रेसी इन डिक्लाइन’ नामक पुस्तकमा कसरी लोकतान्त्रिक प्रणाली ह्रासोन्मुख भएको छ भनी तथ्य र तथ्यांकसहित विश्लेषण गरेका छन् । यसैगरी हार्वर्ड विश्वविद्यालयका अर्का प्राध्यापक यस्चा माउन्कले पनि सन् २०१८ मा प्रकाशित ‘द पिपुल भर्सेज डेमोक्रेसी : ह्वाई आवर फ्रिडम इज इन डेन्जर एन्ड हाउ टु सेभ इट’ नामक पुस्तकमा दक्षिणपन्थी लोकप्रियतावाद र अतिवादका कारण लोकतन्त्र कसरी असफल हुँदै छ भनी व्याख्या गरेका छन् । लोकतन्त्रबारे अध्ययन–अनुसन्धान गर्ने अमेरिकाको वासिङ्टन डीसीस्थित थिंक–ट्यांक फ्रिडम हाउसको २०१८ को वार्षिक प्रतिवेदनले पनि उदार लोकतन्त्र, बहुलवादी समाज, विधिको शासन र मानवअधिकारका लागि जटिल चुनौतीहरू सिर्जना भएको तथ्य र तथ्यांकहरू सार्वजनिक गरेको छ ।

फ्रान्सेली क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम, पहिलो र दोस्रो विश्वयुद्धको विभीषिका, उपनिवेशकाल र स्वाधीन आन्दोलनको ऐतिहासिक कालखण्डको विश्लेषण गर्दै लोकतान्त्रिक प्रक्रियाद्वारा निर्वाचित एडोल्फ हिटलरले सत्तामा पुगेपछि कसरी लोकतान्त्रिक प्रणालीमाथि आक्रमण गरे भनी लेखकद्वय लिभित्स्की र जिबलटले सविस्तार चर्चा गरेका छन् । यसैगरी राजनीतिक दाउपेच मार्फत सत्तामा पुगेका बेनिटो मुसोलिनीले फाँसीवादी शासनको फेहरिस्त पनि प्रस्तुत गरिएको छ ।

दक्षिण अमेरिकी देश पेरुमा अल्बर्टो फुजिमोरीले कसरी लोकप्रियतावादी नारा मार्फत सत्तामा आई मिडियाको दुरुपयोग गर्दै लोकतन्त्रको चीरहरण गरे भनी सप्रसंग व्याख्या र विश्लेषण गरिएको छ । यसैगरी वामपन्थी लोकप्रियतावादी नाराको आधारमा ह्युगो चाभेज भेनेजुएलाका राष्ट्रपति भएपछि लोकतान्त्रिक अधिकार कटौती गर्दै अधिनायकवादी शासनको तस्बिर सविस्तार व्याख्या गरिएको छ ।

लिभित्स्की र जिबलटले रुस, भेनेजुएला, इजिप्ट, फिलिपिन्स, युक्रेन, जर्जिया, जिम्बावे, इराक, लिबिया, निकारागुवा, म्यानमारजस्ता तेस्रो विश्वका द्वन्द्वग्रस्त, अविकसित तथा अल्पविकसित देशहरूमा त लोकतान्त्रिक प्रणाली समस्याग्रस्त छ नै, बहुलवाद, उदार लोकतन्त्र, विधिको शासन र मानवअधिकारको जननी मानिने अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, भारत, टर्की, हंगेरी, अस्ट्रिया, नेदरल्यान्डलगायतका देशहरूमा नै लोकतान्त्रिक मूल्य र मान्यता क्षयीकरण भई अधिनायकवादी प्रवृत्ति हावी हुँदै गएको वास्तविकताको पर्दाफास गरेका छन् ।

बहुलवादी समाज तथा उदार लोकतन्त्रको जन्मभूमि अमेरिका, युरोपका समृद्ध देशहरूबाटै जनआकांक्षा पूरा गर्न नसकेको भनी आलोचना भएपछि लोकतान्त्रिक प्रणाली प्रतिरक्षात्मक भएको छ । ती देशहरूमा लोकप्रियतावादी, दक्षिणपन्थी, राष्ट्रवादी र अतिवादीहरूले निर्वाचनमा पाएको अस्वाभाविक सफलता र उदार लोकतन्त्रवादीहरूको असफलताले लोकतन्त्रको भविष्यमाथि गम्भीर प्रश्नचिह्न खडा भएको छ ।

तर, लोकतन्त्रप्रतिको उक्त चुनौती साम्यवाद, अधिनायकवाद र सैन्य तानाशाहको कारणले होइन, लोकतान्त्रिक प्रणाली मार्फत निर्वाचित राष्ट्रपति, प्रधानमन्त्री र सरकारकै कारण सिर्जना हुँदै गएको विश्व चर्चित पुस्तकमा तथ्य र तथ्यांकसहित व्याख्या छ । संवैधानिक प्रक्रियाद्वारा निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीहरूको सर्वसत्तावादी चरित्रका कारण लोकतान्त्रिक मूल्य–मान्यता अतिक्रमण गर्ने प्रवृत्ति विश्वव्यापी रूपमै बढ्दै गइरहेको फेहरिस्तले लोकतन्त्र पतनोन्मुख भएको पुष्टि भएको छ ।

लिभित्स्की र जिबलटको अध्ययनको निष्कर्ष छ— अमेरिका र युरोपजस्ता देशहरूमा पनि आवरणमा लोकतान्त्रिक प्रणाली अनुसरण गरिएको छ्र तर उक्त प्रणाली क्रमिक रूपमा अनुदार लोकतान्त्रिक दिशातर्फ उन्मुख हुँदै गइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, टर्कीका राष्ट्रपति रिसेप ताय्यिप इर्दोगान, अनुदार लोकतन्त्र (इलिबरल डेमोक्रेसी) का प्रवक्ता हंगेरीका प्रधानमन्त्री भिक्टर ओरबानजस्ता दक्षिणपन्थी राष्ट्रवादीहरूको विजय र युरोपियन युनियनबाट छुट्टिने बेलायतको जनमतसंग्रहको आश्चर्यजनक परिणामपछि लोकतन्त्रलाई गम्भीर धक्का लागेको छ । उनीहरूले तर्क गरेका छन्— अहिले कतै मतपत्रमा नै लोकतन्त्रको पराजय अन्तर्निहित त छैन ?

लिभित्स्की र जिबलटको निष्कर्ष छ, ‘शीतयुद्धकालीन साम्यवाद, फासीवाद, सैन्य शासन तथा एकदलीय तानाशाह अहिलेको चुनौती होइन । दक्षिणपन्थी राष्ट्रवाद, लोकप्रियतावाद, भूमण्डलीकरणको विरुद्ध संरक्षणवाद, जातिवाद र निर्वाचित सर्वसत्तावाद उदार लोकतन्त्रका प्रमुख चुनौतीहरू हुन् ।’

अमेरिकी लोकतन्त्रका समस्या
तेस्रो विश्वका देशहरूमा अमेरिकी लोकतन्त्रलाई लोकतन्त्रको उच्चतम मानकको रूपमा चित्रित गरिन्छ । विशेषगरी नेपालमा अमेरिकी लोकतन्त्रलाई उत्कृष्ट लोकतान्त्रिक देश र अभ्यासको रूपमा व्याख्या र विश्लेषण गरिन्छ । तर, लिभित्स्की र जिबलटले अमेरिकी लोकतन्त्रका अन्तनिर्हित समस्या र सामना गरिरहेका चुनौतीबारे लामो फेहरिस्त प्रस्तुत गरेका छन् ।

१७७६ जुलाई ४ मा बेलायतबाट स्वतन्त्र भएपछि लोकतान्त्रिक प्रणाली अनुसरण गरे पनि अमेरिकी लोकतन्त्रको इतिहास आरोह–अवरोहपूर्ण छ । १८६१ देखि १८६५ सम्म गृहयुद्ध, दक्षिणका ७ राज्यहरू (लुजिआना, टेक्सास, मिसिसिपी, फ्लोरिडा, जर्जिया र अलाबामा) अमेरिकाबाट विभाजित भएको घोषणा, कार्यपालिका र न्यायपालिकाबीचको विवाद र द्वन्द्वजस्ता घटनाक्रम अमेरिकी लोकतन्त्रको इतिहास पनि विवादित नै छ । अमेरिकामा स्वतन्त्र भएको १३० वर्षपछि १९१९ मा मात्रै महिलाले मताधिकार पाएका थिए । त्यसैले लोकतन्त्रका सार्वभौम मूल्य–मान्यताहरूलाई स्वीकार गरेपछि १९६५ देखि मात्रै अमेरिका प्रणाली पूर्ण लोकतान्त्रिक भएको विचार व्यक्त गरेका छन् ।

अमेरिकी श्वेत राष्ट्रवादको नाराको आधारमा निर्वाचित भएका दक्षिणपन्थी लोकप्रियतावादी ट्रम्पले शृंखलाबद्ध रूपमा संवैधानिक तथा लोकतान्त्रिक संस्थाहरूमाथि निरन्तर आक्रमण गरिरहेका छन् । तर, अमेरिकामा स्वतन्त्र न्यायपालिका र प्रेसमाथि अहिले ट्रम्पले मात्रै होइन, विगतमा फ्र्यांक्लिन डिल्यानो रुजवेल्ट र रिचर्ड निक्सनलगायत अन्य राष्ट्रपतिहरूले पनि आक्रमण गरेका थिए । यसरी राष्ट्रपतिले नै न्यायपालिकामाथि आक्रमण गरेपछि शक्ति पृथकीकरण र स्वतन्त्र न्यायालयको अस्तित्वमाथि नै गम्भीर प्रश्नचिह्न खडा भएको छ । ट्रम्पले स्वतन्त्र न्यायपालिका र प्रेसमाथि गरेको आक्रमण अमेरिकी लोकतन्त्रका लागि नै लज्जाको विषय हो ।

लोकतन्त्रको आधारस्तम्भ स्वतन्त्र न्यायालय र प्रेसप्रतिको आक्रमण, राजनीतिक प्रतिस्पर्धीलाई शत्रु घोषणा, निर्वाचन परिणाम अस्वीकार गर्ने चेतावनीजस्ता गैरलोकतान्त्रिक र अधिनायकवादी प्रवृत्तिले लोकतन्त्र तीव्र गतिमा ह्रासोन्मुख छ । धर्म, जाति, रंग, संस्कृति, भाषाका आधारमा तीव्र रूपमा विभाजित भइरहेको अमेरिकी समाज र राजनीतिक प्रणालीका अन्तर्निहित समस्याहरू आमरूपमा विश्लेषण गरिएभन्दा जोखिमपूर्ण भएको उनीहरूको तर्क छ ।

अमेरिकाको लोकतन्त्र र भेनेजुएलाको शासन प्रणाली समान गतिमा पतनोन्मुख भएको निष्कर्ष लेखकद्वयले निकालेका छन् । अमेरिकाका लागि त्योभन्दा ठूलो व्यंग्यको विषय अरू के हुन सक्छ ? ट्रम्पको विजय नै अमेरिकी लोकतन्त्रका लागि दुर्भाग्य भएको उनीहरूको विचार छ । अमेरिकाको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो भएको विचार व्यक्त गर्दै रिपब्लिकन र डेमोक्रेटिक दुवै पार्टीको राष्ट्रपतीय प्रत्याशी छनोट प्रक्रिया पारदर्शी, लोकतान्त्रिक र सहभागितामूलक नभएको निष्कर्ष लेखकहरूको छ । राष्ट्रपतीय प्रत्याशी छनोट प्रक्रियामा रिपब्लिकन र डेमोक्रेटिक दुवै पार्टीका संस्थापन पक्षको भूमिका हस्तक्षेपकारी भएको रहस्य उजागर गरेका छन् । त्यसैले निर्वाचन प्रणाली तथा राष्ट्रपतीय प्रत्याशी छनोट प्रक्रिया सुधार गर्न सुझाव दिएका छन् ।

लिभित्स्की र जिबलटले रिपब्लिकन पार्टीको कटु आलोचना गरेका छन् । तर, डेमोक्रेटिक पार्टीको उदार नीतिलाई प्रकारान्तरले समर्थन गरे तापनि कमजोरी पनि औंल्याएका छन् । रिपब्लिकनलाई श्वेत अमेरिकी राष्ट्रवादी र डेमोक्रेटिकलाई पहिचानवादी र अल्पसंख्यकहरूको पार्टी भएको टिप्पणी गरेका छन् । त्यसैले रिपब्लिकनलाई अल्पसंख्यक र आप्रवासी तथा डेमोक्रेटिकलाई बहुसंख्यक अमेरिकीहरूको भावनाप्रति संवेदनशील नीति अनुसरण गर्न सुझाव दिएका छन् । तर, ट्रम्प र निक्सन मात्रै होइन, अब्राहम लिंकनजस्ता लोकतान्त्रिक र क्रान्तिकारी पनि रिपब्लिकन पार्टीकै राष्ट्रपति भएको वास्तविकतालाई उनीहरूले विस्मरण गरेको देखिन्छ ।

लोकतन्त्र संवद्र्धनको ‘प्रेसक्रिप्सन’
उनीहरूले लोकतन्त्रका केवल समस्या तथा चुनौतीहरूको भयावह तस्बिर मात्रै होइन, समाधानका सुझावहरू पनि दिएका छन् । जतिसुकै चुनौतीहरू सिर्जना भए पनि लोकतन्त्रको विकल्प नभएको विचार उत्तिकै सशक्त रूपमा राखेका छन् । त्यसैले लोकतन्त्रको विकल्प थप उदार र बहुलवादी लोकतन्त्र हो, जुन प्रणालीले धर्म, जाति, रंग, संस्कृति, भाषा, वंश, भूगोलको आधारमा भेदभाव नगरी आर्थिक विकास र सामाजिक न्यायमा आधारित समतामूलक समाज स्थापना गर्नेछ । त्यस्तो समतामूलक समाजको स्थापना चुनौतीपूर्ण भए पनि असम्भव छैन । त्यसैले विद्यमान लोकतान्त्रिक प्रणालीमा व्यापक सुधार गरी थप उदार लोकतन्त्रको सुनिश्चित गर्नुभन्दा अर्को श्रेष्ठ विकल्प छैन ।

लोकतान्त्रिक प्रणाली तथा लोकतान्त्रिक दलहरूले समाजमा विद्यमान धार्मिक तथा सामाजिक विभाजन तथा ध्रुवीकरण, दक्षिणपन्थी लोकप्रियतावादको विश्वव्यापी लहर र आर्थिक तथा भौगोलिक असमानताजस्ता प्रमुख चुनौतीहरूलाई अविलम्ब सम्बोधन गर्नुपर्ने सुझाव लेखकद्वयको छ । समाजमा विद्यमान उक्त विभाजनकारी तत्त्वहरूलाई यदि समयमै सम्बोधन गरिएन भने गम्भीर परिणाम सिर्जना हुने चेतावनी पनि दिएका छन् ।

लोकतान्त्रिक प्रणालीद्वारा निर्वाचित तर अधिनायकवादी बन्ने दिशातर्फ उन्मुख भएका शासकहरूले टर्की र हंगेरीमा जस्तै लोकतान्त्रिक प्रणालीलाई सुधार गरी थप लोकतान्त्रिक, जनमुखी र प्रभावकारी बनाउने नाममा लोकतान्त्रिक मूल्य र मान्यतामा आक्रमण गर्ने छद्मभेषी प्रवृत्ति बढ्दै छ । यसैगरी अमेरिका, बेलायत, फ्रान्स, जर्मनीजस्ता समृद्ध लोकतान्त्रिक र विकसित देशहरूमा बढ्दै गइरहेको दक्षिणपन्थी लोकप्रियतावादको चुनौती सामना गर्न थप बहुलवादी र उदार लोकतान्त्रिक प्रणाली र आर्थिक असमानताको अन्त्य गर्ने आर्थिक नीति अनुसरण गर्नु अपरिहार्य हुँदै गएको देखिन्छ ।

त्यसैले वासिङ्टन ‘कन्सेन्सस’ बाट नि:सृत उदारीकरण, निजीकरण र भूमण्डलीकरणजस्तो उदार अर्थनीति आर्थिक वृद्धिको दृष्टिले सकारात्मक भए पनि आर्थिक असमानता अभिवृद्धि गरेको कारणले आर्थिक नीति पुनर्विचार गर्नु अनिवार्य छ । अमेरिका, युरोपमा जुन आयतन र घनत्वमा लोकतन्त्रमाथि संकट आएको छ, नेपालमा हालसम्म छैन । तर, लोकप्रियतावाद र दक्षिणपन्थी राष्ट्रवाद नेपाली राजनीतिमा हावी हुँदै गइरहेको छ । त्यसैले लोकतन्त्रको पतन र दक्षिणपन्थी लोकप्रियतावादको उदय र परिणामबारे उदार लोकतान्त्रिक दलहरूले समयमै शिक्षा लिनु नेपालको उदार लोकतन्त्रको स्वास्थ्यलाई नै लाभदायक हुनेछ । उदार लोकतान्त्रिक दलहरूलाई चेतना भया !

हाउ डेमोक्रेसिस डाई
लेखक : स्टेभिन लिभित्स्की र डेनियल जिबलट
प्रकाशक : पेङ्गुइन र्‍यान्डम हाउस, बेलायत

प्रकाशित : जेष्ठ १९, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?