कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जसलाई कुनै भ्रममा स्वाद थिएन

‘पोर्टनोइज कम्पेल्न्ट’ र ‘अमेरिकन पास्टोरल’ का लेखक फिलिप मिल्टन रथको २२ मे २०१८ मा ८५ वर्षको उमेरमा मृत्यु भएको हो ।

काठमाडौँ — म उपन्यास लेख्छु,’ फिलिप रथले भने, ‘र मलाई भनिन्छ कि यो आत्मकथा हो । म आत्मकथा लेख्छु तर भनिन्छ यो उपन्यास हो । म धेरै मन्द छु र उनीहरू धेरै तीक्ष्ण छन्, त्यसैले उनीहरूलाई निर्णय गर्न दिनुहोस् ।’

जसलाई कुनै भ्रममा स्वाद थिएन

यो अर्धप्रतिरक्षात्मक तथा क्रोधपूर्ण टिप्पणी र विभिन्न ‘नक्कली आत्मकथा’ हरू लेख्ने तथा स्पष्ट आलोचकका लागि रहस्यमयी उपन्यासकार रथको ८५ वर्षको उमेरमा मृत्यु भएको छ । सन् १९६० को दशकमा जब उनी सउल बिलो र बनार्ड मलामुद्दिनसँगको यहुदी खेमाबाट अमेरिकी साहित्यको केन्द्रमा सामेल भए उनले बृहत् सम्मान प्राप्त गरे । रथको पहिलो पुस्तक ‘गुडबाई कोलम्बस’ (१९५९) को हार्ड कभर नै १२ हजार प्रति बिक्यो र राष्ट्रिय पुस्तक पुरस्कार प्राप्त गयो । यद्यपि उनी साहित्यको नोबेल पुरस्कार पाउनबाट भने असफल रहे । उनी ‘पोर्टनोइज कम्पेल्न्ट’ (१९६९) को प्रकाशनको १० सातामै ४ लाख २० हजार प्रति बिक्री भएपछि आफ्नो जीवनकालमै एक पटक सर्वोत्तम बिक्री हुने पुस्तकका लेखक बने ।

उनको प्रारम्भिक कामबाट, यहुदी पाठकहरू यहुदी जीवनप्रतिका व्यंग्यात्मक दृष्टिकोणसँग असन्तुष्ट थिए । रथ अमेरिकामा यहुदी जीवनको हरेक अध्यापन र अनुपस्थितिमा निकै खुसी देखिन्थे । सन् २००६ मा एक रेडियो अन्तर्वार्ताका क्रममा धार्मिक मान्यताबारे उनले ‘कुनै भ्रमप्रति स्वाद छैन’ भनेका थिए ।

उनका विचारहरूबाट आलोचकहरू पनि सहमत भए । रबर्ट एल्टरले रथको सुरुका पुस्तकहरूमा महिला र यहुदी आमाबाबुविरुद्ध ‘अनियन्त्रित क्रोध’ का तत्त्वहरू रहेको उल्लेख गरे । इर्भिङले उनका पुस्तहरूमा सामान्य व्यक्तिगत संस्कृतिको कमीका कारण टल्सटोयवादी आयामबाट मुक्त भएको जनाए । अल्फ्रेड कजानले भने रथले आफ्नो यहुदीपनबाट पूर्णतया मुक्त भएको प्रतिक्रिया दिए । उनको छोटो कथा ‘डिफेन्डर अफ फेथ’ को १९५९ मा प्रकाशन भएपछि उनी तीव्र आलोचननाको सिकार भए । रबिसले रथलाई यहुदी ‘आत्मघृणित’ को आरोप लगाए ।

न्युजर्सीको नेवार्कमा जन्मेका रथ बेस्सी र हर्मन रथका छोरा थिए, जो यिदिस भाषा बोल्ने पूर्वी युरोपका आप्रवासीका बच्चा थिए । उनको पिता महानगरीय जीवन बिमा कम्पनीको कार्यालय सहायक हुँदै व्यवस्थापक बने । आत्मकथाका रूपमा अस्वीकार गरेका दुई पुस्तक ‘द फ्याक्ट्स’ (१९८८) र ‘प्याट्रिमोनी’ (१९९१) मा रथले बाल्यावस्था र तिनका आमाबाबुको नेवार्क संसारबारे निकै राम्रोसँग व्याख्या गरेका छन् । अग्लो, घुम्रो बाक्लो कपाल भएका रथ बेसबल प्रेमी थिए । उनले नेवार्कको रुपर्ट स्टेडियममा नियमित रूपमा बेसबल खेलमा उपस्थित हुन्थे । सन् १९७३ मा ‘द ग्रेट अमेरिकन नोभेल’ मा उनले कम्युनिस्टविरोधी वास्तविकतालाई प्रस्तुत गर्न बेसबलका भनाइ तथा मान्यताहरूलाई प्रस्तुत गरेका छन् ।

सिकागो विश्वविद्यालयमा स्नातकोत्तर अध्ययन गरेका रथलाई लेखक तथा आलोचक टेड सोलोटारोफले ‘आक्रामक, लहडे तथा र विश्वव्यापी सोच राख्ने’ प्रकृतिको रहेको सम्झन्छन् । सिकागोका दक्षिणी भेगमा एक सानो अपार्टमेन्टमा बस्ने रथले त्यसताका लेखेका छोटा कथाहरू शताब्दीमै धेरै प्रति छापिए । ‘गुडबाई कोलम्बस’ मा एकत्रित कथाहरूले अमेरिकामा बस्ने यहुदीको पारिवारिक जीवनको ‘भ्रामक यथार्थ’ उजागर गरेपछि उनको निकै प्रशंसा पनि भयो । रथले १९५० को दशकमा यहुदीहरूको समृद्धिका लागि खुला गरिएको नयाँ संसारका विषयमा गरेको व्यंग्यात्मक लेखाइका कारण ध्यान केन्द्रित गरे ।

उनले १९५९ मा म्यागी मिचेलसनसँग विवाह गरे । एक दशकपछि उनको कार दुर्घटनामा भएको मृत्युबारे रथले ‘तिमी मर्‍यौ र मलाई यो गर्नु परेन भन्ने’ बलियो भावनात्मक तथा आश्चर्यजनक प्रतिक्रिया दिएका थिए । उनले संसारको सफलताको लागि आफूले ‘श्रीमतीको आश्चर्यजनक साहस र निर्दयिता’ लाई अस्त्रका रूपमा प्रयोग गरेको बताए ।

आफ्नो विवाहताका लेखेका दुई उपन्यासहरू ‘लेटिङ गो’ (१९६२) र ‘ह्वेन सी वाज गुड’ (१९६७), विनाशकारी सम्बन्धका पछिका कारकहरूबारे निकै गम्भीर साहित्यिक अन्वेषण हुन् । त्यसैगरी उनले मिचेल्सनसँगको जीवनसम्बन्धबारे ‘माई लाइफ यज अ म्यान’ (१९७४) चर्चा गरेका छन् । रथलाई चिन्ने सबैजसो महिलाले आफूहरू सधैं परीक्षणमा रहेको राम्ररी महसुस गर्थे । उनका घरायसी दैनिकी निश्चित थियो । उनलाई व्यक्तिगत स्वायत्तता र गोप्यता कायम राख्न तथा हरेक प्रतिबद्धताबाट बाहिर निस्कने रणनीतिको आवश्यकता थियो ।

सन् १९६८ मा टाइम पत्रिकाको आवरणमा जोन अप्डिकको उपस्थितिसँगै उनका दुई उपन्यासले अमेरिकी नयाँ पिंढीलाई ठोस विचार दियो । सन् १९७० को दशकमा भने रथले आफ्नो जीवनकालकै कमजोर पुस्तकहरू प्रकाशन गरे । ‘द ब्रेस्ट’, ‘द अमेरिकन नोभल’, ‘इन माई लाइफ यज अ म्यान’ र ‘द प्रोफेसर अफ डिजायर’ केही उदाहरण हुन् जसको बिक्रीले उनको स्थान हराइरहेको जस्तो देखिन्थ्यो ।

१९८७ मा घुँडाको अपरेसनको असफलतापछि उनी जटिल स्वास्थ्य समस्याले ग्रस्त भए । १९८९ मा साथीहरूको सहयोगले उनको उपचार भएपछि रथले ब्लुमसँग १९९० मा विवाह गरे । तर, सन् १९९३ मा प्रकाशित ‘अपरेसन साइलक’ नामक आफ्नो अनुभवमा आधारित पुस्तकको ‘न्यू योर्कर’ मा अप्डिकले गरेको अमैत्रीपूर्ण समीक्षापछि उनी डिप्रेसन तथा दिमागी अवस्था तीव्र परिवर्तन आउने समस्याका कारण मानसिक अस्पतालमा भर्ना भए । सन् १९९५ मा ब्लुमसँगको ५ वर्षको वैवाहिक सम्बन्ध विच्छेद भयो । उनले आफ्नो असफल वैवाहिक सम्बन्धको तीता अनुभव ‘आई म्यारिड अ कम्युनिस्ट’ (१९९८) मा लेखेका छन् ।

सन् १९७५ मा प्रकाशित ‘रिडिङ माइसेल्फ एन्ड अदर्स’ मा रथले निरन्तर लेखनका लागि सबैभन्दा बलियो कारण अवस्थाप्रतिको बढ्दो अविश्वास भएको उल्लेख गरेका छन् । १९९७ मा पुलित्जर पुरस्कार जित्न सफल ‘अमेरिकन पास्टोरल’ मा उनले १९६० को दशकमा अमेरिकी राजनीतिको नकारात्मक पक्ष तथा दंगाका घटनाबारे पनि उल्लेख गरेका छन् ।

रथका अधिकांश पुस्तकमा सुखद आशा देखिंदैन तर अमेरिकी जनताले निर्दोषिता र आशाको मृत्युको सामना गरेको समयको साहित्यिक अवस्थालाई भने प्रतिविम्बित गर्छन् । ‘द प्लट अगेन्स्ट अमेरिका’ (२००४) मा रथले नेवार्कमा आफ्नो बाल्यकालको यहुदी संसारबारे चर्चा गरे । एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो परिवारबारे नलेख्नुको कारण आफ्ना बाबुआमा असल, मिहिनेती र जिममेवार भएको उल्लेख गरेका छन् । रथले सन् २००८ मा ‘इन्डिग्नेसन’ र त्यसको दुई वर्षपछि ‘नेमेसिस’ लेखे ।

रथले सन् २०११ मा प्रतिष्ठित बुकर अन्तर्राष्ट्रिय पुरस्कार जिते । तर त्यसको प्रतिक्रियामा पुरस्कार निर्णायक टोलीका कार्मेन कलिलले ‘उनको प्रशंसा गर्न कठिन छ,’ भन्दै राजीनामा दिए । कलिलले लेखेका थिए, ‘उनलाई यो लामो सूचीमा देख्न कठिन छ, उनलाई यो अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्न कठिन छ ।’ त्यसैगरी, उनले सन् २०१२ मा अस्टुरियस पुरस्कार प्राप्त गरे । न्युयोर्क म्यागेजिनले सन् २०१३ मा छनोट गरेको ३० लेखकहरूको प्यानलबाट उनले महान् अमेरिकी लेखकको अवार्ड सहजै जिते । र, त्यसै वर्ष उनलाई फ्रान्स सरकारले ‘लेजियन अफ अनर’ सहित सम्मानित गर्‍यो ।

रथले सन् २०१२ मा एक फ्रान्सेली अन्तार्वार्ताका क्रममा नेमेसिस आफ्नो अन्तिम पुस्तक हुने बताएका थिए । उनले सन् २०१० देखि लेख्न छाडे, आइफोन किने, एक बायोग्राफर (ब्लेक बेली) नियुक्त गरे र आफ्ना अभिलेखहरू क्रमबद्ध बनाएर राख्न थाले । सन् २०१४ मा बीबीसीका अलान एन्टोबसँगको टेलिभिजन अन्तर्वार्तामा उनले त्यो नै आफ्नो अन्तिम सार्वजनिक उपस्थिति हुने बताए ।

‘म अहिले ७८ वर्षको छु,’ रथले फ्रान्सेली अन्तर्वार्ताकारलाई भने, ‘मलाई अमेरिकाबारे केही थाहा छैन । म यसलाई टेलिभिजनमा हेर्छु, तर म त्यहाँ लामो समय बाँच्न सक्दिनँ ।’ सन् १९३३ को मार्च १९ मा जन्मेका उपन्यासकार फिलिप मिल्टन रथको २०१८ को मे २२ मा देहान्त भयो ।

– इरिक हम्बर्गर
(द गार्डियनबाट अनूदित)

प्रकाशित : जेष्ठ १९, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?