२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

युरोपको ‘रियल’ राजा

खेल
सबैलाई थाहा छ, च्याम्पियन्स लिग फाइनलको स्कोर ३–१ थियो । सायद वास्तविक स्कोर १–१ भन्ने कि ? लिभरपुलले खाएको दुई गोल त उसले रियलका लागि दिएको ‘चन्दा’ नै थियो ।
हिमेश वज्राचार्य

काठमाडौँ — विश्वकप फुटबल सुरु हुन केही दिन मात्र बाँकी छँदा अहिले सबै त्यसैबारे मात्र चर्चा गर्न रुचाउँछन् । तर फुटबलमा एउटा विषय अझै बाँकी छ, विश्वकपभन्दा बाहेकको । त्यो अरू केही होइन, रियल म्याड्रिडकै बारे हो, उसले जितेको युरोपेली च्याम्पियन्स लिगसम्बन्धी । रियलले साँच्चै फेरि एकपल्ट युरोपेली च्याम्पियन्स लिग जितेको छ ।

युरोपको ‘रियल’ राजा

त्यो पनि १३ औं पल्टको कीर्तिमानसहित । त्यति मात्र होइन, रियलले युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेको पनि यो लगातार तेस्रोपल्ट हो ।

खेलको भाषामा भन्दा उपाधिमाथि ‘ह्याट्रिक’ । फाइनलमा रियलको प्रतिद्वन्द्वी थियो, लिभरपुल । विश्व फुटबलमा निकै थोरै यस्ता क्लब छन्, जुन धेरैका लागि दोस्रो रोजाइको मन पर्ने क्लब हुन्छ । लिभरपुल पनि एउटा यस्तै टिम हो, आफूलाई मन परेको खास क्लब छाडेर यसले जिते हुन्छ भन्ने मनमा हुने टिम । लिभरपुल समर्थकलाई त यो मनको भित्रै रहेको क्लब भइहाल्यो । उनीहरू सबैलाई लागेको थियो होला, यसपल्ट लिभरपुलले नै जिते बेस हुने थियो ।

यो त भयो भावनात्मक कुरा । तर होइन, आफूलाई मन पर्ने क्लब एक ठाउँमा छाडेर, त्यो दिनको फाइनल कसले जित्नेछ भनेर सोध्दा त्यसको उत्तर रियल नै थियो । रियलका समर्थकले त यस्तो उत्तर दिने नै भए । युरोपेली च्याम्पियन्स लिग र रियल दुवैको इतिहासका आधारमा टिकेर भन्ने हो भने त्यो दिन रियलले जित्ने सम्भावना बढी थियो । आखिरमा त्यसो भयो नै । सबैलाई थाहा छ, फाइनलको स्कोर ३–१ थियो ।

सायद वास्तविक स्कोर १–१ भन्ने कि ? लिभरपुलले खाएको दुई गोल त उसले रियलका लागि दिएको ‘चन्दा’ नै थियो । हो, गेराथ बेलको गोल भने बब्बाल नै थियो । लिभरपुलले जित्छ भन्नु भावनात्मक भयो, रियलले जित्छ भन्नु तथ्यअनुसार भयो, एक प्रकारले । ‘हामी रियल म्याड्रिड हौं,’ मार्सेलोले क्वाटरफाइनलमा युभेन्ट्सलाई पन्छाएयता घमण्डी पाराले भनेका थिए । त्यसको अघिल्लो दिन मात्र बार्सिलोनाले तीन गोलको अग्रता पनि एएस रोमासँग गुमाएको थियो ।

मार्सेलोको सीधासीधा दाबी के थियो भने, रियल बार्सिलोना जस्तो क्लब होइन, कागजमा जस्तै राम्रो टिम भए पनि मैदानमा ‘फेल’ खाने । युरोपमा लगातार तीनपल्ट च्याम्पियन हुने रियल चौथो टिम मात्र हो । अझ रियलले पछिल्लो पाँच वर्षमा चारपल्ट उपाधिमाथि कब्जा जमाएको छ । त्यसैले भन्न कर लाग्छ, रियल विश्वकै सर्वाधिक सफल क्लब हो, फुटबल इतिहासकै महान टिम । यहाँनिर एउटा गुनासो भने रहनेछ, रियलले लगातार जित्न न जितिरहन्छ ।

तर, किन भने रियलले त्यस्तो प्रशंसाका शब्द पाउने गर्दैन, जस्तो अरूले जित्दा पाउने गर्छ । साँच्चै कसैले यो तथ्यलाई राम्रोसँग हेक्का गरेको छ त ? यहाँनिर लिभरपुलका प्रशिक्षक योर्गन क्लोपको भनाइ दोहोर्‍याउन आवश्यक छ । उनी फाइनलमा हारेयता भन्थे, ‘फाइनलमा त्यो रात लिभरपुलले कसरी खेलेको थियो, त्यो भविष्यमा कसैले सम्झने छैनन् ।’ उनको ठीक विश्लेषण थियो, ‘खालि सम्झिनेछ त, त्यो दिन रियल विजेता रह्यो ।’

यहाँनिर कसले जित्यो त्यो प्रश्नको उत्तर त आयो नै, तर रियलले कसरी जित्यो त्यो भने आएन । सायद रियलका लागि यो नै समस्या हो । सन् २०११ मा बार्सिलोनाले यही च्याम्पियन्स लिग जित्दा त्यति बेलाको जस्तो युरोपेली विजेता कहिल्यै देखिएन भनेर दाबी गर्ने पनि रहे । पेप ग्वार्डिओलाको नेतृत्वमा त्यो सिजन बार्सिलोनाले साँच्चै अतुलनीय उत्कृष्ट खेल पस्केको थियो । अहिले पनि बार्सिलोनका ती दिन सम्झने धेरै छन् । यही सम्झेर भावनात्मक पनि हुन्छन् ।

यहाँनिर रियलको पछिल्लो सफलतासँग जिनेदिन जिदान जोड्नुपर्छ । उनी जति राम्रा खेलाडी थिए, प्रशिक्षकमा त्योभन्दा बढी सफल भएर निस्केका छन् । उनको खेल र प्रशिक्षण भने सायद धेरै फरक छ । खेलाडी छँदा उनको खेलमा सुन्दरता थियो । सबैलाई मोहक बनाउने गथ्र्यो, उनको खेलले । जिदान जत्तिको ‘गेम मेकर’ विश्व फुटबलमा विरलै पाइन्छ । यस्तै सुन्दरता उनको प्रशिक्षणमा भने पाइन्न । अरूलाई किन सोध्ने, उनी आपंैm यस्तो भन्छन् ।

उनले भनेका छन् नै, ‘म राम्रो प्रशिक्षक होइन । मलाई यो बारम्बार दोहराएर भन्दा फरक पर्दैन । यस्तो किनभन्दा रणनीतिक रूपमा म राम्रो योजना बुन्न सक्दिनंँ ।’ उनी पत्रकारलाई उडाउने पाराले भन्ने पनि गर्छन्, ‘म राम्रो प्रशिक्षक होइन भन्ने तथ्य सबैभन्दा बढी भन्ने त पत्रकार नै हो, तर यो तथ्यमा पत्रकारले साँचो भने बोलेका छन्, भलै अरू बेला झूट बोले पनि ।’ यति भन्दा उनी मन्द मुस्कान पनि छाड्छन्, जुन ‘जिदानको मुस्कान’ नामले पनि प्रख्यात छ ।

यी फ्रान्सेली प्रशिक्षकले रियलमा बिताएको पनि साढे दुई वर्ष भएको छ । यसबीचमा जिदान र रियलले एकखाले परिचय बनाएको छ, त्यो हो, ठूलो अवसरमा जित्नलाई खेल्न सक्ने । अझ भनौं, ठूलो अवसरमा कसरी जित्न खेल्नुपर्छ, त्यो रियललाई राम्रोसँग थाहा छ । लिभरपुलविरुद्ध पनि यसपल्ट उसले यसरी नै खेलेको त हो । अझ प्रस्ट भन्दा रियललाई उपाधि कसरी जित्नुपर्छ, त्यो राम्रोसँग थाहा छ । रियलको खेल नै यस्तो हुने गरेको छ, जसले उसलाई उपाधिसम्म पुर्‍याउने गर्छ ।

जिदान रियलमा आएयता यो तथ्यलाई पुष्टि गर्ने धेरै खेल उदाहरणका रूपमा तयार भइसकेका छन् । सन् २०१६ को च्याम्पियन्स लिग फाइनलमै पनि रियलले छिमेकी एटलेटिको म्याड्रिडलाई पेनाल्टीमा हराएको थियो । त्यसअगाडिको खेल १–१ को बराबरीमा थियो । त्यति बेला रियलले राफेल बेनिटेजलाई बर्खास्त गरेयता जिदान टिममा आएको छ महिना पनि भएको थिएन् । त्यही वर्ष रियलले यूईएफएकपमा त्यही पाराले सेभियालाई हरायो, ३–२ ले, अतिरिक्त समयमा ।

लगत्तै क्लब वल्र्डकपमा पनि रियलले कसीमा एन्लर्सलाई अतिरिक्त समयमै ४–२ ले हराएको थियो । सन् २०१७ हखे यूईएफएकपमा पनि म्यानचेस्टर युनाइटेडमाथि जित निकाल्न रियललाई कम्ती गाह्रो भएन् र ? त्यति बेला स्कोर रह्यो, २–१ । त्यही वर्ष रियलले फेरि क्लब वल्र्डकप जित्यो, ग्रेमियोलाई १–० ले हराएर । जिदानको नेतृत्वमा रियलको उपाधि जित्ने बानी निकै राम्रो छ । त्यसो त रियल जिदान आउनुअगाडि पनि कहाँ खराब थियो र ? अहिले पनि अब्बल टिम छ, रियल । त्यसैले त उसले यसपल्ट पनि च्याम्पियन्स लिग जित्यो ।

प्रश्न गर्न रुचाउनेले यहाँनिर अर्को प्रश्न थप्न सक्छन्, यसरी लगातार युरोपको च्याम्पियनले घरमा भने किन लिग जित्न सक्दैन । पछिल्लो पाँच वर्षमा उसले जत्ति नै पटक च्याम्पियन्स लिग जिते पनि घरेलु लिग भने एक पटक मात्र जित्न सक्यो । यसपल्ट ला लिगामा रियलको प्रदर्शन कमजोर नै रह्यो । यही टिमले युरोपमा भने कसरी जित्छ त ? अरू कसैलाई होइन, रियललाई भने यसको उत्तर थाहा छ, अझ जिदानलाई बढी थाहा छ । म्याड्रिडको यो क्लब युरोपको ‘रियल’ राजा हो । यो क्लबसँग युरोपमा कसरी जित्ने हो, त्यसको ‘फर्मुला’ छ ।

प्रकाशित : जेष्ठ १९, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?