हङकङमा पनि त्यस्तो !

नियात्रा
आमन्त्रित होस् वा आयातित, पाहुनापासाको अभिनन्दनमा हङकङ लास्टै मनकारी र विख्यात छ । यसपाला गएँ, देखेँ, भोगेँ र चाल पाएँ ।
मेरो हङकङ म्युजियम घुमाइमा एउटा अद्भुत रहस्य घटित भयो । भयो के भने, नित्सेले बध गरेको ईश्वरको प्रेतले रहस्यमय ढंगले मेरो पिछा गर्‍यो ।
खगेन्द्र संग्रौला

काठमाडौँ — हङकङ यात्राको निम्तो विरलाकोटी हो भन्ठानेर म त्यसैत्यसै मखलेल भएको थिएँ, गाँठ्ठी कुरो बुझ्दा त्यो रहेछ सनातनी र सरदर दर्जाको । मेरो फुक्र्याइँ र अभिमानको पारो ह्वात्तै झर्‍यो र म सरदर मनोदशामा उत्रिएँ । आठ–दस वर्षयता हङकङ जानेहरू त गाँठ्ठे, सानोतिनो जुलुससरह भइसके छन् ।

साहित्य–सङ्गीतप्रेम र अतिथिप्रेम हङकङवासी नेपालीहरूको स्वभावकै अभिन्न अङ्ग रहेछ । त्यसैले त लाग्दो हो हङकङ जानेहरूको यत्रो लर्को । त्यहाँ कोही आदरपूर्वक डाकिएर जाँदा रहेछन्, कोही जाँदा रहेछन् ङिच्च हाँस्दै डाकिमागेर । त्यहाँ जानेहरू रहेछन् कवि र लेखक, गायक र सिनेकर्मी, रङ्गकर्मी र राजनीतिकर्मी, फकिर र हरिपहरू । जानेहरू जो हुन् ती कोही हङकङवासी नेपालीहरूलाई हँसाएर फर्किंदा रहेछन्, कोही फर्किंदा रहेछन् तिनलाई हाँसो र आँसुको दोसाँधमा अल्झाएर, अनि कोहीचाहिँ हात पसारेर, नाक काटेर, तिनलाई रुवाएर । निम्ताको दर्जा सरदर भएर के भो, म सानले हङकङ गएँ, आनन्दित हुँदै हङकङ डुलेँ र थकित देह बोकेर सुमुसुमु आफ्नो न्यानो गुँडतिर फर्केँ ।


आमन्त्रित होस् वा आयातित, पाहुनापासाको अभिनन्दनमा हङकङ लास्टै मनकारी र विख्यात छ । गएँ, देखेँ, भोगेँ र चाल पाएँ । दशीनीय स्थलमा डुलाउनलाई ज्यानको समीपमा सहृदयी गाइड हाजिर छन्, ठाउँठाउँमा अभिनन्दनको इन्तजाम हुन्छ । अक्सर त्यो छापामार शैलीमा हुन्छ । कहाँ, कसले, कुन बेला, कसरी अभिनन्दन गर्ने हो, गरेपछि नै थाहा हुने । मलाई पहिलो अभिनन्दन पान्थरे हङकङ समाजले गर्‍यो । त्योचाहिँ पहिल्यै गर्छौं भनेरै गरिएको थियो । साँझको याम, सानो नेपाली रेस्टुरेन्ट, पन्ध्र–बीस जना मानिस, प्रेममय वातावरण । एक माला, अनेक खादा, उदार महिमा गान र झम्के खानपान— स्वदेशमा होस् वा विदेशमा अभिनन्दनको खाँट्टी बान्की यही त हो । हङकङ यसमा अपवाद भएन ।


अभिनन्दनको भावुकता र अनुरागले भरिपूर्ण भाषा बडो भुवामय थियो । त्यो सनातनी संस्कारको लयमा मायालु मुखहरूबाट प्रकट भयो, हङकङको आकाशमाथि उठ्यो र पलभरमै कतै शून्यमा अलप भयो । आखिर त्यसमा थियो के ? त्यसमा के मात्रै थिएन ब्रो ? तिमी हाम्रो भेगका जाज्वल्यमान गहना । तिमी हाम्रो माटोका सुगन्ध । तिमी हाम्रो जीवन–वागका सुन्दर फूल । तिमी हाम्रा चिनारी चिन्ह । तिमी दुर्लभ, तिमी विरल, तिमी हाम्रो सान, तिमी हाम्रो गौरव ! र नै तिमीलाई हाम्रा कोटीकोटी अनिभन्दन ! हङकङमा पनि अभिनन्दनको भाषा र भाका अन्यत्रको जस्तै । गुलाफी, मधुमय र रसभरी चमचम । यो सब धेरै गाढा रंग लेपन नगरी नितान्त चल्तीको जनबोलीमा भनिएको थियो । तर, भनिएको भावको चुरो कुरोचाहिँ यही थियो— तिमी हाम्रा अप्रतिम अलंकार...


अभिनन्दनमा एउटा कौतुकमय वस्तु दृष्टिगोचर भयो । त्यो थियो त्यस्तै अढाई इन्च लामो रातो खाम । हङकङ पर्‍यो तिब्बतजस्तै महाचीन अन्तर्गतको ‘स्वायत्त’ क्षेत्र । त्यसैले त्यो रातो खाम समाजवादको नक्कली प्वाँख जडिएको ‘लाल’ चीनको प्रतीक पो हो कि ! आयोजकले खाममा बडो मूल्यवान् वस्तु छझैँ गरी सुटुक्क मेरो रातो झोलामा हालिदिए । मलाई कुन बेला खाम खोलूँ र हेरूँको व्यग्र खुल्दुलीले गाँजेर ल्यायो । तर के लाग्छ, हाम्रोमा दाताका मुखेन्जी त्यो हेर्नै नमिल्ने । हेरे हेरकको नैतिक नाक ठुन्किने । खुला पश्चिममा खोल खोलेर दाताकै मुखेन्जी उपहार हेर्ने हक्की चलन छ । बन्द हाम्रोमा त्यो छैन । त्यसरी हतपत हेरे हाम्रोमा लोभी–लालचीमा गनिइन्छ । त्यसैले खोलबन्दी दक्षिना होस् वा अन्य कुनै उपहार, हाम्रोमा त्यो कि त चर्पीमा लुकेर हेरिन्छ कि हेरिन्छ घर गएर ढोका थुनेर । मैले होटल फर्केर हेरेँ । रातो खाममा त केही हङकङ डलरको कोसेली पो रहेछ बा ! के गरेको होला यो ? म तीन छक् परेँ । कारण खोज्दै पछि तर्क गरेँ— यो जनजातीय उदारता र हक्की संस्कृतिको द्योतक हुनुपर्छ । बाहुन–क्षत्री समाजमा यस्तो हुँदैन । घरबेटीले दिन मन गर्दैन, अझ भनूँ दिन आँट गर्दैन । डर लाग्छ, कतै अतिथिले सम्मानको सट्टा यसलाई अपमान ठान्यो भने ?! निजले आफूलाई भिखारीको दर्जामा गिराइयो भन्ठान्यो भने ?!


सोधखोज गर्दै जाँदा उपहारको उद्भव थाहा भयो— रातो खामको नखत त चिनियाँ प्रचलनको नवीन नेपाली संस्करण पो रहेछ ।


अब अमिट सम्झनाको पत्रमा अभिनन्दनको रोमाञ्चक कथा अंकित गरेर म समुद्र किनारतिर डोर्‍याइन्छु । आज मेरा गाइड छन् नन्दलाल ठोकर । बडो मजाका मास्टर । समुद्र उति ठूलो छैन । वास्तवमा त्यो त दक्षिण चीन सागरको एउटा सोतो मात्र हो । त्यहाँ हेर्नलाई धेरै कुरा छैनन् । समुद्र नामक त्यही सानो मन्द गतिको जलपुञ्ज छ । माथि उठाइएको किनारमा दर्शनार्थीहरू बस्ने चौतारी र सिँढीहरू छन् । र, सेरोफेरोमा छन् एकअर्कालाई छुनछुन खोज्दै उठेका गगनचुम्बी अट्टालिकाहरू । तिनको त्यो खचाखच कन्तबिजोक देख्दा मलाई त्यसैत्यसै अत्यास लागेर आउँछ । तिनमा बस्ने मानिसहरू त्यो बन्दीखानामा निसास्सिएर किन नमर्दा हुन् ? अट्टालिकाहरूका बीचमा चैनले सास फेर्न पुग्ने स्पेस नभएको
किन हो ?


‘किन’ को उत्तरमा ठोकरबाबु भन्छन्— दाइ, ठाउँ भए पो ! र, ठाउँको अल्पतामाथि उनी प्रकाश पार्छन् । हङकङका सबै झुरुम्म सहरहरू समुद्र पुरेर बनाइएका हुन् । कतिकति परदेखि कतिकति समय लगाएर पानीजहाजमा कतिकति खेप ढुंगामाटो ओसारेर । बाफ रे ! ढुवानी खर्चका हिसाबले सुन जत्तिकै महँगो ढुंगामाटोले समुद्र सुकाएर । अनि सहर कोचाकोच किन नहोस् ? एक पटक समुद्र पुरेर सहर बनायो । सातदस वर्ष जेनतेन चल्छ । अनि मान्छे बढेर कहाँ बसूँ, कहाँ खाऊँ, कहाँ सुतूँको फिक्री हुन्छ । अनि फेरि सुरु हुन्छ समुद्र पुर्ने उही अत्यधिक महँगो उपक्रम ।


हामी समुद्र नजर गर्दै किनारको एक चौतारीमा बसेका छौँ । रमितेहरू आउने आउँदा छन्, जाने जाँदा छन् । मान्छेको गोलो यति बाक्लो छ कि झलक्क हेर्दैमा सासै थुनिएला कि जस्तो लाग्छ । मेरो वरिपरि मान्छे छन् त्यतिका् तर बात मार्नलाई ठोकर सरबाहेक मेरो कोही छैन । भाषा मिले पो ! म त बरा हाँसको विशाल बथानबीच एक अर्घेलो बकुल्लोजस्तो ! त्यत्रो भद्रगोल कुँडुलोमा कोही त धेरथोर अंग्रेजी जान्दा हुन् । तर, थाहा पाउने कसरी ? एकएकलाई सोध्दै हिँड्न नसकिने ! मलाई मानिसहरूको त्यो मारामार भीडमा नितान्त एक्लोपनको सन्तापमय अनुभूति हुन्छ । अगाडि समुद्रमा खेलौना टाइपका ससाना सेता जहाजहरू हाँसझैँ हल्लिँदै यताउति तैरिन्छन् । तिनलाई कुनै हतार छैन, मानौँ तिनलाई कतै जानु छैन । कुनैमा चालक मात्र छन् । कुनैमा अरू एकाध मानिस पनि छन् । सायद ती जहाजका विलासजीवी मालिकहरू होलान् । केवल एकाध जहाजमा आनन्दमग्न पर्यटकहरू देखिन्छन् । यत्तिकैमा एउटा निकै बूढो पुस्ताको रूप न रंगको ढ्याके जहाज मस्तुलमा झन्डा फहराउँदै उही हाँसको चालले हाम्रा नाकै अगाडि आएर टक्क अडिन्छ । ठोकर सर त्यस ढ्याकेलाई तस्बिरमा कैद गर्दै मेरो तस्बिर खिचिदिन्छन् । र, अब हामी आफ्नो बाटो तताउँछौँ ।


दृश्य परिवर्तन हुन्छ र दोस्रो अभिनन्दन मञ्चन हुन्छ । त्यसको आयोजन हो, भोजपुरे हङकङ समाजको । अभिनन्दन गरिने पात्र उत्तरकुमार खत्री र दिनेश घिमिरे । दुवै जना भोजपुरे । दुवै जना नेपाल सरकारका उम्दा सहसचिव । दुवै जना महावाणिज्य दूतको निम्तामा देश हेर्न र मुख फेर्न हङकङ आएका । तै तै यी बूढालाई पनि भिराइदिउँm न एकाध खादा भनेर होला, उदारामना आयोजक मलाई पनि निम्त्याउँछन् । भैपरिआएको अभिनन्दन ग्रहण गरेर थकित ज्यानलाई विश्राम दिन म होटलतिर लाग्छु । झोलामा रातो खाम छ । खाममा के छ अब भने मलाई थाहा छ !


भोलिपल्ट मेरो अघि लाग्छन् आमोद राई । अर्का मास्टर । बडो बाचाल । ती मलाई हङकङको न्याचुरल हिस्ट्री म्युजियममा लान्छन् । त्यो विरल र भव्य म्युजियमले हाराहारी दुईवटा कथा हाल्दो रहेछ । एउटा, हङकङको प्राकृतिक उत्पत्ति र विकासको कथा । अर्को, मानिस जातिको उत्पत्ति र हङकङको राजनीतिक विकासक्रमको कथा । कथा कथनका दुई औतार छन् । एउटा, म्युजियमका भित्ताभित्ताका स्थिर चित्रहरूमा कथा भनिन्छ । अर्को, कथा भनिन्छ गतिमान भिडियोमा । जे हेर्‍यो, त्यसैत्यसै अभिभूत भइने । लोमहर्षक भौगर्भिक उथलपुथल, उत्पाती भूकम्प र ज्वालामुखी, बबाल विस्फोटकारी मेघ र छहरे वर्षा, प्रलयकारी आँधी र लोहोरे असिना, विकराल बाढी र पहिरोको चक्रपछि चक्र पार गर्दै प्रकृतिको गर्भबाट आँखैअगाडि हङकङको जायजन्म हुन्छ । बज्र समाजको चट्टानको ढ्याके ढिकोमाथि हङकङ ट्याक्क खडा हुन्छ, जो सदैव भूकम्पमुक्त छ । चित्रमा र भिडियोमा देख्न पाइने नरबाट वानरमा विकासको कथा झनै रोमाञ्चक लाग्छ । हङकङको नेपथ्यमा महाचीन छ । दृश्यावलीमा बाह्य अतिक्रमण र युद्ध, प्रभुत्व र प्रतिरोध, दासता र विद्रोहका चक्रपछि चक्र पार गर्दै अध्यक्ष माओको क्रान्तिकारी कमान्डमा आधुनिक चीन जन्मिन्छ । र, सँगसँगै जन्मिन्छ हङकङ पनि । त्यो हङकङ जो ब्रिटिस राजको हैकममा सय वर्ष बिताएर अहिले फेरि पूर्वस्वामी चीनको पोल्टामा परेको छ ।


मेरो हङकङ म्युजियम घुमाइमा एउटा अद्भुत रहस्य घटित भयो । भयो के भने, नित्सेले वध गरेको ईश्वरको प्रेतले रहस्यमय ढंगले मेरो पिछा गर्‍यो । म एक सुरले दृश्यहरू हेर्दै के थिएँ, दाहिने पिँडुलामा केही चीजले छ्यास्स स्पर्श गरेको आभास भयो । काउकुती लगाउन खोजेजस्तो, चिमोट्ला कि जस्तो । यसो हेरेँ, केही देखिनँ । फेरि पिँडुलामा बिरालोझैँ केही लुटपुटियो । फेरि हेरेँ, केही छैन । दिमागमा मिलिक्क बिजुली चम्क्यो र मलाई बोध भयो, त्यो अदृश्य र निराकार जिनिस पक्कै ईश्वरको प्रेत हो ! यता गोर्खे राजनीतिमा पूर्वमौसुफ ज्ञानेन्द्र र निजका पवनपुत्र कमल थापा शिरमा राजतन्त्रको प्रेत बोकेर मलाई तर्साउँदै थिए, उता हङकङमा ईश्वरको प्रेत मलाई तर्साउन थाल्यो । अहो, मलाई प्रेतपछि प्रेतको यो कष्टकर आखेट ! प्रकृति र मानिसको उत्पत्तिको यो भौतिक कथा ईश्वरको अस्तित्व र उसको सृष्टिको मिथकका लागि बडो खतरा थियो । त्यसैले त ईश्वरको पिराहा प्रेत मलाई तर्साउन, मेरो नूर गिराउन, मेरो मुख थुन्न र आफ्नो मौलिक औतारको पुनरोत्थान गराउन बित्थामा यत्नशील हुँदो हो । त्यसरी नै जसरी हाम्रा ज्ञानेन्द्र बाउसाहेब र निजका पयरपोशतुल्य कमलबाबु मृत राजतन्त्रलाई इतिहासको मसानघाटबाट ब्युँझाएर लोकमाथि निरंकुशता थोपर्न गाभिनो भैँसीझैँ बित्थामा कनिरहेका छन् । म्युजियम घुमाइ र बहुबिध दृश्यावलीको दर्शनभरि नै ईश्वरको प्रेतले घरी कता र घरी कता स्पर्शको अत्यासकारी आभास दिँदै मलाई सताइरह्यो । जब म आगोका आविष्कारक प्रात:स्मरणीय बाजे–बज्यैका समीपमा पुगेँ, ईश्वरको प्रेत अताल्लियो । र, ईश्वरनिर्माता मानवद्वारा आविष्कृत आगोको डरले थुरथुर काम्दै त्यसले कतै शून्यमा शून्यसरी विलीन हुन कुलेलम ठोक्यो ।


हङकङ म्युजियममा ईश्वरको तनावकारी प्रेतले हरेस खायो, विज्ञानको प्रबोधनकारी आलोकको शिर ठाडो भयो ।


हङकङ म्युजियममा मेरालागि खास गरेर दुई कुरा बिर्सिनसक्नु हुनगए । ज्ञानको सिकार गर्न शैक्षिक भ्रमणमा निस्केका निश्छल बालबालिकाहरू । र, आगोको जीवनदायी आविष्करलाई सरल र दिगो बनाउन चिन्तनशील र प्रयोगशील हाम्रा परापुर्खाहरू । म्युजियमको एक एकान्त कुनामा आठ–दस जना आठ–दस वर्षका बालबालिका हात–हातमा कलम–कापी लिएर बसेका छन् । ती आफूले अवलोकन गरेका अनेक कुरा टिपोट गर्दै छन् । तिनकी ममतामयी गुरुआमा तिनलाई चिनियाँ भाषामा यसो गर, उसो गर नानी–बाबु हो भनेर सघाउँदै र हौस्याउँदै छिन् । आनन्दित र उत्साहित नानी–बाबुहरू आफ्नो कर्ममा दत्तचित्त छन् । तिनले करिबन तीन घण्टामा प्रकृतिको अर्बाैँ वर्षको विकासको कथा र मानिसको करोडौँ वर्षको विकासको यात्रा सदृश्य र सचित्र हेर्न पाएका छन् । त्यो म्युजियम तिनका लागि जीवन्त, रोमाञ्चक र आह्लादकारी प्रयोगात्मक पाठशाला बनेको छ । लाग्छ, दशकौँको शिक्षाबाट पनि मूत्र्तरूपले आर्जन गर्न नसकिने ज्ञान हाम्रा नानी–बाबुहरूले यस्ता म्युजियमहरूबाट एकाध घण्टामै आर्जन गर्न सक्छन् । यसमा खाँचो एउटै कुराको छ— नानी–बाबुहरूका गुरु–गुरुआमा ज्ञानवान, धैर्यवान र ममतामयी हुनु जरुरी छ ।


अब अर्को दृश्यमा छन् हाम्रा ओडारवासी आदिम पुर्खा । जसोतसो लाज छोपेका एक जना चुल्ठे बाजे र एक जना चुल्ठे बज्यै । ती बडो गम्दारी मुद्रामा, एक चित्तले आगोको आविष्कारलाई सरल र दिगो बनाउने जुक्ति रच्दै छन् । त्यो जुक्ति वास्तवमा आदिम प्रविधि र संस्कृतिको भ्रूण हो र हो त्यो मानव सभ्यताको आधारशिला पनि । हामी जे र जस्ता छौँ, हामीलाई यस्ता बन्ने गेरेटोको रेखी कोरिदिने तिनै आदिम मानव हुन् । तिनै प्रिय बाजे र तिनै प्रिय बज्यै । म ती जीवनदायी बाजे–बज्यैलाई असीम श्रद्धाभावले अपलक हेरेर नतमस्तक भई तिनलाई अभिवादन गर्दै म हङकङ म्युजियमबाट बिदा हुन्छु ।


यो अन्तरिम कालमा म दुई थान अभिनन्दन ग्रहण गर्छु । तेस्रो र समापन अभिनन्दन । एउटा हङकङे एनआरएनको, अर्को हङकङे नेपाली महासंघको । एनआरएनकी अध्यक्ष रहिछन् राधिका गुरुङ, महासंघकी अध्यक्ष रीता गुरुङ । यी दुई सोल्टिनी मुस्कानमय मुद्रामा मलाई खादा, खाम र वस्त्र प्रदान गर्छन् । यो अर्पण गर्नु र ग्रहण गर्नुको आकस्मिक कथा एक अमिट सम्झना भएर हाम्रा हृदयमा छापिन्छ ।


आखिरमा आयो कुरा अब एक थान अजीव निम्तालुको । जातले बाहुन, कर्मले जनजातीय पहिचानका अग्निवर्षी अभियन्ता, थातथलो र खेलोफड्को नेपालको पूर्वी भेगमा । आफ्नो हकप्राप्तिको अभियानमा हाक्काहाक्की खडा भइदिने इतर जातका दुर्लभ र दृढ योद्धा ठानेर होला, हङकङवासी जनजातिगणले निज बाहुन–बाजेलाई सप्रेम निम्ता गरी पठाए । ती निम्तालु जीवात् सहर्ष हङकङ गए । तिनले सदाझैँ आकाश–पाताल हल्लाउँदै आवेगमय भाषण ठोके । तिनले अभिनन्दन ग्रहण गरे । ती घुमे, तिनले पहिचानको वृत्त विस्तार गरे, ती खुब रमाए । यहाँसम्म सबै कुरा ठीकठाक थियो । तर, अब सुरु भएछ कथाको ननिको प्रकरण, निजको आचारजन्य विचलन र नैतिक स्खलन । आखिर निजहजुरबाट त्यस्तो अर्घेल्याइँ के हुनगयो, लुङा ? एक जना घरबेटी लुङालाई म सोध्छु । प्रत्युत्तरमा नाक खुम्च्याउँदै लुङा भन्छन्— घरघरै गएर, जाँड खाएर... । किञ्चित् विनोदी लबजमा म ठट्टा गर्छु— बाहुनका छोराले जनजातिका घरमा जाँड खायो त के बिरायो ? जनजातीय सनातनी संस्कृतिको इज्जत बढ्यो, बाहुनको स्वाँगे शुद्धता किञ्चित् गिर्‍यो । राम्रै त भो ! तलको अलि माथि उठ्यो, माथिको अलि तल झर्‍यो । संस्कृतिमा असमानहरूमाझ समानताको धरातल निर्माण हुने यसरी नै त हो । अँ, होला... मित्र मुख बिगार्दै चित्तको तीतो पोख्छन् । तर, ती मरिगए कथाको गुह्य खोल्दैनन् ।


हैट्, मान्छे खत्तम रहेछ, अर्का एक भुक्तभोगीको मुखबाट म सुन्छु । किन खत्तम, मान्यवर ? कसरी खत्तम ? केमा खत्तम ? आखिर घरबेटीको अपेक्षा के थियो र अतिथिको अन्तरबाट त्यस्तो अनपेक्षित के उजागर भयो ? म जब्बर खुल्दुली प्रकट गर्छु । अहँ, प्वाक्क मुख फोरेर कोही केही भन्दैन । र, कुराको तत्त्व रहस्यको कुइरोमा मडारिन्छ ।


पछि, काठमाडौँमा हङकङबारे जान्नेसुन्ने एक जना मित्र कसैलाई नभन्ने सर्तमा मेरा कानमा सुटुक्क भन्छन्— सुन, नभनिएको र भन्नु नहुने कुरो यसो हो । कसो ? हङकङवासी नेपालीहरूको उदारताबाट ती मनुवाले अनुचित लाभ लिन खोजे । आखिर तिनले गरे के ? अहो, तिनले के मात्र गरेनन् ? तिनले ङिच्च हाँस्दै हात पसारे । तिनले याचक मुद्रामा मुख फोरे । आखिर तिनले मागे के त ? घरबेटीसँग तिनले आइफोन मागे । तिनले आइप्याड मागे । तिनले ल्यापटप मागे । सकेछन् त लौ ! मैले जिब्रो टोकेँ । उनले मुख छोपे ।
यी दीनदु:खी याचक मैले आक्कल–झुक्कल नाम सुनेका मनुवा हुन् । यिनको थर खनाल, धिताल, बस्याल, बराल, दाहाल, बडाल यस्तै केही हो । यिनका थरको अन्तिम अक्षर ‘ल’ हो, त्यो म सम्झन्छु । तर, ठ्याक्कै के ‘ल’ हो त्योचाहिँ अहिले मैले बिर्सेँ ।


मलाई लाग्छ, जे वा जो सम्झिन लायकको छैन, त्यो बिर्सिइनु नजाती कुरा किमार्थ होइन ।

प्रकाशित : जेष्ठ २६, २०७५ ०८:५१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

लिम्बु कानुनी अभिलेख

पुस्तक
कान्तिपुर संवाददाता

काठमाडौँ — आधुनिक कानुनको आधार नै सामाजिक प्रथाको विकसित रूप हो । नेपालमा पनि प्रथाजनित कानुन छन् । जसलाई अंग्रेजीमा ‘कस्टोमरी ल’ भनेर चिनिन्छ । तर प्रथाजनित कानुन सीमित समुदायमा मात्र लागू हुने र कतिपय अवस्थामा आधुनिक न्यायप्रणालीको बर्खिलापमा रहने हुँदा प्राथमिकता दिने गरिएको छैन । यद्यपि प्रथाजनित कानुनअनुसार सम्बन्धित समुदाय निर्देशित भइरहेको हुन्छ ।

त्यसको उदाहरण ‘तुम्याङ जुडिसियरी सिस्टम इन लिम्बु कम्युनिटी : ए कस्टोमरी ल’ (लिम्बु जातिमा तुम्याङ न्याय प्रणाली : प्रथाजनित कानुन) पुस्तक हो । अधिवक्ता अमृता थेबेले अध्ययन, अनुसन्धानपछि कृति प्रकाशनमा ल्याएकी हुन् । यो पुस्तक नेपाली भाषामा २०६९ सालमा प्रकाशन भएको थियो भने त्यसैको अंग्रेजी भरखरै (सन् २०१८) प्रकाशनमा ल्याइएको छ ।


लिम्बु जनजीवन मुन्धुम दर्शनले निर्देशित गरेको छ । मुन्धुमको व्याख्या भएजसरी नै सामाजिक रीतिथितिहरू बाँधिएका छन् । समाज, परिवार, व्यक्ति–व्यक्तिसम्म प्रभाव पारेको छ । एक पुस्ताबाट अर्को पुस्तामा त्यही क्रम निरन्तर चलिरहेको छ । समाज भाँड्ने छुल्याहालाई काबुमा ल्याउने नियम प्रकृतिबाटै सिक्ने काम भएको पाइन्छ ।


मुन्धुम भन्छ— घामलाई पृथ्वी तलका पशुपक्षीको चुर्तीफुर्ती मन पर्दैन । उसलाई डाह हुन्छ । त्यसैले जलचर थलचरलाई बेस्सरी सेक्न थाल्छ । त्यसरी पोल्न थालेपछि दुष्ट घामबाट बच्न भूमिपुत्रहरू ‘लुङबोङबा खाम्बोङबा’ को अगुवाइमा पुच्छर डढेका दुम्सी, प्वाँख डढेका चरालगायत मनुष्य, पशुपक्षीहरू चुम्लुङ (सभा) बस्छन् । सभाले घामको अन्त्य गर्छ । त्यसपछि आधा घाम र आधा रात भएर बित्ने गरेको हो भनिन्छ । त्यही चुम्लुङ लिम्बु जनजीवनको पहिलो न्यायिक प्रक्रिया थियो । चुम्लुङमा उपस्थित प्रजाहरूलाई न्याय दिलाउने निकाय तुम्याङ हो ।


लिम्बु समाजमा आजपर्यन्त झैझगडा हुँदा मिलाउने या समाजलाई नयाँ दिशानिर्देश गर्न तुम्याङहरू (गाउँघरका ठूलाबडा, गन्यमान्य, भद्रभलाद्मी) चुम्लुङ (कचहरी वा सभा) बसेर निर्णय गर्छन् । जग्गाजमिनको साँध सिमाना मिलाउने काम तुम्याङले गर्छन् । सबैखाले सांस्कृतिक कार्यदेखि न्यायिक कार्यहरू तुम्याङको उपस्थिति अनिवार्य रहन्छ । मुन्धुमलाई जीवन्त तुल्याउने महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा तुम्याङहरू, फेदाङ्बा, फेदाङ्मा, साम्बा, येबा, येमाहरू प्रमुख हुन् । लिम्बुको मुन्धुम संस्कार, संस्कृति, परम्पराबारे जानकार व्यक्ति नै तुम्याङ हुन् जसले न्याय र सांस्कारिक नीति परम्परालाई पूर्णता दिन्छन् ।


सामाजिक प्रथा निर्माणको पुस्तौंदेखि तन्किएको त्यान्द्रो अटुट छ । लिम्बु समुदायमा बाहिरका व्यक्तिलाई आफ्नो वंशभित्र ल्याउन विधि चोकफुङ अर्थात् भैयाद भनिन्छ । चुम्लुङ बसेर वंशमा प्रवेश अनुमति दिने काम तुम्याङले गर्छन् । आफ्नो सन्तान नभएको अवस्थामा धर्मपुत्र राख्ने ससिङ लाप्मा संस्कार गरिन्छ । छोरीचेलीले माइतबाट आफ्नो घरतिर किरिया सार्ने संस्कार मेलुङ फुसिङ सम्पन्न नगरेसम्म छोराछोरी माइतकै हुन्छ । त्यसनिम्ति ज्वाइँले चुम्लुङ बसेर सैमुन्द्री दस्तुर बुझाएपछि तुम्याङले उनलाई श्रीमती, छोराछोरीमाथि अधिकार प्रदान गर्छ ।


विवाह लगनमा फेदाङबाले तुम्याङहरूको रोहवरमा बेहुलाले बेहुलीको मजेत्रोमा सत्यवाचा गरी ढुंगा अर्थात् चाँदीको ढ्याक बाँधिदिने चलन छ । जसलाई युप्पालुङ भनिन्छ । सत्यवाचामा फेदाङ्बाले भन्छ– यदि श्रीमतीले लोग्नेसँग घरजम गरिखान नसकेमा श्रीमतीले लोग्नेलाई यो युप्पालुङले लोग्नेको निधारमा हानेर गएमा श्रीमतीले लोग्ने छोडेर गएको ठहरिनेछ । त्यसरी युप्पालुङले हानेर लोग्ने छाडेर गएपछि ती महिला फेरि कन्या हुन्छ भन्ने मान्यता राखिन्छ ।


विवाहमा तुम्याङहरूको रोहवरमा बेहुला पक्षले बेहुली पक्षलाई बुझाउनुपर्ने गरगहनालाई सुनौली र रुपैयाँ पैसालाई रुपौली भनिन्छ । भावी दिनमा छोरीचेली विवाह गरेर गएपछि दु:ख पाएमा उनैलाई दिने गरी उक्त सम्पत्ति माइतीले रीतका रूपमा लिने गर्छन् ।


हाडनातामा हुने व्यभिचारी व्यवहारले बिहेवारी हुन गएर तुम्याङहरूले चुम्लुङ बोलाएर छिनोफानो गर्छन् । हाडनाता ठहर भएमा गाउँनिकाला गर्ने वा अर्कै थर दिने गर्छन् । बाबु पत्ता नलागेका बच्चालाई तुम्याङहरू चुम्लुङ बसेर आमालाई आधार मानेर सामाजिक आधार निर्माण गरिदिन्छन् । कसैकी पत्नी अर्कैले लगेमा लोग्नेले ससुरालीमा तिरेको सुनौली र रुपौलीको आधारमा तुम्याङले जारबाट जारी उठाइदिन्थे । सामाजिक मानमर्यादामाथि आँच पुग्ने गरी गाली बेइज्जती हुन पुगे गल्ती गर्नेलाई माफी माग्न लगाई शिर उठाइदिने काम तुम्याङले गर्छन् ।


लिम्बु समुदायमा व्याप्त तुम्याङ न्याय प्रणाली आधुनिक कानुन र मुन्धुम संस्कार विचलनले बिटुलो बन्दै गएको स्थिति छ । अर्कोतर्फ बसाइसराइसँगै भाषिक, सांस्कृतिक परिवेशले चेपुवामा पारेको छ । लिम्बु पहिचानलाई लिम्बुवानमा निरन्तर राख्नका निम्ति तुम्याङ प्रणालीलाई संस्थागत रूपमा बचाउन जरुरी रहेको लेखक अमृता थेबेले औल्याएकी छन् । ‘वर्तमान स्थानीय निकायमा यस्ता प्रथागत कानुनहरू प्रयोगमा ल्याउन जरुरी देखिन्छ । प्रजाजनित कानुनहरू बढी व्यावहारिक छन् । यस्ता कानुनहरूलाई कानुनी मान्यता दिन जरुरी छ । यस्तो हुन सकेमा विशेषगरी यो देशका भूमिपत्रहरूलाई आफ्नो माटो, इतिहास, परम्परा र परम्परागत ज्ञानको अपनत्व महत्त्व हुने निश्चित छ ।’ निचोडमा छ । मुस्ताङका जनप्रतिनिधिहरूले जसरी ‘मुखिया प्रथा’ लाई पुन:स्थापना गरेका छन् त्यसैगरी प्रदेश नं १ लिम्बुवानमा पनि तुम्याङ प्रणालीलाई जीवित राख्न सान्दर्भिक रहेको पक्ष पुस्तकले उजागर गरेको छ ।
–गणेश राई

प्रकाशित : जेष्ठ २६, २०७५ ०८:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT